एनसेलको सिम यसरी गर्नुहोस् ई-सिममा अपग्रेड

हिमाल प्रेस ११ मंसिर २०७९ ११:३५ | Sunday, November 27, 2022
एनसेलको सिम यसरी गर्नुहोस् ई-सिममा अपग्रेड

काठमाडौँ- एनसेलका ग्राहकहरूले अब आफ्नो सिम ई-सिममा अपग्रेड गर्न सक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले शुक्रबारदेखि आफ्ना ग्राहकहरूलाई ई–सिम वितरण गर्न थालेको हो। यससँगै ग्राहकले ई–सिम चल्ने मोबाइलमा ई–सिमको प्रयोग मार्फत फाइदा लिन सक्छन्।

ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो। यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ। यो भौतिक रुपमा प्रयोग हुने सिम भन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन।

कसरी गर्ने अपग्रेड?

एनसेलका ग्राहकहरूले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भइरहेको सिम ई–सिममा अपग्रेड गर्न सक्छन्। यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ। ई–सिम सुचारु गर्नु भन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन्। यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ।

‘ग्राहकले आफूलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन्,’ एनसेलले विज्ञप्ति जारी गरेर भनेको छ, ‘नयाँ ग्राहकहरुले पनि कुनै पनि एनसेल सेन्टरबाट आफूले चाहेको स्टार्टर प्याकका साथ आवश्यक प्रक्रिया पूरा गरी ई–सिम लिन सक्छन्।’

ई–सिम सुविधा लिनका लागि, ग्राहकहरूका साथमा ई–सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ । ग्राहकहरूले आफ्नो मोबाइल ई–सिम चल्ने/नचल्ने थाहा पाउन एस्ट्रिक्सह्यास०६ह्यास डायल गर्नुपर्ने हुन्छ। यदि इम्बेडेड आईडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई–सिम चल्छ।

ग्राहकलाई सेवा प्रदान गर्न नयाँ प्रविधि र सेवाहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताअनुरूप चल्ने सुविधा सञ्चालनमा ल्याउन पाउँदा कम्पनी खुसी रहेको एनसेलले बताएको छ।

प्रकाशित: ११ मंसिर २०७९ ११:३५ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast