जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम रहन्छ : प्रचण्ड

हिमाल प्रेस ४ मंसिर २०७९ १८:३५
4
SHARES
जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम रहन्छ : प्रचण्ड

गोरखा– नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको लोकतान्त्रिक वामगठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन्। चितवनमा मतदान गरेर आफू उम्मेदवार रहेको गोरखा २ का विभिन्न मतदान केन्द्रको अवलोकन गर्न आइतबार बिहानै गोरखा आइपुगेका प्रचण्डले मतदातासमक्ष यस्तो बताएका हुन्।

‘यो गठबन्धनलाई लामो समयसम्म अघि बढाउनुपर्छ भन्नेमा गठबन्धनमा आबद्ध सबै दल एकमत छन्,’ उनले भने, ‘भोलि जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम रहन्छ।’ अध्यक्ष दाहालले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे गठबन्धन दलहरूबीच कुनै छलफल नभएको स्पष्ट पारे।

यस पटकको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अरू बेलाको जस्तो सामान्य निर्वाचन नभएको भन्दै यसलाई जनमत संग्रहका रूपमा लिन सकिने उनले उल्लेख गरे। अध्यक्ष दाहालले यो निर्वाचन संविधानमा पटकपटक आक्रमण गर्ने र संविधानको रक्षा गर्दै विकास र समृद्धिको यात्रा सुरु गर्न चाहनेबीचको प्रतिस्पर्धा रहेको धारणा राखे।

गोरखा आएर अध्यक्ष दाहालले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पालुङटार नगरपालिका-२, बडडाँडा, गोरखा नगरपालिकाको छेवेटार, बिरिनचोक, तेह्रकिलो, कुन्दुरटारलगायतका स्थानमा पुगेर मतदान केन्द्रको स्थलगत अवलोकन गरेका छन्।

प्रकाशित: ४ मंसिर २०७९ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 20 =