बुथ कब्जा गरेर चुनाव जित्छु भन्‍ने नसोचे हुन्छ : आयोग

हिमाल प्रेस १ मंसिर २०७९ ४:५७
बुथ कब्जा गरेर चुनाव जित्छु भन्‍ने नसोचे हुन्छ : आयोग

काठमाडौँ– निर्वाचनलाई भयरहित बनाउन निर्वाचन आयोगले तीन घेराको सुरक्षा व्यवस्था गरेको जनाएको छ। बिहीबार आयोगले पत्रकार सम्मेलन आयोजना गर्दै प्रमुख आयुक्त दिनेश थपलियाले यसबारे जानकारी दिएका हुन्।

यस्तै निर्वाचन सुरु हुनु ४८ घण्टाअघिदेखि मतगणना नभएसम्म मदिरा बिक्री वितरण गर्न नपाइने पनि उनले उल्लेख गरे।

सोही समयमा कुनै पनि उम्मेदवारबारे छलफल गर्ने, उसले उठाएका एजेण्डाबारे अनावश्यक हल्ला फैलाउने, विजयी र पराजित हुने उम्मेदवारबारे मष्तिष्क मन्थन गर्न, सामाजिक सञ्जालमा यस्ता पोस्ट सेयर गर्न नपाइने, निर्वाचन बिथोल्न र मतदातालाई प्रभावित पार्ने प्रकारका विज्ञापन गर्न नपाइने पनि उनले जानकारी दिए।

‘निर्वाचन विथोल्ने प्रयास गर्नेलाई कारबाही गर्ने जानकारी गराइन्छ। उम्मेदवारबारे द्वेषपूर्ण अभिव्यक्ति दिने, मिथ्या सूचना दिने, बुथ कब्जा गर्नेजस्ता काम गरेमा त्यसविरुद्ध कारबाही गर्नका लागि तीन घेराको सुरक्षा व्यवस्था गरिएको छ,’ उनले भने, ‘मतदातालाई धाकधम्की दिएर, लोकतान्त्रिक परिपाटीभन्दा फरक तरिकाले, बुथ कब्जा गरेर कसैले चुनाव जित्छु भनेर नसोचे हुन्छ।’

निर्वाचनको स्वच्छता कायम राख्नका लागि सामाजिक सञ्जाल र  विज्ञापन कम्पनीहरूसँग पनि आवश्यक छलफल भइसकेकाे उनले बताए।

मतदानस्थलमा सबैजना जान र मतदान गर्न मिल्ने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए। ‘अपांग, सुत्केरी, बृद्ध-बृद्धा, अशक्त सबैलाई मैत्रीपूर्ण मतदनकेन्द्र स्थापना गर्न निर्देशन दिइएको छ,’ थपलियाले भने, ‘डर धाक धम्की दिनेलाई रोक्न सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ। अधिकार सम्पन्न सुरक्षागस्ती परिचालन गरिएको छ।’

आयोगले यसको सुरक्षा गर्न आवश्यक प्रबन्ध गरिसकेकाे उनले जानकारी दिए। निर्वाचन कसुर ऐन २४ को ५ ले ४८ घण्टाअघिदेखि मतगणना नसकिएसम्म भोजभतेर आयोजना नगर्न आयोगले जनाएको छ।

प्रकाशित: १ मंसिर २०७९ ४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 19 =