नेपाली वीरत्वको अनुसरण गर्ने पहिलो अमेरिकी राजदूत ग्रेडी

हिमाल प्रेस ७ कार्तिक २०७९ ४:५६
4
SHARES
नेपाली वीरत्वको अनुसरण गर्ने पहिलो अमेरिकी राजदूत ग्रेडी राजा त्रिभुवनसमक्ष प्रथम अमेरिकी मिनिस्टरका रूपमा ओहदाको प्रमाणपत्र पेस गर्दै डा. हेनरी एफ ग्रेडी साथमा प्रधानमन्त्री मोहनशमशेर जबरा। तस्बिर स्रोत : न्युयोर्क टाइम्स

काठमाडौँ- नेपालका लागि डिन आर थोम्प्सन नयाँ राजदूत नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गत शुक्रबार उनले ओहदाको प्रमाणपत्र पेस गरे।

प्रमाणपत्र बुझाएलगत्तै राजदूत थोम्प्सनले महत्त्वपूर्ण मुद्दामा नेपालसँग सहकार्य गर्ने इच्छा देखाएका छन्। उनी नेपालका लागि अमेरिकाका २७ औँ राजदूत हुन्।

प्रस्तुत आलेखमा नेपालमा राजदूत भएर आएका पहिलो अमेरिकी तथा नेपाल र अमेरिकाबीचको कूटनीतिक इतिहासका केही प्रसंग खोतल्ने प्रयास गरिएको छ।

नेपालका लागि पहिलो अमेरिकी राजदूत हुन्, डा. हेनरी एफ ग्रेडी। ७४ वर्षअघि उनी नेपालका लागि राजदूत नियुक्त भएका थिए। ग्रेडीले सन् १९४८ मे ३ मा राजा त्रिभुवनसमक्ष राजदूतको ओहदाको प्रमाणपत्र बुझाएका थिए। ग्रेडीसहितका ६ जनाले नयाँदिल्लीमै बसेर नेपाल मामिला हेर्थे। नेपालमा अमेरिकी दूतावासको स्थापना भने सन् १९५९ मा भएको हो।

नेपाल र अमेरिकाबीच सन् १९४७ अप्रिल २५ मा काठमाडौँमा मैत्री तथा वाणिज्य सन्धिमा हस्ताक्षर भएसँगै औपचारिक रूपमा सम्बन्धको सूत्रपात भएको थियो। त्यसको अर्को वर्ष सन् १९४८ फेब्रुअरीमा दुवै मुलुकले एकअर्को देशमा परस्परमा मिनिस्टर तहमा राजदूत खटाउने घोषणा गरेका थिए।

त्यहीअनुसार सोही फेब्रुअरी ३ मा नेपालका तर्फबाट तत्काल अमेरिकाका लागि मिनिस्टरका रूपमा बेलायतका लागि नेपाली राजदूत रहेका केशरशमशेर जबरा तोकिएका थिए। त्यतिञ्जेलसम्म अमेरिकाका तर्फबाट नेपालका लागि मिनिस्टरका रूपमा कोही पनि तोकिएको थिएन। (द न्युयोर्क टाइम्स, ४ फेब्रुअरी १९४८)

केशरशमशेर फेब्रुअरी ४ मा लन्डनबाट ‘क्विन एलिजाबेथ’ नामक पानीजहाजमा सवार भई अमेरिकातर्फ प्रस्थान गरेका थिए। उता अमेरिकाका तर्फबाट भने फेब्रुअरी ११ मा भारतका लागि अमेरिकी राजदूत रहेका डा. हेनरी एफ. ग्रेडीलाई राष्ट्रपति ह्यारी एस. ट्रुम्यानले नेपालका लागि अमेरिकी मिनिस्टर तोकेका थिए।

सान फ्रान्सिस्को क्यालिफोर्नियाका ग्रेडीले कोलम्बिया विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए। सन् १९४७ मा भारतका लागि राजदूतका रूपमा नियुक्त भएका उनले पछि स्पेन र इरानका लागि पनि अमेरिकी राजदूतको जिम्मेवारी निर्वाह गरेका थिए।

नेपालका लागि ग्रेडीलाई भारतीय राजदूतबाहेक अतिरिक्त जिम्मेवारी दिइए पनि त्यसका लागि उनलाई अतिरिक्त पारिश्रमिक भने दिइएको थिएन। (द न्युयोर्क टाइम्स, १२ फेब्रुअरी १९४८)

अमेरिकाका लागि पहिलो नेपाली मिनिस्टरका रूपमा कमान्डिङ जनरल केशरशमशेरले सोही फेब्रुअरी १९ मा वासिङ्टनमा राष्ट्रपति ट्रुम्यानलाई ओहदाको प्रमाणपत्र बुझाएका थिए।

डा. ग्रेडी नेपालका राजासमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्न सन् १९४८ अप्रिल २४ मा दिल्लीबाट नेपाल आएका थिए। राजदूतको जिम्मेवारीसाथ नेपाल आउने ग्रेडी पहिलो अमेरिकी राजदूत थिए। तर उनको नेतृत्वमा नेपाल आउन लागेको प्रतिनिधिमण्डल भने यहाँ आउने तेस्रो उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डल थियो।

ग्रेडीभन्दा अगाडि सन् १९४६ मा जर्ज आर. मेरल र सन् १९४७ मा नेपालसँग मैत्री तथा वाणिज्य सन्धिमा हस्ताक्षर गर्न जोसेफ सी स्याटर्थवाइट नेपाल आइसकेका थिए।

डा. ग्रेडीका साथमा दिल्लीस्थित दूतावासका कर्मचारी र सहयोगीसहित सात जनाको टोली थियो। जसमा उनकी पत्नी ग्रेडी, काउन्सिलर फर इकोनोमिक्स अफेयर्स स्यामुअल एचडे, मिलिट्री एट्याची कर्नेल जोन मिडलटन, पब्लिक अफेयर्स एट्याची अर्नेस्ट एच फिस, कन्सल चाल्र्स थोम्पसन र सेकेन्ड सेक्रेटरी जेफर्सन जोन्स तृतीय थिए।

उनीहरू अप्रिल २४ का दिन दिल्लीबाट विमानमा लखनउ ओर्लिएका थिए। त्यहाँबाट रेलमा सवार भएर अर्को दिन अपराह्न १ बजे रक्सौल आइपुगेका थिए। त्यसै दिन बेलुका वीरगन्ज हुँदै भीमफेदीमा बास बसेका थिए। वीरगन्जमा गोरखापत्रका संवाददातासँग ग्रेडीले कुराकानी गरेका थिए। त्यस क्रममा उनले भनेका थिए-

‘नेपाल सानो देश भए पनि संसारमा यसको नाउँ ठूलो छ। यहाँको सरकार र जनतामा भएको वीरत्वको कहानी हामीले इतिहासमा राम्ररी अध्ययन गरेका छौँ। त्यसको प्रत्यक्ष कहानी हामीले हेरिसकेका पनि छौँ। वीरत्वको अनुसरण गर्नु लाभमात्र होइन, मानवको एउटा महान् कर्तव्य पनि हो। त्यसैले नेपाल र नेपालीसँग गाढा मित्रता कायम गर्न हाम्रा राष्ट्रपतिले नेपाल सरकारमा प्रमाणपत्र पेस गर्न मलाई नियुक्त गरेका छन्। यो काम सम्भवतः बुधबार अथवा बिहीबार हुनेछ। भोलि नेपाल पुगी ठेगान गरी सरकारमा पेस गर्नेछौँ। भारतका लागि राजदूत भएर म दिल्लीमा बस्दछु। नेपालका निम्ति पनि मै मिनिस्टर नियुक्त भएको छु। सात दिन नेपाल बसी दिल्ली फर्किन्छु। नेपाल प्रवेश गर्न सरकारबाट व्यवस्था भएको छ। यसरी नेपालको पाहुना भई जान पाउँदा खुसी लागेको छ।’ (गोरखापत्र २००५, वैशाख १६)

सन् १९४९ मा दिल्लीस्थित विमानस्थलमा विमानबाट ओर्लने क्रममा पत्नीका साथमा राजदूत डा. ग्रेडी। तस्बिर : विकिपेडिया

ग्रेडी र उनको प्रतिनिधिमण्डललाई नेपाल सरकारले नै भीमफेदीमा बस्न बंगलाको बन्दोबस्त गरिदिएको थियो। उनीहरूका लागि त्यो सबै बन्दोबस्त गर्न त्यहाँ लेफ्टिनेन्ट कर्नेल मुकुन्दबहादुर बस्नेत र मेजर जनरल पदमजंग थापा खटिएका थिए।

भीमफेदीबाट कतै घोडामा सवार भएर त कतै तामदान अनि कतै डोलीमा चढेर ग्रेडी नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल २७ अप्रिलमा थानकोट आइपुगेको थियो।

थानकोटमा राजदूत ग्रेडीलाई स्वागत गर्न मेजर जनरल शारदाशमशेर जबरा आफैँ खटिएका थिए। नेपालका तत्कालीन प्रधानमन्त्री पद्मशमशेर जबरा अघिल्लो फेब्रुअरीमा उपचारका लागि भारत गएका थिए। उनलाई एक किसिमले नेपाल छोड्न बाध्य पारिएको थियो। उनले राजीनामा नपठाइसकेकाले त्यतिञ्जेलसम्म औपचारिक रूपमा मोहनशमशेर प्रधानमन्त्री घोषित भइसकेका थिएनन्।

तर प्रधानमन्त्री पद्मशमशेर भारत पलायन भएपछि कमान्डर इन चिफका रूपमा प्रधानमन्त्रीसहित श्री ३ को कार्यभार अनौपचारिक रूपमा मोहनशमशेरले नै सम्हालिरहेका थिए। थानकोटमा स्वागत गर्न पुगेका शारदाशमशेर यिनै मोहनशमशेरका छोरा थिए। पद्मशमशेरले राजीनामा गरेपछि सोही ३० अप्रिलमा मात्र राजा त्रिभुवनबाट मोहनशमशेर औपचारिक रूपमा प्रधानमन्त्री एवं श्री ३ महाराज घोषित भए।

त्यसैले नेपालमा डा. ग्रेडीको ओहदाको प्रमाणपत्र बुझाउने समय केही दिन ढिला भएको थियो। थानकोटबाट कालीमाटी हुँदै छाउनी पुगेका उनलाई त्यहाँ १७ तोपको सलामी दिइएको थियो। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने विदेशी राजदूतलाई छाउनीबाट तोपको सलामी दिने प्रचलन थियो। बेलुकी ६ बजे त्रिपुरेश्वरस्थित सरकारी गेस्ट हाउसमा आइपुगेका उनलाई मोहनशमशेरका हजुरिया जनरल शंकरशमशेर सन्देशसहित भेट गर्न पुगेका थिए।

त्यतिबेला नेपाल आउने विदेशी अतिथि लैनचौरस्थित ब्रिटिस दूतावास वा त्रिपुरेश्वरस्थित सरकारी गेस्ट हाउसमा बस्ने चलन थियो। सन् १९४६ मा नेपाल आएका लर्ड माउन्ट बेटन (पछि सन् १९४७ मा भारतका लागि अन्तिम गभर्नर जनरल एवं भाइसरायमा नियुक्त) मात्र बहादुरभवन हाल निर्वाचन आयोग रहेको भवनमा बसेका थिए। त्रिपुरेश्वर गेस्ट हाउसमा उनीहरूको सुरक्षामा लेफ्टिनेन्ट कर्ने प्रकाशजंग थापा खटिएका थिए। (नेपाली सेनाको अभिलेख)

अप्रिल २७ मा काठमाडौँ आइपुगेका ग्रेडीले राजासमक्ष ओहदाको प्रमाणपत्र पेस गर्ने तिथि मे ३ तोकिएको थियो। त्यही बीच अप्रिल ३० मा मोहनशमशेरसमेत प्रधानमन्त्री एवं श्री ३ महाराज घोषित भए।

मोहनशमशेरको उक्त उदय उत्सव ग्रेडी र उनको प्रतिनिधिमण्डलले समेत हेर्न पाएको थियो। ग्रेडीले नेपालको तालुकदार परराष्ट्र विभागका डाइरेक्टर जनरल विजयशमशेरसँग भेटेर लामो कुराकानीसमेत गरेका थिए। मे ३ मा दिउँसो हनुमानढोकास्थित गद्दी बैठकमा ओहदाको प्रमाणपत्र पेस गर्ने औपचारिक समारोह आयोजना गरिएको थियो।

ग्रेडी बसेको त्रिपुरेश्वरस्थित सरकारी गेस्ट हाउसबाट चौघोडे बग्गीमा उनको सवारी चलाएर हनुमानढोका पुर्‍याइएको थियो। उनी त्यहाँ पुग्नासाथ नेपाली सेनाले सलामी अर्पण गरेको थियो।

गद्दी बैठकमा राजा त्रिभुवन, युवराज महेन्द्र, प्रधानमन्त्री मोहनशमशेर, कमान्डर इन चिफ बबरशमशेर, कमान्डिङ जनरलहरू र अन्य सबै उच्च पदस्थ जनरलसहित भाइभारदार सहभागी थिए।

समारोहमा विदेशी राजदूतका रूपमा नेपालस्थित ब्रिटिस राजदूत फाल्कनर र नेपालस्थित भारतीय राजदूत सरदार सुरजित सिंह मजेठिया सहभागी थिए। अपराह्न १ बजेर ३१ मिनेटमा नेपालका राजा त्रिभुवनसमक्ष नेपालका लागि पहिलो अमेरिकी मिनिस्टरका रूपमा डा. ग्रेडीले ओहदाको प्रमाणपत्र पेस गरे।

त्यसपछि राजा त्रिभुवनका तर्फबाट कमान्डर इन चिफले एउटा सम्बोधन गरे। त्यसको प्रत्युत्तरमा राजदूत ग्रेडीले सम्बोधन गरे। त्यसपछि त्यहाँ उपस्थित नेपाली अधिकारीसँग राजदूतको परिचय भयो। समारोह १ बजेर ५० मिनेटमा सम्पन्न भएको थियो। (गोरखापत्र २००५, वैशाख २३)

ओहदाको प्रमाणपत्र बुझ्दै राजा त्रिभुवनका तर्फबाट कमान्डर इन चिफले गरेको सम्बोधन यस्तो थियो–

‘विश्वशान्तिका उद्देश्यले दुवै देशले साझा शत्रुविरुद्ध अभिन्न साथीजस्तो भई धेरै युद्ध लडेका छौँ। कैयन् मैत्रीपूर्ण सम्पर्कले हाम्रो यो मित्रता झन् घनिष्ट हुँदै गएको छ। त्यस सम्पर्कको सबैभन्दा पछिल्लो कार्य हो तपाईंको नेतृत्वमा आएको यो प्रतिनिधिमण्डल। जसको हामी स्वागत गर्दछौँ। दुवै मुलुक बीचको यो हार्दिक मित्रता समयको गतिअनुसार झनझन् बढ्दै जानेछ भन्ने बहुतै आशा गरेका छौँ।’ (गोरखापत्र २००५ वैशाख २३)

त्यसको प्रत्युत्तरमा ग्रेडीले संसारमा पुनः एकपटक अधिनायकवादको कालो बादल मडारिएको परिस्थितिमा अमेरिकाले सारा संसारमा विश्वशान्ति कायम गर्न चालेको प्रयासमा नेपाल सरकारको साथ र समर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए। उनले नेपाल र अमेरिका फरक इतिहास, फरक भूगोल र फरक संस्कृति भए पनि दुई मुलुकका जनताका बीचमा अन्य धेरै कुरामा समानता रहेको उल्लेख गरेका थिए। जसमा स्वतन्त्रता पक्षधर, शान्तिप्रिय, आफ्नो स्वतन्त्रता रक्षाका लागि बाह्य अतिक्रमणविरुद्ध कडा प्रतिवाद गर्ने दुई मुलुकका जनताका बीचमा समानता भएको बताएका थिए। साथै उनले नेपाल र अमेरिका दुवै मुलुकको वैदेशिक सिद्धान्त मूलभूत रूपमा विश्वशान्ति कायम गर्ने पक्षमा रहेको पनि उल्लेख गरेका थिए। (द इन्डियन एक्स्प्रेस, ६ मे १९४८)

सन् १९४८ मे ६ का दिन बिहान ७ बजे राजदूत ग्रेडी नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल काठमाडौँबाट दिल्लीतर्फ प्रस्थान गरेको थियो। उनी ७ मेको बिहान ११ः३० मा वीरगन्ज पुगेका थिए। वीरगन्जमा उनले गोरखापत्रको संवाददातासँग नेपाल अत्यन्तै सुन्दर देश रहेको र नेपाल सरकारबाट आफ्नो भव्य स्वागत-सत्कार भएकोमा अति प्रफुल्लित भएको बताएका थिए।

साथै उनले संवाददातामार्फत नेपालका प्रधानमन्त्री मोहनशमशेर, नेपाल सरकार र नेपाली जनतालाई आफ्नो र अमेरिकी सरकारका तर्फबाट शुभकामना सन्देश पनि प्रदान गरेका थिए। उनी केही महिनापछि ग्रिसका लागि अमेरिकी राजदूतका रूपमा नियुक्त भएपछि दिल्लीबाट त्यता लागे।

नेपालमा उनको कार्यकाल अत्यन्तै छोटो रह्यो। उनी आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्न त्यही एकपटक मात्र नेपाल आए। ग्रेडीपछि नेपालका लागि नियुक्त दोस्रो राजदूत लोय डब्ल्यू हेन्डर्सनले सन् १९४८ डिसेम्बर २ नेपाल आई राजा त्रिभुवनसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका थिए।
७५ वर्षअघि यसरी जोडिएको थियो नेपाल-अमेरिका सम्बन्ध

प्रकाशित: ७ कार्तिक २०७९ ४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =