बेइजिङ- चीनको राजधानी बेइजिङमा तेह्रौँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौँ अधिवेशन मार्च ५ तारिख शनिबार बिहानदेखि सुरू भएको छ। जन बृहत् सभा भवनमा भइरहेकाे याे तेह्रौँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौँ अधिवेशनको उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ, राज्य परिषदका सदस्यसहित अन्य नेताहरू सरिक भएका छन्।
उद्घाटन समारोहमा, प्रधानमन्त्री ली खछ्याङले सरकारी प्रतिवेदन प्रस्तुत गर्दै गत वर्षको कार्य समीक्षा र चालु वर्षकालागि नयाँ योजना तथा लक्ष्य र बजेट सार्वजनिक गरेका छन्। साथै, यस वर्ष चीनले आर्थिक वृद्धि दर लक्ष्य ५.५ प्रतिशत निर्धारण गरेको छ। यसै गरी, १.४५ त्रिलियन यूआनको वार्षिक रक्षा बजेटको प्रस्ताव गरिएको छ, जुन गत वर्षभन्दा ७.१ प्रतिशतले बढी हो।
प्रधानमन्त्री लीले सरकारी प्रतिवेदन प्रस्तुत गर्दै यस वर्ष ५.५ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य निर्धारण गरेका हुन्। साथै, उनले सन् २०२१ मा चीनको कूल गार्हस्थ उत्पादन (जीडीपी) ११४० खर्ब युआन पुगेबाट ८.१ प्रतिशतले जीडिपी वृद्धि भएको पनि औँल्याए। प्रधानमन्त्री लीले राष्ट्रिय वित्तीय राजश्व २०० खर्ब युआनभन्दा बढ़ी पुगेर १०.७ प्रतिशतले वृद्धि भएको, सहर तथा गाउँबस्तीमा १ करोड २६ लाख ९० हजार नयाँ रोजगारी थपिएको र उपभोक्ता मूल्य ०.९ प्रतिशतले बढेको आफ्नो कार्य प्रतिवेदनमा उल्लेख गरेका छन्।
यसै गरी, ११ लाख बढी नयाँ सहरी रोजगार थप्दै बेरोजगारी दर ५.५ प्रतिशतमा नियन्त्रण गर्ने लक्ष्य लिइएको छ। उपभोग मूल्य सूचि ३ प्रतिशतको हाराहारीमा राखिने, ६ खर्ब ५० अर्ब केजी बढी अन्न उत्पादनको लक्ष्य, आयात तथा निर्यातमा स्थिरता कायम राख्दै गुणस्तरमा जोड दिइने र पर्यावरणीय गुणस्तरको निरन्तर सुधार गर्दैजाने पनि प्रधानमन्त्री लीले बताएका छन्।
प्रधानमन्त्री लीका अनुसार, चीनले १.४५ त्रिलियन यूआन (२३० बिलियन डलर) को वार्षिक रक्षा बजेट विनियोजन गरेको छ। अमेरिकापछिको दोस्रो सबैभन्दा ठूलो रक्षा बजेट चीनको रहँदै आएको छ । यो बजेटको वार्षिक वृद्धि दर ७.१ प्रतिशत भएको उल्लेख छ। यसै गरी, उनले सन् २०२१ चिनियाँ कम्युनिस्ट पार्टी तथा चीनको इतिहासमा कोसेढुङ्गा सावित भएको पनि औँल्याएका छन्। महासचिव सी चिनफिङ केन्द्रीत चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले चिनियाँ कम्युनिस्ट पार्टी तथा सारा देशले भव्यताका साथ चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको शतवार्षिकी मनाउनुका साथै गरिबी निवारणको लडाइँमा सफलता प्राप्त गरेको थियो। यो सँगसँगै चीनले आधुनिक शक्तिशाली समाजवादी मुलुक निर्माणको नयाँ लक्ष्यमा पाइला चालेको छ।
उनले ८५ प्रतिशत चिनियाँ जनताले कोभिड-१९ को पूर्ण खोप लगाइसकेको पनि बताए। ‘ग्रास-रूट’ सामाजिक सुशासनलाई नवीन र सुधार गर्दै ग्रास-रूट सुशासन क्षमतालाई बढाउनुपर्ने र सबै तहका सरकार र तिनका प्रतिनिधि तथा कर्मचारीले जनताको सुरक्षालाई सधैँ ध्यानमा राखेर जनताको जीवनयापनका सरोकारहरूलाई समयमै प्रतिक्रिया दिनुपर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
शान्ति र सन्तुष्टिपूर्वक जनताको जीवनयापन र सामाजिक स्थायित्व तथा अनुशासनको प्रवर्द्धन गर्नुपर्ने कार्य प्रतिवेदनमा उल्लेख छ। महिला तथा बालबालिकाको अपहरण तथा बेचबिखनको अपराधमा कडा कार्वाही गर्दै महिला तथा बालबालिकाको वैधानिक हक अधिकारको दृढतापूर्वक संरक्षण गरिने पनि औँल्याइएको छ।
प्रधानमन्त्री लीले कार्य प्रतिवेदन प्रस्तुत गर्दै सन् २०२२ मा विदेशी लगानीको सकारात्मक प्रयोग गर्ने क्रममा ठूलो तथा खुला चिनियाँ बजारबाट चीनमा विश्वका विभिन्न मुलुकका उद्यमीहरूकालागि धेरै अवसर प्रदान गरिने पनि औँल्याए। विदेशी लगानीको परिधिको विस्तार गर्न प्रोत्साहन गर्दै मझौला र उच्च स्तरीय उत्पादन, अनुसन्धान तथा विकास एवम आधुनिक सेवा क्षेत्र र चीनको मध्य, पश्चिमी र उत्तर पूर्वी भागमा विदेशी लगानी बढाउने पनि सो कार्य प्रतिवेदनमा उल्लेख गरिएको छ।
स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्र, हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माण, विकास क्षेत्रको सुधार तथा नवीकरणको पनि गरिने जनाइएको छ। विश्वका विभिन्न देशसँगै मिलेर हितयुक्त सहयोग गर्दै साझा जीतको इच्छा चीनले लिएको पनि प्रतिवेदनमा जोड दिइएको छ। गत वर्ष, हाइ टेक उत्पादन क्षेत्र १८.२ प्रतिशतले वृद्धि भएको थियो। साथै वैदेशिक व्यापारको आकार २१.४ प्रतिशतले वृद्धि भएको थियो।
कार्य प्रतिवेदनमा “थाइवान स्वतन्त्रता” को पृथकता कर्तुतको कडा विरोध गरिने, बाहिरी शक्तिको हस्तक्षेपको कडा विरोध गरिने उल्लेख गरिएको छ। सरकारको कार्य प्रतिवेदनअनुसार, थाइवानसम्बन्धी कार्यको नीतिको पालना गरिने, नयाँ युगमा थाइवान कार्यको समाधान गर्ने रणनीतिको पालना गरिने, र एक चीनको नीतिको पालना गरिने उल्लेख छ।