दसैँ मनाउन अमेरिका जानेहरूको लर्कोसँगै

रमेशप्रसाद खनाल १९ कार्तिक २०७९ ९:३८
दसैँ मनाउन अमेरिका जानेहरूको लर्कोसँगै

केही वर्षयता दसैँभरि हाम्रो घरमा गायक सुगम पोखरेलको गीत ‘दसैँ, तिहार चाड र बाड, खुसीले सारा भर्‍यो नि संसार’ गीत घन्किने गर्छ। दसैँमा हरेक दिन यो गीत बजाउनु हाम्रो घरको परम्पराजस्तै भएको छ।

यही गीतबाट पछिल्ला केही वर्षदेखि हाम्रो दसैँ सुरु हुन्छ।

बाल्यकालको दसैँको सम्झना पनि स्मृतिमा ताजै छ। मालश्री धुन अनि रेडियो नेपालबाट घटस्थापनाको दिनदेखि सुरु हुने देवी दुर्गा नौ अवतारको लीलामा आधारित रेडियो नाटक सुन्दा जीउ नै सिरिङसिरिङ हुन्थ्यो।

महांकालचौरमा फूलपातीदेखि हालिने लिंगेपिङ होस् वा पीपलको रूखमा हालिने पिङ हामी केटाकेटीको दसैँ चचहुई नै हुन्थ्यो। तर अबचाहिँ दसैँ फरक हुन्छ।

यसपालि दसैँको भोलिपल्ट अर्थात् एकादशीका दिन नेपाल छोडेर विदेश लाग्नुपर्ने थियो। वर्षदिनको चाडपर्वमा देश छाडेर विदेश जानु म र मेरी पत्नी सुष्मा खनालका लागि सहज थिएन।

अमेरिका जो हाम्रो निमित्त कुनै बेला सात समुद्रपारिको देश थियो। अथवा कुनै बेला पाताल मानिने देशको भ्रमणमा निस्किँदा हामीलाई अलि असहज लागेको थियो।

एकातिर दसैँको चटारो, अर्कोतिर भ्रमणका तयारी। एकैचोटि आइलागेकाले केही तनाव भयो। त्यसैले दसैँ सुरु हुनुअघि वा पछि मात्र भ्रमणमा निस्कनु व्यावहारिक हुने पाठ सिक्यौँ।

लगातार परेको पानीले पनि दसैँको घमाइलो र स्वप्निल वातावरण भंग गर्ने प्रयास गरिरहेको थियो। ठूलो चाड मनाउन धेरैजसो नेपाली गाउँ फर्किएकाले काठमाडौँका सडक सुनसानजस्तै थिए।

मलाई घरीघरी पुरानो काठमाडौँको झझल्को आइरहेको थियो। उतिखेरका रमाइलो दसैँ सम्झिरहेको थिएँ। नौरथा नुहाउन बिहान ३/४ बजे नै गौरीघाट पुग्ने चलन थियो। विभिन्न मन्दिर भ्रमण गर्ने, कुमारीघरको यात्रा, असन-इन्द्रचोकको किनमेल अनि भीडभाड। साथीभाइ र आफन्तसँगको रमाइलो। ओखर हान्ने, लंगुरबुर्जा थाप्ने, टोलटोलमा राखिने लिंगेपिङ अनि चंगा उडान आदि। ती सबै उत्साह र रोमाञ्चकलाई यसपटकको झरीले घटाइदिएको थियो।

तर मान्यजनबाट टीका थाप्ने, आशीर्वाद लिने र वर्षौँ भेटघाट नभएका दाजुभाइ, दिदीबहिनीको भेटघाट, हाँसोठट्टा, मीठा–मीठा परिकार खाने अवसरलाई वर्षाले छेक्न सकेको थिएन। झरीमा रुझ्दै, भिज्दै छाता ओढेर भए पनि मानिसहरू टीका लगाउन यताउता गरिरहेका थिए। जतिसुकै झमझम पानी परिरहेको भए पनि त्यसले दसैँको रमाइलो खोस्न सकेको थिएन।

एकादशीमा एकनास झमझम परिरहेको थियो। पानीले त्रिभुवन विमानस्थलमा भीड कम गरेको देखिएन। विदेश जानेको लर्को हिजोअस्तिजस्तै थियो। निधारमा रातो÷सेतो टीका लगाएका र कान वा कपालमा पहेँला जमरा सिउरेका युवायुवती अमिलो, मलिन अनुहार पार्दै विदेश लाग्नुपर्ने बाध्यताको कथा भनिरहेको अनुभूति हुन्थ्यो  विमानस्थलको प्रतीक्षालयमा।

भिडियो कल गरेर आफन्तसँग बिदा माग्दै गरेका दृश्यले मन, मुटु छियाछिया पार्थे। कोही आमाबासँग, कोही पत्नीसँग बिदा मागिरहेका थिए भने कोही आफ्ना ससाना छोराछोरीसँग छिट्टै आउने बाचा गर्दै आँसु झार्दै थिए।

विमानस्थलको त्यही प्रतीक्षालयमा देखिएको अर्को दृश्यले भने अर्कै कथा भनिरहेको थियो। जसको ज्वलन्त पात्र हामी स्वयं पनि थियौँ। पहिलेपहिले दसैँमा छोराछोरी विदेशबाट घर फर्की आउँथे, नेपाल फर्की आउँथे। आमाबाबाट टीका थाप्न। अहिले पनि कति त आउँछन्।

तर विमानस्थलको दृश्य फरक थियो। त्यहाँ छोराछोरीलाई टीका लगाइदिन विदेश जाने आमाबाको हुलले प्रतीक्षालयका मेच भरिएका थिए।

उमेर ढल्केका बूढाबूढीको विदेशको अनकन्टार यात्राको चिन्ता अनुहारमा प्रस्टै झल्किन्थ्यो। कति ह्विलचेयरमा थिए भने कति कताकता हराएजस्तै देखिन्थे। उनीहरूकै समूहमा हामी बूढाबूढी पनि थियौँ। बिहान लगाएको टीका निधार अझै टल्किरहेको थियो। शिरमा जमरा छँदै थिए। टीका देखेर विदेशीले के भन्ला भन्ने कुनै चिन्ता थिएन।

नेपालीले विदेश जानुपर्ने यो बाध्यता वा रहर जे भए पनि त्यसले मुटु चुँडाउने पीडा दिइरहेको थियो। नेपाली संस्कारअनुसार आफूभन्दा मान्यजनकहाँ टीका, आशीर्वाद थाप्न जानुपर्छ। तर पछिल्लो समय यो चलन फेरिएको छ।

अमेरिका जाने हाम्रो कतारी प्लेन भरिभराउ थियो। हामीजस्ता आमाबामा खुसी र दुःख दुवैको भाव थियो। छोराछोरीसँग भेट्न पाउने खुसी र देशमा चाडबाड मनाउन नपाउनुको पीडाको मिश्रित भाव उनीहरूको अनुहारमा देख्न सकिन्थ्यो।

बोर्डिङ हुनुअघि कताकता हराएजस्तो देखिने खल्ला अनुहारहरूले मलाई उदास बनाइरहेका थिए। केही निश्चित समयको निमित्त उच्च अध्ययन, अनुसन्धान, रोजगारी, स्वेच्छिक भ्रमण आदि गर्न जानु त ठीकै थियो। तर स्वदेशमा आफ्नो ल्याकत अनि प्रतिभाअनुसार अवसर र स्थान नपाउँदा विदेश पलायन हुने लाखौँ प्रतिभा देखेर ऐँठन भयो।

मेरा आफ्नै छोराछोरी पनि किन बस्न चाहँदैनन् त देशमा? उनीहरूलाई के दुःख छ नेपालमा? खानलाउन नपुगेर विदेशिएका हुन् त? केही नेपाली युवा बाध्यतावश विदेशिएका हुन् त्यसमा शंकै छैन। निम्नमध्यम वर्गीय वा मध्यमवर्गीय नेपाली सन्तान नेपालको दयनीय अवस्था, सडेगलेको राजनीति, भताभुंग अर्थतन्त्र र नियमबद्ध प्रणालीको उचित विकास हुन नसक्दा आजित छन्। उनीहरू आफूमा अन्तर्निहित प्रतिभाले उपयुक्त ठाउँ र अवसर पाउने सम्भावना नदेखेर नै विदेशिएका होलान् भन्ने मेरो ठम्याइ छ।

अब अवस्था यस्तो भइसक्यो कि कुनै युवा विदेश गएन भने ऊ माथि अनेक प्रश्न आइलाग्छन्। ‘विदेश नजाने?’, ‘तिमीमात्र किन नेपालमा?’, ‘तिम्रा सबै साथी विदेश गइसके?’

मानौँ विदेश नजानु उसको अपराध भएजस्तो। साथीभाइ र आफन्तको अप्रत्यक्ष दबाबले जान नचाहने युवा पनि घुमिफिरी विदेश जान बाध्य हुन्छन्। पछिल्लो समय विदेश जानु नै व्यक्तिको योग्यताको परिचायक बन्दै गएको छ। स्वदेशमै घुँडा धस्नेभन्दा विदेश जानेहरूप्रति मान्छेहरूको मोह अचाक्ली देखिन्छ।

छोराछोरी विदेशमा हुनुले एक प्रकारको गौरव बोध र इज्जत बढेको देखिने प्रवृत्ति हाम्रो समाजमा दिनदिनै बढ्दैछ। विदेश अध्ययन, अनुसन्धान वा भ्रमणमा जानु राम्रै हो तर देश नै छोडेर विदेशमा बस्न बाध्य भएका युवाको पक्षमा कसले सोच्ने? कसले नीति निर्माण गर्ने? कसले उनीहरूलाई नेपालमा राख्न सक्ने वातावरण बनाउने? यी सबै प्रश्न अनुत्तरित छन्।

अमेरिका भ्रमण… 

म पहिलोपटक सन् १९९९ को अक्टोबर पहिलो साता अमेरिका पुगेको थिएँ। यूएनको वार्षिक साधारण महासभामा नेपाली प्रतिनिधिका रूपमा दुई महिना न्युयोर्कमा कार्यरत थिएँ। दोस्रो अमेरिका भ्रमण भने त्यसको ११ वर्षमा भयो, सन् २०१० को अप्रिलमा। त्योबेला अमेरिकाको हवाईस्थित होनोलुलु सहरमा एसिया प्रशान्त सुरक्षा अध्ययन केन्द्रमा करिब दुई महिनाको अध्ययन तालिममा भाग लिने अवसर पाएको थिएँ।

तेस्रो अमेरिकी भ्रमण गर्ने अवसर सन् २०१५ को सेप्टेम्बरमा जुर्‍यो।  त्यसबेला पनि यूएनको वार्षिक साधारणसभामा नेपालका तर्फबाट प्रतिनिधिका रूपमा सहभागी हुने मौका पाएँ।

त्यसको तीन वर्षपछि सन् २०१८ को अक्टोबरमा फेरि अमेरिका आउने जान पाएँ। दसैँको छेकोमा मेरी पत्नी र म बर्लिनबाट अमेरिकाको बोस्टननजिकको सहर उस्टरमा एमडी गर्दै गरेकी छोरी डा. सरिना र कोस्टारिकामा कफीसम्बन्धी सामाजिक उद्यम गर्दै गरेका छोरा अभिनव जो त्यस बेला उस्टर आइपुग्ने भएकाले त्यहाँ गयौँ।

दसैँको टीकासँगै पारिवारिक पुनर्मिलन हुने भएकाले हामी उत्साहित थियौँ। उस्टरमा दसैँ मनाएर म, सुष्मा र छोरी क्यानाडाको टोरन्टो पुग्यौँ। त्यहाँ मेरा माहिला भाइ इन्जिनियर सुरेशप्रसाद खनाल र उसको परिवारसँग रमाइलो गर्दै धेरै वर्षपछि दसैँ मनाउन पायौँ।

हाम्रो चौथो भ्रमण सन् २०२१ को अप्रिलमा भयो। छोरीको जन्मदिनमा हामी उस्टर सहर पुगेका थियौँ। त्यहाँस्थित सेन्ट भिन्सेन्ट हस्पिटलबाट सन् २०२१ को जुलाईमा छोरीले एमडी सक्दै थिइन्। छोरीको ग्य्राजुएसन समारोहमा सहभागी हुन र उसलाई फेरि उच्चअध्ययन फेलोसिपको लागि फ्लोरिडामा सेटल गराउन सहयोग गर्न उसकै पछि लागेर हामी पनि फ्लोरिडा आयौँ।

त्यो वर्ष अमेरिकामा छ महिना बिताएर घटस्थापनाको अघिल्लो दिन नेपाल फर्कियौँ। नेपाल फर्किने क्रममा कतार एरवेजबाट दोहामा करिब १० घन्टाको ट्रान्जिट हुँदा देखेको र भोगेको अनुभवले मलाई नेपाल वृद्धवृद्धाको देशमा परिणत हुँदै गएको अनुभव भयो।

ट्रान्जिट लाउन्जमा अमेरिका र युरोपका देशबाट नेपाल फर्कँदै गरेका आमाबुबाको लर्को देखियो। त्यतिखेर हामी कोरोनाकालमा यात्रा गर्दै थियौँ। मुखमा हरदम मास्क अनि एकाअर्काबाट कम्तीमा चार/पाँच फिट टाढा बसेर गर्नुपर्ने वार्तालापले त्यो ट्रान्जिट लाउन्जको डेरुम नेपालीहरूको हल्लाले भरिएको थियो। जस्तोसुकै कठिनाइमा पनि हाँस्न र रमाउन सक्ने नेपाली गुण त्यहाँ पनि झल्किरहेको थियो।

महामारीबीच गर्नु परिरहेको त्यो हवाईयात्रा अनि एकअर्काप्रतिको संशय भुलाएर नेपाली एकापसमा आआफ्ना दुःखसुख साटासाट गर्दै गरेको देखेर अरू देशका मानिस छक्क पर्दै हेर्दथे अनि हल्ला भयो भन्दै गुनासो गर्दै थिए।

कतार विमानस्थलको रमाइलो भनेकै त्यहाँ पुगेपछि कुनै पनि नेपालीले विदेश पुगेको होइन स्वदेश पुगेको अनुभव गर्न थाल्छ। सेक्युरिटी चेकदेखि नै ‘आमा यता, बा यसो गर्नुस्’ भनेर बोलेको सुन्न पाउँदा आनन्द लाग्छ। दोहा विमानस्थलको विभिन्न सेवामा खटिएका नेपालीहरूसँग भेट हुँदा उमेर पाकेका वृद्धवृद्धाले राहत महसुस गर्छन्।

पहिलोपटक सन् २००३ मा रियादबाट नेपाल फर्कने क्रममा यो एयरपोर्ट प्रयोग गरेको थिएँ। त्यसबेला थोरै नेपालीमात्र थिए कतारभरिमा भने विमानस्थलमा त अझ कम थिए। जति थिए ती सबै नेपालबाट आएको कुनै नेपाली देख्यो भने नेपालको खबर सोध्नेमात्र होइन नेपालीसँग भेट भएकोमा हर्ष मिश्रित आतिथ्य प्रदान गर्न र सहयोग गर्न चुक्दैनथे।

विदेशमा बढ्दै नेपाली युवा 

विभिन्न उद्देश्यले नेपाली युवा विदेशिने क्रम बढेसँगै आमाबाहरूको विदेश भ्रमण पनि बाक्लिएको छ। एकपटक पनि काठमाडौँ नटेकेका आमाबा एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्कको जेएफके टेक्न पुगेको देखिनु अहिले सामान्य भएको छ।

अहिले विदेश नटेकेका मानिस पाउन गाह्रो छ। हिजो ब्रिटिस सेनाको गोर्खाली पल्टनमा भर्ना भएर विदेश जाने नेपाली लाहुरेमात्र देखेका नेपाली आमाबाले ‘लाहुरे छोराछोरी’लाई भेट्न विदेश जाने दिन आउँदा हर्षमिश्रित पीडा बोकेर यात्रा गरिरहेका हुन् कि जस्तो भान हुने रहेछ।

एकैछिन केही तथ्यांकको विश्लेषण गरौँ। जसले नेपालको वर्तमान वास्तविक धरातलसँग परिचित गराउन सघाउनेछ। जनवरीदेखि जुलाई, २०२२ सम्मको छ महिनाको तथ्यांक हेर्ने हो भने शिक्षा मन्त्रालयबाट विदेश अध्ययन गर्न जानका लागि स्वीकृति लिने नेपालीको संख्या ८२ हजार ४०९ पुगेको छ। यही छ महिनाको तथ्यांकको मात्र विश्लेषण गर्ने हो भने पनि वार्षिक अध्ययन गर्न विदेश जाने नेपालीको संख्या लगभग दुई लाख पुग्न जान्छ। यो संख्या सन् २०२१ मा ४५ हजार ८४३ मात्र थियो। कोरोना संक्रमण मत्थर भएयता यो संख्या बढेको देखिन्छ।

२०२२ को मार्चमा शिक्षा मन्त्रालयले दैनिक एक हजारदेखि १२ सयसम्म स्वीकृतिपत्र जारी गरेको तथ्यांक देखिन्छ।

यही संख्यामा नेपाली विदेश अध्ययन गर्न जाने हो भने वर्षको दुई लाखभन्दा बढी युवा विद्यार्थी विदेशिने स्पष्ट छ। यो तथ्यांकमा भारत, बंगलादेश, चीन, पोल्यान्ड, जर्मनी, फ्रान्स आदि देशमा अध्ययन गर्न जाने युवाको संख्या जोडिएको देखिँदैन।

नेपाली युवा विदेश जाने अर्को प्रमुख कारण र उद्देश्य हो, वैदेशिक रोजगारी। जुलाई २०२१ सम्म वैदेशिक रोजगारीका लागि भएको श्रम स्वीकृतिको संख्या जम्मा ६१,४२८  रहेको छ। जसमा पुरुषको संख्या ५५,८८९ रहेको छ भने महिलाको संख्या ५,५४९ रहेको देखिन्छ। यो संख्या सन् २०२२ को जुलाईसम्म ६२,३४९ पुगेको छ। अप्रिल २०२२ सम्म दैनिक रूपमा १५ सय श्रमिक विदेश गएकोमा सो संख्या मेमा दैनिक दुई हजार पुगेको छ। वैदेशिक रोजगार विभागका अनुसार हालसम्म २४ लाख ३६३ नेपाली वैदेशिक रोजगारीका विभिन्न देश गएको देखिन्छ।  (वैदेशिक रोजगार विभाग, २०२१)

सन् २०२१ को तथ्यांकमात्र हेर्ने हो भने पनि अध्ययन र रोजगारीको निमित्त विदेश जाने युवाको न्यूनतम संख्या वार्षिक रूपमा डेढ लाखभन्दा बढी देखिन्छ। यो संख्या दिनप्रतिदिन बढ्दै छ। अध्ययन गर्न गएका वा रोजगारीका लागि गएका युवाको प्रवृत्ति सामान्यतया विदेशमै स्थायी–अस्थायी रूपमा बस्ने मनसायबाट अभिप्रेरित भएको देखिन्छ। नेपाल केही वर्षमा युवाविहीन तथा बूढाबूढीको देशमा परिणत हुन लागेको त होइन भन्ने प्रश्न उब्जिन थालेको छ।

त्यसकै झल्को यसपटकको मेरो अमेरिका यात्राको क्रममा देखियो। ‘छोराछोरी कामले गर्दा आउन मिलेन, हामीलाई नै बोलाए, टिकट पठाए, अनि अमेरिका हिँडेको उनीहरूलाई टीका लगाइदिन’ यस्तै थियो सबैको भनाइ।

हामी पनि उनकै समूहमा पर्थ्यौँ। एकातिर मन खुसी थियो आफ्ना छोराछोरीसँग लामो समयपछि भेटघाट हुने भो भनेर तर भित्रभित्र दुःखी पनि थियो बिरानो मुलुकमा के दसैँ– के तिहार!

ठूलो स्वरमा हाँस्न पनि १० पटक सोच्नुपर्ने ठाउँमा के हाँसो ठट्टा! के रमाइलो नाचगान! आफूभन्दा ठूलाकहाँ आशीर्वाद लिने चाड दसैँ, अब बिस्तारै आशीर्वाद दिन विदेश हिँडेका वृद्धवृद्धाको लर्कोले नेपालको भविष्य र यथार्थको विद्रूप चित्रण गरिरहेको थियो। यो दृश्य देखेर ‘रुने कि हाँस्ने!’

जे होस् यसपालिको दसैँ यस्तै भयो। विदेशमा केटाकेटीलाई टीका लगाइदियाँै। झोलामा लुकाएर ल्याएको अमेरिकी भन्सार पार गर्न सफल जमरा जस्ताको तस्तै पहेँलो र ताजा रहेछ। जमरा र रातो टीकामा केटाकेटी रमाए, हामी पनि रमायौँ। हाम्रो निम्ति एकाएक दसैँ फैलियो। परदेशको अन्जान सहर, ठाउँ र कोठामा। हामीले आफू परदेशमा छौँ भन्ने बिर्सियौँ। अनि कोठामा गुञ्जिन थाल्यो र हामी गाउन थाल्यौँ,  ‘दसैँ आयो।’

(कटनीति र साहित्यलेखनमा रुचि भएका लेखक जर्मनीका लागि नेपालका पूर्वराजदूत र शिष्टाचार महापाल हुन्।)

प्रकाशित: १९ कार्तिक २०७९ ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast