काठमाडौँ- वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिन विद्यार्थीहरू बिहानै ५ बजेदेखी केशरमहलअगाडि लाइन लाग्ने गरेका छन्।
विद्यार्थीको भिड केशरमहलको बाहिरी गेटसम्म पुगेसँगै भिड नियन्त्रण गर्न सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ।
विद्यार्थीले एनओसी लिन अनलाइनबाट भरेको फारम प्रमाणीकरण भएको सूचना आएपछि प्रमाणपत्र लिन जानुपर्ने हुन्छ। केही विद्यार्थी भने प्रमाणीकरणको सूचना आउनुअघि नै जाने गरेकाले भिड बढेको एनओसी शाखा प्रमुख हरिप्रसाद निरौलाले जानकारी दिए।
गतवर्षको लकडाउनपछि अस्ट्रेलिया, जापानलगायतका मुलमा रोकिएको भीसा आवेदन प्रक्रिया खुलेसँगै दैनिक एक हजार भन्दा बढी विद्यार्थी एनओसी लिन जाने गरेका छन्।
नेपालबाट एओसी लिएर विदेश अध्ययनमा जाने मुलुकहरूमा अस्ट्रेलिया, जापान, भारत, अमेरिका, क्यानडा, बेलायत, बंगलादेश, डेनमार्क, कोरिया, रुस, चीन लगाएत छन्। सरकारले १ सय ३ मुलुकका लागि विदेश अध्ययन अनुमतिपत्र जारी गर्ने गरेको छ।
गएको साउन यता अस्ट्रेलियाका लागि ६१ हजार ६ सय ३६, जापान १६ हजार ३ सय २८, अमेरिका ४ हजार ८ सय ५२, क्यानडाकालागि ५ हजार २ सय १, बंगलादेशका लागि ३ सय ३८, डेनमार्कमा २ सय ५२, कोरियामा १ हजार १ सय ९२ र रुसमा ५ सय ७१ जनाले अनुमतिपत्र लिएका छन्।
तस्बिरहरू - दिपेश श्रेष्ठ/ हिमाल प्रेस