इटहरी- अविरल वर्षाका कारण इटहरीका विभिन्न क्षेत्र डुबानमा परेको छ भने धरानमा विद्युत् अवरुद्ध भएको छ। इटहरी उपमहानगरपालिकाको २०, २, ८, ७, ३, ४, लगायतका विभिन्न ठाउँ डुबानमा परेका छन्। इटहरीको बूढीखोला, टेंग्रा खोलामा पनि पानीको सतह बढेको छ।
इटहरी ८ को विराटनगर लाइनमा सडकमै बाढी पस्दा साना सवारीसाधन आवतजावतसमेत ठप्प भएको छ। स्थानीय मनोज चौधरीका अनुसार विराटनगरको साथी पेट्रोलपम्प भन्दा उत्तरबाटै सडकमा बाढी पसेका कारण साना सवारीसाधन ठप्प भएका हुन्।
‘साथी पेट्रोल पम्पको उत्तरबाट छिरेको बाढी कर कार्यालयभन्दा दक्षिणसम्म उस्तै छ,’ उनले भने, ‘सडकमै एक फिट, डेढ फिट र दुई फिटसम्म पानी जमेको छ, मोटरसाइकल, साइकल र सफारीको आवतजावत ठप्प छ।’ उनका अनुसार ठूला सवारी साधन भने चलिरहेका छन्।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार तरहराको जनसहयोग स्कुल लाइनमा बाढी पसेको छ। ‘सामान्य वर्षातमै यो ठाउँमा सधैँ बाढी पस्थ्यो,’ श्रेष्ठले भने, ‘आज त निरन्तर पानी पसेका कारण बाढी बस्तीमै पसेको छ।’
उनका अनुसार पानीपियाबाट आउने खोला र तामाङ टोलपट्टीबाट चौतारी चौक हुँदै आउने खोलाका कारण पनि यो क्षेत्रमा बाढी पसेको हो।
इटहरीको बूढीखोलामा पानीको सतह बढेको इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीले जानकारी दिए। उनले भने, ‘निरन्तर पानी परेपछि बाढी त आइहाल्छ, तर अहिलेसम्म कतैपनि कटान भएको छैन।’ उनका अनुसार इटहरी ३ को खोर्सानेखाप, सुनौलो बस्ती, इटहरी ४ को गैरीगाउँ लगायतका बस्तीमा पनि असर नगरेको भएपनि डुबान भने भएको छ।
यता, तरहराको पानीपियामै विद्युतमा समस्या भएका कारण धरान क्षेत्रमा विद्युत् अवरुद्व भएको धरानका मेयर हर्क साम्पाङले जानकारी दिए। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तरहरा मास्तिर पानीपियामा विद्युत लाइनमा समस्या देखिएकाले मर्मत हुँदै गरेकाले लाइन नआएको जानकारी प्राप्त भएको छ।’
इटहरीमा विशेषगरी बर्सेनि टेंग्रा खोला, बूढीखोला, खेती खोलाले इटहरीका वडा नं। ३, ४, ६, ९, १०, ११ वडा बाढीबाट प्रत्यक्ष प्रभावित बन्दै आएका छन्।
इटहरी २० र २ मा पर्ने तरहराको कृषि फारम, तरहराका अन्य केही ठाउँहरु, इटहरी ७ को बज्राहामा पनि पानीका कारण केही घरहरु डुबानमा परेका छन्।
उता मौसम पूर्वानुमान महाशाखाका अनुसार सुनसरी, मोरङ र झापाका अधिकांश स्थानहरूमा निरन्तर परेको वर्षातका कारण सर्तकता अपनाउन अपिल गरिएको छ। मेची, विरिङ, वक्राहा, लोहन्द्रा, बूढीखोला, सुनसरी खोला लगायत साना नदीहरूमा बाढीको जोखिम भएकाले सर्तकता अपनाउन अपिल गरिएको हो।