राजनीतिले विभाजित ब्राजिललाई फुटबलले जोड्ने विश्वास

हिमाल प्रेस ८ मंसिर २०७९ १७:२६
12
SHARES
राजनीतिले विभाजित ब्राजिललाई फुटबलले जोड्ने विश्वास

रियो दे जेनेरियो सहरभित्रको बस्ती हो, रोकिन्हा। यहाँका गल्ली गल्लीमा ब्राजिलका भण्डा झुण्ड्याइएका छन्। भित्ता भित्तामा नेयमारका पेन्टिङ बनाइएका छन्। जो गत अक्टोबरमा भएको निर्वाचनमा जयर बोल्सोनारोको पक्षमा लागेका थिए। रोकिन्हाका अधिकांश स्थानीय चाहिँ बोल्सोनारोको आलोचक हुन्।

यसपालिको राष्ट्रपतीय निर्वाचनका बेला आफ्नो पक्षमा माहोल ल्याउन बोल्सोनारोले फुटबलरहरूलाई पनि उपयोग गरे। यस्तो लाग्थ्यो ब्राजिलको जर्सीमा प्रयोग हुने हरियो र पहेलो रंग दक्षिण पन्थी अभियानको अंग बनेको छ। ब्राजिलियन राष्ट्रिय टिमका कयौँ खेलाडी सामाजिक सञ्जालमा बोल्सोनारोको पक्षमा बोलिरहेका थिए। यसरी ब्राजिललाई विभाजित गर्न फुटबललाई नै प्रयोग गरियो।

अब भने फुटबलले ब्राजिललाई जोड्ने आश गरिएको छ। ‘यो विश्वकपमा हामी अवश्य पनि राष्ट्रिय टिमलाई समर्थन गरिरहेका छौँ। किनभने राष्ट्रिय टिम, राष्ट्रिय झण्डा हामी सबैको हो। राजनीति र फुटबल फरक कुरा हुन्,’ विश्वकपको मुखमा विभिन्न कार्यक्रम आयोजना गरिरहेकी ४१ वर्षीय मार्सेला फादिनी मोरेरा भन्छिन्।

गत महिनाको निर्वाचनमा बोल्सोनारोलाई वामपन्थी नेता लुइस इनासियो लुला डा सिल्भाले पराजित गरेका थिए। निर्वाचनअघि नै राजनीतिक रुपमा विभाजित ब्राजिलियन समाज अझै राम्रोसँग जोडिएको छैन। कतिसम्म भने मोरेरा र उनका साथीहरूलाई सार्वजनिक स्थानहरूमा नेयमारको चित्र बनाउन दिइएन। यसकारण उनीहरूले पेड्रोको चित्र बनाए। जो हाल ब्राजिलियन टिममा रियो सहरकै प्रतिनिधि हुन्।

यसरी चित्र बनाउँदा हरियो र पहेलाे रंगमा निलो अनि सेतो रंग पनि मिसाइएको छ। हरियो र पहेलो रंगलाई बोल्सोनारोले निर्वाचन अभियानमा प्रयोग गरेकाले तिनलाई नागरिकस्तरमा प्रयोग गर्दा सतर्क रहनु पर्ने स्थिति छ। निर्वाचन अभियानमा बोल्सोनारोले राष्ट्रिय टिमको जर्सी पनि लगाउँथे। जर्सी लगाएर मतदानमा जान उनले आफ्ना समर्थकलाई आव्हान गरेका थिए।

ब्राजिलका ठूला ठूला सहरमा प्रशस्तै सुकुम्बासी बस्ती छन्। यस्ता बस्तीमा फुटबल असाध्यै लोकप्रिय छ। यिनले ब्राजिललाई ठूला ठूला स्टार दिएका छन्। विश्वकपका बेला यी बस्तीमा उत्साह छाउने गरेको छ। तर यसपालि पहिले जस्तो उत्साह नरहेको स्थानीय समुदायका नेता एलिजेर ओलिभेरा बताउँछन्। उत्साह घट्नुको मुख्य कारण कोभिड–१९ महामारी, आर्थिक मन्दी र निर्वाचन हुन्।

‘विगतमा विश्वकपका बेला हाम्रा सबै गल्ली सजिएका हुन्थे। यसपल्ट स्थानीयमा जाँगर छैन,’ ओलिभेराले भने। ५७ वर्षीय ओलेभेरा कतारमा ब्राजिलियन टिमले राम्रो प्रदर्शन गरे यसको प्रभाव घरेलु राजनीति र समाजमा पनि पर्ने अपेक्षा गर्छन्।

‘ब्राजिल हाल अनेकौँ समस्याबाट गुज्रिरहेको छ। आम नागरिक खुसी छैनन्। तर विश्वकपको सफलताले उनीहरूको मुहारमा मुस्काउन फर्काउनेछ,’ ओलेभेरा भन्छन्।

पाँच पटकको च्याम्पियन ब्राजिलले समूह चरणको पहिलो खेलमा बिहीबार राति सर्बियाको सामना गर्दैछ। यो खेल हेर्ने तयारीमा प्रत्येक बस्ती, गाउँ, सहर जुटेका छन्। झण्डा, ब्यानर, बल, जर्सीको बिक्री ढिलै भए पनि बढेको छ।

उता साओ पाओलो सहरभित्रको भिला मेडेइरोस गल्लीलाई स्थानीय ज्याड्सन पाइक्साओले आफ्ना बालसखाहरूसँग मिलेर सजाएका छन्। ‘राजनीति र फुटबल फरक कुरा हुन्। यी दुईलाई जोड्नु हुँदैन। सबैले निर्वाचनलाई बिर्सिएर विश्वकपमा रमाउनु पर्छ,’ ३५ वर्षीय मेडेइरोस भन्छन्।

बोल्सोनारोले निर्वाचनमा ‘हाइज्याक’ गरेको भनिएको राष्ट्रिय झण्डाका रंग फिर्ता ल्याउने सामाजिक अभियान चलाइएको छ। राष्ट्रिय चिह्न समाजको सम्पत्ति भएकाले राजनीतिक दलले प्रयोग गर्न नपाउने अभियानकर्ताको भनाइ छ। जनवरी १ मा राष्ट्रपतिको सपथ खाने लुलाले हरियो र पहेलो राष्ट्रिय रंग भएकाले यसमा कोही एक पक्षको हक नहुने बताएका छन्।

यहीबीच ब्राजिलियन फुटबल संघ (सीबीएफ) ले राष्ट्रिय जर्सीलाई राजनीतिकरणबाट मुक्त गर्ने अभियान चलाइरहेको छ। ‘यसका लागि विश्वकप सही समय हो। विश्वकपले नै सबैलाई एक बनाउँछ,’ सीबीएफका अध्यक्ष एडनाल्डो रोड्रिगेजले भनेका छन्, ‘फुटबल समर्थकबिना अस्तित्वमा रहन सक्दैन। हामी ब्राजिलका सबै समर्थकलाई जोड्न चाहन्छौँ। यसमा राजनीतिक आबद्धता, धर्म, लिंग, रंग, उमेर आदिको मतलब गरिने छैन।’

एएफपीबाट

प्रकाशित: ८ मंसिर २०७९ १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =