बलियो कथामा सिनेमाले भरिपूर्ण ‘महापुरुष’

विवेक विवश रेग्मी १२ कार्तिक २०७९ ९:३४
बलियो कथामा सिनेमाले भरिपूर्ण ‘महापुरुष’

शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको सिनेमा ‘महापुरुष’ को इटहरीमा बुधबार प्रिमियर सो देखाइएको थियो। हल खचाखच भएको इटहरीमा यो सिनेमा हेर्नेहरूले सिनेमाको प्रशंसै-प्रशंसा मात्रै गरे। ‘धेरैजसो सिनेमाले प्रिमियर सो हेर्दा सिनेमामा राम्रा कुराहरू नै भेटिन्थेनन्, ‘महापुरुष’ हेरेपछि त सिनेमाका नराम्रा कुराहरू नै भेटिएनन्’, प्रिमियर सो हेरेर निस्कँदै गरेका दर्शकहरू एकआपसमा कुराकानी गरिरहेका सुनिन्थे।

‘मरेर बाँचिरहनु भन्दा बाँचेर मरिरहनु कति कठिन हुन्छ, सोच्नुस् बा’, सिनेमाको अन्तिमतिरको यो संवाद र दृश्यले यसअघिका सबै कुरा भुलेर ‘महापुरुष’को जीवनमा नयाँ सृष्टिको सुरुआत हुन्छ।

समाजका विभिन्न विषयवस्तु  समेटेर बनाइएको सिनेमामा सिनेमा नै सिनेमा मात्रै भेटिन्छ। कतिपय सिनेमामा कथा, विषयवस्तु र सिनेमाले भन्न खोजेको कुरा खोज्दाखोज्दै पनि सिनेमा सकिन्छ। दर्शक निराश भएर फर्किन्छन्। ‘महापुरुष’मा भने सिनेमा नै सिनेमा छ।  हेरौँहेरौँ लाग्दालाग्दै झण्डै साढे २ घण्टा बितेको पत्तो हुँदैन। यसले सिनेमा ‘महापुरुष’को वजन थप बढाएको छ।

‘महापुरुष’को भूमिकामा रहेका हरिवंश आचार्यको अब्बल अभियनले दर्शकको मन एकत्रित हुन्छ। सिनेमाले घरी हसाउँछ, घरी रुवाउँछ, घरी कारुणिक र दयालाग्दो बनाउँछ त घरीघरी कठोर बन्न पनि सिकाउँछ। सिनेमामा हुनुपर्ने गुण सबै भएकाले पनि ‘महापुरुष’ उत्कृष्ट सिनेमा बनेको महसुस गर्न सकिन्छ।

‘महापुरुष’ हेरिरहँदा अनेक पटक दर्शकको हल्लाले हल गुञ्जयमान बन्यो। अनेक पटक मौन रह्यो त पटकपटक भावुक पनि बन्यो। समाजमा रहेका एकल बाहरूको कथा भनेको महापुरुषले बाहरूलाई पिँजडामा थुनेर राख्न नहुने कथा भन्छ।

एकल बालाई खुसी दिने नाममा एक्लै पिँजडामा थुनेर राखेको सुँगा जसरी राख्न नहुने सन्देश दिन्छ। जसकारण बाको खुसीको सीमारेखा खुम्चँदै खुम्चँदै जाने र चाँडै दीर्घरोगी हुने सन्देश दिन्छ। बालाई ‘महापुरुष’ बनाउने छोराहरूले बाकै मनको भाषा बुझ्न नसकेर, आफ्नो इज्जत र स्वार्थका लागि थुनेर राख्न नहुने कथा ‘महापुरुष’ले भनेको छ। यसले नेपाली सिनेमा क्षेत्रमा नयाँ विषयको उठान भएको छ।

कतिपय नेपाली सिनेमामा एउटा सिन हेर्नेबित्तिकै दर्शकले सहजै अर्को सिनको अनुमान लगाउँछन्। तर ‘महापुरुष’मा भने एउटा सिन हेरिसकेपछि कल्पनै नगरेको अर्को सिनका कारण पनि यो सिनेमा सशक्त बनेको छ।

नेपाली सिनेमाको कुरा गर्नुपर्दा कमेडी र कथावस्तु उस्तैउस्तै, उही प्रकारको हुने भए पनि ‘महापुरुष’ले भने समाजमा रहेका तर भन्दै नभनिएका, लेख्दै नलेखएका, व्यक्त गरिँदै नगरिएका एकल बाहरूको कथा भनेको छ। यसले नेपाली सिनेमा क्षेत्रमा नयाँ बहस सिर्जना गरिदिएको छ।

सन्तानको खुसीका निम्ति जीवनको घडीको सुई घुमाइरहेका बाको संवेदनाको कथाले दर्शकलाई सोचनीय बनाउँछ। ‘एक्लो पुरुषले अन्य कसैसँग बोले पनि किन बोल्यो भनेर चियोचर्चो गर्ने, हाँस्यो भने किन हाँस्यो हँ’ भन्ने समाजलाई गफगाफमै वयवृद्वहरूले भन्छन्, ‘आकाशले थिच्नुभन्दा बरु छतले नै थिचोस् भनेर घरभित्र गुम्सेर बस्दा मान्छेलाई मर्न कति नै बेर लाग्छ र?’

कतिपय सिनेमा सिनेमा हलभित्र मात्रै हेरिन्छन्। बाहिर चर्चा गर्न लायक हुँदैनन्। कथावस्तु पनि हलभित्रै सकिजान्छन्। ‘महापुरुष’ले चर्चा गर्न लायक मात्रै होइन, नेपाली सिनेमा क्षेत्रका लागि एउटा दस्तावेज तयार पारेको छ। मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) को अब्बल अभिनयले पनि सिनेमा सशक्त बनेको छ।

त्यसो त यही सिनेमाबाट सिने क्षेत्रमा ‘डेब्यु’ गरेका अरुण क्षेत्री र अञ्जना बराइलीको अभिनय वर्षौँअघिदेखि खेलेजस्तै छ। यसले गर्दा रजतपटमा उनीहरूको भविष्य सुखद हुने संकेत गरेको छ। अब उनीहरू पक्कै निर्माता र निर्देशकको नजरमा पर्नेछन्।

सिनेमा हेरुन्जेल एउटा दर्शक भएर मात्रै हेर्दा पनि आँखा रसाउँछ। झन् बा भएर, छोरा भएर, बुहारी भएर वा भनौँ एउटा समाज भएर आफूले सिनेमा हेर्दा झन् कतिपटक आँखा भिज्ने हो? त्यसको हिसाब नहोला। सिनेमा ‘महापुरुष’ले समाजको कथा बोलेका कारण पनि निर्देशक, कलाकार तथा सिनेमासँग जोडिएका सबै पक्ष प्रशंसनीय छन्।

सिनेमाको आवरण हेर्दा ‘कमेडी’ जस्तै लाग्छ। त्यसो त मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि ‘कमेडी’ विधाकै भएका कारण त्यो लाग्नु स्वभाविक हो। तर आवरणमा सोचेभन्दा पृथक र बलियो विषयवस्तुको उठानसँगै बाको संवेदना बोकेका कारण सिनेमा अब्बल बनेको छ।

सिनेमाका लेखक तथा निर्देशक प्रदीप भट्टराईले भने, ‘मेरा बाआमा गाउँमा बस्नुहुन्छ। गाउँमै रहँदा म आफ्नो भविष्यका लागि सहर पसेको छु। उहाँहरूका कति रहरहरू खुम्चिरहेका हुँदा हुन्, यो सिनेमा तीनै बाहरूका कथा हो।’

यसअघि ‘जात्रा’, ‘जात्रै-जात्रा’, ‘शत्रुगते’ को निर्देशन गरिसकेका भट्टराईले ‘महापुरुष’मा उठाएका मुद्दाले समाजमा नयाँ विषय र बहस सिर्जना गरेको छ।

सिनेमामा एकल पुरुषको कथासँगै विवाहपछि अस्ट्रेलिया जाने कुरालाई पनि देखाउन खोजिएको छ। विभिन्न सम्न्दर्भलाई एकै ठाउँमा समावेश गरी तयार पारिएको सिनेमाले नेपाली सिने क्षेत्रमा एउटा नयाँ ऊर्जा थपेको छ। कतिपय सिनेमा परिवारसँग बसेर हेर्न अप्ठ्यरो लाग्ने हुन्छन्।  ‘महापुरुष’ त्यस्तो छैन।

कतिपय सिनेमाको अन्त्यतिर भावुक र कारुणिक हुन्छ, विछोड हुन्छ र वियोगमा छटपटिन्छन् दर्शक। महापुरुषमा धेरै समय दुःख र संवेदना भए पनि अन्त्यमा दर्शक खुसीले गद्गद हुन्छन्। सिनेमाको अन्त्य सुखद रूपमा भएको छ।

त्यसो त निर्देशक प्रदीप भट्टराई नै भएका कारण सिनेमाको अन्त्यतिरको सिन यसअघिका जस्तैजस्तै हुन् कि भन्ने कुराले पुराना सिनेमाको झझल्को आउँछ। भट्टराईले नै निर्देशन गरेको ‘जात्रैजात्रा’ र ‘शत्रुगते’ सिनेमाको अन्त्यतिर पनि अपहरण नै गरेका दृश्य देखिन्छन्। यसमा पनि अपहरण गरेर अन्त्य हुनुले पुरानै सिनेमाको झझल्को आउँछ। यो सिनेमाको कमजोरी पक्ष हो।

प्रकाशित: १२ कार्तिक २०७९ ९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =