‘शिक्षकको भाषा’ मार्फत छविले कोरेको चेतना

विवेक विवश रेग्मी २९ असोज २०७९ ९:२९
‘शिक्षकको भाषा’ मार्फत छविले कोरेको चेतना

एउटा शिक्षकले के-के सोच्न सक्छ, पढाउनुबाहेक? विद्यालय जाने, विद्यार्थीसँगै रहने। सिकाउने। साँझ घर आउने। केहीबेर समाचार र सामाजिक सञ्जाल हेर्नैपर्‍यो। भोलिपल्ट पनि उही दैनिकी। प्रायः शिक्षकहरूको दैनिकी हो यो। शिक्षक प्रतिनिधि पात्र मात्र हुन्।

आममानिसले जागिरको अलावा यसैगरी दैनिकी गुजारिरहेको पाइन्छ। जागिरबाहेक लेखकीय जीवनलाई पनि अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण पस्केका छन् हेटौँडाका छवि अनित्यले  त्यसैले त उनले शिक्षकको जागिरसँगै पुस्तक ‘शिक्षकको भाषा’ नै लेखे।

छविलाई मैले शिक्षक हुनुअघि कविको रूपमा चिनेको हुँ। व्यक्तिगत हिसाबमा उनीसँग मेरो सम्बन्ध कविको हिसाबमा जोडियो। उनको नयाँ पुस्तक ‘शिक्षकको भाषा’ पढिसकेपछि भने उनी कवि सँगसँगै शिक्षक पनि हुन् भन्ने भएकाले उनीप्रति मेरो दृष्टिकोण कविका रूपमा मात्रै सीमित रहेन।

उनले पुस्तकमा आफूले भोगेको जीवन मात्रै लेखेका छैनन्। भोगाइसँगै उनका अनुभूतिहरू त छँदै छन्। त्यसबाहेक पुस्तकमा अध्ययन, सामाजिक चेतना, विभिन्न तथ्यगत कुरा पनि समावेश छन्। जसकारण पुस्तक वजनदार बनेको छ।

उनले पुस्तकमा शिक्षकको कुरा मात्रै होइन, विद्यार्थीको सम्बोधन पनि लेखेका छन्। घोकन्ते शिक्षामा निर्भर रहेको विद्यमान नेपाली शिक्षामाथि उनको तिखो प्रहार पनि छ। कतिपय ठाउँमा अभिभावकले गर्नुपर्ने कुरा र दिनुपर्ने शिक्षालाई पनि छविले मिठो तरिकाले पुस्तकमा लेखेका छन्।

यो पुस्तक शिक्षकले मात्रै होइन, विद्यार्थी र अभिभावकले मात्रै होइन।  नेता र पत्रकारले मात्रै होइन। आम मानिसले पढ्दा उपयुक्त हुन्छ। उनी आफू पनि पत्रकारिताप्रति रुचि राख्ने भएको र सुरुका दिनमा आफूले रेडियोमा काम गर्दाका अनुभव पनि समेटेका छन्।

पुस्तक छोटो छ। हुन त धेरै कुरा लेख्न निकै लेखिरहनै पर्दैन। थोरै कुरामै धेरै कुरा भन्न सक्नु लेखकको अर्को विशेषता हो।  १११ पृष्ठ रहेको पुस्तक झण्डै दुई घण्टामै पढिसकिन्छ। १३ वटा पाठमा उनले हजार कुरा भनेका छन्।

कहिले आफूले अध्यापन गराउँदाका अनुभव, कहिले विद्यार्थीले भोगेका कुरा। कहिले शिक्षकबाटै यौन शोषणको सिकार भएका विद्यार्थीको वेदना त कहिले किशोर उमेरका कुरा । ‘किशोर आवेग’ शीर्षकको कथामा उनले ‘द लिडर इन यु मा लेखक डेल कार्नेगी’ ले उल्लेख गरेको एउटा अति घतलाग्दो भनाइ समावेश गरेका छन्।

त्यहाँ उनले भन्छन्, ‘एउटा स्टिल कम्पनीले वार्षिक दस लाख डलर तलब दिनेगरी चाल्र्स नाम गरेका व्यक्तिलाई नियुक्त गरेको थियो। उनी जस्तोसुकै मानिसलाई पनि सही ढंगले व्यवहार गर्थे। एक दिन चाल्र्स उनका साथीसँग एउटा स्टिल मिलको बाटो भएर जाँदै थिए। केही मानिस धूम्रपान निषेध लेखिएको बोर्डमुनि बसेर चुरोट पिउँदै थिए।

अरु कोही मानिस भएको भए भन्ने थिए, तिमीहरुलाई पढ्न आउँदैन? तर चाल्र्सले उनीहरूसँग अरु नै विषयमा भलाकुसारी गर्न थाले। निकैबेरको भलाकुसारीपछि चाल्र्सले  खल्तीबाट चुरोट निकालेर ती मानिसाई दिए। त्यसपछि उनले भने, ‘यो कम्पान्डबाहिर भएको भए म पनि तपाईँहरूलाई साथ दिन्थेँ। चाल्र्सको त्यस किसिमको व्यवहार देखेर उनीहरू आफैँ लज्जित हुँदै चुरोट निभाए।’

यो कुरा शिक्षा हो। यसले समाजमा शिक्षा दिन्छ। र एउटा शिक्षकले यी कुरा बुझेमा हजार बढी विद्यार्थीलाई बुझाउन सक्छ। त्यसैले समाजमा सबैसँग उस्तै कला नभएपनि अभ्यास भने गर्नुपर्छ भन्ने उदाहरण व्यक्त गरेका छन्।

उनले शिक्षकहरूलाई पनि प्रश्न गरेका छन्।

‘शिक्षकले गाह्रो गृहकार्य दिनु भनेको भ्रम हो। अहिले पनि अधिक शिक्षकहरू यही भ्रममा बाँचेका छन्,’ लेखक छवि भन्छन्, ‘अमेरिकन फेडेरेसन अफ टिचर्सका अनुसार शिक्षकले अभिभावकलाई जहिल्यै नकारात्मक टिप्पणीका लागि मात्र फोन गर्नेभन्दा सकारात्मक सन्देश दिँदा शिक्षक, अभिभावक सम्बन्ध थप मजबुत हुन्छ।’

पढ्नु र शिक्षा दिनु भनेको पुस्तकका शब्द उच्चारण गर्नु मात्रै नभएको छविले पुस्तकमा चेतना कोरेका छन्। पुस्तकका शब्द उच्चारण गर्नु मात्रै भएमा अक्षर चिनेका दिन नै पढाइ सकिने उनी तर्क राख्छन्।

त्यसो त उनले पुस्तकमा अध्ययन र तथ्यगत कुरालाई पनि समावेश गरेका छन् । ‘घोकन्ते’ शीर्षकमा उनले भनेका छन्, ‘नेपाल जलस्रोतको दोस्रो धनी देश हो भनेर घोकाइन्छ, तर तेस्रो, चौथो देशहरूको नाम न हामीले विद्यार्थीलाई सिकाउँछौँ, न हामीलाई नै आउँछ।’ यसैबीच सन् २०११ को तथ्यांकअनुसार उनले जलस्रोतको दोस्रो धनी नेपाल नभएको समेत दाबी गरेका छन्। ब्राजिलपछि रुस, अमेरिका क्यानडा हुँदै नेपाल ४३ औँ स्थानमा आउने छविको जिकिर छ।

अहिलेको घोकन्ते शिक्षामा मात्रै सीमित भएको नेपालको शिक्षा प्रणालीमा एउटा दर्बिलो दस्तावेजका रूपमा यो पुस्तक लेखिएको छ। लेखकले शिक्षकको चेतनाको आयतन, विद्यार्थीको मनोभावना, अभिभावकको दृष्टिकोण र समग्रमा समाजको चित्र कोरेका छन्। यसैकारणले पनि समाजमा यो किसिमले सोच्ने शिक्षक, विद्यार्थी, अभिभावक वा अरु कोही व्यक्ति भएमा समाजमा सकारात्मक शिक्षा प्रदान गर्न सकिने विश्वास गर्न सकिन्छ।

प्रकाशित: २९ असोज २०७९ ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 12 =