हरिप्रभाको नजर मुख्यमन्त्रीतिर

हिमाल प्रेस ८ मंसिर २०७९ १२:१७
136
SHARES
हरिप्रभाको नजर मुख्यमन्त्रीतिर

काठमाडौँ- हरिप्रभा खड्गी (श्रेष्ठ) संघीय संसद् सदस्यमा प्रतिस्पर्धा गर्न चाहन्थिन्। काठमाडौँ महानगरपालिकाको सफल उपप्रमुखका रूपमा पहिचान बनाइसकेकाले चुनाव जित्न उनलाई कठिन पनि थिएन। उपमेयर हुँदा संस्कृति, सम्पदा, कला, भाषा संरक्षणमा उनले खेलेको भूमिका उदाहरणीय थियो।

रानीपोखरीलगायतका सम्पदा मौलिक संरचनाअनुसार पुनर्निर्माण भएपछि धेरैले उनको तारिफ गरेका थिए। उपप्रमुखको जिम्मेवारी पूरा गरेपछि उनले संघीय संसद्को टिकटका लागि पहल गरेकी पनि हुन्। तर पार्टीले प्रतिनिधिसभा सदस्यमा अग्रज नेता अघि सारेर उनलाई प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गर्न प्रस्ताव गर्‍यो।

‘महानगरको माथिल्लो दर्जामा बसेर काम गरिसकेको, कसरी प्रदेशसभामा जानु’ भनेर उनलाई दोधार पनि नभएको होइन। उनी भन्छिन्, ‘पार्टी संगठनमा अग्रजभन्दा अघि सर्ने आँट गरिनँ। किनकि नेतृत्वले जे जिम्मेवारीमा उचित ठान्छ, त्यसमा राम्रो काम गरेर अघि बढ्नुपर्छ भन्ने मैले बुझेको राजनीतिक संस्कार हो।’

उनलाई लाग्यो, प्रदेशमा पनि चाहेका खण्डमा गर्न सकिने काम धेरै छन्। त्यसपछि प्रदेशको उम्मेदवारी स्वीकार गरेको हरिप्रभा बताउँछिन्। ‘पार्टीले जिम्मेवारी दिएपछि यो गर्दिनँ, त्यो गर्दिनँ भन्न मिलेन। नेतृत्वले अहिले प्रदेशमा उठ, त्यहाँ पनि राम्रो स्थान पाउँछ्यौ भनेपछि म अघि बढेकी हुँ,’ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ (क) मा कांग्रेसबाट प्रदेशसभा सदस्यमा विजयी हरिप्रभा भन्छिन्।

चुनाव जितेपछि उनलाई लागेको छ, नेतृत्वले ‘राम्रो ठाउँ’ भनेको बागमती प्रदेशको मुख्यमन्त्री हो। अबको आफ्नो लक्ष्य प्रदेशको मुख्यमन्त्री बन्नु रहेको उनी बताउँछिन्। त्यहाँ पनि त अग्रज अघि सर्लान् नि? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘म पनि समक्ष छु। त्यसैले अघि बढ्ने हो।’

महिला पनि राजनीतिबाट माथि उठ्न सक्छन् भन्ने आँटका साथ अघि बढ्दा उपप्रमुखमा सफल भएको र प्रदेशसभामा निर्वाचित हुनु त्यसकै निरन्तरता रहेको उनी बताउँछिन्। हरिप्रभा भन्छिन्, ‘उपमेयर जितेँ अब पुग्यो भन्ने हिसाबमा होइन। खुड्किलो पार गर्दै जानुपर्छ भन्ने हुटहुटी छ। कहाँ पुगिन्छ, त्यो त समयले नै बताउला।’

‘माननीय भएर मात्रै काम गर्न पाइँदैन। कार्यकारी पदमा बसेर मात्रै आफ्नो क्षमता प्रदर्शन गर्न पाइन्छ। त्यसैले पछि हट्ने कुरै हुँदैन।’

उपप्रमुखको अनुभवले पनि आफूलाई कार्यकारी जिम्मेवारी सम्हाल्ने आँट बढेको उनको भनाइ छ। उनी २०७४ सालको चुनावमा काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा विजयी भएकी थिइन्। हरिप्रभा भन्छिन्, ‘माननीय भएर मात्रै काम गर्न पाइँदैन। कार्यकारी पदमा बसेर मात्रै आफ्नो क्षमता प्रदर्शन गर्न पाइन्छ। त्यसैले पछि हट्ने कुरै हुँदैन।’

प्रदेशको औचित्य छैन भन्ने आवाज पनि उठिरहेको छ नि? भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘संविधानले त्यही व्यवस्था गरेको छ। हामी संविधानअनुसार अघि बढ्ने हो। यसबारे बहस संसद्‌मै होला।’

मुख्यमन्त्री बनेमा विकास निर्माणका काममा थप सक्रिय हुने उनको योजना छ। वर्षौँदेखि भोग्दै आएका समस्या समाधान गर्न आफूले पहल गर्ने उनी बताउँछिन्। उनी भन्छिन्, ‘स्थानीय तहसँग जोडिएका पूर्वाधारमा धेरै काम गर्नु छ। यसका लागि पर्याप्त कानुन बनिसकेका छैनन्। स्थानीय तहसँग समन्वय गरेर काम गर्न मलाई कठिन छैन।’

उनी प्रदेशमा आवश्यक कानुन बनाउन सक्रिय हुने, स्थानीय तहलाई थप बलियो बनाउने ढाँचामा अघि बढ्ने बताउँछिन्। उनी भन्छिन्, ‘काम गर्ने उत्साह छ, जोश छ, जाँगर र त्यसैले लक्ष्य ठूलो लिएकी छु।’

अब शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतालाई निःशुल्क बनाउने, युवा रोजगारीमा ध्यान दिने, उत्पादन बढाउने, जनशक्ति पलायन रोकेर योग्यताअनुसार काम दिनुपर्ने जस्ता विषयमा नीतिगत रूपमै हस्तक्षेप गर्ने बेला आएको उनको बुझाइ छ। महिला सशक्तीकरणका क्षेत्रमा पनि धेरै काम गर्नुपर्ने उनी बताउँछिन्।

हरिप्रभा भन्छिन्, ‘म युवा पुस्तालाई कसरी देशभित्रै रोजगारी दिने भन्नेमा केन्द्रित हुनेछु। शिक्षित जनशक्तिलाई विदेश नपठाई स्वदेशमै अवसर दिनुपर्छ। अनि मात्रै देशको विकास हुन्छ।’ यसका लागि प्रदेशमा रोजगारीका सम्भावनाबारे गहन अध्ययन गर्नुपर्ने र सोहीअनुसार नीति बनाउनुपर्ने उनी बताउँछिन्।

राजनीतिलाई समाजसेवा ठान्ने उनी यसलाई केही नेताले कमाउधन्दा बनाएकोमा असन्तुष्टि जनाउँछिन्। उनी भन्छिन्, ‘कमाउन त व्यवसाय गरे भइहाल्यो नि। तर केही मान्छेहरूले राजनीतिलाई कमाइखाने भाँडो बनाए।’ जनतालाई सम्पन्न बनाउने र राष्ट्र समृद्ध बनाउन आफू राजनीतिमा लागेको उनी बताउँछिन्।

‘तिमीलाई लाउन पुगेन? खान पुगेन? के लाउनुपर्‍यो? हीरा, सुन, चाँदी के चाहियो? घरमै ल्याइदिउँला भन्ने प्रस्ताव आउँथ्यो। तर म हीरा र सुनचाँदी तथा सारी लगाएर सजिन जन्मिएकी होइन भनेर अडान लिन्थेँ।’

काठमाडौँका रैथाने महिलालाई राजनीति र समाजसेवामा सक्रिय हुन त्यति सजिलो भने छैन। समुदायका अझै पनि रुढिवादी सोच छ। आर्थिक रूपमा सम्पन्न भएपछि अरूथोक किन चाहियो भन्ने मानसिकता छ। हरिप्रभा राजनीति र समाजसेवामा जुट्न खोज्दा सुरुसुरुमा के गर्न? कसो गर्न? भन्ने जस्ता प्रश्नको सामना गर्नुपरेको थियो।

उनी विगत सम्झिन्छिन्, ‘तिमीलाई लाउन पुगेन? खान पुगेन? के लाउनुपर्‍यो? हीरा, सुन, चाँदी के चाहियो? घरमै ल्याइदिउँला भन्ने प्रस्ताव आउँथ्यो। तर म हीरा र सुनचाँदी तथा सारी लगाएर सजिन जन्मिएकी होइन भनेर अडान लिन्थेँ।’

राजनीतिमा जुट्न उनले सुरुसुरुमा परिवारलाई सम्झाउने धेरै प्रयास गर्नुपरेको थियो। त्यसैले उनी आफूलाई राजनीतिमा परिवारसँग लडेर आएकी भन्न रुचाउँछिन्। काम गर्दै गएपछि परिवार पनि सकारात्मक हुँदै गयो। अहिले त उनलाई परिवारबाटै ऊर्जा थपिएको छ।

‘मलाई समाजमा केही गर्ने सोच र आँट छ। बंगलामा बसेर ऐसआराम गरौँ, महँगामहँगा गाडी चढौँ भन्ने इच्छा छँदैछैन। देश र जनताका पक्षमा केही गरौँ भन्ने अठोट छ। अनि मबाट धेरै महिलाले सिकून् भन्ने लाग्छ।’

त्यसैले आफूले अविचलित रूपमा देशसेवामा लाग्ने संकल्प गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘म सफल पनि हुँदै गएकी छु। प्रदेशसभा जित्नु पनि मेरो राजनीतिक उचाइतर्फको एउटा फड्को हो। थप प्रयास गर्दै अघि बढ्ने हो, पाएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने हो। मलाई अघि बढ्न कसैले रोक्न पनि सक्दैन र रोकिन्न पनि।’

२०४३ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएकी हरिप्रभाले दुई कार्यकाल नेपाल महिला संघको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरेकी छन्। उनीसँग नेपाली कांग्रेसको महासमिति सदस्य, नेपाल नगरपालिका संघको सहसचिव, बीपी अध्ययन प्रतिष्ठानको सहसचिव र काठमाडौँ महानगरपालिकामा नगर परिषद् सदस्यमा निर्वाचित भई कार्यकाल पूरा गरेको अनुभव छ। बागमतीको ६६ सदस्यीय प्रदेशसभा सदस्यमध्ये प्रत्यक्षतर्फ जारी मतगणनामा कांग्रेसले १६ सिटमा जितेको छ भने ७ सिटमा अग्रता लिइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =