ब्रिटिस भारतीय सेनापति रबर्टसामु नेपालले देखाएको त्यो सैन्य शक्ति

सन्तोष खडेरी १८ भदौ २०७९ १०:१०
88
SHARES
ब्रिटिस भारतीय सेनापति रबर्टसामु नेपालले देखाएको त्यो सैन्य शक्ति

भारत र नेपाल दुवै मुलुकले एकअर्का मुलुकका सेना प्रमुखलाई मानार्थ जनरल/महारथी दिने प्रचलन भारत सन् १९४७ मा अंग्रेज उपनिवेशबाट मुक्त भएपछि सुरु भएको हो। सन् १९५० को दशकमा स्वतन्त्र भारतका पहिलो प्रधानसेनापति केएम करिअप्पाको पालामा थालिएको यो प्रचलन अहिलेसम्म कायमै छ।

त्यही प्रचलनको निरन्तरतास्वरूप भारतीय सेनाका स्थलसेनाध्यक्ष मनोज पाण्डे नेपालका तर्फबाट राष्ट्रपतिले प्रदान गर्ने नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न यही सेप्टेम्बर ४ मा काठमाडौँ आउँदैछन्। गत ३० अप्रिलमा सेनाध्यक्ष नियुक्त भएका उनी पहिलोपटक नेपाल आउन लागेका हुन्। दुवै मुलुकका सेनामा नयाँ प्रमुख नियुक्त हुनासाथ एकअर्को मुलुकमा पुगेर राष्ट्राध्यक्षबाट त्यहाँको सेनाको मानार्थ महारथी दर्जा पाउने परम्परा कायम छ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले गत ९-१२ नोभेम्बरसम्म भारत भ्रमण गरेका थिए। त्यसै क्रममा प्रधानसेनापति शर्मालाई १० नोभेम्बरमा भारतका तत्कालीन राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

यो प्रचलन भारत स्वतन्त्र भएपछि सुरु भएजस्तो देखिए पनि अंग्रेजको पालादेखिकै रहेछ। एक सय ३० वर्षअगाडिको राणाकालीन नेपाल र अंग्रेज उपनिवेशकालीन भारतका बीचमा मानार्थ सैन्य दर्जा प्रदान गर्ने परम्परा थालनी भएको थियो। सन् १८९२ मा ब्रिटिस भारतका तत्कालीन प्रधानसेनापती लर्ड रबर्टको नेपाल भ्रमणका क्रममा उनलाई नेपालका तर्फबाट पहिलोपटक नेपाली सेनाको जनरलको मानार्थ उपाधि प्रदान गरिएको थियो।

प्रस्तुत आलेख लर्ड रबर्टको नेपाल भ्रमण र उनलाई राणा सरकारबाट प्रदान गरेको मानसम्मान र आतिथ्यताबारेमा केन्द्रित छ। यसका लागि राणाकालीन इतिहासबारे लेखिएका पुस्तक, लर्ड रबर्टको आफ्नै संस्मरणात्मक पुस्तकसहित तत्कालीन समयमा भारतबाट प्रकाशित समाचारलाई आधार बनाइएको छ।

सन् १८९२ मा नेपालको राजगद्दीमा पछिल्लो ११ वर्षदेखि आसीन १७ वर्ष उमेर पुगेका नवयुवक राजा पृथ्वीवीरविक्रम शाह थिए। प्रधानमन्त्री एवं सुप्रिम कम्यान्डर इन चिफमा वीरशमशेर जंगबहादुर राणा थिए। प्रधानमन्त्री वीरशमशेरको निमन्त्रणा ब्रिटिस भारतका प्रधानसेनापति लर्ड रबर्टले नेपाल भ्रमण गरेका थिए।

रबर्ट कलकत्ताबाट १६ मार्च १८९२ मा प्रस्थान गरेका थिए। कलकत्ताबाट विशेष रेलमा अलाहबाद हुँदै रक्सोल आइपुगेका उनी २२ मार्चमा काठमाडौँ आइपुगेका थिए। नेपाल भ्रमणको करिब पाँच वर्षपछि सन् १८९७ मा प्रकाशित आफ्नो संस्मरणात्मक पुस्तक फोर्टी वान इयर्स इन इन्डिया मा उनले नेपाल भ्रमणको उल्लेख गरेका छन्।

पुस्तकमा ब्रिटिस भारतीय क्षेत्र सुगौलीदेखि झन्डै १०० माइलको दूरीमा रहेको काठमाडौँ अग्ला पहाड, उकालो र ओरालो मात्र रहेको खराब सडकबाट छिचोल्दै कठिन रूपमा पुगेको उल्लेख  छ।

नेपालले अत्यन्तै राम्रो बन्दोबस्त गरेकाले मात्र काठमाडौँ यात्रा सफल भएको उनले पुस्तकमा लेखेका छन्। भ्रमण दलमा रबर्ट, पत्नी लेडी रबर्ट, निजी सर्जन क्याप्टेन एडवार्ड, सैनिक सचिवसहितका अन्य सहयोगी संलग्न थिए।

उनलाई काठमाडौँमा भव्य स्वागत गरिएको थियो। थानकोटसम्म चौघोडा बग्गी पठाइएको थियो भने स्वागतका लागि नेपाली उच्च सरकारी अधिकारीहरू थानकोट पुगेका थिए। त्यसमा सम्भवतः कम्यान्डर इन चीफ वा कमान्डिङ जनरल हुँदा हुन्।

स्वागतका लागि जाने टोलीमा नेपालस्थित ब्रिटिस रेजिडेन्ट कर्नेल वाइली, उनकी पत्नी र  रेजिडेन्सीका अन्य अधिकारी उपस्थित थिए। नेपालमा उनको बसोबासको व्यवस्था कहाँ गरिएको थियो भन्ने अभिलेख नभेटिए पनि उनीभन्दा पछाडि आएका अन्य सबै प्रधानसेनापति र अन्य अंग्रेज अधिकारीसमेत लैनचौरस्थित ब्रिटिस रेजिडेन्सीमा नै बस्ने गरेकाले उनीहरु पनि त्यहीँ बसेको अनुमान गर्न सकिन्छ।

प्रधानमन्त्री वीरशमशेरले रबर्ट नेपाल आएकै दिन उनलाई भेट दिएका थिए। २३ मार्चमा लर्ड रबर्टको सम्मानमा टुँडिखेलमा विशाल परेड आयोजना गरिएको थियो। परेडमा १८ हजार सैनिक सहभागी थिए। परेडस्थलमा आउनासाथ उनलाई १७ तोपको सलामी दिइएको थियो।

प्रधानमन्त्री वीरशमशेरसँगै उभिएर उनले सैनिक सलामी ग्रहण गरेका थिए। विशाल सैन्य परेडबाट सम्मान पाउँदा उनी असाध्यै प्रसन्न भएका थिए।

प्रधानमन्त्री वीरशमशेरपछि दोस्रो वरीयताका कम्यान्डर इन चिफ थिए देवशमशेर। चन्द्रशमशेर वरिष्ठ कमान्डिङ जनरल थिए। त्यति बेलाको चन्द्रशमशेरको एउटा रोचक प्रसंग छ। त्यसमा उनको चतुर्‍याइँको राम्रो झलक देखिन्छ।

अफगानिस्तान र रुससँग ब्रिटिसको तनाव बढिरहेको थियो। त्यसैले युद्धको स्थिति पनि निम्तन सक्ने जोखिम बढिरहेको थियो। त्यसको राम्रो जानकार रहेका चन्द्रशमशेरले रबर्टले सुन्ने गरी उनकी पत्नीसँग सोधेछन्, ‘श्रीमती रबर्ट! रसियनहरू कहिले आउँदैछन्? म चाहन्छु उनीहरू शीघ्र आऊन्। यहाँ हामीसँग युद्धका लागि ४० हजार सेना तयार छन्। तर लड्नका लागि भने कोही छैनन्।’

यसरी चन्द्रशमशेरले कूटनीतिक पारामा ब्रिटिस सेनापतिसमक्ष नेपालले आफ्नो तर्फबाट सेना पहिल्यै तयार रहेको भनी जानकारी गराएर मित्रताका लागि कसिलो प्रस्ताव अगाडि सारेका थिए। सोही प्रभावले होला- रबर्टले आफ्नो संस्मरणमा तत्कालीन कमान्डिङ जनरल चन्द्रशमशेर ‘गर्मजोस’ वाला सैनिक भएको उल्लेख गरेका छन्।

ब्रिटिस साम्राज्यबाट मुलुक र आफ्नो शासनसत्ता जोगाउन नेपाली सेना नेपालको सबैभन्दा ठूलो पुँजी हो भन्ने बुझेका चन्द्रशमशेरले श्रीमती रबर्टसमक्ष सेना तयार छन् भनेर  तत्काल दुईवटा सन्देश सेनापतिलाई प्रवाह गरेका थिए। एउटा, ब्रिटिस साम्राज्यमाथि आइलाग्ने खतरामा नेपाली सेना आवश्यक पर्न सक्छ र दोस्रो, ब्रिटिस साम्राज्यको सहायताका लागि नेपाल सैन्य सहयोग गर्न सधैँ तत्पर छ। वास्तवमा नेपालले त्यो ठूलो सैन्य परेडको आयोजना गरेर प्रधानसेनापति लर्ड रबर्टसामुन्ने आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको थियो।

अर्को दिन हनुमानढोका राजदरबारमा लर्ड रबर्टको सम्मानमा कार्यक्रम आयोजना गरिएको थियो। त्यहाँ राजा पृथ्वीवीरविक्रम, प्रधानमन्त्री, कम्यान्डर इन चिफ, कमान्डिङ जनरल, अन्य सैन्य जनरल, लर्ड रबर्ट, ब्रिटिस रेजिडेन्ट, गुरुपुरोहितसहित गरी १५० भन्दा बढीको उपस्थिति थियो।

ब्रिटिस रेजिडेन्सीबाट बग्गीमा हनुमानढोका राजदरबार पुगेका रबर्टलाई प्रधानमन्त्री आफैँले बग्गी रोकिने ठाउँसम्म आएर स्वागत गरेर भित्र लगेका थिए। सहभागी सबैसँग परिचय गराएका थिए। कार्यक्रममा रबर्ट र प्रधानमन्त्री वीरशमशेरले सम्बोधन गरेका थिए।

रबर्टले सन् १८५२ बाट आफू गोर्खा सैनिकको सम्पर्कमा पुगेको र त्यसको पाँच वर्ष १८५७ मा अवधको विद्रोहमा वीरशमशेरका पिता धीरशमशेरसँगसँगै एउटै मोर्चमा रहेर विद्रोहीसँग लडेको स्मरण पनि गरेका थिए। साथै उनले नेपाली सेनाको बहादुरीको प्रशंसासमेत गरेका थिए। उनले ब्रिटिस-नेपाल सम्बन्धको लामो इतिहासमा नेपाल भ्रमण गर्ने आफू प्रथम ब्रिटिस भारतीय प्रधानसेनापति भएको बताएका थिए।

वीरशमशेरले प्रत्युत्तर सम्बोधन गर्दै लर्ड रबर्ट र ब्रिटिस भारत सरकारले नेपाली सेना र नेपाल सरकारप्रति प्रदर्शन गरेको सदासयताका लागि धन्यवाद प्रकट दिएका थिए। (सिभिल एन्ड मिलिटरी गजेट लाहोर ४ अप्रिल १८९२)

रबर्टले सोही दिन दरबार हाईस्कुल र भर्खरभर्खर खुलेको वीर अस्पतालको समेत भ्रमण गरेका थिए। अनि साँझ प्रधानमन्त्री वीरशमशेरले आफ्नै दरबारमा आयोजना गरेको रात्रिभोजमा रेजिडेन्टका साथमा रबर्ट सहभागी भएका थिए। त्यहाँ श्री ३ बडामहारानी तोपकुमारी र श्रीमती रोबर्टबीच वार्तालाप भएको थियो। वार्तामा भने दोभाषेको सहायता लिइएको थियो। बडामहारानीले श्रीमती रोबर्टलाई चिनियाँ कुकुर उपहार दिएकी थिएकी थिइन्।

सोही समारोहमा प्रधानमन्त्री वीरशमशेरले आफूलाई ‘गोल्ड माउन्टेड खुकुरी’ उपहार प्रदान गरेको कुरा लर्ड रबर्टले पुस्तकमा उल्लेख गरेका छन्। यस्तै नेपालका तर्फबाट नेपाली सेनाको ‘मानार्थ मेजर जनरल’ को पदवी र नेपालका राणाशासकले लगाउने जस्तो श्रीपेच प्रदान गरेको भनी इतिहासकार पुरुषोत्तमशमशेर जबराले उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘श्री ३ वीरले मानको खातिर अनेररी जनरलको उपाधि प्रदान गरी किमती–किमती जहवार जडित ‘जर्नेली’ पगरी र ‘हुनाउँ–कल्की’ समेत प्रदान गरे। (श्री ३ हरूको तथ्य वत्तान्त भाग–१, पुरुषोत्तमशमशेर जबरा) 

लर्ड रबर्ट नेपाल भ्रमण सम्पन्न गरी २६ मार्चमा भारत फर्किएका थिए।वीरशमशेरले रबर्टलाई बोलाएर किन त्यत्रो विधि सम्मान गरे होलान् त? इतिहासकार पुरुषोत्तमशमशेर जबराले सोही पुस्तकमा त्यसको सन्दर्भ र पृष्ठभूमि उल्लेख गरेका छन्।

ब्रिटिस भारतकालमा नेपालस्थित ब्रिटिस रेजिडेन्टले समेत नेपालको स्वतन्त्रतामाथि आँखा गाडेका थिए। जंग खलकलाई समाप्त पारेर सत्तामा आएको शमशेर खलकका वीरशमशेरलाई मान्यता दिन ब्रिटिस सरकारले विलम्ब गरेको थियो। हत्या गरिएका रणोदीप सिंह र सन् १८५७ को सिपाही विद्रोहमा ब्रिटिसलाई सघाएका जंगबहादुर राणासँग ब्रिटिसको सम्बन्ध ज्यादै सुमधुर थियो।

तिनैका सन्तानको सफाया गरिएकोमा ब्रिटिस रेजिडेन्ट गर्ल्डस्टोन शमशेर खलकसँग ज्यादै क्रुद्ध भएका थिए। उनले वीरशमशेरको सत्तालाई मान्यता दिनुको साटो नेपालको अलग सार्वभौमसत्ता र स्वतन्त्रतालाई नै निमिट्यान्न पारेर नेपाललाई ब्रिटिस साम्राज्यमा नै गाभ्ने प्रपञ्च रचेका थिए।

त्यही प्रपञ्चअनुसार नेपालस्थित ब्रिटिस रेजिडेन्ट गर्ल्डस्टोनले कलकत्ता मुख्यालयमा भारतका गभर्नर जनरल लर्ड डफरिनलाई नेपालको स्थितिको गलत वर्णन गरी सन्देश पठाए। काउन्सिल अफ ब्रिटिस इन्डियामा नेपाललाई गाभ्ने प्रस्तावमा छलफलसमेत भयो। तर त्यहाँका विदेश सचिव डुरान्ड र सेनापति रबर्ट (कार्यकाल सन् १८८५–१८९३) भने सहमत भएनन्। रसियाले भारतमाथि आक्रमण गर्न सक्ने अवस्थाका माझ ती दुईले गोर्खाली सेनाको बहादुरीलाई ब्रिटिसका हितमा प्रयोग गर्न गरी नेपाललाई नचलाउने तर्क राख्दा अन्ततः गभर्नर जनरल डफरिनसमेत सहमत भए। यसरी नेपालको स्वतन्त्रता मेटिनबाट जोगियो।

आफूलाई मान्यता दिलाउन र नेपाललाई स्वतन्त्र राखिराख्नमा विदेश सचिव डुरान्ड र सेनापति रबर्टको भूमिका रहेको प्रधानमन्त्री वीरशमशेरले थाहा पाएका थिए। त्यसैको कदरस्वरुप उनले रबर्टलाई काठमाडौँ निम्त्याएर महँगामहँगा अनेकन् उपहारसहित पहिलोपटक ब्रिटिस भारतका प्रधानसेनापतिलाई नेपाली सेनाको मानार्थ जनरलको पदवी प्रदान गरे। (श्री ३ हरूको तथ्य वृत्तान्त भाग- १ पुरुषोत्तम शमशेर जबरा)

रबर्टले आफ्नो संस्मरणमा अगाडि अक्टरलोनीले नेपालबारे गरेको मूल्यांकनसँग जोड्दै आफ्नो धारणा प्रस्तुत गरेका छन्। जसमा उनी लेख्छन्- ‘नेपालीहरूको हामी ब्रिटिसप्रति सम्मान छ। तर उनीहरूलाई आफ्नो स्वतन्त्रता कसैले कतै हरण गर्छ कि भन्ने चिन्ता सधैँ रहिआएको छ। यसका लागि उनीहरुले अपनाएको बाटो भनेको आफ्नो मुलुकमा कुनै पनि विदेशीलाई प्रवेश नदिनु हो। उनीहरूले आफूले चुनेर निम्त्याएका केहीलाई मात्र प्रवेश दिन्छन्। कठिन यात्रा पार गरेर त्यहाँ पुग्ने जो कोहीले आनन्द भने लिन सक्छन्। हामी नेपालबाट कहिल्यै पनि रक्षात्मक हुनुपर्ने छैन। बहादुर सिपाहीलगायतका सबै सहयोग हामीले त्यहाँबाट पाइरहेका छौँ। नेपालसँगको हाम्रो साझेदारीमा हामी उनीहरूका अगाडि ढुक्क भएर प्रस्तुत हुनुपर्छ। त्यस्तै हामीले नेपालको स्वतन्त्रताको अर्को विकल्प सोचेका छैनौँ भनी उनीहरूलाई भरोसा दिलाउनुपर्दछ।’

साथै उनले नेपाली सेना ब्रिटिस साम्राज्यका लागि तयार रहेको र युद्धका क्रममा आवश्यक पर्दा बारम्बार हामीलाई सहयोग गर्ने आश्वासन पाएको समेत उल्लेख गरेका छन्।

रबर्टको भनाइ ब्रिटिस सरकारले नेपालको ‘गोर्खाली सैनिक’ लाई आफ्नो साम्राज्यको पुँजी मानेको र आफ्नो पक्षमा त्यो प्रयोग गर्न पनि उसले नेपालको स्वतन्त्रतामाथि आँखा नगाड्ने सैनिक विश्लेषण थियो भन्ने थियो। त्यसैअनुरुप रणोदीप सिंहको हत्यापछि सत्तामा आएका वीरशमशेरलाई मान्यता नदिने ब्रिटिस रेजिडेन्ट गर्ल्डस्टोनको योजनासँग रबर्ट सहमत हुन सकेनन्।

नेपालको स्वतन्त्रताथि आँखा नगाडी उसलाई स्वतन्त्र राखिराख्नुपर्छ भन्ने अडान रबर्टले लिएको बुझ्न सकिन्छ। उनले नेपालका पक्षमा लिएको त्यही अडानका कारण नेपालले कदर समेत गरेको थियो।

त्यसपछि वीरशमशेरपछिका चन्द्रशमशेरलाई ब्रिटिस सरकारले ब्रिटिस सेनाको मानार्थ जनरल प्रदान गर्‍यो। त्यसपछिका सबै राणा प्रधानमन्त्रीले ब्रिटिस सेनाको मानार्थ जनरल प्राप्त गरे। लर्ड रबर्टपछि सन् १९०७ मा चन्द्रशमशेरले ब्रिटिस भारतका तत्कालीन प्रधानसेनापति लर्ड किचनरलाई समेत नेपाल निम्त्याएर नेपाली सेनाको मानार्थ जनरलसहित नेपाल ताराको तक्मा प्रदान गरेका थिए।

भीमशमशेरको पालामा सन् १९३० मा लर्ड बर्डउड र सन् १९३२ मा लर्ड चेटउड्लाई नेपाल निम्त्याएर नेपाली सेनाको मानार्थ जनरलसहित नेपाल ताराको प्रथम दर्जाको तक्मा प्रदान गरिएको थियो। जुद्धशमशेरको पालामा ब्रिटिस भारतका तत्कालीन प्रधानसेनापति सर क्लेड आकेनलेकलाई नेपालले सन् १९४५ अक्टोबरमा नेपाली सेनाको मानार्थ जनरलसहित नेपाल ताराको प्रथम दर्जाको तक्मा प्रदान गरेको थियो। भारतमा अंग्रेज उपनिवेश समाप्त भएपछि पनि यो प्रचलन हालसम्म पनि कायमै छ।

तस्बिर स्रोत : इन्टरनेट

प्रकाशित: १८ भदौ २०७९ १०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eighteen =