काठमाडौँका १० क्षेत्रमा कसले कहाँ जिते?

हिमाल प्रेस ७ मंसिर २०७९ १६:३८
208
SHARES
काठमाडौँका १० क्षेत्रमा कसले कहाँ जिते?

काठमाडौँ- काठमाडौँ जिल्लाका १० वटै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। काठमाडौँका ५ क्षेत्रमा कांग्रेस, ४ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटा क्षेत्रमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

कांग्रेसले काठमाडौँ १, ३, ४, ५ र १० मा जित निकालेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ २, ६, ७ र ८ मा विजयी भएको छ । एमालेले भने काठमाडौँ ९ मा मात्रै जित निकालेको छ ।

काठमाडौँ-१ मा चौथोपटक प्रकाशमान सिंह

काठमाडौँ–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार१८ मत ल्याएका छन्। सिंह गठबन्धनमा उम्मेदवार हुन्।

अघिल्लो चुनावमा पनि यी दुईबीच नै प्रतिस्पर्धा भएको थियो। त्यतिबेला सिंहले १० हजार ९३६ मत ल्याउँदा मिश्रले १० हजार ११८ मत ल्याएका थिए। सिंह यस क्षेत्रबाट २०६४ देखि निरन्तर सांसद जित्दै आएका छन्। उनलाई यस क्षेत्रमा गठबन्धनको साथ थियो।

काठमाडौँ-२ मा सोबिता गौतम

काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम १५ हजार २२९ मत ल्याई विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत ल्याएका छन्। यस क्षेत्रमा गठबन्धनबाट उठेकी माओवादीकी ओनसरी घर्तीले नौ हजार ४४९ मत ल्याएर चौथो बनेकी छन् भने राप्रपाकी कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याएकी छन्। अघिल्लो चुनावमा यस क्षेत्रमा एमालेका माधवकुमार नेपाल विजयी भएका थिए।

काठमाडौँ-३ मा सन्तोष चालिसे

काठमाडौँ– ३ मा कांग्रेसका उम्मेदवार सन्तोष चालिसे १५ हजार १५८ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्‍णबहादुर राईले ११ हजार १९६ मत ल्याएका छन्। राई अघिल्लो चुनावमा १९ हजार १६९ मतसहित विजयी भएका थिए। त्यतिबेला कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत पाएकी थिइन्।

काठमाडौँ-४ मा गगन थापाको ‘ह्याट्रिक’

काठमाडौँ–४ मा नेपाली कांग्रेसका गगनकुमार थापा २१ हजार ३०२ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत ल्याएका छन्। अघिल्लो चुनावमा पनि यी दुईबीच नै प्रतिस्पर्धा भएको थियो। २०७४ को चुनावमा थापा २१ हजार ५५८ मतसहित विजयी हुँदा एमालेका भट्टराईले १८ हजार १४० मत पाएका थिए। थापाले यस क्षेत्रमा २०७० मा पनि चुनाव जितेका थिए।

काठमाडौँ-५ मा प्रदीप पौडेल

काठमाडौँ– ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल १५ हजार २३७ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १० हजार १७५ मत ल्याएका छन्। पौडेल सत्ता गठबन्धनका उम्मेदवार हुन्। यसअघिका चुनावमा तनहुँबाट लडेका पौडेललाई विपक्षीहरूले ‘टुरिस्ट’ को आरोप लगाउने गरेका थिए।

विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय पौडेललाई मतदाताले भने विश्वास गरेर सिंहदरबारको यात्रा गराएका छन्। यस क्षेत्रमा अघिल्लो चुनावमा एमालेका पोखरेल २३ हजार २९ मतका साथ विजयी हुँदा कांग्रेसका प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए।

काठमाडौँ-६ मा शिशिर खनाल

काठमाडौँ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका छन्। एमालेका सर्वेन्द्र खनाल ८ हजार ९११ मतका साथ दोस्रो स्थानमा छन्।

यस क्षेत्रमा सत्ता गठबन्धका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत ल्याएका छन्। प्रधानले अघिल्लो चुनावमा माओवादीका झक्कुप्रसाद सुवेदीलाई हराएका थिए। सुवेदीले १५ हजार ४८५ मत ल्याउँदा प्रधानको १६ हजार ७८५ मत थियो। एमालेका खनाल पूर्वप्रहरी प्रमुख हुन्।

काठमाडौँ-७ मा गणेश पराजुली

काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७४३ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका श्‍यामकुमार घिमिरेले ६ हजार ८०० मत ल्याएका छन्।

यस क्षेत्रमा गठबन्धनबाट उठेकी माओवादीकी मानुषी यमि भट्टराई ६ हजार ६३ मतका साथ तेस्रो स्थानमा सीमित भइन्। अघिल्लो चुनावमा रामवीर मानन्धर विजयी भएका थिए। उनले राप्रपाका विक्रमबहादुर थापालाई हराएका थिए।

थापाको १० हजार ७९ मत आउँदा मानन्धरको १८ हजार १०२ मत आएको थियो। एमालेबाट टिकट नपाएर स्वतन्त्र उठेका मानन्धरले यसपटक ७५३ मत पाएका छन्।

मानुषीलाई यस क्षेत्रबाट चुनाव उठाउनकै लागि उनका पिता डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा चुनाव नलडेको चर्चा छ। उक्त क्षेत्रमा भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समर्थन गरेका छन्।

काठमाडौँ-८ मा विराजभक्तको उदय

काठमाडौं क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १०५ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका छन्। यस क्षेत्रमा गठबन्धनबाट उठेका एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले चार हजार ८७७ मत ल्याएर तेस्रो भएका छन्।

अघिल्लो चुनावमा एमालेबाट उठेका श्रेष्ठले कांग्रेसका नवीन्द्रराज जोशीलाई हराएका थिए। जोशीको १२ हजार ९५३ मत आउँदा श्रेष्ठको १३ हजार ३९७ मत आएको थियो। विराजभक्त यसअघि विवेकशील साझाका तर्फबाट प्रदेश सांसद थिए।

काठमाडौँ- ९ मा फेरि कृष्णगोपाल श्रेष्ठ

काठमाडौँ-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याएका छन्।

यस क्षेत्रमा गठबन्धनबाट उठेकी माओवादीकी कल्पना धमला तेस्रो भएकी छन्। उनले ६ हजार ४०२ मत ल्याइन्। श्रेष्ठले अघिल्लो चुनावमा कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई पराजित गरेका थिए। रञ्जितले १४ हजार ८०२ मत ल्याउँदा श्रेष्ठ २२ हजार ८५२ मतका साथ विजयी भएका थिए। अघिल्लो कार्यकालमा मन्त्री हुँदा ओलीलाई पेलेसँग तुलना गरेपछि श्रेष्ठ विवादमा आएका थिए।

काठमाडौँ-१० मा राजेन्द्र केसी

काठमाडौँ क्षेत्र नं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी १४ हजार ४४८ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका हिमेश केसीले ११ हजार ७८६ मत ल्याए।
केसीले यसअघि पनि सोही क्षेत्रबाट चुनाव जितेका थिए। २०७४ को चुनावमा उनले २४ हजार १९० मत ल्याई विजयी हुँदा माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मत ल्याएका थिए। उनी २०७० सालमा पनि यस क्षेत्रबाट विजयी भएका थिए। यस क्षेत्रमा गठबन्धन थिएन।

प्रकाशित: ७ मंसिर २०७९ १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =