अन्तत : अग्‍निपरीक्षा सामुन्‍ने कतार

हिमाल प्रेस ४ मंसिर २०७९ १५:५८
28
SHARES
अन्तत : अग्‍निपरीक्षा सामुन्‍ने कतार विश्वकपको उद्घाटन खेलअघि अभ्यास गर्दै कतारी टिम।

काठमाडौँ- कतारको विश्वकप सपना आइतबार राति पूरा हुँदैछ। खाडीको यो सानो देशले १२ वर्षअघि विश्वकप आयोजना अधिकार पाएको थियो। त्यो पनि अमेरिका, जापान, दक्षिण कोरिया र अस्ट्रेलिया जस्ता देशलाई पछि पारेर।

विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना तयारीका लागि कतारले करिब दुई खर्ब अमेरिकी डलर खर्च गरेको छ। एक दशकभन्दा बढी समय लगाएर पूर्वाधार निर्माण गरेको छ। यत्तिको लगानी र मेहनत गरेपछि सुरु हुन लागेको विश्वकपको पहिलो खेलमा आयोजक र एक्वाडर भिड्दैछन्। अल बेट रंगशालामा हुने खेलका लागि सबै टिकट बिक्री भइसकेको बताइएको छ।

कतारले विश्वकपका सबै खेलका लागि ३१ लाख टिकट बिक्रीमा राखेको थियो। त्यसमध्ये २९ लाख बिक्री भइसकेका छन्। उद्घाटन खेलमा मात्रै करिब ६० हजार दर्शक उपस्थित हुने अनुमान छ।

कतारका लागि यो पहिलो विश्वकप सहभागिता हुनेछ। यसअघि ११ संस्करणका लागि कतारले छनोट खेलेको थियो। तर कतार एकपटक पनि सफल हुन सकेको थिएन। यसपालि आयोजक भएकाले नाताले कतार स्वतः छानिएको हो।

विश्वकप आयोजना तयारीमा मात्र होइन, टिम निर्माणमा पनि कतारले निकै मेहनत गरेको छ। कम्तीमा नकआउट चरणमा पुग्ने लक्ष्य लिएको कतारी टिमले तयारी स्वरुप कयौँ महिना विदेशी भूमिमा प्रशिक्षण गरेको छ।

‘अरु टिमको भन्दा फरक परिस्थितिमा छौँ हामी। हामीले उपलब्ध स्रोतको उपयोग गरेर तयारी गरेका छौँ। यी खेलाडीले सकेको त्याग गरेका छन्। आफ्नो परिवारबाट टाढा रहेर विदेशी भूमिमा अभ्यास गरेका छन्। विश्वकपलाई लिएर यो टिम साँच्चै गम्भिर छ। प्रतिबद्ध छ,’ पहिलो खेलको पूर्वसन्ध्यामा कतारका प्रशिक्षक फिलिक्स सान्चेजले भनेका छन्।

एक्वाडरसँगको यो खेल कतारका लागि अग्निपरीक्षा हुनेछ। उता फिफाका लागि पनि यो विश्वकप कठिन चुनौती बनेको छ। मानवअधिकार र वातावरणीय प्रभावका मामलामा कतारको आलोचना भइरहेकाले फिफाले पनि दबाब महसुस गरिरहेको हो। कतारको आलोचना युरोपका धेरै देशले गरेका छन्। कतारलाई विश्वकप आयोजना गर्ने जिम्मा दिएर फिफाले गल्ती गरेको भन्ने धारणा विश्वव्यापी छ।

यही कारण फिफा अध्यक्ष जियानी इन्फान्टिनो पटक पटक कतारको रक्षामा उत्रनु परेको छ। गत शनिबार पनि इन्फान्टिनोले पश्चिमा देशहरूले कतारको अनावश्यक आलोचना गरिरहेको अभिव्यक्ति दिएका थिए।

आयोजना अधिकार र मानवअधिकारका विषयमा भइरहेको आलोचनाले कतार दबाबमा परेको छ नै। तर उत्तिकै दबाब टिमको सम्भावित प्रदर्शनललाई लिएर पनि छ। विश्वकपको इतिहासमा दक्षिण अफ्रिका एक्लो आयोजक टिम हो, जो समूह चरणबाटै बाहिरिएको थियो। कतारलाई डर छ, कतै आफ्नो हालत पनि त्यस्तै हुने त होइन?

कतार समूह ‘ए’ मा छ। यो समूहमा कतार र एक्वाडरबाहेक सेनेगल र नेदरल्यान्ड्स पनि छन्। यस्तोमा कतार एक्वाडरमाथि जित दर्ता गर्दै बाँकी दुई खेलका लागि आत्मविश्वास बटुल्न चाहन्छ। तीन अंक बटुल्न सके कतारको अन्तिम १६ को सम्भावना जीवित रहनेछ।

‘सबैलाई लाग्न सक्ला कतारभन्दा ती तीन टिम बलिया छन्। तर हामी यो मञ्चमा आफूलाई प्रमाणित गर्न चाहन्छौँ। हामी बलियो टिम भएको सन्देश समस्त कतारी नागरिकलाई दिन चाहन्छौँ,’ फिलिक्सले भनेका छन्, ‘हो हामीसामु कठिन चुनौती छन्। हामी तिनलाई चिर्न चाहन्छौँ। सुन्दर फुटबल खेल्न चाहन्छौँ। कतारीलाई खुुसी दिने हाम्रो लक्ष्य हो।’

विश्वकप आयोजना अधिकार हात पारेपछि कतारले आफ्नो प्रदर्शनमा असाध्यै ध्यान दिएको छ। सन् २०१९ मा जापानलाई पराजित गरेर एसिन कप जितेको कतार गत वर्ष अरब कपमा तेस्रो बनेको थियो।

पछिल्ला केही महिना भने कतारका लागि सुखद रहन सकेका छैनन्। गत सेप्टेम्बरमा कतारलाई क्रोएसियाको अन्डर २३ टिमले पराजित गरेको थियो। त्यसको एक महिनाअघि जमैकाले बराबरीमा रोकेको थियो। यी दुई नतिजाले कतारको स्तर विश्वकप खेल्ने भइसकेको छैन कि भन्ने संशय उत्पन्न गराएको छ।

एक्वाडर कतारका लागि ती दुई टिमभन्दा बलियो विपक्षी हो। किनभने एक्वाडर दक्षिण अमेरिकाको कठिन प्रतिस्पर्धा छिचोलेर विश्वकपमा आइपुगेको हो। यद्यपि एक्वाडर कतारले दिनसक्ने चुनौतीलाई लिएर संयमित छ।

‘एक्वाडर र कतारको पहिलो खेल जित्ने सम्भावना बराबरी छ। हामीले कतारलाई कमजोर आकेका छैनौँ। कतारी खेलाडी शारीरिक र प्राविधिक रुपमा बलिया छन्। यसकारण यो खेल सजिलो हुने छैन,’ मोइसेस काइसेडोले भनेका छन्।

प्रकाशित: ४ मंसिर २०७९ १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =