इटहरी- फुलेका दाह्री, हावाले सिरसिर उडाइरहेको कपाल, हँसिलो मुहार, यस्तै अवस्थामा पुस्तक बेचिरहेका भेटिन्छन्, ‘गोविन्दपुरे’ अर्थात् शिव रेग्मी।
कुनै बेला इटहरीका चोक, गल्ली र विभिन्न ठाउँमा कार्यक्रम हुँदा हलबाहिर पुस्तकको थाक लगाएर भेटिने उनी अचेल इटहरी ४ मा पुस्तक पसल सञ्चालन गर्दै आएका छन्। ‘फुटपाथमा पुस्तक बेच्दा लाज पनि लाग्थ्यो’, उनले विगत सम्झिए, ‘गर्दै गएपछि सबै काम उत्तिकै र उस्तै हुँदा रहेछन् भन्ने अनुभूति भयो।’
इटहरीका फुटपाथमा पुस्तक बेचेर नयाँ पाठक पाएकोमा उनी खुसी छन्।
‘फुटपाथमा पुस्तक बेच्दा पाठक पनि जानकार भए। उनीहरूले चाहेको किताब बेच्न पाउँदा म खुसी हुन थालेँ’, उनले भने, ‘अहिले छोराछोरीका लागि स्कुलका किताब किन्न आउने अभिभावक पनि साहित्यिक किताब किन्न थालेका छन्।'
एकदुइटा किताब पढेपछि पाठकमा पढ्ने बानीको विकास भएकाले आफैँ किताब खोज्दै आउने उनको अनुभव छ।
उनले इटहरीमा सुनवर्षी बुक हाउस नामबाट उनले पुस्तक पसल सञ्चालन गर्दै आएको १० वर्ष बितेको छ। उनले फेरि विगत स्मरण गरे, ‘त्यसबेलाकै जस्तो अन्य ठाउँमा मैले काम गरेको भए अरुकै कारिन्दाबाहेक अन्य केही हुन सकिँदैनथ्यो।’
अहिले पुस्तक पढ्न र पढाउन पाएकामा आफू सफल भएको महसुुस भएको उनी सुनाउँछन्। उनी विशेषतः साहित्यिक पुस्तकहरू धेरै बेच्छन्। सँगै विद्यालयका किताबहरू पनि बेच्छन्। भन्छन्, ‘मान्छेको स्मरण शक्ति र डिसिजन पावर बढाउनसँगै दिमाग फ्रेस बनाउन पढ्नुपर्छ।’
यस्तै उनले पाठ्यक्रमभन्दा धेरै ठूलो संसार अन्य पुस्तकमा पाइने बताउँछन्। जीवनले गति लिन संघर्षको मैदानमा उत्रनुपर्यो
२०४२ माघ १ गते मोरङको तत्कालीन गोविन्दपुर गाविस २ मा जन्मिएका रेग्मीले आफ्नै ठाउँबाट नाम राखे, ‘गोविन्दपुरे’। उनलाई धेरैले शिव रेग्मी भनेर चिन्दैनन्। गोविन्दपुरे भनेपछि नचिन्ने विरलै हुन्छन्।
गोविन्दपुरेको जीवनले गति लिन भने ठूलै संघर्ष गर्नुपर्यो। कहिले निजी विद्यालय पढाए त कहिले दिल्लीमा मजदुरी गरे। दुःखका दिन गुजार्दा कहिलेकाहीँ विरक्तिन्थे र, डायरीमा घोत्लिन्थे उनी।
पाटन मल्टिपल क्याम्पसमा बीएसम्मको अध्ययनपछि जेठा दाजु लोकनाथ रेग्मीले सञ्चालन गरेको यशस्वी गुरुकुल इङ्लिस स्कुलमा अध्यापन सुरु गरे।
‘त्यहाँ करीब डेढ वर्ष पढाएँ, त्यसपछि किताबकै मार्केटिङ गरेँ’, उनले भने, ‘केही समय मार्केटिङपछि फेरि अर्को विद्यालयमा पनि पढाएँ, यसरी करीब चार वर्ष अध्यापनमै समय सकिएपछि सञ्चार जगत्भन्दा बाहिर रहेको महसुस भएकाले त्यो दुनियाँबाट अलग हुने निर्णय गरेँ।’
जिन्दगीले दीर्घकालीन रूपमा एस, आराम र दिगोपन गरी काम गर्न नपाएपछि आफू विद्यालयबाट अलग भएको उनी सुनाउँछन्।
उनी भन्छन्, ‘विद्यालयमा विद्यार्थी, शिक्षक र अभिभावकबाहेक अरू केही देख्न पाइन्नथ्यो, खास भन्ने हो भने समाजभन्दा बाहिर रहेजस्तो अनुभूति भयो, सञ्चार क्षेत्रबाट बाहिर भएको भान भएपछि विद्यालय छाडेर नयाँ काम गर्ने सोचेँ।’
नयाँ काम केही नपाएपछि उनी निराश हुन थाले। अनि एक दिन नयाँदिल्ली जाने एकल निर्णय गरे। परिवारमा सल्लाह भएको भए अनुमति पाउँदैनथे। त्यसैले उनी एक दिन सुटुक्क नयाँदिल्लीतर्फ प्रस्थान गरे। गोजीमा पैसा नभए पनि उनीसँग आँट थियो।
उनले भने, ‘एकै ठाउँमा बसौँ भन्ने नै भएन, सुरुमा त काठमाडौँबाट सुदूर जाऊँ, उतै बसौँ भन्ने भयो।’ गन्तव्यविहीन हुँदा कहिलेकाहीँ पत्रिका ओछ्याएर अस्पतालमै रात बिताएको सम्झँदा उनी भावुक भए।
दिल्लीमा उनले ठूला लहरीमा (गाडी) मा काम गरे। उनी भन्छन्, ‘गाडीमा काम गर्दा खाना खान पाइन्नथ्यो, सुत्ने, बस्ने, रोटी खाने व्यवस्था गाडीमै हुन्थ्यो।’
दिल्ली उनका लागि अपरिचत थियो। त्यहाँ उनका आफन्त/साथी भाइ पनि थिएनन्। त्यसैले दिल्लीमा कोही उनी नयाँ कुरा जान्न चाहन्थे। ‘गुरुजी’ सँग जिज्ञासा राख्थे। तर आसलाग्दो जवाफ नपाएपछि आफूसँग भएको डायरीमा घोत्लिन्थे।
उनी भन्छन्, ‘काम सानो, ठूलो हुँदैन, जुनसुकै काम पनि परिस्थितिले जस्तो बेला पनि गर्न सिकाउँछ, म त्यस बेला यस्तै अवस्थामा गुज्रिएँ।’
केही समय गाडी लाइनको कामपछि उनले ‘इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्ट’ मा काम गर्ने अवसर पाए। आठ महिना बिताएपछि उनलाई त्यहाँ काम गर्न मन लागेन। नेपाल फर्किए।
घर आएपछि माइलो दाइ तारानिधि रेग्मीले पुस्तक पसल खोल्नका लागि प्रोत्साहन गरे। पुस्तक खोल्ने योजना त राम्रै थियो, तर लगानी गर्नका लागि आफूसँग पैसा थिएन।
उनी भन्छन्, ‘बरु फेरि दिल्ली नै जान्छु भनेर घरबाट निस्किएँ। विराटनगर पुगेपछि एकजना चिनजानकै दाइले पुस्तकको मार्केटिङका लागि अफर गरे।’ राम्रै पैसा आउने भएपछि उनी पनि मार्केटिङका लागि राजी भए। खाली समयमा डायरीमा गजल र कविता लेखनमा पनि उनी सक्रिय भइरहे।
पुस्तक व्यापार थालेपछि उनीप्रति साहित्यको लगाव बढ्दै गयो। अनि उनले इटहरीमा पुस्तक पसल खोल्ने निधो गरे। उनका दुवै दाइहरू अध्यापन क्षेत्रमै भएका कारण पनि गोविन्दपुरेलाई पुस्तक व्यापार सहज भयो।
जेठा दाइले निजी विद्यालय सञ्चालन गरेर पढ्नुपर्छ भन्ने शिक्षा दिइरहेका छन् भने माइला दाइले काठमाडौँको टोखामा सुनवर्षी बुक हाउस सञ्चालन गरेर पुस्तक व्यापार गर्छन्। दाइहरूले पढ्नुपर्छ भन्ने सन्देश दिएकाले आफूले पनि पाठकलाई सहजताका लागि पुस्तक व्यापार सुरु गरेको उनी सुनाउँछन्।
०६९ फागुनमा एक लाख २५ हजार रुपैयाँमा इटहरीको धरान लाइनमा सटर किनेर उनले पसल सुरु गरे। अहिले पुस्तक बेचेरै मनग्य आम्दानी गरिरहेका गोविन्दपुरे भन्छन्, ‘पसल सुरु गरेपछि विभिन्न ठाउँबाट पुस्तकको अर्डर आउन थाल्यो। सडकमै राखेर पनि पुस्तक बिक्री गरेँ। संघर्ष गर्दा सफल हुँदोरहेछ भन्ने बुझ्दैछु।’
परिश्रमबाट निस्किएको पसिनाको रङ सुन्दर हुने बताउँदै उनी भन्छन्, ‘सडकमा हिँड्नेहरू सबैले पढ्नुपर्छ भनेर फुटपाथमै पुस्तक बेच्न सुरु गरें, पुस्तक राम्रै बिक्री हुँदै गएपछि प्रकाशकहरूले पनि पत्याउन थाले। अहिले बिक्री राम्रै छ।’
त्यसो त उनले दिल्लीमा कष्टकर जीवन नबिताएका भए आज उनी व्यापारी र कवि हुने थिएनन्। दिल्ली बसाइका कारण उनको जीवनले ‘युर्टन’ लियो।
उनी अहिले स्कुले विद्यार्थीदेखि यहाँका राजनीतिज्ञ, समाजसेवी र बुद्विजीवीहरूका भीडमा पुग्छन् र भन्छन्, ‘तपाईँले एक-एक गरेर किनेको पुस्तक तपाईँको सन्तानलाई एक पूर्ण संग्रहालय हुन सक्छ।’