यस्तो छ मित्र मुलुकका सरकार र राष्ट्रप्रमुखको निधनमा नेपालको शोक मनाउने चलन

सन्तोष खडेरी १ असोज २०७९ ९:५७
यस्तो छ मित्र मुलुकका सरकार र राष्ट्रप्रमुखको निधनमा नेपालको शोक मनाउने चलन

बेलायतको इतिहासमा सबैभन्दा लामो समय झन्डै सात दशकसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाको ८ सेप्टेम्बरमा निधन भयो। आगामी १९ सेप्टेम्बरमा लन्डनमा उनको अन्त्येष्टि हुँदैछ। उनको अन्त्येष्टि समारोहमा भाग लिन संसारभरबाट प्रतिनिधि लन्डन जाँदैछन्। समारोहमा राष्ट्रप्रमुख, सरकार प्रमुखदेखि मन्त्रीसम्म उपस्थित हुनेछन्।

महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपाल सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गर्‌यो। बेलायत नेपालको पहिलो कूटनीतिक सम्बन्ध भएको राष्ट्र, महारानीले दुईपटक नेपाल भ्रमण गरेको, लामो समय शासन गरेकी व्यक्ति भएको, नेपाली नागरिकले बेलायती सेनामा काम गर्नेजस्ता महत्त्वपूर्ण कारणले सरकारले तीन दिन शोक मनाउन घोषणा गरेको बताइएको थियो।

१९ सेप्टेम्बरमा हुने एलिजाबेथ द्वितीयाको अन्त्येष्टि समारोहमा भाग लिन नेपालबाट तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्का त्यता जाँदै छन्।

पहिले तीन दिन राष्ट्रिय शोकको घोषणा त्यस्तै अहिले अन्त्येष्टि समारोहमा मन्त्रीस्तरीय सहभागितालाई लिएर ब्रिटिस शासकप्रति नेपाल सरकारले देखाएको यो व्यवहारप्रति सामाजिक सञ्जालमा औपनिवेशिक मानसिकताको निरन्तरताका रूपमा यसको आलोचना पनि भइरहेको छ।

मित्र राष्ट्रहरुको राष्ट्रप्रमुख एवं सरकार प्रमुखको निधनमा राष्ट्रिय शोक घोषणा गर्ने, समवेदना जारी गर्ने त्यस्तै अन्त्येष्टि समारोहमा प्रतिनिधि पठाउनु मानवीय समवेदनासहित प्रचलित कूटनीतिक अभ्यास हो। नेपालमा राणा शासनको अन्त्य भएपछिको पछिल्लो सात दशकमा कूटनीतिक सम्बन्ध स्थापना गरेका तीनवटा मुलुक बेलायत, अमेरिका र भारतका राष्ट्रप्रमुखदेखि सरकार प्रमुखको निधनमा नेपालले अबलम्बन गरेको अभ्यासमा मात्र यो लेख केन्द्रित छ।

नेपालमा सन् १९३२ मा बहालवाला प्रधानमन्त्री भीमशमशेरको निधन भएको ९० वर्षयता हालसम्म अर्को कुनै पनि बहालवाला प्रधानमन्त्रीको निधन भएको छैन। सन् २००८ सम्म राजतन्त्र रहेको नेपालमा पछिल्लो ७ दशकमा तीनवटा बहालवाला राष्ट्राध्यक्ष राजाहरुको निधन भएको थियो। जसमध्ये सन् १९५५ राजा त्रिभुवन, सन् १९७२ मा राजा महेन्द्र र सन् २००१ मा राजा वीरेन्द्रको निधन भएको थियो। यी राजाको निधन हुँदा मित्रराष्ट्र भारतले के कति राष्ट्रिय शोक मनायो भन्ने विषय पनि यहाँ उल्लेख गरिएको छ।

पछिल्लो सात दशकमा बेलायतका दुई बहालवाला राष्ट्र प्रमुखको निधन भयो। सन् १९५२ मा राजा जर्ज छैटौँ र अहिले महारानी एलिजाबेथ द्वितीया। अमेरिकामा सन् १९६३ मा बहालवाला राष्ट्रपति जोन एफ केनेडीको निधन भएको थियो।

