फेरि सत्ताको साँचो प्रचण्डसँगै!

हिमाल प्रेस ९ मंसिर २०७९ १६:११
412
SHARES
फेरि सत्ताको साँचो प्रचण्डसँगै!

काठमाडौँ-  सत्ता गठनका लागि फेरि पनि नेकपा माओवादी केन्द्र निर्णायक हुने संकेत देखिएको छ। प्रतिनिधिसभा निर्वाचनमा प्राप्त अहिलेसम्मको मत परिणामअनुसार माओवादी तेस्रो दल बन्ने लगभग निश्चित छ। जारी मतगणनामा नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो दलका रूपमा देखिएका छन्। यी दुई दल मिलेमा सरकार बनाउन माओवादी आवश्यक पर्दैन। तर संसदीय प्रणालीमा पहिलो दल सरकारमा बस्ने र दोस्रो दल प्रतिपक्षमा बस्ने अभ्यास छ।

उता  प्रचण्ड प्रतिपक्षीमा भन्दा सत्तामै जाने विषयमा पार्टीभित्र छलफल गरिरहेका छन्। शान्तिप्रक्रियामा आएपछिको १६ वर्षमा दुई पटक प्रधानमन्त्री भएका र पटकपटक पार्टीलाई सत्तामा लगेका प्रचण्ड सरकारमै जाने तयारीमा रहेको उनी निकट एक नेता बताउँछन्। त्यसैले सरकार कोसँग मिलेर कुन भूमिकामा जाने भन्ने विषयमा उनले निकटस्थहरूसँग परामर्श थालेका छन्। कुन दलसँग मिल्दा आफूलाई फाइदा हुन्छ, सोहीअनुसार आन्तरिक छलफलमा जुटेको माओवादीका ती नेताले बताए।

माओवादी निर्णायक हुने संकेत पाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैले ‘प्रचण्ड’ सँग टेलिफोन वार्ता गरेका छन्। नेकपा विवाददेखि ओली र प्रचण्डबीच कुराकानी भएको थिएन। बधाई साटासाटका लागि टेलिफोन गरेको बताइए पनि यी दुई नेताको कुराकानीलाई अर्थपूर्ण रूपमा लिइएको छ। ओलीले प्रचण्डलाई बिहीबार टेलिफोन गरी आगामी दिनमा मिलेर जान प्रस्ताव गरेको प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए।

ओलीले फोन गरेलगत्तै देउवाले पनि प्रचण्डलाई फोन गरेर बधाई दिएका छन्। देउवाले चुनावपछि सँगसँगै अगाडि बढ्ने गठबन्धनको बाचाअनुसार अघि बढ्ने संकेत प्रचण्डसँगको फोनवार्तामा गरेका थिए। चुनाव परिणाम बाधक नबन्ने देउवाको भनाइ थियो।

देउवा र प्रचण्ड चुनावपछि पनि चुनावअघिकै गठबन्धन कायमै रहनेमा विश्वस्त थिए। तर चुनाव परिणाम उनीहरूले सोचेअनुसार आएन। सत्ता गठबन्धनका दलका कतिपय उम्मेदवार पराजित भए भने उनीहरूको स्थान एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले लिए। सोही कारण प्रमुख दलका शीर्ष नेताहरू झस्किएका छन्।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चुनाव परिणाम आइनसकेकाले यस विषयमा अहिल्यै केही भन्न नसकिने बताउँछन्। उनी भन्छन्, ‘परिणाम आइरहेका बेला सरकारको आगामी रूपरेखाबारे छलफल हुनु स्वाभाविकै हो। तर निर्णायक कुराकानी हुन बाँकी नै छ।’

माओवादी केन्द्रका नेताहरूले प्रचण्डलाई कांग्रेससँगको सहकार्यले चुनावमा फाइदा नभएको रिपोर्टिङ गरिरहेका बेला ओलीले मिलेर जाने प्रस्ताव गरेपछि प्रचण्ड अब एमालेसँग सहकार्य गर्ने वा कांग्रेसको साथ नछोड्ने भन्ने विषयमा छलफलमा जुटेको माओवादीका ती नेताले बताए। उता देउवाले प्रचण्डलाई सरकार बनाउन समस्या नहुने आश्वासन दिएको बताइएको छ।

प्रचण्डलाई उच्च प्राथमिकताका साथ ओली र देउवाले फोन गर्नुको प्रमुख कारण हो- पछिल्लो मत परिणाम। परिणामअनुसार फेरि पनि माओवादीविना कांग्रेस र एमालेको सरकार बनाउन सम्भव छैन। स्पष्ट बहुमत नआएको अवस्थामा दोस्रो दलले नेतृत्व गरेर पनि सरकार बनाउन सक्छ। यस्तो हुँदा पहिलो दल प्रतिपक्षीमा पुग्छ। अनि फेरि पनि तेस्रो शक्ति निर्णायक हुन्छ। प्रचण्डसँग देउवा र ओलीले बिहीबार गरेको टेलिफोन संवादले पनि यही संकेत गर्छ- कांग्रेस वा एमाले माओवादीको सहयोगमा सरकारमा जान्छ।

कांग्रेस वा एमालेलाई माओवादीको सहयोगबिना साना दल मात्रै लिएर सरकार बनाउन सक्ने अवस्था मतपरिणामले देखाएको छैन। यस्तो अवस्थामा फेरि पनि प्रचण्ड नै निर्णायक हुनेछन्।

निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका महासचिव देव गुरुङलगायतले वाम एकताको कुरा उठाएका छन्। फेरि वाम एकता हुन सक्ने र त्यसो भए सरकारबाहिर रहनुपर्ने त्रासमा कांग्रेस देखिन्छ। यसकारण पनि प्रचण्डमाथि दोहोरो नजर परेको हो।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चुनाव परिणाम आइनसकेकाले यस विषयमा अहिल्यै केही भन्न नसकिने बताउँछन्। उनी भन्छन्, ‘परिणाम आइरहेका बेला सरकारको आगामी रूपरेखाबारे छलफल हुनु स्वाभाविकै हो। तर निर्णायक कुराकानी हुन बाँकी नै छ।’

जारी मतगणनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ४३ क्षेत्रमा जितेको छ भने १० स्थानमा अग्रता हासिल गरेको छ। त्यस्तै एमालेले ३४ स्थानमा जितेको छ भने १२ मा अग्रता हासिल गरेको छ। माओवादी केन्द्रले १२ स्थानमा जितेर ६ मा अग्रता कायम राखेको छ। नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेर समानुपातिकमा आफ्नो मत किन आएन भनेर छलफल गरिरहेका छन्। समानुपातिकतर्फ पनि एमाले अगाडि छ भने माओवादी केन्द्रलाई राष्ट्रिय स्वतन्त्र दलले उछिनिरहेको छ।

प्रकाशित: ९ मंसिर २०७९ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =