नेपाल-चीन मित्रताको प्रतीक बेइजिङको श्वेतचैत्य

अजय अलौकिक २६ कार्तिक २०७९ ९:२१
6
SHARES
नेपाल-चीन मित्रताको प्रतीक बेइजिङको श्वेतचैत्य

बेइजिङको केन्द्र भाग थ्येनआनमनबाट थोरै उत्तरपश्चिममा एउटा विशाल श्वेतचैत्य अवस्थित छ। जुन युआन राजवंशकालमा निर्माण गरिएको हो। इस्वी संवत् १२७१ मा निर्माण थालिएको यो चैत्य १२७९ मा पूरा भएको उल्लेख छ। युआन राजवंशीय सम्राट् कुब्लाई खानले विविधताको चिनियाँ राष्ट्रको एकीकरण प्रक्रियामा बहुजातीय देशको निर्माण गर्ने क्रममा यो श्वेतचैत्य स्थापना गर्न लगाइएको मानिन्छ।

अतः यो श्वेतचैत्य चिनियाँ मातृभूमिको पुनःमिलन तथा जातीय एकीकरणको प्रतीक बनेको छ। साथै युआन राजवंशको पूर्ण सांस्कृतिक अवशेषका रूपमा विविध समय र कालको ऐतिहासिक साक्षी भएर पनि यो श्वेतचैत्य उभिएको छ।

त्यस समयमा राजधानी सहर निर्माणको एक महत्त्वपूर्ण परियोजनाका रूपमा थियो। युआन राजवंशको राजधानी तातु (हालको बेइजिङ) मा निर्मित यो श्वेतचैत्य इतिहास, राजनीति, अर्थव्यवस्था, संस्कृति, कला तथा कूटनीतिलगायतका विविध पक्षहरूको अध्ययनका लागि भौतिक प्रमाणका रूपमा रहेको छ।

सन् १९४९ मा जनगणतन्त्र चीन स्थापनापछि बेइजिङ नगरपालिका पार्टी समिति र नगरपालिका सरकारले श्वेतचैत्य तथा मन्दिरको महत्त्वपूर्ण सांस्कृतिक सम्पदाको संरक्षणलाई ठूलो महत्त्व दिँदै आएको छ। ऐतिहासिक तथा सांस्कृतिक मूल्यका कारण मार्च ४, १९६१ मा म्याओयिङ मन्दिरसहित श्वेतचैत्यलाई राज्य परिषद्‌द्वारा राष्ट्रिय प्रमुख सांस्कृतिक अवशेष संरक्षण एकाइहरूको पहिलो ब्याचका रूपमा घोषणा गरिएको थियो।

नयाँ चीन स्थापनापछि पनि यसको नौपटक जीर्णोद्धार भइसकेको छ। पछिल्लो दस वर्षमा दुईपटक मर्मतकार्य भएका छन्।यो श्वेतचैत्य तथा मन्दिर परिसरमा धेरैपटक मानवीय तथा प्राकृतिक क्षति पनि भएका छन्।

युआन राजवंशको शाही मठका रूपमा रहेको यो श्वेतचैत्य र मठमन्दिरमा सन् १३६८ मा ठूलो क्षति भएको थियो। चट्याङले श्वेतचैत्यबाहेक सबै मन्दिर र भवन ध्वस्त पारेको थियो। सन् १९०० ताका आठ एलाइन्स फोर्सले बेइजिङमा मच्चाएको लुटपाटमा सो मन्दिर क्षेत्र पनि अछूतो रहेन।

यसैगरी सन् १९७६ मा गएको ७.६ म्याग्निच्युडको थाङसान भूकम्पले श्वेतचैत्यलाई समेत ठूलो क्षति पुर्‍याएको थियो। सन् १९७८ मा यसको पुनःनिर्माणपछि सन् १९८० बाट सर्वसाधारणलाई खुला गरिएको थियो।

यसबाहेक सन् १९६६ मा सांस्कृतिक क्रान्ति सुरु भएपछि मन्दिरका केही भाग भत्काइएर सपिङ मलमा रूपान्तरण गरिएकोमा सन् १९९७ मा बेइजिङ नगरपालिका सरकारले श्वेतचैत्य तथा मन्दिरका भवन पुनःनिर्माण गरी सन् १९९८ देखि म्याओयिङ मन्दिरलाई पुरानो स्वरूप दिँदै सञ्चालनमा ल्याएको उल्लेख छ।

यसरी चीनको राजधानी सहर बेइजिङमा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्व बोकेर झण्डै ७५० वर्षदेखि उभिएको यो श्वेतचैत्य नेपाली कलाकार अरनिकोले बनाएका हुन्, जसले आमनेपालीलाई गौरवान्वित बनाएको छ। साथै, यो नेपाल र चीनबीच लामो समयदेखिको सांस्कृतिक आदानप्रदानको ऐतिहासिक साक्षी पनि हो। नेपाली कलाकारद्वारा निर्मित यो श्वेतचैत्य तथा मन्दिरको आमनेपालीलाई जानकारी दिने श्रेय वाङ्‌मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई जान्छ।

जोशी अहिले हामीमाझ छैनन्। १०३ वर्षको उमेरमा गत असोज ३० गते उनको निधन भएको हो। उनले आफ्नो सम्पूर्ण जीवन साहित्य, संस्कृति र इतिहासको खोज तथा अनुसन्धानमा अर्पे। उनैले नेपाली कलाकार अरनिकोबारे गहन अध्ययन गरी आमनेपालीलाई चिनाएका हुन्।

जोशीले सन् १९६५ देखि १९६९ सम्म चार वर्ष बेइजिङमा रहेर चिनियाँलाई नेपाली भाषा पढाएका थिए। यसैगरी उनले सन् १९८० देखि १९८२ सम्म चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) हाल चाइना मिडिया ग्रुपमा विदेशी विशेषज्ञका रूपमा काम गरे। उनी पटकपटक चीन आउने प्राप्त अवसरलाई सार्थक बनाउँदै चीनमा प्रसिद्धि कमाएका नेपाली कलाकार अरनिकोका सम्बन्धमा सारा नेपालीलाई परिचय गराए।

उनले ‘कलाकार अरनिको’ नामक पुस्तक पनि निकालेका थिए। उनैको कष्टसाध्यबाट चीनमा बसेर मूर्तिकला, वास्तुकला, चित्रकलालगायतका विविध नेपाली कला र संस्कृति नेपालबाहिर पुर्‍याउने तथा फैलाउने नेपाली कलाकार अरनिकोबारे आमनेपालीले जानकारी पाएका थिए।

त्यसअघि कुनै पश्चिमा लेखकले नेपाली कलाकारले चीनमा श्वेतचैत्यलगायत विविध वास्तुकला, हस्तकला निर्माण गरेको उल्लेख भएको अपुष्ट खाले जानकारी मात्र थियो।

हालसालै प्रकाशित लेखक गिरीश गिरीको ‘सत्यमोहन’ को पृष्ठ १८४ मा यस्तो लेखिएको छ, ‘…त्यसअघि नेपालमा अरनिकोबारे केही चर्चा थिएन। हाम्रो इतिहासले पनि केही बताएको थिएन। केवल चिनियाँ युआन वंशावलीमा यिनको विषयमा उल्लेख गरिएको थियो। अरनिकोका यी कलाकृति आज पनि चीनमा सात सय वर्षअघिको युआनवंशको ज्युँदो इतिहासका रूपमा उचिएका छन्। श्वैतचैत्य विहारमा ढुंगाको प्रवेशद्वार छ, जुन नेपाली शैलीको मन्दिरको परम्परा हो। त्यसपछि नेपाली कलामूर्तिले भरिएको विहार खोल्नेबित्तिकै दीपंकर, शाक्यमुनि र मैत्रेयका नेपाली शैलीका बुद्धमूर्ति  देखा पर्दछन्।’ (पृष्ठ १८५)

उनै नेपाल र नेपालीको शान उँचो बनाउने अरनिकोलाई २०२४ सालमा नेपालको राष्ट्रिय विभूतिको सम्मान प्रदान गरिएको थियो। चिनियाँ  पनि अरनिकोलाई ठूलो सम्मान दर्शाउँछन्। आज पनि अरनिकोको सिर्जना जस्ताको त्यस्तै उभिएको मात्रै छैन, उनको नामसमेत चिनियाँ इतिहासमा सुनौलो अक्षरमा लेखिएको छ। यो हाम्रो सौभाग्य हो। तापनि आजको दिनमा विशाल नगरका रूपमा विकसित बेइजिङभित्र यो श्वेतचैत्य कतै हराइरहेको आभास पनि हुन्छ साथै युवा पुस्ता पनि यसबारे अपरिचित छन्।

स्याङ पु ताओ! (ओहो! अचम्म) बेइजिङको ७५० वर्ष पुरानो श्वेतचैत्य नेपाली वास्तुविद्ले बनाएको भनेर यसरी आश्चर्यभाव प्रकट गर्छन्।  यसै भएर नै हुनुपर्छ, अरनिकोको कला तथा चीन र नेपाल बीचको सांस्कृतिक आदानप्रदानमा उनको उल्लेख्य योगदानको कदर गर्दै श्वेतचैत्य स्थापनाको ७५०औँ वार्षिकोत्सव पारेर बेइजिङमा साताव्यापी कार्यक्रम गरी मनाइँदै छ। साथै वार्षिकोत्सवका अवसरमा श्वेतचैत्य मन्दिर परिसरमा तीन महिनासम्म विभिन्न प्रदर्शनी पनि चल्नेछ।

हिमाल र नदीनालाले जोडेको चीन र नेपाल बीचको इतिहासमा अरनिको एउटा महत्ता र श्रेष्ठताको अध्याय हो। सन् १२६० मा उनले ८० जना कलाकारको नेतृत्व गर्दै तिब्बत त्यसपछि चीन पुगेका थिए। ऐतिहासिक अभिलेखअनुसार उनले आफ्नो जीवनकालमा तीन वटा ठूला प्यागोडा र नाै वटा गुम्बाको निर्माणसँगै अनगिन्ती कृतिको रचना गरे। उनले कला विद्यालयको निर्माण गरे, ठूलो संख्यामा कलाकार हुर्काए।

युआन राजवंशकालमा उनले आफ्नो जीवनको ४५ वर्ष नेपाली कला, संस्कृतिको प्रसारमा समर्पित गरेका थिए। सन् १२४४ मा नेपालको पाटनमा जन्मिएका प्रसिद्ध कलाकार अरनिकोको चीनमा सन् १३०६ मा मृत्यु भएको थियो।

बहुप्रतिभाशाली कलाकार अरनिकोले ७५० वर्षअगाडि तिब्बत र चीन पुगेर नेपाली कला, संस्कृतिको प्रसार गरे तापनि उनको योगदानको जानकारी नेपालीले सयौँ वर्षपछि मात्र जानकारी पाउनु बिडम्बना नै हो। त्योभन्दा पनि उनका बारेमा नेपालमा कुनै जानकारी नराख्नु, नहुनु निकै नै खेदपूर्ण छ। तर चीनले कलाकार अरनिकोलाई सदा सम्मान गरेको छ। जीवनकालमा ड्यूक (रजौटा) को पद दिएको उनलाई मरणोरान्त सन् १३११ मा ‘खाइफु यी थोङ शानस’ तीनथरीको मानार्थ पदवी दिइएको थियो।

गत सोमबारदेखि सो श्वेतचैत्य परिसरमा जारी ‘चीन र नेपालको सांस्कृतिक सम्पदालाई एकसाथ अगाडि बढाऔँ’ नारासहित साताव्यापी नेपाल सांस्कृतिक सम्पदा प्रदर्शनीले पनि उनको योगदानको गाथा गाएको छ। चीन र नेपाल बीच मैत्रीपूर्ण आदानप्रदानको सांस्कृतिक दूतका रूपमा अरनिकोले हासिल गरेका ऐतिहासिक उपलब्धिहरूको चर्चा भएको छ। श्वेतचैत्यलगायत अरनिकोद्वारा निर्मित वास्तुकला तथा चीन नेपाल सम्बन्धमा उनको योगदान र भूमिकालाई नयाँ युगमा थप कदर गरिनेछ।

यसबाहेक चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन प्रतिवेदनले सांस्कृतिक अवशेष र सांस्कृतिक सम्पदाको संरक्षण, सभ्यताहरू बीच आदानप्रदान र पारस्परिक शिक्षा, ज्ञानलाई प्रगाढ बनाउन तथा चिनियाँ संस्कृतिलाई विश्वमा अझै राम्रो तवरले प्रवर्द्धन गर्न आवश्यक रहेको औँल्याएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनको भावनालाई गहन रूपमा कार्यान्वयन गर्न र समृद्ध र रंगीन एसियाली सांस्कृतिक सम्पदालाई बहुआयामिक आयाममा प्रदर्शन गर्न र विश्व सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षणसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको ५०औँ वार्षिकोत्सवका अवसर पारेर पनि ‘२०२२ बेइजिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह’ रूपमा सुरु गरिएको हो।

यस सांस्कृतिक सप्ताह तथा तीन महिने प्रदर्शनीले श्वेतचैत्य मन्दिर सँगसँगै नेपाल र चीनको इतिहास र संस्कृतिमा चीन नेपाल मित्रताका कथाहरूको थप खोजी गरिनेछ। चीन र नेपालबीच मैत्रीपूर्ण आदानप्रदानमा सांस्कृतिक दूत अरनिकोको चर्चा हुनेछ।

यद्यपि आजको गगनचुम्बी भवनहरूले घेरेको बेइजिङमा कतै ओझेलमा परेजस्तो लागे तापनि यो विशालकाय श्वेतचैत्य नेपाली वास्तुकला, नेपाली कलाकार तथा चिनियाँ राष्ट्रको शान, राष्ट्रिय एकताको प्रतीक र नेपाल चीन बीचको मित्रताको प्रतीक बनेर उभिइरहेको छ।

प्रकाशित: २६ कार्तिक २०७९ ९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =