गोकर्णेश्‍वर मन्दिरलाई धार्मिक र पर्यटकीयस्थलमा विकास गरिने

हिमाल प्रेस ९ मंसिर २०७९ १६:३६
8
SHARES
गोकर्णेश्‍वर मन्दिरलाई धार्मिक र पर्यटकीयस्थलमा विकास गरिने

काठमाडौँ– ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक महत्त्वको गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई सफा राखी आन्तरिक एवम् बाह्य पर्यटक आकर्षण गरिने भएको छ।

गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले थप दुई जना सफाइ कर्मचारीको व्यवस्था गरी सफाइमा विशेष ध्यान दिन लागेको हो। मन्दिर क्षेत्रमा श्राद्ध गर्न आउने र अन्य भक्तजनले फालेका प्लाष्टिकलगायत फोहोरले गोकर्णेश्वर क्षेत्र प्रदूषित बन्ने गरेको छ।

श्राद्ध गर्न आउनेले सफाइकै लागि भनी शुल्क तिर्ने गरे पनि त्यसको सही व्यवस्थापन नभएको गुनासो भक्तजनबाट आएकाले सुधार गर्न लागेको समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका ४ का अध्यक्ष जयराम महतले बताए।

मन्दिर क्षेत्रलाई आकर्षक गन्तव्यस्थलका रूपमा विकास गर्न मूलढोका पनि निर्माण भइरहेको छ। मन्दिर क्षेत्रमा जगडोल डाँडाबाट आउने भेल नियन्त्रणका लागि पनि काम भइरहेको उनले जानकारी दिए।

वन विभागसँगको सहकार्यमा कुहिने र नकुहिने फोहोरलाई छुट्याएर व्यवस्थापन गर्न लागिएको छ।

ऐतिहासिक, पुरातात्त्विक, पौराणिक र सांस्कृतिक रूपमा पशुपतिनाथजत्तिकै महत्त्वको मन्दिर भए पनि पुजारी र सम्बन्धित व्यक्तिले बेवास्ता गरेका कारण गोकर्णेश्वर महादेव मन्दिर पछि परेकाले यसलाई राम्रो गन्तव्य बनाउन आफूले ठोस काम गर्न लागेको वडाध्यक्ष महतले बताए।

पशुपति क्षेत्रमा आउने सबै पर्यटकलाई गोकर्णेश्वर क्षेत्र लैजाने गरी नगरपालिकाले काम गरिरहेको जनाइएको छ। पशुपति क्षेत्रमा गोकर्णेश्वरको महत्त्व झल्कने ‘फ्लेक्स’ राखिएको छ।

यसका कारण पनि गोकर्णेश्वर क्षेत्रमा पर्यटक बढ्न थालेका छन्। पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वरको दर्शन गर्नुपर्ने शास्त्रीय मान्यता छ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको पहलमा गोकर्णेश्वरबाट उत्तरगयासम्मको नदी किनारमा भकारी बनाएर नदी क्षेत्रलाई व्यवस्थित गर्ने काम अन्तिम चरणमा पुगेको छ।

यसकारण पनि यो क्षेत्रको धार्मिक महत्त्व बढ्ने आसा गरिएको छ। यस क्षेत्रमा अहिले पूर्वाधार निर्माणका काम भइरहेकालेसमेत केही फोहोर देखिएको समितिले जनाएको छ।

नदी क्षेत्रको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेकाले सम्पन्न भएपछि मन्दिर क्षेत्रको सफाइमा टेवा पुग्ने विश्वास गरिएको छ। मन्दिर क्षेत्रका प्रवर्द्धनका लागि थप कार्यक्रम ल्याउन लागिएको समितिले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०७९ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =