धुलिखेलमा हिप्पीको आस्था केन्द्र बनाउन उठेको त्यो माग

सन्तोष खडेरी ४ असार २०७९ १०:५२
धुलिखेलमा हिप्पीको आस्था केन्द्र बनाउन उठेको त्यो माग सन् १९७० मार्चमा काठमाडौँमा कुनै स्थानमा जम्मा भएका हिप्पी। तस्बिर स्रोत : रिपोर्टर्स एसोसिस फ्रान्स

गोरो छाला, लामो कपाल, समूहमा हिँड्ने अनि स्वतन्त्रता र प्रेमको नारा घन्काउने पश्चिमी युवा जमातलाई हिप्पी भनेर चिनिथ्यो। युरोपमा सन् १९६० को दशकमा स्वतन्त्रता र प्रेमको नारासहित हिप्पी युगको सुरुवात भएको मानिन्छ।

पश्चिममा उत्पत्ति भएको हिप्पिजमले नेपालमा पनि ठूलै प्रभाव पारेको थियो केही वर्ष। युरोपका लन्डन र एम्सटर्डम सहरमा देखा परेका हिप्पीहरूसँग बिस्तारै अमेरिका, क्यानडादेखि एटलान्टिकसम्मका युवा जोडिएपछि यो एउटा ठूलो अभियानका रूपमा स्थापित हुन पुगेको थियो।

हिप्पीमा बिस्तारै अस्ट्रेलिया र न्युजिल्यान्डाका युवा जमात मात्रै मिसिएनन्, अगुवा नै भएर निस्किए। हिप्पीहरूले कालान्तरमा आफूहरूलाई हिप्पीवाद (हिप्पिज्म) का रूपमा अगाडि बढाएका थिए।

उनीहरूको नेपाल यात्रा पनि रोचक छ। युरोपेली मुलुकबाट निस्किएका हिप्पीहरू सुरुमा युगोस्लाभिया र ग्रिसको आइसल्यान्ड हुँदै टर्कीको अंकारामा विस्तारित भए। त्यसपछि उनीहरूको गन्तव्य बन्यो इरानको तेहरान अनि अफगानिस्तानको काबुल। अफगानिस्तानमा पनि उनीहरू धेरै टिक्न सकेनन्।

खेवरपास हुँदै हिप्पीहरू पाकिस्तानको पेसावर र लाहोरतर्फ लागेका थिए। लाहोरबाट कश्मीर, भारतको गोवा, दिल्ली हुँदै उनीहरू सुन्दर शान्त हिमाली अधिराज्य नेपालको राजधानी काठमाडौँ प्रवेश गरेका थिए।

हिप्पीहरू साथमा कम खर्च लिएर निस्कन्थे। अहिलेजस्तो अनलाइन र भिसा कार्डको सुविधा पनि थिए। नेपाल आउनेले कम पैसा बोक्नुको मुख्य कारण थियो, यहाँका खानपान अनि उनीहरूलाई चाहिने गाँजा र चरेससस्तो पाइन्थ्यो।

त्यसैले उनीहरूले काठमाडौँलाई आफ्नो गन्तव्य बनाएका थिए। सन् १९६५ बाट नेपाल भित्रन थालेका हिप्पीहरू सन् १९६७ सम्म आउने क्रम जारी थियो। त्यति बेला उनीहरू भारत हुँदै स्थलमार्गबाट नेपाल भिएिका थिए।

हिप्पीहरू नेपाल प्रवेश गरेपछि रमाउनुको अर्को कारण थियो, सवोच्च शिखर सगरमाथा नेपालमा रहनु। त्यसैले उनीहरू नेपाललाई संसारकै उँचो स्थानमा रहेको मुलुक मात्रै भन्दैनथे हिप्पी दुनियाँको स्वर्ग नै नाम दिएका थिए।

उनीहरू भन्ने गर्थे, ‘हामी संसारको सबैभन्दा उँचो स्थानमा आइपुगेका छौँ। अब यहाँभन्दा उँचो स्थान छैन। यो हाम्रा लागि स्वर्ग हो।’

धुलिखेलमा हिप्पी संस्कृति र दर्शनको अध्ययन अनुसन्धानका केन्द्रका रूपमा हिन्दुको मन्दिर र बौद्धको गुम्बाजस्तै आस्थाको केन्द्र बनाउन आफूहरूलाई अनुमति दिनुपर्ने हिप्पी अगुवाको माग थियो।

तीमध्ये केही हिप्पीले भने तिब्बतलाई पनि स्वर्गका रुपमा लिएका थिए। केही भने नेपालबाट अनधिकृत रुपमा तिब्बत प्रवेश गर्न खोज्दा पक्राउ पनि परेका थिए।

त्यतिबेला प्रकाशित एउटा समाचारअनुसार सन् १९६७ को १० महिनामा करिब चार हजार हिप्पी नेपाल भित्रिएका थिए। नेपालमा शान्ति र स्वतन्त्रताको खुला सास फेर्ने पाएको उनीहरूको भनाइ थियो।

खर्च अभावमा कतिपय हिप्पीले धेरै दिनसम्म स्थानीयका घरमा निःशुल्क खानेबस्ने गरे। त्यति मात्र होइन, केहीले त काठमाडौँका होटेल र गेस्टहाउसमा खाएको र बसैको पैसा तिर्दैनथे।

हप्तौँसम्म होटेलमा बसेर खाने अनि घुम्न जाने बहानामा होटेलबाट बाहिर निस्किएपछि त्यस होटेलमा पस्दै नपसी भाग्ने प्रवृत्ति पनि व्याप्त थियो। सन् १९६७ को नोभेम्बरमा मात्रै होटेलमा रकम नतिरेको २० वटा र रकम तिर्नुपर्दा झगडा गरेको ८ वटासहित २८ वटा उजुरी दर्ता भएको थियो।

त्यतिबेला ठमेलको ‘तिब्बती होटेल ग्लोब’ हिप्पीहरूमाझ  प्रसिद्ध थियो। सन् १९६७ सेप्टेम्बरमा हिप्पी ग्राहकले पैसा नतिरेका कारण आर्थिक अभावमा बाध्य भएर  होटल बन्द भएको थियो। होटेल मालिकले हिप्पीहरूलाई ठूलो ठगको संज्ञा दिएका थिए। होटेल मालिकले उनीहरूकै कारण आफ्नो व्यवसाय टाट पल्टेको गुनासो गरेका थिए।

त्यस्तै ‘तिब्बतियन ब्लु रेस्टरेन्ट’ ले त बाहिरपट्टि ‘सावधान पश्चिमाहरू! खानपिनका लागि पहिल्यै पैसा तिर्नुपर्छ’ भन्ने सूचना टाँसेको थियो। सरकारले हिप्पीहरूको नेपाल आगमन र उनीहरूको गतिविधिबारे चासो देखाए भए पनि उनीहरूलाई नियन्त्रण गरेको थिएन। किनभने उनीहरूमाथि कडाइ गर्दा भर्खरै फस्टाउन थालेको पर्यटन क्षेत्र धरापमा पर्ला कि भन्ने चिन्ता नेपाललाई थियो। (लस एन्जल्स टाइम्स, ६ डिसेम्बर १९६७)

सन् १९६८ त हिप्पीहरूले नेपाललाई हिप्पीवादको केन्द्रका रूपमा विकसित गर्ने योजना सार्वजनिक गरेका थिए। उनीहरूले आफ्नो हिप्पिज्मलाई हिन्दु र बौद्ध धर्मजस्तै नयाँ धर्मदर्शनका रूपमा अगाडि सार्नुपर्ने माग गरेका थिए। काभ्रेको धुलिखेलमा हिप्पिज्मको मन्दिर बनाउने प्रस्ताव उनीहरूको थियो।

काठमाडौँभन्दा तीन माइल पर रहेको धुलिखेलमा उनीहरूले हिप्पी संस्कृति र दर्शनको अध्ययन अनुसन्धानका केन्द्रका रूपमा हिन्दुको मन्दिर र बौद्धको गुम्बाजस्तै आस्थाको केन्द्र बनाउन आफूहरूलाई अनुमति दिनुपर्ने हिप्पी अगुवाको माग थियो।  (दी टेलिग्राफ, १ फेब्रुअरी १९६८)

काठमाडौँमा गाँजा तान्दै हिप्पी र दी टेलिग्राफमा धुलिखेलमा हिप्पीले मन्दिर स्थापना गर्न चाहेको विषयमा प्रकाशित समाचार। 

अमेरिकी र युरोपेली युवायुवती हिप्पीका रूपमा आफ्नो देशबाट पलायन भएर नेपाल र भारततिर गाँजा र चरेसको दुव्र्यसनीमा फस्दै गएपछि ती मुलुकका सरकारसमेत सचेत भएका थिए।

तिनले आफ्ना मुलुकका युवायुवतीलाई त्यता पलायन हुनबाट कसरी रोक्न सकिन्छ भनेर विभिन्न उपाय अपनाएका थिए। त्यसपछि सम्बन्धित मुलुकले नेपालमा हिप्पी प्रवेशमा कडाइ गर्ने देखि गाँजा चरेसको सार्वजनिक बिक्रीवितरण रोक्न अनुरोध गरे।

यता पश्चिमा सञ्चारमाध्यमले नेपाल र भारतमा गाँजा र चरेस सहजै पाइने भएकाले ती मुलुकहरू हिप्पीका लागि स्वर्गका रूपमा रहेको भन्ने खालका समाचार प्रकाशन/प्रसारण गर्न थालेका थिए। त्यसबाट नेपालको नकारात्मक प्रचार भयो। हिप्पीहरू पैसा खर्चने पर्यटक पनि थिएनन्। त्यसैले उनीहरूको व्यवहारबाट व्यवसायी आजित हुन थालेका थिए।

अन्तर्राष्ट्रिय चासो, दबाब एवं हिप्पीहरूको अराजक व्यवहारका कारण नेपालले सन् १९७० को अक्टोबरदेखि हिप्पीहरूलाई प्रवेशमा कडाई गर्‍यो। (न्युयोर्क टाइम्स न्युज सर्भिस, ७ अक्टोबर १९७०) 

नेपालको परराष्ट्र मन्त्रालयले हिप्पीजस्ता देखिने लामो कपाल भएका पश्चिमा मुलुकका युवालाई भिसा नदिन विदेशस्थित आफ्ना नियोगमा परिपत्र गरेको थियो। यसलाई पनि सोही अखबारले समाचार बनाएको थियो।

नेपालमा रहेका हिप्पीहरूको भिसा नवीकरण नगर्ने नीति नेपालले लियो। हिप्पीहरूलाई प्रवेशमा कडाइ गर्ने नेपालको कदमले त्यतिबेला अन्तर्राष्ट्रिय स्तरमा राम्रै चर्चा पाएको थियो।

नेपालमा सन् १९६५ देखि १९७० सम्म करिब ५ वर्ष हिप्पीहरूका लागि स्वर्णकाल नै थियो। सन् १९७३ मा नेपालले पूर्ण रुपमा गाँजा बन्द गर्ने सरकारी नीति ल्याएपछि हिप्पी युवाजमातको नेपाल आगमन रोकिन पुग्यो। यति बेला नेपाल र पश्चिमा मुलुकबाट हिप्पी युगको अन्त्य भइसकेको छ। तर हिप्पीसँग जोडिएका सन्दर्भ भने रोचक छन्।

प्रकाशित: ४ असार २०७९ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =