नाक ठोक्किने उकालोमा रोमाञ्चक यात्रा

राजाराम बर्तौला २६ कार्तिक २०७९ ९:१४
नाक ठोक्किने उकालोमा रोमाञ्चक यात्रा

यसपालि दसैँसम्म पनि मनसुन बाहिरिएको थिएन। पानी पर्दै थियो। धेरैले यसपालिको दसैँलाई ‘हिले दसैँ’ भने। पानीकै कारण मज्जाले दसैँ मनाउन नपाएको गुनासो कतिपयले अहिले पनि गरिरहेका हुन्छन्।

तिहारलाई भने शारदीय कञ्चन आकाशले स्वागत गरेको थियो। अनेकन् रोटीका स्वाद र सयपत्री, मखमलीका फूलले तिहारको रौनक बढाए।

दसैँ–तिहार सकिएपछि ‘हाइक फर हेल्थ’ गर्ने विचार आयो। त्यसका लागि ‘हाइक फर नेपाल’लाई सम्पर्क गरेँ।

चाडपर्वको बिदा र व्यस्तताका कारण बन्द त्यस संस्थाले एक महिनाको विश्रामपछि हाइकिङको कार्यक्रम राख्दै थियो। यसै मेसोमा गत शनिबार चन्द्रागिरिको उकालो चढ्ने  निश्चय गरियो।

हुन त चन्द्रागिरिको पदयात्रा यसअघि पनि एकपटक गरिएको थियो। त्यतिखेर चन्द्रागिरि हिल्सको केबलकार निर्माणाधीन थियो। त्यसका संस्थापकमध्ये एक चन्द्र ढकालले हामी परराष्ट्रका अधिकृतहरूलाई घुमाउने निधो गरेर आतिथ्य प्रदान गरेका थिए। यो यात्राको नेतृत्व पनि उनैले गरेका थिए।

उतिखेर हामीले अहिले केबलकारको स्टेसन भएको स्थानबाट पदयात्रा सुरु गरेका थियौँ। त्यतिखेर ढुंगाको भर्‍याङ छापिएको थिएन। केबलकारको लागि जोडिने फलामे लठ्ठामुनि रूख काटिएका थिए। जंगली जनावरको खासै डर थिएन।

तर अहिले त्यहाँ घना जंगल भएको छ। जो हिंसक जंगली पशुको आश्रयस्थल बनेको छ। यो वनमा जंगली बँदेल र चितुवा प्रशस्त छन्। जो बेलाबेलामा देखिने पनि गर्छन्।

यो रुटको पदयात्रामा केही दुर्घटना भएका छन्। पदयात्री हराएर उद्धार गर्न परेका घटना र समाचार नसुनिएका होइनन्। त्यसैले यसलाई गाह्रो रुट पनि भन्ने गरिन्छ।

करिब तीन घण्टामा पदयात्रा सकिएको थियो, त्यसबखत। सम्झनाको तरेलीमा अझै पनि त्यो पदयात्रा ताजै छ।

यसपटक अलग बाटोबाट अलि फरक अनुभव संगाल्ने उद्देश्यले चन्द्रागिरिको पदयात्रा गर्ने निश्चय गरेँ। चन्द्रागिरिको पदयात्रा विभिन्न स्थानबाट सुरु गर्न सकिन्छ। हामीले तीमध्ये सबैभन्दा अप्ठ्यारो बाटो रोज्यौँ। अर्थात् त्यहाँका स्थानीयले भालेश्वरको दर्शन गर्न जान ढुंगा चिनेर बनाइएको भर्‍याङ प्रयोग गर्दै उकालो लाग्ने निधो गर्‍यो।

कुनै बेला चन्द्रागिरिको बाटो तराईबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौँ पस्न प्रयोग गरिन्थ्यो। समयको गतिसँगै परिवर्तनले फड्को मारेको कथा यी पदमार्ग स्वयं भनिरहेका छन्। यी पदमार्ग ती परिवर्तनका साक्षी बनेका छन्।

त्यहाँ हिँड्दा स्थानीयले पनि यी पदमार्ग प्रयोग गर्न छोडिसकेको जस्तो लाग्यो। मर्मतसम्भारको पर्खाइमा छन्, ती पदमार्ग। यदाकदा सोखिन पदयात्रीका पाइलाले घिसार्दै लतारेका बोटबिरुवाले अलिअलि खाली ठाउँ छोडिदिएका छन्। कतैकतै अटेरी कन्टक जंगली काँडा तेर्सिएर बाटो छेक्छन्। पदयात्रीलाई चिथोर्न खोज्छन्।

हामीले केबलकारको स्टेसनभन्दा तलको घुमाउने भन्ने ठाउँबाट पदयात्रा सुरु गर्‍यौँ। कीर्तिपुरको मच्छेगाउँबाट वा थानकोटको गोदामचौरबाट चन्द्रगिरि भञ्ज्याङ हुँदै पनि त्यहाँ पुग्न सकिन्थ्यो। तर हामीले घुमाउनेको बाटो रोज्यौँ।

शरद ऋतुको आभास दिन आकाश निर्मल, कञ्चन र खुलेको थियो। बिहानको पारिलो घामले थानकोट टलक्क टल्किएको थियो। पदयात्राका लागि उपयुक्त मौसम थियो।

सुरुमा घना जंगलभित्रका जंगली झारले हाम्रो स्वागत गरे। स्थानीयले घाँस–दाउरासमेत गर्न छोडिएका ती बाटा निर्जन र सुनसान भएछन्। जंगली लहराले घेरिएछन्।

शरीरको सन्तुलन मिलाएर सम्हालिएर हिँड्नुपर्छ त्यहाँ। सूर्यको किरण पनि छिर्न गाह्रो हुने घनघोर वनभित्र शीतका थोपाले भिजेका र लेउ लागेका ढुंगामा जतनले पाइला नराखे कतिखेर ढाड ढुंगामा बज्रिने हो ठेकानै नहुने।

जंगली चराको चिरबिर। सुन्दर प्राकृतिक दृश्य। हामी पदयात्राको भरपूर आनन्द लिइरहेका थियौँ। तर जंगली जनावर तथा शीतका थोपाले भिजेका र लेउ लागेका ढुंगामा बजारिएर दुर्घटना हुन सक्ने डरले हाम्रो आनन्दलाई खल्लो बनाइरहेको थियो। ध्यान गर्दा एकाग्र भएझैँ त्यहाँ हिँड्दा उत्तिकै एकाग्र हुनुपरेको थियो।

उपभोक्ता संरक्षित ती विशाल वन लोभलाग्दा छन्। विभिन्न प्रजातिका वनस्पति छन् त्यहाँ। उचाइसँगै निगालो घारी पनि बढ्दै जान्छ। निगालो चितुवाको लागि उपयुक्त बासस्थल हो। त्यसैले यो पदमार्ग भयमुक्त छैन। समूहमा यात्रा गर्नु उचित हुन्छ।

ठाउँठाउँमा भुइँ खनिएको थियो। त्यतै कतै बँदेल हुन सक्ने अनुमान हामीले लगायौँ। किनकि आहाराको खोजीमा बँदेलले यसरी भुइँ खन्ने गर्छ। वनभित्र ३० भन्दा बढी प्रजातिका जंगली जनावर र दुई सय प्रजातिका चरा पाइने बताइन्छ।

आनन्दित भई समूहकी एक जना युवतीले भाका हालिन्–

‘वारि वन पारि वन

मयूरको ताँती

उनकै याद आउँछ सधैँ

दिन होस् कि राति’

सहयात्री सहयोगी र सहृदयी छ भने कठिन यात्रा पनि सहज हुने गर्छ, त्यस्तै भयो। उकालोमा कतै कसैले हात दिएर ताने, कहीँ कसैले भर दिएर धकेले। नाकै ठोक्किने उकालोका भर्‍याङ यसैगरी चढ्दै गयौँ। फुलेको सासले पनि आहत हुने मौका पाएन। सहयात्राका साथीका कारण उकालोको थकाइ कता हरायो कुन्नि!

एकनासको उकालो चढ्न थालेको दुई घण्टापछि थुम्को भेटियो। जहाँबाट उत्तरमा उतुङ हिमशैल हेर्ने मौका पायौँ। पूर्वदेखि पश्चिम लमतन्न परेको हिमाल मनमोहक थियो। आकाश खुलेसँगै पहाडका टाकुरामा हिमाल मुस्कुराउँछन्। त्यो देखेर उत्तरका हिमाल हेर्न चन्द्रगिरि उत्तम स्थान हो भन्ने लाग्यो।

पदयात्राको बीचबीचमा केबलकार सरर हामी माथिबाट भएर जान्थे। त्यसभित्र रहेका यात्रीले हामीलाई देखेर हात हल्लाउँथे। हाम्रो समूहमा रहेकी एक जना बहिनीले गीत गाइन्, ‘कोही आकाशमा सरर कोही भने पसिना तरर…’ गीत फरक सन्दर्भका लागि हो। तर प्रसंगवश हाम्रो अवस्थासँग मिल्न गयो।

केबलकारमा धेरैपटक यात्रा गरेको छु। कहिले परिवारसँग त कहिले साथीभाइसँग। तर त्यो यात्रा र यो यात्रामा आकाश–जमिनको फरक छ। एक सुविधा हो त अर्को प्रकृतिसँगको सामीप्यले दिने आनन्द।

भालेश्वरसम्म पुग्न हामीलाई चार घण्टा लाग्यो। ८ बजे सुरु गरेको यात्रा १२ बज्यो। बाटोमा पानी र स्याउको टुक्राबाहेक केही खाएका थिएनौँ। आन्द्रा बटारिन थालेका थिए। पदयात्रामा खान घरबाटै खाना ल्याउनुपर्ने ‘आदेश’ आयोजकको थियो।

खाना खान अझै ठाउँ खोज्नुपर्ने थियो। चन्द्रागिरि हिल्स अनुकूल भएन। चन्द्रागिरिमा रहेका महादेव भालेश्वरको दर्शन गर्न बाँकी नै थियो।

नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको सालिकसँग साक्षात्कार गरियो। युवकयुवती सालिकसँग तस्बिर खिचाउँदै थिए। सँगसँगै परिहास पनि गरिरहेका थिए। वर्तमान राजनीतिसँग विरक्तिएका उनीहरू पृथ्वीनारायाण शाहको उठेको दाइने हात र ठडिएको चोर औँलालाई इङ्गित गरी व्यंग्य गर्दै थिए, ‘एक हजारसम्म घुस खाए ठीकै छ।’

पृथ्वीनारायण शाहले इच्छापुरेश्वर महादेव अर्थात् भालेश्वर महादेवको आशीर्वाद लिएर नेपाल एकीकरणको मनोकामना पूरा गरेका थिए या आफ्नो सैन्य रणनीति, सेना परिचालन र रणकौशल प्रदर्शन गर्दै विजय हात पारेका थिए, रहस्यकै गर्भमा छ।

हामीले भालेश्वरको परिक्रमा गर्‍यौँ। ‘सर्वे भवन्तु सुखिनः’ अर्थात् सबैको कल्याण होस् भन्ने कामना गरियो।

पदयात्रा भर्खर आधामात्र भएको थियो। अझै आधा बाटो हिँड्न बाँकी नै थियो। २५५१ मिटर उचाइको चन्द्रागिरिबाट ओरालो लाग्यौँ। जंगलको बीचोबीच एउटा खाली चौरमा सहभोज गर्‍यौँ। खाना खाइवरि फेरि यात्रा सुरु गर्‍यौँ। उकाली, ओराली, भञ्ज्याङ, चौतारी गर्दै छापडाँडा आइपुग्यो।

छापडाँडा २२७५ मिटरको उचाइमा अवस्थित छ। यहाँ पुरानो पाटी छ। एउटा होटेल छ, ‘छाप भञ्ज्याङ रिसोर्ट।’ यो ठाउँलाई छाप भञ्ज्याङ पनि भनिन्छ। उहिल्यै तराईबाट काठमाडौँ आउन चाहने यात्रुले यहाँ राहदानीमा छाप लगाएरमात्र उपत्यका प्रवेश गर्न पाउँथे। त्यसैले यस ठाउँको नाम छापडाँडा रहन गएको रहेछ।

हामी छापडाँडामा आइपुग्दा साढे ३ बजेको थियो। हिँड्दाहिँड्दै थकित साथीहरूले होटेल देखेपछि चिया–कफी खाने रहर गरे। केही बेरका लागि हाम्रो यात्रा रोकियो।

दिनभरिको हिँडाइले थाकेको ज्यानले तात्तातो कफी पाए अरू के चाहियो जिन्दगीमा! एउटैमात्र होटल भएकाले यात्रुको चाप थेग्ने नसक्ने गरी हुँदो रहेछ। व्यापार चाँदी कटाइ हुने रहेछ।

मच्छेगाउँबाट पदयात्रा सुरु गर्नेहरूका लागि यही ठाउँबाट छुटिन्छ चम्पादेवी र चन्द्रगिरि जाने बाटो। यहाँसम्म आएर रात बिताउनेहरू पनि हुँदा रहेछन्। क्याम्प राखेर रात कटाउने र समय बिताउनेहरू पनि देखिए त्यहाँ। प्रकृतिसँग नजिक हुन चाहनेका लागि छापडाँडा नाम चलेको ठाउँ रहेछ। मच्छेगाउँबाट तीन घण्टा ठाडो उकालो हिँडेपछि  छापडाँडा पुगिन्छ।

छापडाँडाबाट मच्छेगाउँ पुग्न बढीमा एक घण्टा लाग्ला भनेर त्यहीँ एक छिन थकाइ मारियो। ४ बजे छापडाँडाबाट ओरालो लाग्यौँ। तर सोचेझैँ जीवन नहुने रहेछ। ओरालोले खुट्टाको सातो लियो। घुँडा काम्न थाले। तल फेदीमा आइपुग्न दुई घण्टा नै पो लाग्यो।

साँझ छिप्पिँदै थियो। हामी फेदीमा पुगेर बस चढ्दा सहरमा बत्ती बल्न थालेका थिए। हाम्रो पदयात्राको अन्तिम बिन्दु मच्छेनारायण। त्यहाँबाट हामी फेरि भेट्ने बाचासाथ छुट्टियौँ।

 

प्रकाशित: २६ कार्तिक २०७९ ९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =