नालादेखि नगरकोटसम्म उकालो चढ्दा…

राजाराम बर्तौला १ असोज २०७९ ९:००
नालादेखि नगरकोटसम्म उकालो चढ्दा…

उहिल्यै नगरकोटलाई ‘मन्दापगिरी’ भनिन्थ्यो। नगरकोट भनेपछि धेरैले पर्यटकीय गन्तव्य भनेर बुझ्छन्। अध्येता, अभियन्ता,सौन्दर्यप्रेमी, घुमन्ते, जिज्ञासु आदिका लागि नगरकोट आकर्षक रमणीय स्थल हो।

सप्ताहान्त प्रकृतिको काखमा बिताउन चाहने युवाको रोजाइमा पर्छ, नगरकोट। काठमाडौँ उपत्यकाबाट लगभग ३० किलोमिटर टाढा रहेको नगरकोट भक्तपुरको ताजपोस शोभा हो।

सहरको प्रदूषणबाट वाक्कदिक्क भएका धेरैजसो प्रकृतिप्रेमी गाडी चढेर सरर्र हावा खाँदै त्यहाँ पुग्छन्। भक्तपुर र चाँगुनारायणको फाँटको तरेली परेका गह्रामा झुलेका धानका बाला हेर्दै रमाउने पनि छन्। कोही भने मेहनती नेपाली किसानको तरकारी खेती हेर्दै, लोभिँदै, रमाउँदै उकाली लाग्छन्।

नगरकोटमा सुविधायुक्त होटलको कमी छैन। होटलको बार्दलीबाट चिहाउँदै प्रकृतिसँग रमाउने गर्छन् पर्यटक। फुत्त गयो, थकाइ मार्‍यो, चारैतिरको हरियाली हेर्‍यो, पाँचखालसम्मको पहाडी बस्ती नियाल्यो र फर्कियो।

धेरैजसो काठमाडौँवासीको नगरकोटको घुमघाम यस्तै हुन्छ। कोही भने सूर्योदय दर्शनका लागि रात बिताउने अनि फर्किने गर्छन्। सूर्योदय दर्शनको लागि पनि विख्यात छ नगरकोट।

आकाश सफा र निर्मल हुँदा उत्तरमा लमतन्न परेको पूर्वदेखि पश्चिमसम्म फैलिएको नेपालको प्रख्यात हिमाली शृंखला मनास्लु, गणेश हिमाल, लाङटाङ, जुगल, रोल्वालिङ, सगरमाथा र नुम्बुर अवलोकन गर्न सकिन्छ। यो अद्वितीय मनोहारी दृश्यबाट लाभान्वित हुन विदेशी र स्वदेशी पर्यटक नगरकोट पुग्छन्।

घना जंगल भएपछि पशुपन्छीको बास हुनु स्वाभाविक भयो। कतैकतै त घामलाई पनि छिर्न मुस्किल हुने घनघोर जंगल छ। त्यहाँ बलशाली बँदेलको बास छ भनेर सूचना टाँसिएको छ। पदयात्रामा बँदेल त देखेनौँ तर चराको चिरबिर आवाज गुञ्जनले सुखानुभूति भयो।

समुद्र सतहबाट २१७५ मिटरको उचाइमा रहेको नगरकोट अहिले पनि सामरिक महत्त्वका सैनिक किल्ला, गढी र कोत छन्। ‘वार कलेज’मात्र नभएर यहाँ त सैनिकका लागि कठिन मानिने रेन्जर्स तालिम केन्द्रसमेत  छ।

पर्यटकीय सुविधायुक्त होटल प्रशस्त छन् त्यहाँ। तर जति पनि पर्यटकीय होटल छन्, ती सबै १४–१५ सय मिटर उचाइ क्षेत्रमा छन्। यी होटलमा बास बसे पनि प्रकृतिको आनन्द, सूर्योदय अवलोकन र टाकुरासम्मको पैदल यात्रा नगरी सुखै छैन। निजी सवारीसाधनमा उक्लिँदा पनि हुन्छ। संरक्षित वन क्षेत्र वा सामुदायिक वन भएको कारणले हुनुपर्छ, अहिलेसम्म भूमाफियाको अतिक्रमणमा पर्न सकेको छैन। त्यसैले होला यहाँको प्राकृतिक सुन्दरता अहिलेसम्म कायम रहेको।

वेधशाला र जियोडिटिक भूमापन केन्द्रसमेत यहाँ स्थापना गरिएकाले नगरकोटको सामरिक, शैक्षिक र अनुसन्धानात्मक महत्त्व छ। पर्यटकीय विकासको प्रचुर सम्भावना बोकेको यस ठाउँको आर्थिक महत्त्वसमेत देखिन्छ।

अघिल्लो शनिबार नगरकोट पदयात्राको कार्यक्रम बन्यो। हाम्रो पदयात्राको थालनी नाला भञ्ज्याङदेखि सुरु भयो। बुद्ध पिसपार्क, शान्तिडाँडा, नगरकोटसम्म हुने कार्यक्रम निर्धारित थियो। यसलाई कठिन पदयात्राभित्र राखिएको थियो। यस पदमार्गमा उकाली–ओराली गरेर हिँड्नुपर्ने, चिप्लो बाटो, बाटोमा जुकासमेत लाग्ने भएकाले अन्य पदमार्ग जत्तिको सहज थिएन।

नाला भञ्ज्याङ वारि भक्तपुर र पारि बनेपा। भञ्ज्याङको किनारामा नै धाग्पो शेद्रुब लिङ बौद्ध गुम्बा। गुम्बा लामो समयदेखि बन्द रहेछ। गुम्बाको सौन्दर्य भव्य छ। त्यहाँ एकैछिन बसेर फेरि उकालो लाग्यौँ।

नाला भञ्ज्याङबाट हाम्रो पदयात्रा सुरु भयो। उकालैउकालो यात्रा। घाँटी ठाडो पारेर हेर्दा एक थलीपछि अर्को थलीको लर्को, उकालोमात्र। त्यही उकालोको पथिक थियौँ हामी। सल्लेरी जंगल रंगीन ध्वजापताकाले ढाकेको छ। सल्लिपिरले बाटो छोपेको छ। यात्रुको सुबिस्ताका लागि बाटोमा भर्‍याङ छन्।

शरीरको कापकापबाट खलखल पसिना बग्न थाल्छ। सल्लेरी वनको सुसेलीले कानमा साउती मार्छ, आँखामा मोहनी लगाउँछ र मनमा शान्ति छाउँछ। त्रिपिटक मन्त्रका लिपिबद्ध श्लोक बतासले पताका हल्लाउँदा जीवन्त सन्देश प्रवाह गरिरहेका हुन्छन्।

जतिजति उकालो बढ्दै गयो हाम्रो हिँडाइको गति घट्दै गयो। हाम्रो शरीरको ऊर्जा घटेर बेलाबेलामा रिचार्ज गर्न पानी घुटुक्क निल्थ्यौँ। थचक्क ढुँगामा बसेर थकाइ मार्न सोच्थ्यौँ। तर जुकाको हमलाले आतंकित बनाउँथ्यो। रक्तपिपासु जुका कतिखेर पदयात्री बस्लान् र आक्रमण गर्ला भनेर दाउमा हुन्छन्।

उकालो चढ्नु कहाँ सजिलो हुन्छ र? त्यो पनि एकपछि अर्को। झन् टाकुरा पुग्न त हम्मेहम्मे पर्‍यो। अडिँदै, समाउँदै, लौरोको सहायताले टेक्दै, टेकिँदै, थकाउँदै, थाक्दै, बिसाउँदै, उठ्दै, उठाउँदै हिँडिरह्यौँ। एउटा डाँडो उक्लेपछि लाग्थ्यो हामी पुग्यौँ। तर शिखर अझै टाढा हुन्थ्यो। थुम्कैथुम्का, पत्रैपत्र, लहरैलहर, नालीबेली परेको, तरेली परेको, पाखापखेरा, वन छिचोलेर पुग्नु थियो हामीले नगरकोट।

पहिलो डाँडाको टुप्पोमा आइपुग्यौँ। यहाँ त गढी पो रहेछ। चारैतिर घेरा हालेर खाल्टो खनिएको छ र बीचमा उठेको थुम्को। सैनिक तालिमका लागि निर्माण गरिएको जस्तो देखिन्छ। तर उपत्यकाको डाँडामा गढी र कोत हुनु यहाँका विशेषता हुन्। गढी र कोत आयो कि बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई सम्झिन पुग्थ्यौँ। त्यसैले होला वार कलेजको गेटैमा पृथ्वीनारायणको विशाल सालिक राखिएको छ।

पदयात्रामा पहाडका थुम्कामा तीनवटा गढी देखिए। राष्ट्रियताको प्रतीक नेपालको झण्डा पनि फहराइएको थियो बीचको एउटा गढीमा। चारैतिर घेरा हालेको खाल्टोको बीचमा उठेको थुम्को र त्यसको बीचमा राष्ट्रिय झण्डाले नेपाली वीरहरूको गौरव गाथा भनिरहेको जस्तो लाग्यो।

एउटा गढीमा त पदयात्रीको विश्रामका लागि फलामको बेन्च बनाइएको छ। जहाँ बसेर थकाइ मार्दै एक जना पदयात्रीले यसको नामकरण गर्न भ्याइहाले, ‘लभर्स मिटिङ प्वाइन्ट’। यति घना जंगलबीच घण्टौँ ठाडो उकालो चढेर कुन जोडी पो आउला यहाँ भन्ने सोचेँ। तर प्रेमालापका लागि जोडीहरू त्यहाँ जाँदा रहेछन्।

द्यौरालीमा पाती चढाउनु भन्दछन्। द्यौराली पुग्नुअघि नै ढुंगा बोकेर आउँछन् चढाउन। पाती पनि चढाउँछन्, ढुंगा पनि चढाउँछन्। द्योरालीमा देवता र देवीको बास हुन्छ। त्यस्तै मान्यता र विश्वास छ। द्यौरालीमा हाम्रो जम्काभेट भयो आदेश्वर महादेवसँग। महादेवलाई पाती चढाएर, दर्शन गर्दै, आशिष थापेर ओरालो लाग्यौँ।

यहाँसम्म आइपुग्दा यात्राको आधन अध्यायमात्र पूरा भयो। यात्रा अझै बाँकी थियो। ओरालो झरेर फेरि उकालो चढ्नुपर्ने थियो। उकालो चढ्न शरीरमा जति ऊर्जा आवश्यक पर्छ, ओर्लिंदा चाहिँदैन। तर होसियारी र सतर्कता भएन भने चिप्लिएर लड्ने सम्भावनाचाहिँ हुन्छ। त्यसैले भनिन्छ, ‘उक्लनभन्दा ओर्लन गाह्रो’।

वर्षाको समयको बाटो, लेउको चिप्लो। ढुंगामा टेकियो भने बजारिने पिर, माटोमा टेकिए चिप्लने डर। यही डरको साक्षी र सहयोगी बने सल्लिपिर। कति ठाउँमा लड्यौँ र उठ्यौँ। चिप्लनु, लड्नु, लडेर पनि उठ्नु र फेरि हिँड्नु, जिन्दगी यही त हो भन्ने लाग्यो।

हाम्रो पदयात्राको अन्तिम बिन्दु शान्तिवाटिका थियो। ओरालो लाग्दै गर्दा बाटोमा श्रीकृष्णसँग भेट भयो। कृष्णको दर्शन गरेर फेरि उकालो लाग्यौँ। त्यो ठाउँको नाम ‘कलममसी’ रहेछ।

एउटा ठूलो वृक्षको छहारीमा थकाइ मेट्न बस्दा देखियो ‘मायादेवी’ रूख। त्यहाँबाट केही माथि कल्पेश्वरको मन्दिरमा विशाल त्रिशूल निर्माण गरिँदैछ।

कृष्ण मन्दिरदेखि करिब एक किलोमिटर हामी ग्रामीण बस्ती भएर हिँड्यौँ। कल्मेश्वरसम्म पुग्दा फाट्टफुट्ट विदेशी पर्यटक हिँडेको देख्यौँ।  बाटोछेउमा सामान्य किसिमका खाजाघर देखिए। बाटोमा निर्माण कार्य हुँदैछ। डोजर विकास पनि देखियो। पत्रपत्र परेर बसेको चट्टानलाई डोजरको नंग्राले खोस्रिरहेको थियो।

डोजरे विकासमा केही समयका लागि निर्माण गरिएको जस्तो लागे पनि पत्रपत्र जमेर बसेको पहाडी चट्टानलाई चलाउँदा बर्खामा त्यसका छिद्रबाट पानी पसेर पहिरो जाने सम्भावना  बढ्छ। त्यसमाथि महाभूकम्पले चिराचिरा पारेको जमिनलाई डोजरको नंग्राले उधिन्नु किमार्थ युक्तिसंगत मान्न सकिन्न।

हामी फेरि घनघोर जंगलमा पस्यौँ। सल्लोको जंगल त छँदै थियो, अझै लोठसल्लोलाई वृक्षरोपण गरेर संरक्षणसमेत गरिएको थियो। यसै पनि सल्लोलाई औषधीय गुण भएको वनस्पति मानिन्छ। त्यसमाथि लोठसल्लोलाई विशेष स्थान दिइएको छ।

यहाँका प्रायः रूख सीधा र अग्ला छन्। कुनैकुनै ठाउँमा विशेष प्रजातिका रूख सय फिटजति सलक्क परेका छन्। यति अग्ला भएर पनि ती सुरक्षित छन्। सायद कसैको नजर परेका छैनन् वा विशेष संरक्षित क्षेत्रमा छन्। एक्लै हुँदा हुन् भने उहिल्यै काटिने थिए होलान्। तर यी समूहमा घेरिएर रहेका छन्। त्यसैले सुरक्षित छन्। सामुदायिक भावनाको सफल अभ्यास सामुदायिक वन संरक्षणको सफल नमुना पनि देख्न पाइयो।

यो पदमार्ग एक हिसाबले धार्मिक र सांस्कृतिक पनि रह्यो। नगरकोटको शिखरतर्फको यात्रामा पाइला चाल्दै गर्दा महादेव पोखरी आइपुग्यो। यो एउटा प्रसिद्ध धार्मिक तीर्थस्थल हो। जनैपूर्णिमामा यहाँ मेला लाग्ने गर्छ। हजारौँ तीर्थयात्री आउँछन्।

महादेवकुण्डमा दुई वटा कुवा छन्। एउटा कुवाको पानी गोसाइँकुण्डदेखि आउँछ भन्ने मान्यता छ। महादेवकुण्डको पवित्रता यहाँको जलको शुद्धतासँग छ। मन शुद्ध भएपछि पवित्र तीर्थस्थलमा गरेको स्नानले फल दिने नै भयो। हामीले पनि कुवाको पानी आचमन गरेर कुण्डको पानीले अभिषेक गर्दै महादेवकुण्डको दर्शन गर्‍यौँ।

महादेवकुण्ड पुग्दा दिनको १ बजेको थियो। बिहानको सवा ८ बजेबाट पदयात्रा थालनी गरिएको बीचबीचमा पानी र स्याउको दाना टोक्नुबाहेक पेटमा केही परेको थिएन। भोकले सबैका आन्द्रा झुत्ती खेल्न थालिसकेका थिए। सातदोबाटोदेखि बोकेर लगेको तयारी सातुसामललाई पस्किएर खानु थियो। सुनसान जंगलमा पन्छीको आवाज, सरोवरको किनार अनि सामूहिक भोजन। भोकले झुत्ती खेलेका आन्द्रालाई उसिनेको आलु, साग, तरकारी, सादा अचार अनि अञ्जुलीभरि चिउराले राहत दियो। भोजन होइन भोक साह्रै मिठो, स्वादिष्ट र तृप्त। आफ्नो स्वास्थ्य आफ्नै हातमा र त भन्छन्, स्वाद जिब्रोलाई भोजन आन्द्रालाई।

पेट टन्न भएपछि ब्याट्री पूरा चार्ज भयो। महादेवपोखरीबाट सय मिटर माथि छ नगरकोटको शीर्ष बिन्दु। २१७५ मिटर अग्लो स्थान र त्यसमा निर्मित भ्यु–टावर। हामी उकालो लाग्यौँ। यसपटकको उकालोचाहिँ पेट भरिएपछिको। भरिएको पेटमा उकालो चढ्नु झनै सकस हुने रहेछ।

टावर टाढा थिएन र हामीमा उत्साहको कमी पनि थिएन। नगरकोटको भ्युटावर चढ्न हामी उक्लियौँ। चढ्न होइन हेर्न। तर भ्युटावरको अवस्था यति दयालाग्दो छ कि त्यसमा चढेर केही हेर्ने जाँगर चलेन।

अहिले मुलुकभर भ्युटावर बनिरहँदा २०३० सालमा फलामको एंगल जोडेर बनाइएको यो भ्युटावर जनावर भगाउन कुर्ने मचानजस्तो छ। तत्कालीन भूमिसुधार, कृषि तथा खाद्यमन्त्री भोजराज घिमिरेबाट उद्घाटन गरिएको रहेछ। ३० सालदेखि आजसम्म हजारौँ मानिसले यहाँबाट दृश्यावलोकन गरे होलान्, सूर्योदय हेरे होलान्, हिमालय शृंखला पनि हेरे होलान्।

तर त्यसलाई नेपाली कलात्मक शैलीमा आधुनिक प्रविधि र सुविधासम्पन्न बनाउनेतर्फ कसैको ध्यान गएन। बरु तराईको एउटा भाइले बलिष्ठ अरेबिक घोडा राखेर आर्थिक आर्जन गर्दै गरेको देखियो। घोडा चढेर फोटो खिचेको सय रुपैयाँ। एक किलोमिटर गएर फर्केको सात सय रुपैयाँ।

भ्युटावरको अवलोकनपछि हामी ओरालो लाग्यौँ। बादलले नगरकोटलाई छपक्क छोप्यो र भदौरे झरीले पनि हामीलाई स्वागत गर्‍यो। त्यतिबेलासम्म हामी पदयात्राको अन्त्यतिर बुद्ध पिस पार्क, शान्ति डाँडा आइपुग्यौँ। शान्त मुद्रामा सुतिरहेकी मायादेवी र बुद्ध भगवान्को दर्शन गर्दै पदयात्रालाई विश्राम दिइयो। शान्तिवाटिकाको ठीक तल बस कुरेर बसेको थियो। क्लान्त शरीरलाई बसको सिटमा थ्याच्च राखेर प्रकृतिको अनुपम उपहार नगरकोटबाट बिदा भयौँ।

प्रकाशित: १ असोज २०७९ ९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =