‘जीवनमा कहिल्यै झुटो बोल्नुहुन्न भने तपाईं साँच्चिकै रिसर्चर हो’

विवेक विवश रेग्मी ५ असार २०८१ २१:३०
244
SHARES
‘जीवनमा कहिल्यै झुटो बोल्नुहुन्न भने तपाईं साँच्चिकै रिसर्चर हो’

इटहरी-  ‘हामीले आफ्ना साथीहरूलाई खुसी बनाउनका निम्ति मात्रै रिसर्च गरिरहेका छौँ। रिसर्चमा कथाले मागेको मात्रै लेख्नुपर्ने भए पनि साथीलाई खुसी बनाउन रिसर्च लेखिदाँ विषय नै बरालिएको पाइन्छ,’ प्रा.डा. केदारप्रसाद पौडेलले बुधबार इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्दैगर्दा आमन्त्रितहरूले एकाकार भएर उनीतर्फ ध्यान केन्द्रित गरे।

‘जर्नल अफ जनता मल्टिपल क्याम्पस (जेजेएमसी)’ को तेस्रो वर्षको पहिलो अंकको विमोचन कार्यक्रममा टिप्पणीकर्ता रहेका उनले रिसर्चर, प्राध्यापक, अध्यापक र विद्यार्थीहरूलाई पनि व्यङ्ग्यात्मक प्रहार गरे।

‘जीवनमा कहिल्यै झुटो बोल्नुहुन्न भने तपाईँ साँच्चिकै रिसर्चर हो। कमन पिपुलले हामीलाई पपुलर मान्दैन, हामी आम मानिसका लागि अन पपुलर हुन्छौँ,’ जनता क्याम्पसका पूर्व अध्यापकसमेत रहेका उनले भने, ‘हामी सत्य कुरा भन्छौँ। जुन कुरा हामीलाई थाहा हुँदैन, त्योबारे बोल्दैनौँ। त्यसैले आम मानिसले हामीलाई घमण्डी पनि भन्छन्।’

पछिल्लो समय देशभर शिक्षाको गुणस्तर खस्कनुमा शिक्षण पेशामा आवद्धहरू दोषी रहेको उनको भनाइ छ। ‘विद्यार्थीहरूले राम्रो पढेनन् भने विद्यार्थीलाई नै दोष दिइन्छ, के हामी सही छौँ? हामी अलिकति पनि दोषी छैनौँ?,’ पौडेलले थपे, ‘टाउको हात्तीको, खुट्टा मान्छेको छ। अहिलेको हाम्रो शिक्षा यो किसिमको छ। के पढायौँ हामीले?’

उनले विद्यार्थीले एउटा निबन्ध पनि राम्ररी लेख्न नसक्ने र यसको दोष शिक्षकहरूले लिनुपर्ने बताए। प्रविधिसँगै शिक्षकहरू अगाडि बढ्न नसकेको उनको आरोप छ। ‘इटहरीमा लाइब्रेरी छैन। पब्लिक लाइब्रेरीमा हाम्रो घरमा भएकोजति किताब छैन। अनि कहाँबाट विद्यार्थीले मोबाइल चलाउँदैन ? उसले नयाँ कुरा जान्नुपर्दैन?,’ उनले भने, ‘विद्यार्थी कसले बिगारेको हो ? पढ्ने संस्कार सिकाऔँ न। खासमा भन्ने हो भने परीक्षाको मूल्यांकन लेखाइबाट हुन्छ, के लेख्न सिकाएका छौँ, हामीले ?’

निबन्ध हुनको लागि सबैको फरक अनुभूति हुने र त्यहीअनुसार लेखिनुपर्ने उनले बताए। मन्तव्यको सुरुतिरै प्रा.डा. पौडेलले भने, ‘हामी मलामी कमाउने भनेर काम गछौँ। मलाई थाहा छ, सत्य कुरा बोलियो भने मलामी कम हुन्छन्, यसले केही फरक पर्दैन। कार्ल माक्सका मलामी ११ जना थिए, मलाई त त्यति नभए पनि हुन्छ।’

उनले प्राध्यापक र विद्यार्थीहरू सच्चिनुपर्ने बताए। ‘अबको बच्चाले के होइन, कसरी लेख्नुपर्छ भनेर जान्न आवश्यक छ, सिकाउन आवश्यक छ,’ उनको तर्क छ, ‘एउटा वाक्यले पूरै उत्तर देखिने आँखीझ्याल बनाउन आवश्यक छ।’

रिसर्चरहरूले रिसर्च गर्दा आफ्नै भनाइसरह दाबी गरेर लेखिएको र त्यसो हुन नहुने भएकाले अनिवार्य स्रोत खुलाउनुपर्ने उनको जिकिर छ। कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाले भोल्युममा धेरै जर्नल निस्किएपनि पृथक नभएको टिप्पणी गरे। त्रिविको एउटा क्याम्पसले यो किसिमको काम गर्न सक्नु ठूलो कुरा रहेको बताए। भने, ‘यो लेभलको डिस्कसन हुनु सबैभन्दा ठूलो कुरा हो।’

पूर्वाञ्चल विश्वविद्यालयले सातवटा शंकाय रहेको र सबै शंकायमार्फत जर्नल प्रकाशित गर्न लागिपर्ने उनले बताए। एक फिलोसफरको भनाइ उदृत गर्दै उनले भने, ‘म को हुँ, मैले के सोच्छु त्यो होइन कि, अरुले के सोच्छ मेरोबारेमा भन्ने बुझ्न आवश्यक छ।’ रिसर्चरहरूले जहाँ योगदान गर्नुपर्ने, त्यहाँ गर्न नसकिरहेको उनको भनाइ छ। एउटा रिसर्चको इम्प्याक्टले समाजमा धरै प्रभाव पार्ने उनको भनाइ छ। डा. रामजी तिम्सिनाले अहिलेको शिक्षामा ‘जो पनि बुद्ध हुन खोजिरहेको’ सुनाए।

शिक्षण पेसा दुःखी पेसा नभएको उनको तर्क छ। ‘तपाईँले पेशाको गरिमा बुझ्नुभएन भने अब तपाईँलाई आफैँ दुःखी पेशा लाग्छ,’ उनले भने, ‘त्यो ऋषि जसले हिमालय पर्वतमा बसेर तपस्या गर्छ। माकुराले जालो फेरुन्जेल, उसले त्यहाँबाट दुःख पाएँ भनेर फर्कदैँन। उसले ज्ञान पाएँ भनेर पुलकित भएर फर्किन्छ, हामी त्यो क्षेत्रमा छौँ। हामीले त्यो कुरा बुझेनौँ भने हामी दुःखी आत्मा हौँ।’

विश्वविद्यालय भनेको विश्वस्तरको ज्ञान प्राप्त गर्ने भएपनि अहिले पनि एउटा आर्टिकल लेखेर यो आर्टिकल भयो कि भएन भनेर छलफल गर्ने स्तरमा हाम्रो स्थिति रहेको उनको तर्क छ।

आफू त्रिविको सहप्राध्यापक भएपनि त्यहीँ जागिर खानेहरू जिन्दगीभरी गेस पेपर पढेर जागिर खाइरहेको तिम्सिनाको टिप्पणी छ। ‘प्रत्येक सहरमा कतिपयले आफ्नो कलेजलाई प्रतिष्ठित कलेज, ठूलो कलेज र क्वालिटी एजुकेशनको गफ दिइरहेका छन्,’ उनले भने, ‘त्यो विडम्बनापूर्ण अवस्थामा हामी छौँ। हामी आफैँ सन्तुष्टि भएर ज्ञान बाँड्ने काम भने भएको छैन।’

उनले यो किसिमका जर्नलमाथि टिप्पणी नै नहुने र यो किसिमको टिप्पणी हुनुले सकारात्मक प्रभाव पार्ने बताए। विश्वविद्यालय भनेको विश्वस्तरको ज्ञान बाँड्ने र ज्ञान उत्पादन गर्ने थलो भए पनि कताकता बरालिएकोजस्तो अनुभूति हुने उनको भनाइ छ।

जनता बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन एकाइका अध्यक्ष इन्द्रप्रसाद प्याकुरेलले अहिले रिसर्चरको शिला खोज्नुपर्ने बाध्यता रहेको सुनाए। अब गरिने रिसर्चमा ‘फर्म्याट फलो’ गरिने उनले बताए। यो किसिमको कामले आफूहरूलाई अल्प सफलता मिलेको प्याकुरलेको भनाइ छ।

‘इटहरीको एकेडेमिक क्षेत्रमा हाम्रो पनि उपस्थिति छ है भन्ने देखाउन यो जर्नल कोसेढुंगो साबित हुन्छ,’ उनले भने, ‘अहिलेसम्म यस क्षेत्रका विभिन्न विषयमा रिसर्च नहुनु दुःखद् कुरा हो। हामी इटहरीलाई रिसर्च हब बनाउने इनर्जीले अगाडि बढ्ने अभ्यासमा छौँ।’

क्याम्पस सञ्चालक समितिका अधयक्ष विकास केसीले समुदायबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले देशमै प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्ने बताए। ‘कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरूलाई कम शुल्कमा सौहार्दपूर्ण वातावरणमा पढाइरहेका छौँ,’ उनले भने, ‘विद्यार्थीको सुविधाका लागि अझै थप केही विषय पनि ल्याउनुपर्ने अवस्था छ, त्यसतर्फ काम गरिरहेका छौँ।’

प्रकाशित: ५ असार २०८१ २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =