बालबालिका पठन संस्कृतिसँग जोडिनुपर्छः उपकुलपति विमलकृष्ण श्रेष्ठ

हिमाल प्रेस २० असार २०८१ १५:१५
12
SHARES
बालबालिका पठन संस्कृतिसँग जोडिनुपर्छः उपकुलपति विमलकृष्ण श्रेष्ठ

काठमाडौँ- बाल्यकालदेखि नै बालबालिकामा पुस्तक पढ्ने बानी लगाउनुपर्ने नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले बताएका छन्।

प्रतिष्ठानकाे सभाहलमा भएकाे ‘बालबालिकामा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक छलफल कार्यक्रममा उपकुलपति श्रेष्ठले बाल्यकालको अध्ययन जीवनभरका लागि काम लाग्ने पनि बताएका हुन्।

‘मैले बाल्य र किशोरकालमा पढेका पुस्तकहरूकै कारण आज लेखकको रूपमा उभिन सकेको हुँ’ भन्दै उनले बालबालिकाको मनोविज्ञानलाई पठन संस्कृतिमा आकर्षित गर्नुपर्ने दायित्व हामी सबैको रहेको बताए।

गोष्ठीमा नेपाल प्रज्ञा (प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखे। उनले बालसाहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म पु(याउने उद्देश्यले २०८१ असोज ४ देखि ६ गतेसम्म प्रज्ञा-प्रतिष्ठान र बालसाहित्य समाजको सहकार्यमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको आयोजना हुने जानकारी दिए।

उनका अनुसार उक्त कार्यक्रममा २५ जना विदेशी बालसाहित्यसँग सम्बन्धित स्रष्टाहरू र सय जना नेपाली बालसाहित्यका स्रष्टाहरूको सहभागिता रहने छ।

ग‍ोष्ठीमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले बालसाहित्य समाजका आजीवन सदस्य केशरी अम्गाईद्वारा लिखित ‘बालबालिकामा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक कार्यपत्रमाथि टिप्पणी गर्दै बालबालिकाको पठन संस्कृतिमा शिक्षकसँगै अभिभावकको भूमिका पनि त्यतिकै महत्त्वपूर्ण रहेको उल्लेख गरिन्।

बाल साहित्य समाजका आजीवन सदस्य डा.सीतादेवी पन्थीले बालबालिकाको पठनसंस्कृति र अभ्यासमा ह्रास आउनुमा शिक्षकको मात्रै दोष हुँदैन, अभिभावक पनि त्यतिकै चनाखो हुनुपर्छ भन्दै उक्त कार्यपत्रमाथि टिप्पणी गरिन्।

सहभागीका तर्फबाट प्रा.ज्ञ प्रकाश तिवारी, विजयराज न्यौपाने, इन्दिरा दली, शान्ता दाहाल, डा.मेघनाथ ढकाल, वेदमणि घिमिरे, सन्तोष बस्नेत, यशु श्रेष्ठ र माधव घिमिरे ‘अटल’ले आआफ्ना जिज्ञासासहित सुझाव दिए।

गोष्ठीका सभाध्यक्ष तथा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले बालबालिकाको पठन संस्कृतिसँग धेरै कुरा जोडिएका हुनाले यसको प्रवर्द्धनमा सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको बताएका थिए।

नेपाल प्रज्ञा(प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको सहकार्यमा भएकाे कार्यक्रम नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले सञ्चालन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 2 =