जीवनका वक्ररेखा : परिवार, समाज र राजनीतिको शल्यक्रिया

रमेशप्रसाद खनाल १ असोज २०७९ ९:०४
जीवनका वक्ररेखा : परिवार, समाज र राजनीतिको शल्यक्रिया

भगवान् गौतम बुद्धले भनेका छन्- यो संसार दुःखको भवसागर हो। तर दुःखको समाधान पनि छ। जसरी दिनपछि रात आउँछ, उज्यालोपछि अँध्यारो आउँछ, त्यसैगरी जीवनपछि मृत्यु अवश्यम्भावी छ।

सुखपछि दुःख अनि दुःखपछि सुख यस्तै रितमा चल्ने गरी प्रकृतिले वा ईश्वरले संसार सिर्जना गरेको छ। दुःख, सुख, हाँसो, रोदन, सफलता, हार, जित, रिस, लोभ, मोह, घमण्ड, उकाली, ओराली आदिको समागम नै हरेक मानिसको जीवनका कथाव्यथा हुन्।

मानवले संसारमा अनेकौँ सृष्टि गर्छ, आविष्कार गर्छ र आफू सर्वोत्कृष्ट भएको शंखघोष गर्छ। जीवनसँगै सधैँ रहेको मृत्युलाई मानवले भुल्ने गर्छ। त्यसैले संसार झिलिमिली हुन सकेको हो नत्र यो संसार बसिनसक्नु नर्क समान हुने थियो होला। भुल्न सक्ने क्षमता प्रकृति प्रदत्त मानव जीवनको सबैभन्दा असल तत्त्व हो।

मृत्यु सम्झेरमात्र बस्यो भने पनि त संसार चल्दैन तर जबजब खराब कर्म ९पाप० हुन थाल्छ, मानिसले मृत्युलाई सम्झने हो भने यो संसारबाट पापकर्म कम हुने निश्चित छ। मृत्युबोध मानिसको जीवनको अभिन्न अंग रहेछ।

जीवन र जीवनीबारे धेरै पढियो र पढाइयो तर मृत्युबारे पनि बोध गराउन अध्ययनअध्यापन हुनुपर्छ भन्ने लाग्छ। मृत्युबोध नै जीवनको वास्तविक बोध हो।

जीवनका यस्तै अनेकौँ आरोहअवरोह, संघर्ष, जितहारबाट सिकेका पाठको बेलिबिस्तार गरिएको एउटा सशक्त कृति हो, ‘जीवनका वक्ररेखा’। लेखक विजय चालिसेले यसलाई आत्मसंस्मरण नाम दिएका छन्। सुरभी साहित्य प्रतिष्ठानले २०७८ सालमा प्रकाशित गरेको यसै कृतिबारे हो यो लेख।

काठमाडौँको पूर्वी भेग जगडोल गोकर्ण पुग्नुभन्दा पहिले आउने सुरम्य गाउँको नाउँ हो आरुबारी। कुनै बेला आरुको बोट प्रशस्त भएकाले यो ठाउँ आरुबारी भयो होला। तर अहिले त्यहाँ आरु त के कुनै फलफूलको बोट देख्न पनि धौधौ छ। अजंगका भवन, गुम्बा, अस्पताल अनि मानव बस्तीले आरुबारीलाई घरबारीमा परिणत गरेको छ।

हरियाली, फूल अनि प्रकृतिको मनोरम दृश्य, ऋतुअनुसार धान वा गहुँका बाला झुल्ने कान्लाकान्ला, तहतह गरी मिलेका खेत, बारी, जंगल, गोकर्ण निकुञ्ज, हरिया फाँट एकादेशका कथामा बदलिएका छन्।

किंवदन्तीअनुसार  लंकाका रावणले शिवजीको तपस्या गर्न यही आरुबारी माथिको यज्ञडोल अहिलेको जगडोलमा बसेर ध्यान र यज्ञ गरेको भनिन्छ। अहिले पनि यज्ञ गरिएको ठाउँ देख्न सकिन्छ। तीन ठूला ढुंगाको चुलो तिनै रावणले खाना पकाउन प्रयोग गरिएको ठाउँको नाम तीनचुल्हे थियो।

आरुबारी पुग्नुभन्दा पहिले भेटिने ठाउँ। तीनचुल्हेका ती ठूलठूला ढुंगा अहिले हटाइएकोले अब नाममात्र तीनचुले बाँकी छ। अहिले त पीपलको चौतारी छ र भगवान् बुद्धको सानो मन्दिर देखिन्छ। ‘जीवनका वक्ररेखा’ आफू जन्मेको आरुबारी, तीनचुले, गोकर्ण, बौद्ध, जोरपाटी, महांकाल, चाबहिलको सेरोफेरो र परिवेशमा बिताएका पलबारे आफ्ना अनुभव र अनुभूति समेटिएका छन्।

यही आरुबारीमा २००८ असार २२ मा पिता रामेश्वर शर्मा चालिसे ‘रमेश विकल’ र आमा सुशीला नेपालको तेस्रो सन्तान र जेठो छोराका रूपमा विजय चालिसेको जन्म भएको हो। कथा, कविता, निबन्ध, उपन्यास, नियात्रा, बालसाहित्य आदिमा रुचि राख्ने साहित्यकार हुन् विजय चालिसे।

शिक्षण पेसाबाट जीविका सुरु गरेका लेखकको लेखनमा घरको वातावरणले प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पार्नु स्वाभाविक थियो। किनकि रमेश विकल नेपालका प्रख्यात कथाकार एवं लेखकमा स्थापित नाम हो। घरमा हुने साहित्यिक वातावरण, छलफल, कुराकानीले बाल र किशोर मस्तिष्कमा प्रभाव अवश्य नै पार्छ।

लेख्नेपढ्ने वातावरणमा हुर्किएका चालिसेको लेखन र साहित्य अध्ययनमा रुचि हुनु स्वाभाविक थियो। लेखनसँगै जीवनमा नयाँ मोड आयो जब गोरखापत्रमा जागिरे भए। पत्रकारिता पनि लेखनको एक महत्त्वपूर्ण अंग हो। त्यसबेला सरकारी पत्रिकामा काम गर्नु भनेको इज्जतको काम थियो। सरकारले पत्याएका मानिसमात्र प्रवेश हुन सक्ने भए पनि लोकसेवा आयोगले आफ्नो निर्णयमा कुनै राजनीतिक हस्तक्षेप सहनुपर्ने अवस्था थिएन।

काबिल उम्मेदवारलाई कुनै छेकवार नभएकाले खुला प्रतिस्पर्धाबाट उनले सरकारी जागिरमा प्रवेश गरे। सरकारको नियम र निर्देशनको घेरोभित्र रहेर काम गर्नुपर्थ्यो, जुन सजिलो थिएन। सानो गल्तीले जागिर जाने वा जेल पर्ने अवस्था पनि आउन सक्ने तरबारको धार माथि बसेर काम गरेको अनुभव पनि लेखकले पुस्तकमा यत्रतत्र उल्लेख गरेका छन्।

त्यसैले यो पुस्तक कुनै व्यक्ति वा परिवारको निजी अनुभवको बकपत्रमात्र होइन, यस कृतिलाई नेपालको समसामयिक इतिहासको वस्तुनिष्ठ ढंगबाट चित्रण गरिएको एक सशक्त दस्तावेज भन्न सकिन्छ।

नौ खण्डमा विभक्त कृतिलाई विभिन्न कालखण्डमा बाँडिएको छ। विक्रम संवत् २००८ देखि २०७७ सालसम्मका व्यक्तिगत तथा देशका राजनीतिक घटनापरिघटना उल्लेख छन्। २००८ देखि २०१७ सम्म बाल्यकाल र थातथलो, २०१७ देखि २०२५ सम्म तत्कालीन समाज, दाम्पत्य र प्रवेशिका, २०२६/२०३६ सम्म हिप्पी, गुप्तचर र राबिसे, २०३७ देखि २०४५ सम्म जनमतपछिको व्यवसाय परिवर्तन, २०४६ देखि २०५१ सम्म दोस्रो संसदीय काल र कम्युनिस्ट सरकार, २०५२ देखि २०६२ साल राजनीतिक अस्थिरता र माओवादी जनयुद्ध, २०६३ देखि २०६७ सम्म गणतान्त्रिक नेपाल, २०७२ देखि २०७७ सम्म सर्वाधिक कहरका वर्ष, परिशिष्टमा ‘बचेखुचेका विशेष सम्झनाहरू’ संलग्न गरेर आत्मसंस्मरण तयार भएको छ।

पुस्तकलेखन आफूलाई खोज्ने एक इमानदार प्रयास हो, जुन सबैभन्दा महत्वपूर्ण र कठिन काम हो। ‘पदमा रहनेका सबै मित्र हुन्छन्’ भन्ने उक्ति लेखकले किताबमा उल्लेख गरेका छन्। त्यस्तै अनुभूति सेवानिवृत्त हुने समय नजिकँदै जाँदा र निवृत्त भएपछि मैले पनि भोगेँ।

आफ्ना पिता रमेश विकलको सानिध्यका लागि लेखक कति लालायित रहेको भन्ने कुरा ‘बाल्यकालमा पिताजीको सानिध्यका लागि आँखा ओछिन्थे, अहिले यो बुढ्यौलीमा सन्तानको सानिध्यका लागि। जे जति र जो जति भए पनि आखिर एक्लै भोग्नुपर्ने रहेछ जीवन’ कथनले स्पष्ट पार्छ। जो लेखकको मात्रै नभई हरेक आमाबुबाको मार्मिक अभिव्यक्ति लाग्छ।

‘अविरल बग्दछ इन्द्रावती’ जस्ता अनेकौँ महान् कृतिका लेखक वरिष्ठ आख्यानकार रमेश विकलको जन्म, सिर्जनशील लेखनको अधिकांश समय व्यतीत भएको र देहावसान भएको भूमि हो आरुबारी। २०३८ सालमा विकलको अगुवाइमा त्यहाँको ग्राम निर्माण बन्धु मण्डल नामक सामाजिक क्लबले कविता गोष्ठी आयोजना गरेको थियो। त्यस क्षेत्रीय कविता गोष्ठीमा पहिलो भएपछि आरुबारीको संगत र रमेश विकलको सानिध्य पाउने अवसर पाएँ। उहाँ मेरो साहित्य लेखनको पहिलो गुरु हुनुहुन्थ्यो।

उहाँको जेठो छोरा विजय चालिसे र कान्छा छोरा महेन्द्र चालिसेसँग पनि त्यहीँबाट मित्रता सुरु भयो। बन्धुमण्डलको कार्यकक्षमा होस् वा उहाँकै घरमा हुने जमघट र साहित्यिक रचना पठनपाठन, सुन्ने र सुनाउने अनि विचारविमर्श गर्ने प्रमुख थलो बन्न पुग्थ्यो।

बौद्ध, चाबहिल, महांकाल, जोरपाटी, गोकर्ण आदिका भर्खरै लेखनमा उदाउँदै गरेका कवि लेखक गणेश योञ्जन, विमल अर्याल, धन्वन्तरी मिश्र, वसन्त  रिजाल, गोपाल बराल, उद्धव रायमाझी, विदुर चालिसे, वैकुण्ठ मानन्धर, देविका तिमिल्सिना, गोविन्द वर्तमान आदिको निमित्त मौरीको रानो हुनुहुन्थ्यो, रमेश विकल। उहाँले ‘केटा हो मलाई दाइ भन, सर नभन’ भनेपछि हामी ‘विकल दाइ’ भनेर बोलाउँथ्यौँ।

विजय चालिसेसँग यस्तै प्रसंगमा भेटघाट हुन्थ्यो। उहाँ पनि हामी सबैका ‘दाइ’ हुनुहुन्थ्यो। हामीले ‘विजय दाइ’ भन्ने गर्थ्यौँ। त्यतिखेर उहाँ गोरखापत्र दैनिकमा काम गर्नुहुन्छ भन्ने सुनेको मात्र थियौँ। गोरखापत्र दैनिकको शनिवासरीय त्यो बेला सबैले चाख दिएर पढ्थेँ। किनकि हिजोआजजस्ता अन्य विकल्प थिएनन्। निजी दैनिक ब्रोडसिट पत्रिका प्रकाशित हुन थालेका थिएनन्।

एकपल्ट उहाँलाई मैले एउटा कथा छाप्न दिएको थिएँ। जुन जस्ताको तस्तै छापिएको थियो। भर्खर लेख्न सुरु गरेको मलाई प्रोत्साहन गर्न उहाँ कहिल्यै चुक्नुभएन। केही महिनाअघि मात्र ‘रूपरेखा’ मा पनि मेरो एउटा कथा प्रकाशित भएको थियो। उहाँले सधैँ मलाई लेख्न उत्साहित गर्नुभयो।

कविताबाट लेखन सुरु गरे पनि मेरो रुचि साहित्यका अन्य विधामा पनि क्रमिक रूपमा बढ्दै गयो। कविता, कथा पछि नाटक अनि निबन्ध मेरो लेखन रुचिका क्षेत्रमा परे। विजय दाइको सम्पादनमा निस्कने ‘सांग्रिला’ साहित्यिक त्रैमासिकमा ‘क्षितिजमा प्रकाशका रेखाहरू’ नामक मेरो एक लघु नाटक प्रकाशित भएको थियो।

शिक्षण, पत्रकारिता  र साहित्य सिर्जनामा आबद्ध विजय चालिसेले ‘मनमा एउटा कुरा राखेर मुखले अर्को बोल्न नसक्ने बानी आफ्नो कमजोरी रहेको’ बोध गर्दै आफ्नो मनको बह किताबमा पोख्नुभएको छ। पाँच दशकीय लेखन यात्राको आरोहअवरोहमा उहाँका छ वटा कथा संग्रहका अतिरिक्त उपन्यास, संस्कृति, नियात्रा, आमसञ्चार,  बालसाहित्यका गरी ५० भन्दा बढी कृति र हजारौँ फुटकर रचना, शोधपत्र प्रकाशित छन्।

२०३९ सालमा सुरु भएको  ‘सांग्रिला’ त्रैमासिक पत्रिका २०४६ मा २५ अंक प्रकाशन भएपछि बन्द भयो। त्यस्तै, ग्राम निर्माण बन्धु मण्डलको स्थापनादेखि नै सक्रिय उहाँले २०३९।२०४० का दुई बृहत् कविता गोष्ठी र उक्त गोष्ठीहरूमा प्रस्तुत भएका कविताको संकलन ‘बन्धु संगम’ निकालेका थिए। सोही संगठनको वार्षिक प्रकाशनको रूपमा रहेको त्यसको सम्पादन पनि विजय दाइले गर्नुभएको थियो।

क्षेत्रीय कविता प्रतियोगितामा पहिलो स्थान पाउन सफल भएको मेरो कविता ‘एउटा आकार स् एउटा मान्छे’ पनि ‘बन्धु संगम’को पहिलो अंकमा छापिएको थियो।

एकै भेगको भएर होला हाम्रो अनुभव, अनुभूति र परिवेश एकै प्रकारका हुने रहेछन् भन्ने कुरा मैले ‘जीवनको वक्ररेखा’ पढेपछि थाहा पाएँ। परिवारको जेठो छोरो भएर के कस्तो दायित्व हुन्छ। आफ्ना इच्छाआकांक्षालार्इ कसरी तिलाञ्जली दिनुपर्छ भन्ने यथार्थबोध हुन्छ। किनकि म पनि प्रकारान्तले परिवारको ज्येष्ठ पुत्र हुँ।

घर, खेतबारी, मेलापात, रोपाइको रौनक, जात्रा अनि चाडबाड। अनि सानो काँठको गाउँमा बिताएका केटाकेटी बेलाका पल जसरी अभिव्यक्त भएका छन्, त्यो मेरो परिवेशसँग पनि मिल्न जानु संयोगमात्र होइन। म बौद्ध महांकालवासी उहाँ आरुबारी। किताब जति पढ्दै जान्छु त्यसको हरेक पानामा आफूलाई मात्र पाउँछु।

उहाँ चाबहिल मित्रमण्डल भवनस्थित पशुपति मित्र माध्यमिक विद्यालयमा पढ्न थाल्नुभयो। संयोगले म पनि त्यही विद्यालयमा बिहानी सत्रमा ४ कक्षामा भर्ना हुन पुगे। दिनहुँ आरुबारीबाट चाबहिलको यात्रा सहज थिएन। गोरेटो बाटो बर्खामा त खोला र हिलोमा हिँडेजस्तो। बाटोको दुवैतिर नीलकाँडाका बोट। घरनजिक विकल्प नभएकोले जस्तोसुकै अवस्थामा पनि पढाइ अगाडि बढाउनुबाहेक उपाय थिएन। साँझबिहान सखारै हिँड्न साह्रै सकस थियो। जेजसरी पनि पढ्न जानु थियो। हामी दुवै एकै विद्यालयका उत्पादन हौँ।

ग्रामीण जीवनको झलक, चाडपर्व, मेलाको सजीव चित्रण, चिउरा घरमै कुट्ने र कुटाइने त्योबेला र आजको समयको तुलना हुनै सक्दैन। पुस्तकमा आफ्नो किशोर अवस्था हुँदाका क्षणिक यौन आवेगका घटनासमेत भनिएका छन्।  जुन सितिमिति धेरै लेखकले सोच्न पनि सक्दैनन् होला।

त्यसैगरी आफ्ना पितासँगको सम्बन्धमा रहेको तिक्तताबारे पनि परोक्ष रूपमा लेख्न सक्नु, त्यो पनि रमेश विकलजस्तो महान् हस्तीको बारेमा। यसलाई लेखकले आफ्नो कर्तव्यपालन इमानदार ढंगले गरेको मान्नुपर्छ।

विजय चालिसेले मध्यरातमा हालिदिएको तमाखुको हुक्का तान्दै रमेश विकलले अनगिन्ती कालजयी एवम् अद्वितीय रचना सिर्जना गर्नुभयो। विकलको माइलो छोरा शेखरको बागमतीको भेलमा पौडी खेल्दा निधन भयो। घटनाले घरमा ल्याएको आँधीबेहेरीमा आफ्नो भर्खर बिहे गरी गृहप्रवेश गरेकी पत्नीमाथि लागेका लाञ्छानाको हृदयविदारक कथा पनि विजय दाइले पस्किएका छन्। जो उच्च साहस भएको सर्जकले मात्र गर्न सक्छ। आफ्ना प्रेमप्रसंगबारे पनि लेखकले धक नमानी लेखेका छन्। मान्छेको नाम भने खुलाएका छैनन्।

काठमाडौँ उपत्यकामा जन्मिहुर्किएको एउटा युवक राष्ट्रिय विकास सेवा ९राविसे० कार्यक्रममार्फत सुदूरपश्चिमको डोटी जाँदा र त्यहाँ कार्यरत रहँदाको वर्णन रोचक छ। साथसाथै राष्ट्रले युवालाई कसरी आफ्नो गाउँठाउँबारे अवगत गराउने कार्यक्रम ल्याएको रहेछ र पछि त्यही कार्यक्रमले देशभर ल्याएको सचेतनाका कारण शासक त्रसित भई राविसे नै खारेज गरेको थियो। २०३६ को जनमत संग्रहको रन्कोको  विषय पनि कम्ती रोचक छैन।

पुस्तकमा विजय चालिसेले वामपन्थप्रति विद्यार्थीकालदेखि नै लगाव रहको खुलासा गरेका छन्। कम्युनिस्ट पार्टीप्रति सहानुभूति राख्ने र समर्थक नै भएको यसै पुस्तकमार्फत बताएका छन्। अहिले भने उहाँको कुनै दलमा पनि आबद्धता छैन।

बेलायतमा रहँदा हासिल गरेको ब्रिटिस प्रेस र त्यहाँका सञ्चारका अन्य माध्यमबारे पनि किताबमा विशद् चर्चा गरिएको छ। बीबीसी नेपाली सेवामा पाएको अवसरसमेत छोडेर नेपाल फर्कने निर्णय गरेको विषयले मन छुन्छ। बेलायती प्रेसको विषयमा यथेष्ठ जानकारी पाउन पुस्तक उपयोगी छ।

खण्ड ५ देखि अन्य खण्डमा भने राजनीतिक रूपमा सजग भएर लेखिएका लेखकका अनुभूति छन्। राजनीतिसँगै उहाँको रुचि कूटनीतिमा पनि देखिन्छ। कतिपय स्थानमा नेपालका कूटनीतिक विषयमा आफ्नो धारणा व्यक्त गरेको झल्किन्छ। ‘नेपालको त्रिपक्षीय सम्बन्ध’ शीर्षकमा विशुद्ध कूटनीतिसँग जोडिएको विषयमा बहस गरिएको छ।

खण्ड ६ लाई ‘राजनीतिक अस्थिरता र माओवादी जनयुद्ध’ शीर्षक दिइएको छ। यस अर्थमा यो पुस्तक नेपालको समसामयिक राजनीतिक विकासक्रमको ऎतिहासिक दस्तावेज बन्न गएको छ। पुस्तकमा राजनीतिक विकासक्रमको विवरण र लेखकको सचेतनापूर्वक अभिधारणा छ।

‘मुलुकमा व्याप्त अस्थिरताले क्रमिक रूपमा अस्तव्यस्तता ल्यायो। ‘क्षमता, योगदान र सम्पर्कलाई पार्टी कोटा र नेता परिक्रमाले छोप्दै गयो। लोकतन्त्र दलतन्त्र र गुटतन्त्र परिणत हुँदै गयो’ उहाँको भनाइले नेपालको वर्तमान राजनीतिक अवस्थाको सजीव चित्रण गरेको छ।

दरबार हत्याकाण्डको विवरणले पाठकलाई एकपटक फेरि ती दुःखद दिनतर्फ फर्काइदिनेछ। २ सय ४० वर्षको शाह वंशको अवसानको सुरुवात त्यही दिनबाट हुन थालेको र नेपालमा राजनीतिक अस्थिरता झनझन् बढ्दै गएको किताबमा उल्लेख छ।

यसै सिलसिलामा राजा ज्ञानेन्द्रको सक्रिय शासन कालमा गोरखापत्रको कामु प्रधानसम्पादक पदमा भएको नियुक्ति र छापिएको एउटा समाचारका कारण विवाद उत्पन्न भई गोरखापत्रबाट बहिर्गमन हुनुपर्दाको क्षणले सरकारी सञ्चार क्षेत्रमा काम गर्दा उठाउनुपर्ने जोखिमको राम्रै चर्चा भएको छ। सरकारी सञ्चारगृहमा काम गर्नु त्यति सहज नहुने यथार्थ पनि किताबमा छ। दोस्रोपटक गोरखापत्रको प्रधान सम्पादक हुँदा नेपालको सीमाबारे छापिएको आलेखका कारण राजीनामा दिनुपर्ने दबाबको प्रसंग किताबमा छ।

खण्ड ७ मा ‘गणतान्त्रिक नेपाल’ मा तत् समय दक्षिण एसियाका आठ मुलुकमध्ये एक नेपालमा मात्र रहेको राजसंस्था संविधानसभाको २०६५ जेठ १५ दुर्इतिहाई सदस्यबाट कसरी विघटन गरियो भन्ने कुराको विस्तृत वर्णन छ।

राजसंस्था विघटनपछि वर्तमान नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक सद्भावमा क्रमिक रूपमा देखिएको क्षयीकरणप्रति लेखकले त्यति चासो र चिन्ता व्यक्त गरेको देखिँदैन। रिपोर्ताज शैलीमा लेखिएका पुस्तकमा रहेका नेपालको समसामयिक राजनीतिक विकासक्रमका अन्य आलेखले भविष्यका पुस्तालाई महत्त्वपूर्ण विषयबारे सत्यतथ्य बुझ्न सहायक हुने देखिन्छ।

गोरखापत्र संस्थानको २१ महिनाको कार्यकारी अध्यक्षको पदमा जिम्मेवारी सम्हाल्दाको क्षणका भुक्तमान पढ्दा नेपालको राजनीतिले सबै क्षेत्रलाई कसरी प्रभावित बनाएको छ भन्ने अनुभव हुन्छ। हिजो आफ्नो राजनीतिक दुनो सोझ्याउन लोकतन्त्र, हकहितका नाराको आडमा सिर्जना गरिएका कर्मचारी युनियन, जातजाति र क्षेत्रका नामका कर्मचारी संघसंगठन र तिनको दाउपेचको भुङ्ग्रोमा नेपालको प्रशासन पनि नराम्रोसँग गाँजिएको लेखकले किताबमा खुलाएका छन्।

आफैँले जन्माएका माकुराका बच्चाले आफ्नै आमा (माउ माकुरो) ले खान्छ भनेजस्तै  हिजो आफ्नो निहित स्वार्थका निमित्त जन्माइएका संघसंगठन नै आज राजनीतिक नेतृत्वलाई आफ्नो आहारा बनाउँदैछन्। यस्तोमा कसलाई दोष दिने? हिजो विषवृक्ष रोपेर आज सुगन्धित फूल वा खानयोग्य फल फलेन भनेर कसलाई गुनासो गर्ने? त्यो दोष त जसले त्यस्ता संस्था जन्मायो त्यसैले लिनुपर्ने होइन र? लेखकले राजनीतिले ग्रस्त सरकारी संस्थाको नेतृत्व गर्दाको उतारचढाव र आफूले पाएको प्रताडनाको चित्र जस्ताको तस्तै कोरेको देखिन्छ।

आफ्नो बाल्यकालदेखि किशोरावस्था, युवावस्था अनि घरपरिवारभन्दा बाहिरको संसारमा गर्नुपरेको अनवरत साहस, स्वाभिमान र संघर्षको जीवन्त कथा बोकेको छ, ‘जीवनका वक्ररेखा’ले। मानव जीवन समानान्तर रेखामा हिँड्दैन भन्ने ज्वलन्त उदाहरण दिएको छ।

मानव जीवनको पर्याय नै वक्ररेखा रहेछन् भन्ने बोध गराउने यो पुस्तकले विजय चालिसेको व्यक्तिगत जीवनको मात्र कथा भन्दैन, यसले त त्यो समयको राष्ट्र र राजनीतिको कथा पनि भन्छ। त्यसैले पढुञ्जेल ‘वक्र रेखा’ ले मेरो जीवनका कथा पनि भनिरहेको अनुभूति भयो। संघर्षबाट हरेस नखाई बाधाअड्चनसँग जुधेर अगाडि बढ्नु नै वास्तवमा जीवन जिउनु हो भन्ने पाठ यस पुस्तकबाट पाठकले पाउँछन्।

यशस्वी आख्यानकार रमेश विकलको व्यक्तित्वको छायामा हुर्केर पनि उच्चस्तरको लेखनबाट आफ्नो बेँग्लै सिर्जनात्मक व्यक्तित्व र छवि विकास गर्न लेखक सफल छन्। आज पनि आफ्ना अनेकौँ कृति र लेख रचनामार्फत समाजलाई सचेतना दिइरहेका छन्।

(कूटनीति र साहित्य लेखनमा रुचि भएका लेखक जर्मनीका लागि नेपालका पूर्वराजदूत र शिष्टाचार महापाल हुन्।)

प्रकाशित: १ असोज २०७९ ९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + six =