सहज छैन कांग्रेसमा नेता चुन्न, निर्वाचित २७ सांसद को कुन समूहमा?

हिमाल प्रेस ८ मंसिर २०७९ १४:१४
1.4k
SHARES
सहज छैन कांग्रेसमा नेता चुन्न, निर्वाचित २७ सांसद को कुन समूहमा?

काठमाडौँ-  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा संसदीय दलको चुनाव लड्ने तयारीमा जुटेका छन्। उनले आफ्नो चुनावी एजेन्डामै पुराना पुस्तालाई सम्मान गर्ने सुझाव ग्रहण गर्ने र आफू संसदीय दलको नेता लड्ने दाबी गरेका थिए। संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ। थापा काठमाडौँ-४ बाट फराकिलो मतान्तरसहित सांसद बनेका छन्।  अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिने घोषणा गरिसकेकाले थाप पछि नहट्ने प्रस्ट छ।

तर थापालाई पार्टीभित्रकै शक्ति सन्तुलनले गर्दा त्यति सहज भने छैन। हालसम्म नेपाली कांग्रेसबाट निर्वाचित सांसदमध्ये अधिकांश सभापति शेरबहादुर देउवा समूहका छन्। देउवा आफैँ पुन: प्रधानमन्त्री बन्ने दाउमा  छन्। आफूले नपाए आफ्नै समूहका कुनै नेतालाई उनले दउवाको उत्तराधिकारीका रूपमा अघि सार्न सक्छन्।

पार्टीको गत महाधिवेशनको समीकरणअनुसार निर्वाचित २७ सांसदमध्ये देउवा समूहका १७ जना छन्। प्रकाशमान सिंह, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका पनि केही सांसद छन्। यिनीहरूले पनि कसलाई समर्थन गर्छन् त्यो चासोका साथ हेरिएको छ। अरू बाँकी शेखर-गगन समूहका हुन्।

हुन त चुनावपछि पनि गठबन्धनकै सरकारलाई निरन्तरता दिने कांग्रेस-माओवादीबीच आन्तरिक सहमति छ। तर चुनाव नतिजा आइरहँदा गठबन्धनको भविष्य के होला भन्ने चासो बढ्दो छ।

जारी मत परिणाम विश्लेषण गर्दा कांग्रेसले एकल सरकार बनाउन सक्ने अवस्था छैन। यसका लागि कुनै न कुनै दलको समर्थन लिनैपर्नेछ। साना पार्टीको भए पनि साथ लिनुपर्ने देखिन्छ। राप्रपा र रास्वपाबाट  युवा र नयाँ सांसद निर्वाचित भएर आएको हुनाले उनीहरूले पुराना पुस्तालाई पुन: प्रधानमन्त्रीमा समर्थन गर्ने सम्भावना  छैन। त्यसकारण सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, सिटौलालगायत समूहका युवा सांसदले गगनलाई साथ दिन बाध्यात्मक अवस्था आउन सक्छ।

भोलिको कांग्रेसभित्रको राजनीति पनि गगन-विश्वप्रकाश वरिपरि नै घुम्ने भएकाले पनि धेरै सांसदले देउवाको साथ छोड्न सक्नेछन्। अहिले सबैभन्दा खतराको घन्टीचाहिँ दलमा संसदीय दलको नेता चुनिनेभन्दा बढी प्रधानमन्त्री बनेर विश्वासको मत लिन सक्ने नसक्ने विषयको छ। सत्ता गठबन्धनको झिनो बहुमत हुने देखिए पनि युवा सांसदको दबाबका कारण पुराना नेतृत्वलाई दबाब सिर्जना हुने पक्का छ।

निर्वाचन आयोगले मंसिर २२ गतेसम्ममा निर्वाचनको अन्तिम परिणाम प्रतिवेशनसहित राष्ट्रपतिसमक्ष बुझाउने बताएको छ। आयोगले अन्तिम मतपरिणाम बुझाएपछि संसद् अधिवेशन बोलाउने संवैधानिक समय सुरु हुनेछ।

नेपालको संविधानको धारा ९३ को व्यवस्थाअनुसार मतपरिणाम प्राप्त भएको ३० दिनभित्र संघीय संसद्को अधिवेशन बोलाइनेछ। आयोगले भनेजस्तै मंसिर २२ मा प्रतिवेदनसहित अन्तिम मतपरिणाम बुझाएमा पुस २२ भित्र संसद्‌को पहिलो अधिवेशनको पहिलो बैठक डाकिनेछ। अधिवेशन सुरु भएको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्नेछ। अधिवेशन प्रारम्भसँगै सरकार गठन र विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ।

संविधानको धारा ७६ को व्यवस्थाअनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्रीमा नियुक्त हुनेछ। निर्वाचन परिणाम प्राप्त भएपछि दलहरूले संसदीय दलका नेता चयन हुनुपर्नेछ। संविधानमा एउटै दलको बहुमत प्राप्त नभएमा एकभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

दुवै प्रक्रियाबाट प्रधानमन्त्री चयन हुन नसकेमा प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई संविधानको धारा ७६ (३)बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। यस्तो व्यवस्थाअनुसार पनि प्रधानमन्त्री बन्न नसक्ने अवस्था आए संसद्‌मा रहेका सांसदको बहुमत समर्थनसहित एक सांसदले प्रधानमन्त्रीको लागि दाबी पेस गर्नेछन्। संविधानमा यो नै सरकार गठनको अन्तिम व्यवस्था पनि हो। विश्वासको मत पाउने आधारसहित दाबी पेस भएमा राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ। यसरी नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नपाएमा भने नयाँ निर्वाचनमा जानुपर्ने संवैधानिक व्यवस्था छ।

निर्वाचित सांसद को कुन समूहका?

  1. शेरबहादुर देउवा, डडेलधुरा
  2. प्रकाशमान सिंह, काठमाडौँ-१
  3. रामचन्द्र पौडेल, तनहुँ-१
  4. गगनकुमार थापा, काठमाडौँ-४
  5. प्रदीप पौडेल, काठमाडौँ- ५ कृष्णप्रसाद सिटौला समूह
  6. वीरबहादुर बलायर, कैलाली-४ शेरबहादुर देउवा समूह
  7. योगेश गौचन थकाली, मुस्ताङ शेखर कोइराला समूह
  8. खमबहादुर गर्बुजा, म्याग्दी -१ शेरबहादुर देउवा समूह
  9. श्यामबहादुर घिमिरे, सिन्धुली -१ शेरबहादुर देउवा समूह
  10. दिलेन्द्रप्रसाद बडू, दार्चुला -१ शेखर कोइराला समूह
  11. मोहन आचार्य, रसुवा -१ शेरबहादुर देउवा समूह
  12. एनपी साउद, कन्चनपुर -२ शेरबहादुर देउवा समूह
  13. किशोरससिंह राठोर, बाँके -३ शेरबहादुर देउवा समूह
  14. रमेश लेखक, कञ्चनपुर -३ शेरबहादुर देउवा समूह
  15. राजेन्द्र बजगाईं, गोरखा -१ शेखर कोइराला समूह
  16. रामहरि खतिवडा, ओखलढुंगा -१ शेरबहादुर देउवा समूह
  17. टेकबहादुर गुरुङ, मनाङ -१ शेरबहादुर देउवा समूह
  18. दुर्लभ थापा क्षेत्री, भक्तपुर -२ शेरबहादुर देउवा समूह
  19. राजेन्द्रकुमार केसी, काठमाडौँ -१० (तत्काल देउवा समूहका तर शेखर समूह नजिक)
  20. उदयशमशेर राणा, ललितपुर -१ शेरबहादुर देउवा समूह
  21. दिक्पालकुमार शाही, दैलेख -२ शेखर कोइराला समूह
  22. हृदयराम थानी, सुर्खेत-२ शेखर कोइराला समूह
  23. सन्तोष चालिसे, काठमाडौँ -३ प्रकाशमान सिंह समूह
  24. शंकर भण्डारी, तनहुँ -२ शेरबहादुर देउवा समूह
  25. अजयकुमार चौरसिया, पर्सा-२ शेरबहादुर देउवा समूह
  26. पुष्पबहादुर शाह, अछाम -२ शेरबहादुर देउवा समूह
  27. रमेश रिजाल, पर्सा-४ शेरबहादुर देउवा समूह
प्रकाशित: ८ मंसिर २०७९ १४:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =