मान्छेले बुझ्न नसकेको कुकुरको भाषा ‘फुर्के’

विवेक विवश रेग्मी २२ असोज २०७९ ९:०७
4
SHARES
मान्छेले बुझ्न नसकेको कुकुरको भाषा ‘फुर्के’

अभिनेता, निर्देशक तथा लेखक खगेन्द्र लामिछानेको किताब ‘फुर्के’ बजारमा आएको छ। असोज १ मा काठमाडौँ, कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, कवि विप्लव प्रतीक, गायक लोचन रिजाल लगायतले किताब विमोचन गरेका थिए।

लामिछानेलाई यसअघि मैले लेखकभन्दा अभिनेताका रूपमा बढ्ता चिन्थेँ। तर ‘फुर्के’ पढेपछि उनी अभिनेताभन्दा लेखक बढी हुन भन्ने महसुस भयो।। ‘फुर्के’ एउटा कुकुरको आत्मकथा हो।

मान्छेका कथाव्यथा लेख्न र पढ्न रुचाउने लेखकहरू धेरै छन्। तर एउटा कुकुरका भावना बुझेर त्यसमाथि किताब लेख्ने लेखक लामिछाने नै होलान्। गाउँमा जन्मिएको एउटा कुकुरको जीवनका आरोह–अवरोहको कथा समेटिएको यो कृति नेपाली साहित्यका लागि नयाँ आयाम बन्न सक्छ।

एउटा कुकुरले बुझ्ने भाषा, हेर्ने दृष्टिकोण र बाँच्ने परिवेश। यी सबै कुरा पुस्तक पढ्दा महसुस हुन्छ। कुकुरले भोगे पनि व्यक्त गर्न सक्दैन। उसको भाषा बुझ्न नसक्ने मान्छेले कुकुरलाई घरपालुवा जनावर भने पनि हेलाँ गरिरहन्छन्।

एक दिन गाउँबाट मालिकसँग कुकरका दुई छाउरा मोटर चढेर काठमाडौँ पुग्छन्। एउटा छाउरो महसुस गर्छ, ‘देख्दा राम्रो भए पनि काठमाडौँको गन्धचाहिँ नराम्रो।’ केही समयपछि मालिकले उसलाई बेच्छ। छाउरोले नयाँ मालिक पाउँछ, अनुपम।

यो कुकुरको कथा हो। कुकुरको प्रेमको कथा। कुकुरको भोगाइको कथा। कुकुरको वेदना र रोदनसँगै जीवनको कथा। समग्रमा उपन्यासले मानिसको मन जित्न सक्छ।

अनुपमले उसको नाम राख्छ, फुर्के। धेरैजसो समय अनुपमसँगै बित्ने फुर्केको जीवन अनुपमकी प्रेमिका ऋतुसँग पनि घनिष्टता बढ्दै जान्छ। विशेषतः साँझको समयमा चुरोट र गाँजाको लतमा लट्ठिने अनुपमको बेलाबेला स्याहार गर्न आउँथी, ऋतु। उनीहरूसँगै हुन्थ्यो फुर्के पनि।

छिमेकीको घरमा पालेको कुकुर ‘नानी’सँग फुर्केको देखादेख हुन्छ। त्यसपछि सुरु हुन्छ नानी र फुर्केको प्रेमकथा। केही समयसम्म प्रेमको सुगन्धमा भुलिएका उनीहरूको अप्रत्यासित बिछोड हुन्छ।

एक रात अनुपमको रहस्यमय मृत्यु हुन्छ। उनको निधनपछि फुर्केको शून्यताका दिन सुरु हुन्छन्। त्यसपछि ऋतुको घरमा बस्दै आएको फुर्के एक दिन त्यहाँबाट फुत्केर आफ्नो बाटो लाग्छ।

सहरका गल्लीहरूमा मानिसको कोलाहल, गाडीको कर्कश आवाज। फुर्केका कष्टकर दिन सुरु हुन्छन्। सहरका गल्ली–गल्लीमा जीवन व्यतीत गरिरहेको फुर्के एक दिन आफ्नी प्रेमिका नानीलाई मोटरमा देख्छ। त्यसपछि पुलकित फुर्केले उसैको कल्पना गरेर दिन बिताउन थाल्छ।

नानी पनि मालिकलाई छाडेर फुर्केसँग बस्न थाल्छे। मालिकलाई छोडेर फुर्केसँगै आएकी नानीको फोटो पत्रिकामा सूचनासहित छापिन्छ। र उसको खोजी हुन्छ। भेट्टाएपछि मालिकले पुनः नानीलाई लैजान्छन्। दुःखी हुन्छ, फुर्के। हरेक प्रहर दुःख, पिर र वेदनामा दिन बिताइरहेको फुर्केले नानीलाई पर्खिरहेको हुन्छ।

एक दिन भूकम्प जान्छ। भूकम्पले धेरैको घर भत्किन्छन्। फुर्के भन्छ,  ‘महलमा बस्ने पनि यहीँ, सडकमा सुत्ने पनि यहीँ। घर त सुखलाई मात्रै रैछ। दुःख पर्दा चौर नै काम लाग्ने रैछ। मलाईजस्तै।’

अलपत्र परेको फुर्केले नानीलाई नै सम्झिरहेको हुन्छ। उनीहरूको भेट फेरि हुन्छ। र उनीहरूको जीवनको नयाँ कथा सुरु हुन्छ। घरमा मालिकले थालमा दिएको खानेकुरा मात्रै खाएकी नानीलाई फुर्केले सम्झाउँछ, ‘अबदेखि भुँइ नै हाम्रो थाल हो।’

यो कुकुरको कथा हो। कुकुरको प्रेमको कथा। कुकुरको भोगाइको कथा। कुकुरको वेदना र रोदनसँगै जीवनको कथा। समग्रमा उपन्यासले मानिसको मन जित्न सक्छ।

उपन्यासमा केही ठाउँमा असहमति जनाउन सकिन्छ। जस्तो सकुशल सुतेको अनुपम निद्राबाट कहिल्यै फर्कदैँन। कसरी? लेखकले मृत्युको कारण नखुलाउँदा पाठकलाई कौतूहल रहन्छ। योसँगै पछि ऋतु पनि एक दिन बाहिरिन्छिन्, कहाँ जान्छिन्, कसरी घर छाडेर हिँडिन् र त्यसपछि भेटिइनन्, कहिल्यै पनि। हुन त पात्रहरू उपन्यासमा छोडिँदै जान्छन्, स्वाभाविक प्रक्रिया हो। तर टुंगोमा नपुगेको हो कि?

प्रकाशित: २२ असोज २०७९ ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =