जहाँ छ भोटे कुकुर सेलिब्रेटी [भिडियो]

अजय अलौकिक १९ भदौ २०७९ ६:०७

बेइजिङ –  चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासाको दक्षिण पश्चिममा अवस्थित नागार्छे काउन्टीको साननानमा यामड्रोक नामक पवित्र ताल छ। ताल पूर्वदेखि पश्चिमसम्म एक सय ३० किलोमिटर लम्बाइ, ७० किलोमिटर चौडाइमा फैलिएको छ। यसको गहिराइ  २० देखि ४० मिटरसम्म छ। चार हजार चार सय ४१ मिटर उचाइमा अवस्थित यो ताल ल्हासाबाट १७० किलोमिटर टाढा पर्दछ।

ताल छेवैको फराकिलो सडकबाट लामो समयसम्म यात्रा सँगसँगै तालको विविध रूप र मनोरम दृश्यको सौन्दर्यपान गर्न सकिन्छ। बाटोमा ठाउँठाउँमा सुन्दर दृश्यसँगसँगै याक, भोटे कुकुर र बाख्रा भेट्दा पहाडी सौन्दर्यमा हराएको अनुभूति हुन्छ। १० चिनियाँ युआन तिरेपछि गरगहनामा सजिएका गाईबस्तुसँगै सनग्लास लगाइएका भोटे कुकुरसँग बसेर तस्बिर खिचाउन पाइन्छ।

अनि यहाँको प्राकृतिक सौन्दर्यको के बयान गर्नु? हिउँले ढाकेको पहाड, नीलो मनोहर ताल अनि नीलो आकाशमा तैरिरहेको सेतो बादलले कसको मन नलोभ्याउला र? यस्तो प्राकृतिक सुन्दरता बीच भोटे कुकुरतर्फ पर्यटक निकै आकर्षित हुँदा रहेछन्।

पर्यटकहरू ठूलो टाउको र ठूलो शरीर हुने भोटे कुकुरसँग फोटो खिच्न लालयित पनि हुन्छन्। त्यसमाथि स्थानीय व्यापारीले कुकुरलाई चस्चा लगाइदिएर ‘हिरो लुक्स’ दिएका हुन्छन्। यामड्रोक ताल वरपर भोटे कुकुर एक सेलिब्रेटीझैँ देखिन्छन्।  स्थानीय तिब्बतीहरूका लागि यो आय आर्जनको बाटो पनि बनेको छ।

यहाँ पाइने भोटे कुकुर नेपालका साथै भुटान, भारत, मंगोलिया र चीनमा पाइन्छ। खासमा यसको जन्मथलो तिब्बती छिङहाई पठारभूमि हो। जसकारण यो विश्वमा तिबेतन म्यास्तिफको नामले प्रसिद्ध छ।

सहरमा घरको सुरक्षाकालागि कुकुर पाल्ने गरिन्छ। तर भोटे कुकुरलाई हिमाली क्षेत्रमा भेडा बाख्रा, गाईबस्तुको रक्षकका रूपमा लिने गरिन्छ। यो भोटे कुकुरले सयौँको संख्यामा रहेका भेडाबाख्रा हेर्छ। यो प्रजातिको कुकुर स्याल, बाघ, भालु र चितुवासँग पनि लड्न सक्षम हुन्छ।

प्रकाशित: १९ भदौ २०७९ ६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =