७५ वर्षअघि कन्या स्कुलमा स्त्री शिक्षक चाहिएको विज्ञापन

सन्तोष खडेरी १० मंसिर २०७९ १५:३०
2.1k
SHARES
७५ वर्षअघि कन्या स्कुलमा स्त्री शिक्षक चाहिएको विज्ञापन

नेपालमा आधुनिक शिक्षा प्रणालीको जग बसाल्ने पहिलो स्कुलका रूपमा हामी दरबार स्कुललाई लिने गर्छौँ। दरबार स्कुलको औपचारिक स्थापना भएको डेढ शताब्दी पूरा भएको छैन। सन् १८५० मा जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्किएपछि आफ्ना भाइछोराहरूलाई पढाउन दरबारभित्रै खुलेको स्कुल दरबार स्कुल (हालको भानु माध्यमिक विद्यालय, रानीपोखरी) थियो। दरबार स्कुलले सन् १८७८ मा कलकत्ता विश्वविद्यालयबाट सम्बन्धन पाएको थियो।

सुरुका दिनमा राणा शासकका छोराहरूका लागि मात्र दरबार स्कुलमा पहुँच थियो। बिस्तारै त्यहाँ शासकका नजिकका भाइभारदारका छोराहरूले पनि प्रवेश पाएका थिए। दरबार स्कुलले कलकत्ता विश्वविद्यालयबाट सम्बन्धन पाएको ७० वर्षसम्म पनि नेपालमा छोरीहरूका लागि पढ्ने स्कुलको व्यवस्था थिएन।

सन् १९४५ (२००२ साल) मा प्रधानमन्त्री जुद्धशमशेरले एकाएक राजपाट त्यागी गेरुवस्त्र धारण गरी श्रीपेचको ठाउँमा गेरु फेटा बाँधेर रिडी प्रस्थान गरे। जुद्धशमशेर हिँडेपछि शासनसत्ताको जिम्मेवारी पद्मशमशेरले पाए। पद्मशमशेर राणा प्रधानमन्त्रीहरूमा देवशमशेरपछिका सुधारवादी प्रधानमन्त्री थिए। उनी आफ्नो कार्यकालमा संविधान बनाएर जनतालाई केही अधिकार प्रदान गर्न लागिपरेका थिए। भारतमा प्रचलनमा रहेको आधारशिक्षाको अवधारणा अघि सार्ने पद्मशमशेर नै हुन्।

२००४ साल ताका हुने लागेको नगरपालिका निर्वाचनमा महिलाले पनि मतदान गर्न पाउनुपर्ने माग लिएर मंगलादेवी सिंह, साहना र साधना प्रधानलगायतका महिलाको टोली प्रधानमन्त्रीको विशालनगरस्थित दरबारमा पुगे। मंगलादेवी सिंहको आत्मसंस्मरण ‘नारी संघर्षका पाइलाहरू’ मा अनेक संघर्षसहित प्रधानमन्त्रीको दरबारमा प्रवेश पाएपछिको भेटको वर्णन यसरी गरेकी छिन्–

पहिले नगरपालिकाको चुनावमा महिलाले पनि भोट दिन पाउनुपर्ने अधिकारको कुरा गरिसकेपछि पद्मशमशेरले सोधे, अरू केही छ?

महिलाहरूलाई पनि स्कुलमा पढ्न जाने व्यवस्था हुनुपर्छ सरकार’ भनी मैले भनेँ। ‘स्कुल खोले कसले पढ्छ?’ उनले सोधे।

‘स्कुल मात्र खोलियोस् पढ्ने महिलाहरूको खाँचो हुँदैन। आफ्नो नामबाट खोलियोस् सरकार, सरकारको नाम रहने, हामीले पनि पढ्न पाउने’ हामीले भन्यौँ।

‘ल ऐले जाओ। भोट दिन अधिकार पाउँछौ। स्कुलको कुरो पनि राम्रो छ। म विचार गर्छु। यति भनेर पद्मशमशेरले हामीलाई पठाए।’

कुन प्रेरणाले हो या हाम्रै मागको कारणले हो, पद्मशमशेरले त्यो भेटघाटको केही दिनपछि नै डिल्लीबजारस्थित आफ्नै जग्गा र भवनमा पद्मकन्या स्कुल स्थापना गराए। (नारी संघर्षका पाइलाहरू : मंगलादेवी सिंह, प्रकाशक, पीएल सिंह , २०५१)

प्रधानमन्त्री पद्मशमशेरले २००४ सालको श्रीपञ्चमीका दिन निजी भवन र १३ रोपनी जग्गामा पद्मकन्या स्कुलको स्थापना गरेका थिए। २००४ सालमा स्थापित पद्मकन्या स्कुलबाट २००५ सालदेखि नै छात्राहरू प्रवेशिका परीक्षामा सामेल हुन थालेका थिए। त्यस वर्ष ४ जना छात्राले प्रवेशिका परीक्षाको फाराम भरी सहभागी भएकोमा दुईजना उत्तीर्ण भएका थिए। (नेपालको महिला शिक्षा र पद्मकन्या विद्याश्रम– मुरारीराज मिश्र, पद्मकन्या ब्लग)

डिल्लीबजारस्थित स्कुल रहेको भवन र जग्गा उनका छोरा वसन्तशमशेरको थियो। पछि पद्मशमशेरले वसन्तशमशेरलाई त्यो डिल्लीबजारको जग्गाको सोधभर्नामा विशालनगरमा जग्गा उपलब्ध गराएका थिए। त्यसो त पद्मकन्या स्कुल स्थापना हुनुपहिले २००३ चैत १४ गते भजनपाटीमा १३ विद्यार्थीबाट अर्को कन्या स्कुल ‘कन्या मन्दिर स्कुल’ स्थापना भइसकेको थियो।

विधिवत् रूपमा पद्मकन्या स्कुलको स्थापना २००४ सालको श्रीपञ्चमीका दिनमा भए पनि त्यसका लागि तयारी केही पहिलेदेखि नै भएको देखिन्छ। राणाकालीन प्रशासनमा शिक्षाको जिम्मेवारी हेर्ने पब्लिक इन्स्ट्रक्सन डिपार्टमेन्ट (नेपाल शिक्षा विभाग) थियो। त्यसको तालुकवाला डाइरेक्टर हुने गर्दथे। प्रधानमन्त्री जुद्धशमशेरको पालादेखि नै डाइरेक्टर जनरल मृगेन्द्रशमशेर जबरा थिए। उनी राणा प्रधानमन्त्री चन्द्रशमशेरका नाति, बबरशमशेरका छोरा थिए।

नयाँ कन्या स्कुलका लागि स्त्री शिक्षक चाहिएको बारेको विज्ञापन नेपाल शिक्षा विभागले २००४ साल मंसिरमा आह्वान गरेको थियो। उक्त विज्ञापन कालिम्पोङबाट प्रकाशित हुने पाक्षिक पत्रिका ‘गोर्खा’ को सन् १९४७ डिसेम्बर १५ (२००४ साल मंसिर ३०) को अंकमा प्रकाशित भएको थियो। सम्भवतः मुलुकको पहिलो सरकारी कन्या स्कुलका लागि यसरी स्त्री शिक्षकको माग गरिएको पहिलो विज्ञापन हो। त्यसैले यसलाई ऐतिहासिक विज्ञापन मानेर यहाँ चर्चा गर्न लागिएको छ।

‘अखिल भारतीय गोर्खा लिग’ को मुखपत्रका रूपमा कालिम्पोङबाट सन् १९४५ को मार्च १ देखि पाक्षिक पत्रिका ‘गोर्खा’ को प्रकाशन सुरु भएको थियो। ‘गोर्खा’ का सम्पादक रणधीर सुब्बा थिए। सुब्बा पछि नेपाल आएर उनै मृगेन्द्रशमशेरका छोरा भरतशमशेरले खोलेको गोर्खा परिषद्‌बाट राजनीतिमा संलग्न भए। उनी शिक्षामन्त्री, त्रिभुवन विश्वविद्यालयको उपकुलपति, चीनका लागि राजदूत हुँदै सन् १९८५/८६ मा परराष्ट्रमन्त्रीसमेत भएका थिए।

नेपालमा महिलाले पढ्ने व्यवस्था थिएन त्यसैले नेपालमा स्त्री शिक्षकहरू पाउने अवस्था पनि भएन। त्यसैले होला त्यो विज्ञापन प्रवासी नेपालीहरूको माझमा दिएर त्यहाँका महिलालाई नेपालमा आकर्षित गर्न खोजिएको थियो कि?

विज्ञापनमा ‘हालसालै खुलेको सरकारी कन्या स्कुलमा विभिन्न विषय अंग्रेजी, धार्मिक शिक्षा, संस्कृत, भूगोल र गणित विषयमा शिक्षक भई काम गर्न चाहने उच्च कक्षाहरूमा पढाउने योग्यता भएका विदुषीहरू चाहिएका छन्। योग्यता पुगेकाहरूले आजका ३० दिनभित्र तपसिलका नमुनाबमोजिमको दरखास्त लेखी श्री सुप्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु मेजर जनरल मृगेन्द्रशमशेर जंगबहादुर राणा एमए डाइरेक्टर जनरल पब्लिक इन्स्क्ट्रसन नेपालका हजुरमा चढाउनू। खामबाहिर ‘कन्या स्कुल’ भन्ने लेखी सरस्वती सदन अफिस बाहिर टाँगिएको बक्स नम्बर १ मा खसाल्नू अथवा हुलाकद्वारा पठाउनू’ भन्ने उल्लेख थियो।

दरखास्तको नमुना यस्तो थियो :

१. दरखास्तवालाको नाम, थर र वतन
२. बाबु वा लोग्ने वा अरु संरक्षकको नाम थर वतन
३. योग्यता (कति पढेको पासको नाम)
४. उमेर
५. पढाउन सक्ने विषय
६. महीनावारी तलब (कतिसम्म पाए आउने)

अन्त्यमा स्कुलमा पढाउन मन्जुर छ भनी सही गर्ने संरक्षकको सही र नाता उल्लेख थियो।

यो विज्ञापन हेर्दा आजभन्दा ७५ वर्ष पहिले महिलालाई स्कुलमा पढाउन पनि उनीहरुको संरक्षकको अनुमति आवश्यक पर्दथ्यो र महिलालाई संरक्षकको अनुमति विना केही गर्ने स्वतन्त्रता थिएन भन्ने देखिन्छ। यस विज्ञापनका आधारमा कन्या स्कुलका लागि कहाँ कहाँबाट को को स्त्री शिक्षक नियुक्त भए भन्ने अझै शोधकै विषय छ।

प्रकाशित: १० मंसिर २०७९ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =