काठमाडौँ- सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। संघीय सरकारले बजेट सार्वजनिक गरेको १५ दिनपछि प्रदेश सरकारहरूले बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
आगामी आर्थिक वर्ष २०७९/८० का लागि सबैभन्दा ठूलो बजेट बागमती प्रदेशले ल्याएको छ भने कर्णाली प्रदेशको बजेट सानो आकारको छ। बागमतीको बजेट ६० अर्ब ९४ करोडको छ भने कर्णाली प्रदेशले ३२ अर्ब ६१ करोडको बजेट सार्वजनिक गरेको छ।
प्रदेश १
प्रदेश १ सरकारले आगामी आवका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट विनियोजन गरेको छ। जसमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख रुपैयाँ र संघीय अनुदान बचत फिर्तातर्फ २ अर्ब रुपैयाँ रहेको छ।
जसमा प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब १० करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ खर्ब ८२ लाख स्रोत सुनिश्चित गरिएको छ। ससर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपुरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख प्राप्त गर्ने प्रदेश सरकारले जनाएको छ। यसमा चालु आवको नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख तथा वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख प्राप्त हुने जनाइएको छ।
मधेशमा १३ अर्ब बढी
मधेस प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट ल्याएको छ। यो बजेट चालु आवकोभन्दा १३ अर्बले बढी हो।
आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेटको ४६.४४ प्रतिशत अर्थात २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार चालुतर्फ बजेट विनिजयोजन गरेको छ।
पुँजिगततर्फ ५३.२१ प्रतिशत अर्थात् २५ अर्ब ८२ करोड २० लाख र वित्तीय व्यवस्थापनतर्फ ०.३५ प्रतिशत अर्थात १६ करोड २४ लाख बजेट विनियोजन गरिएको छ।
बागमती : आकारमा ठूलो
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यो सात प्रदेशमध्ये सबैभन्दा ठूलो आकारको बजेट हो।
यसमध्ये चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख अर्थात् २७ प्रतिशत बजेट विनियोजन गरिएको प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले जानकारी गराए।
प्रदेश सरकारले पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख अर्थात् ५९ प्रतिशत बजेट विनियोजन गरेको छ। वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख अर्थात् ११.७७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ अर्ब अर्थात् २।८१ प्रतिशत छुट्याइएको छ।
यसको स्रोतका रूपमा प्रदेश सरकारले कर राजस्वबाट २७ अर्ब र अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख आम्दानी हुने जनाएको छ।
बागमती प्रदेशलाई संघको वित्तीय हस्तान्तरणबाट आउने २१ अर्ब ६ करोड र चालु आवको सञ्चित कोषबाट १६ अर्ब ६७ करोड पनि स्रोतमा समेटिएको छ।
गण्डकीको बजेट ५ अर्ब बढ्यो
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आवको लागि सरकारले ३० अर्बको बजेट सार्वजनिक गरेको थियो। विनियोजनमध्ये चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख अर्थात् ३७ प्रतिशत र पुँजीगततर्फ २२ अर्ब १४ करोड अर्थात् ६१.६६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात् १.३९ प्रतिशत छ।
स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड १० लाख अर्थात् ५.८८ प्रतिशत रहेको छ। साथै आगामी आर्थिक वर्षमा १ करोड ६८ लाख ३८ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान प्रदेश सरकारको छ।
बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारको वित्तीय समानीकरणबाट ७ अर्ब ९२ करोड, राजश्व बाँडफाँटबाट ९ अर्ब २४ करोड, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड, समपुरक अनुदानतर्फ ८३ करोड ७० लाख प्राप्त गर्ने प्रदेश सरकारको लक्ष्य छ।
त्यस्तै विशेष अनुदानतर्फ ८६ करोड प्राप्त हुने अनुमान छ। प्रदेशको आन्तरिक राजस्वबाट ५ अर्ब ९ करोड र रोयल्टी बाँडफाँडबाट ३२ करोड ५० लाख प्राप्त हुने प्रदेश सरकारले जनाएको छ।
लुम्बिनीमा ४२ अर्ब
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
जसमध्ये चालुतर्फ १३ अर्ब ३२ करोड ४६ लाख अर्थात् ३१.२६ प्रतिशत विनियोजन गरिएको छ। लुम्बिनी सरकारले पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख अर्थात् अर्थात् ५७.४१ प्रतिशत बजेट छुट्याएको छ। स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड अर्थात् ११.३३ प्रतिशत विनियोजन गरेको छ।
प्रदेश सरकारले यसको लागि आन्तरिक राजस्वबाट ३ अर्ब १० करोड ५९ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ। राजस्व बाँडफाँडबाट १५ अर्ब ३५ करोड ३४ लाख र रोयल्टी बाँडफाँडबाट ७० करोड स्रोत सुनिश्चित गरिएको छ।
बजेट वक्तव्यमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५४ करोड, ससर्त अनुदानबाट ८ अर्ब ७१ करोड, समपुरक अनुदानबाट ७४ करोड र विशेष अनुदानबाट ४८ करोड रुपैयाँ प्राप्त गर्ने जनाइएको छ। चालु आवको सञ्चित कोषबाट ४ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब परिचालन हुने प्रदेश सरकारले जनाएको छ।
कर्णाली प्रदेशले घटायो बजेट
आगामी आर्थिक वर्ष २०७९/८० का लागि कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यो चालु आवको भन्दा ४ अर्ब कम हो। कर्णाली प्रदेश सरकारको चालु आवको बजेट ३६ अर्ब ५४ करोड रुपैयाँको छ।
कर्णाली प्रदेश सरकारले आगामी आवको चालुतर्फ ९ अर्ब १७ करोड अर्थात् २८ प्रतिशत बजेट विनियोजन गरेको छ। त्यस्तै पुँजीगततर्फ १९ अर्ब ४३ करोड अर्थात् ५९.६ प्रतिशत छुट्याइएको छ।
प्रदेश सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख अर्थात् १२.३१ प्रतिशत विनियोजन गरेको जनाएको छ।यसको लागि सरकारले आन्तरिक राजस्वबाट ७१ करोड २९ लाख, चालु आवको बचत ४ अर्ब ५५ करोडको स्रोत व्यवस्थान गरेको छ।
त्यस्तै संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत प्राप्त हुने रकम ९ अर्ब २ करोड, वित्तीय समानीकरण अनुदानबाट १० अर्ब ७२ करोड ६४ लाख र ससर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ रुपैयाँ सुनिश्चित हुने प्रदेश सरकारले जनाएको छ। समपुरक अनुदानबाट कर्णाली प्रदेशले १ अर्ब २१ करोड र विशेष अनुदानतर्फ ६६ करोड ८० लाख रुपैयाँ प्राप्त गर्नेछ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ। यसमा चालु खर्चतर्फ कुल विनियोजित बजेटको ३३.४६ प्रतिशत हुनेगरी १२ अर्ब २९ करोड र पुँजीगत खर्चतर्फ २४ अर्ब १४ करोड ४७ लाख विनियोजन गरिएको छ। वित्तीय हस्तान्तरणतर्फ एक अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट २ अर्ब, चालु आर्थिक वर्षमा खर्चबाट बचत हुने अनुमानित रकम ७ अर्ब र संघीय सरकारबाट राजस्व बाँडफाँड वापत् ९ अर्ब ६० करोड प्राप्त हुने प्रदेश सरकारले जनाएको छ।
त्यस्तै वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब २० करोड, ससर्त अनुदानबाट ६ अर्ब र रोयल्टीबाट ४ करोड २८ लाख रकम सुनिश्चित गर्ने सुदूरपश्चिम सरकारले लक्ष्य राखेको छ।
यो पनि
यस्तो छ प्रदेश १ सरकारले विनियोजन गरेको बजेटको पूर्णपाठ
मधेश प्रदेशमा आयो ४६ अर्ब ८८ करोडको बजेट, कुन क्षेत्रलाई कति प्राथमिकता ? [पूर्णपाठसहित]
बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड ९२ लाख [पूर्णपाठ]
गण्डकी प्रदेशको बजेट झण्डै ३६ अर्ब (पूर्णपाठ)
लुम्बिनी प्रदेशमा ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट सार्वजनिक
कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ६१ करोड ६१ लाखको बजेट [पूर्णपाठ]
सुदूरपश्चिम सरकारले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट [पूर्णपाठसहित]
[विवेक विवश रेग्मी, नेहा झा, विजय उत्सव र पदमराज भट्टको सहयोगमा]