अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु जो पहिलोपटक नेपालमै प्रेममा परेका थिए (उनकै शब्दमा)

हिमाल प्रेस १३ साउन २०७९ ६:०४

काठमाडौँ- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु अहिले नेपाल भ्रमणमा छन्। उनले विगतमा पनि आफू नेपाल आएको स्मरण गर्दै भिडियो सन्देश जारी गरेका छन्।

उनले आफू पहिलोपटक सन् १९९३ मा नेपाल आएको जानकारी दिएका छन्। लुले भनेका छन्, ‘आज यस क्षेत्रका लागि अमेरिकी सहायक विदेशमन्त्रीका रूपमा यहाँ फेरि आएको हुँ। झन्डै ३० वर्षअघि जब यहाँ आएको थिएँ, म ती युवतीसँग प्रेममा परेँ जो आज मेरी श्रीमती छिन्।’ उनले २६ वर्षअघि विवाह भएको र आफ्ना दुई सुन्दर केटाकेटी रहेको बताएका छन्।

दुवैको नाम नाम दक्षिण एसियामा आफूहरूले बिताएको समयबाट प्रेरित रहेको उनको भनाइ छ। उनका सन्तानको नाम आलिया र किप्लिङ हो।

लु त्यति बेला दार्जिलिङ हुँदै नेपाल प्रवेश गरेका रहेछन्। उनले भिडियोमा भनेका छन्, ‘मोटर रिक्सा चढेर बोर्डर पार गरी नेपाल आइपुग्यौँ। बोर्डरबाट हामी सार्वजनिक बस चढी तराई हुँदै चितवन राष्ट्रिय निकुञ्ज र जनकपुर पुग्यौँ र काठमाडौँ आयौँ।’

उनले त्यति बेला असाध्यै गर्मीका कारण प्रायः बसको छतमा बसेर यात्रा गरेको स्मरण गरेका छन्। उनले भनेका छन्, ‘त्यससपछि हामीले उनीहरूलाई कहिल्यै त्यसो नगर्न पनि भन्छौँ।’

लुले चितवन राष्ट्रिय निकुञ्जभित्र जिप चढेर देख्दै डरलाग्दो अर्ना भैँसी खोज्दै घुमेको, जनकपुरमा दीपावलीका बेला पुग्दा त्यहाँ कहिल्यै भुल्न नसक्ने रमाइलो भएको जानकारी दिएका छन्। उनले भनेका छन्, ‘दीपावली मनाउन महिलाले पानीमा दियो बगाउँदै गरेको हेर्दै जनकपुर नजिकको नदी पार गरेको म कहिल्यै बिर्सने छैन। त्यो एकदम सुन्दर थियो।’

काठमाडौँमा पाटनका अदभुत सम्पदा घुमेको प्रसंग पनि उनले स्मरण गरेका छन्। उनले भनेका छन्, ‘विश्वकै सर्वोत्कृष्टमध्येका केही खाना चाख्यौँ।’ उनी नेपाल आउँदा स्वादिला नेवारी परिकारहरूको खोजीमा रहने बताएका छन्। उनले भनेका छन्, ‘नेपाल सधैँ मेरो मुटुको नजिक रहने ठाउँ हो। किनकि म पहिलोपटक प्रेममा परेको यहीँ हो।’

प्रकाशित: १३ साउन २०७९ ६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 7 =