भारतमा दुईजना राष्ट्राध्यक्ष बहालवाला राष्ट्रपतिमध्ये सन् १९६९ मा डा. जाकिर हुसेन र सन् १९७७ मा फकरुद्दिन अलि अहमदको निधन भएको थियो। तीनजना बहालवाला प्रधानमन्त्री क्रमशः सन् १९६४ मा जवाहरलाल नेहरु, सन् १९६६ मा लालबहादुर शास्त्री र सन् १९८४ मा इन्दिरा गान्धीको निधन भएको थियो। त्यस्तै सन् १९९१ मा पूर्वप्रधानमन्त्री राजीव गान्धी हत्या भएको थियो।

सन् १९५२ को फेब्रुअरी ६ मा तत्कालीन ब्रिटिस सम्राट् जर्ज छैटौँको निधन भएको थियो। नेपालमा राणा शासन कायम रहेसम्म ब्रिटिस शासकका जन्मदिन, निधन र राज्याभिषेकमा त्यसको हर्षबढाइँ, शोक एवं सम्मानमा तोप पड्काउने प्रचलन थियो।

सुगौली सन्धिमार्फत नेपाल र ब्रिटिस सरकार औपचारिक रूपमा दौत्य सम्बन्धमा प्रवेश गरिसकेपछि नेपालले त्यस्तो प्रचलन सुरु गरेको थियो। नेपालमा प्रजातन्त्र आएपछिको राणा-कांग्रेस संयुक्त प्रजातान्त्रिक सरकारका पालाबाट ब्रिटिस शासकका जन्मदिनमा तोप पड्काउने चलन अन्त्य गरेको थियो।

ब्रिटिस सम्राट् जर्ज छैटौँको निधनमा नेपाल सरकारको तत्कालीन गृह विभागले शोक प्रकट गर्नका निम्ति सरकारी अड्डामा बिदा घोषणा गरेको थियो। सबै सरकारी कार्यालयमा रहेका झन्डा आधा झुकाइएका थिए। त्यस्तै सिनेमा हलसहित अन्य मनोरञ्जनात्मक क्षेत्रसमेत बन्द गरिएका थिए। (गोरखापत्र साप्ताहिक १९५२ फेब्रुअरी ११)

राजा त्रिभुवन कलकत्तामा थिए। प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले आफ्ना समकक्षी प्रधानमन्त्री र युवराज महेन्द्रले नेपालस्थित ब्रिटिस राजदूतमार्फत समवेदना सन्देश पठाएका थिए।

सोही १५ फेब्रुअरीमा भएको उनको अन्त्येष्टि समारोहमा सहभागी हुन तत्कालीन योजना तथा विकासमन्त्री जनरल महावीरशमशेर जबरा लन्डन पुगेका थिए। (गोरखापत्र साप्ताहिक १९५२ फेब्रुअरी ११)

सन् १९५५ को मार्च १३ मा नेपालका राष्ट्राध्यक्ष राजा त्रिभुवनको निधन भएको थियो। उनको निधनमा भारत सरकारले एक दिनको सार्वजनिक बिदासहित तीन दिन राष्ट्रिय शोक घोषणा गरेको थियो। राजा त्रिभुवनको अन्त्येष्टिमा सहभागी हुन भारतबाट एक विशेष प्रतिनिधिमण्डल  नेपाल आएको थियो। (भारतीय सूचना विभागको विज्ञप्ति १६ मार्च १९५५)

सन् १९६३ को २२ नोभेम्बरमा अमेरिकाका तत्कालीन बहालवाला राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो। उनको निधनमा नेपालले सरकारका कार्यालयमा एक दिनका लागि राष्ट्रिय झन्डा आधा झुकाइएको थियो। (गोरखापत्र दैनिक १९६३ डिसेम्बर १३)

सन् १९६४ को मे २७ मा भारतका बहालवाला प्रधानमन्त्री जहवारलाल नेहरुको निधन भएको थियो। उनको निधनमा शोक मनाउन सोही मे २९ मा नेपालले एकदिन सार्वजनिक बिदाको घोषणा गरेको थियो। त्यस दिन नेपालभरका सरकारी कार्यालयको राष्ट्रिय झन्डा आधा झुकाइएको थियो। नेहरुको निधनमा उनीप्रति सम्मान अर्पण गर्न नेपाल सरकारले १९ तोपको सलामीसमेत दिएको थियो। (गोरखापत्र दैनिक १९६४ मे २८)

नेहरुको निधनमा राजा महेन्द्रले राष्ट्रपति सर्वपल्ली राधाकृष्णनलाई, मन्त्रिपरिषद् अध्यक्ष डा. तुलसी गिरीले कार्यवाहक प्रधानमन्त्री गुल्जारीलाल नन्दालाई, बडामहारानी रत्नले दिवंगत नेहरुकी छोरी इन्दिरा गान्धीलाई समवेदना सन्देश पठाएका थिए।

मित्रराष्ट्रका राष्ट्र एवं सरकार प्रमुखहरुका अन्त्येष्टि समारोहमा नेपालबाट राष्ट्रप्रमुख राष्ट्राध्यक्षहरुको सहभागिता नरहेको भए पनि सरकार प्रमुखहरूका तहबाट भने सहभागीता भएको पाइन्छ। नेहरुको निधन हुँदा उनलाई श्रद्धाञ्जली अर्पण गर्न त्यस्तै अन्त्येष्टि समारोहमा भाग लिन नेपालका तत्कालीन सरकार प्रमुख मन्त्रिपरिषद्का अध्यक्ष डा. तुलसी गिरी दिल्ली पुगेका थिए।

भारतमा नेहरुको निधन हुँदा नेपालका राजा महेन्द्र पश्चिम जर्मनीको भ्रमणमा थिए। नेहरुको निधनको जानकारी प्राप्त गर्नासाथ उनले आफ्नो एक दिनको त्यहाँको भ्रमणको सबै कार्यक्रम रद्द गरेका थिए। (गोरखापत्र दैनिक १९६४ मे २८)

नेहरुको निधनपछि भारतमा प्रधानमन्त्री बनेका लालबहादुर शास्त्रीको पनि सन् १९६६ को जनवरी ११ मा शोभियत संघ तासकन्दमा निधन भयो। शास्त्रीको निधनमा नेपालले दुई दिन राष्ट्रिय शोक घोषणा गरेको थियो। शास्त्रीको अन्त्येष्टि समारोहमा सहभागी हुन तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष सूर्यबहादुर थापा दिल्ली पुगेका थिए। (गोरखापत्र दैनिक १९६६ जनवरी १२)

सन् १९६९ को मे ३ मा भारतका तत्कालीन राष्ट्राध्यक्ष राष्ट्रपति डा। जाकिर हुसेनको निधन भएको थियो। भारतका बहालवाला राष्ट्रपतिका रुपमा निधन हुने जाकिर हुसेन त्यहाँका पहिलो राष्ट्राध्यक्ष थिए।

राष्ट्रप्रमुखको निधनमा नेपालले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको थियो। त्यस्तै जाकिर हुसेनको अन्त्येष्टि समारोहमा भाग लिन तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट दिल्ली पुगेका थिए। (गोरखापत्र दैनिक १९६९ मे ५)

सन् १९७२ को ३१ जनवरीमा नेपालका तत्कालीन राष्ट्राध्यक्ष राजा महेन्द्रको निधन भयो। उनको निधनमा भारत सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको थियो। त्यहाँका सरकारी कार्यालयहरुका राष्ट्रिय झन्डा तीन दिनसम्म आधा झुकाएका थिए। ९चित्र समाचार भारत फेब्रुअरी १९७२० तर यसपटक अघिल्लो राजा त्रिभुवनको अन्त्येष्टि समारोहमा जस्तो भारतबाट विशेष प्रतिनिधिमण्डल भने नेपाल आएन।

सन् १९७७ को फेब्रुअरी ११ मा भारतका तत्कालीन राष्ट्रपति फकरुद्दीन अलि अहमदको निधन भयो। उनको निधनमा नेपालले दुई दिन राष्ट्रिय शोक घोषणा गरेको थियो। उनको निधनमा नेपालले दुई दिन राष्ट्रिय शोकको घोषणा गरेको थियो। जसमध्ये एक दिन सार्वजनिक विदाको घोषणा गरेको थियो।

अहमदको अन्त्येष्टि समारोहमा भाग लिन नेपालका तत्कालीन प्रधानमन्त्री डा. तुलसी गिरी दिल्ली पुगेका थिए। (गोरखापत्र दैनिक १९७७ फेब्रुअरी १२)

सन् १९८४ को अक्टोबर ३१ मा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भयो। गान्धीको निधनमा पनि शोक मनाउन नेपालका सरकारी कार्यालय एक दिन बन्द गरिएको थियो। गोरखापत्रमा छापिएको राससको समाचारअनुसार नियमानुसार त्यसरी कार्यालय बन्द गर्ने चलन नभए तापनि श्रीमती गान्धीप्रति सम्मान जनाउन सरकारले उक्त निर्णय गरेको थियो। (गोरखापत्र दैनिक १९८४ नोभेम्बर २)

गान्धीको अन्त्येष्टि समारोहमा सहभागी हुन नेपालबाट तर्फबाट प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द दिल्ली पुगेका थिए। उनका साथमा तत्कालीन परराष्ट्र सल्लाहकार सरदार यदुनाथ खनाल पनि थिए। (गोरखापत्र दैनिक १९८४ नोभेम्बर ३)

संयोग नै होला, सरदार खनाल भारतका तीन जना बहालवाला प्रधानमन्त्रीको निधन हुँदा उनीहरुको अन्त्येष्टि समारोहमा सहभागी थिए। प्रधानमन्त्री नेहरु र शास्त्रीको निधन हुँदा उनी भारतका लागि नेपाली राजदूतका रुपमा उपस्थित थिए त्यस्तै इन्दिरा गान्धीको निधन हुँदा परराष्ट्र मन्त्रालयको सल्लाहकारका रुपमा प्रधानमन्त्री चन्दसँग दिल्ली पुगेका थिए।

सन् १९९१ को मे २१ मा भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या भयो। गान्धीको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक घोषणा गरेको विषय फेला नपरे पनि उनको अन्त्येष्टि समारोहमा भाग लिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई दिल्ली पुगेका थिए। (राजीव गान्धीको अन्त्येष्टि समारोहको भिडियोमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई त्यहीँ देखिन्छन्।)

भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यापछि उनको अन्त्येष्टि समारोहमा बेलायतका तत्कालीन युवराज चार्ल्स, विदेशमन्त्री डगलस हर्ड, अमेरिकी उपराष्ट्रपति डान क्वेले, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, बंगलादेशकी प्रधानमन्त्री खलिदा जिया, जापाका राजा, चीनका उपप्रधानमन्त्री लगायतको उपस्थिति थियो।

सन् २००१ को ०१ जुन (विसं २०५८ जेठ १९) गते भएको दरबार हत्याकाण्डमा  नेपालका तत्कालीन राष्ट्राध्यक्ष राजा वीरेन्द्रको निधन भयो। उनको निधनमा पनि भारत सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको थियो।

यी विवरणका आधारमा नेपालका राष्ट्राध्यक्षको निधनमा भारतले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेको पाइन्छ। त्यस्तै बेलायतको राष्ट्रप्रमुखको निधन हुँदा नेपालले शोक मनाउनेदेखि अन्त्येष्टि समारोहमा मन्त्रीस्तरमा सहभागी हुने गरेको पाइन्छ। त्यसैको निरन्तरतास्वरुप  महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालले तीन दिन राष्ट्रिय शोकसहित अन्त्येष्टि समारोहमा परराष्ट्रमन्त्री डा। खड्का सहभागी गराउन लागेको हो।

भारतका राष्ट्रपति, प्रधानमन्त्रीदेखि हत्या गरिएका पूर्वप्रधानमन्त्रीसम्मको अन्त्येष्टि समारोहमा नेपालबाट प्रधानमन्त्रीकै उपस्थिति भएको पाइन्छ। उनीहरुको निधनमा नेपालले पनि राष्ट्रिय शोक घोषणा गरेको थियो। त्यसैले राष्ट्रिय शोक मनाउनु र अन्त्येष्टि समारोहमा प्रतिनिधिका रूपमा मन्त्री, प्रधानमन्त्री उपस्थित हुनु सामान्य कूटनीतिक प्रचलन र विगत अभ्यासको निरन्तरता हो।

प्रकाशित: १ असोज २०७९ ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =