इटहरी- जिल्ला समन्वय समिति प्रदेश १ का ११ जिल्लाको जिल्ला समन्वय समितिको नेतृत्व चयन भएको छ। तीमध्ये पाँच जिल्लामा कांग्रेस, तीन जिल्लामा नेकपा एकीकृत समाजवादी, दुई जिल्लामा एमाले र एक जिल्लामा जनता समाजवादी पार्टीले नेतृत्व लिएको छ। तीन जिल्लामा भने निर्वाचन हुन बाँकी छ।
जिसस सुनसरीको प्रमुखमा कांग्रेसका राजन मेहता विजयी भएका छन्। यस्तै उपप्रमुखमा कांग्रेसकै कमला खतिवडासहित गठबन्धनको प्यानलै विजयी भएको छ।
मोरङमा भने नेकपा एमालेको प्यानलै विजयी भएको छ। एमालेका अजम्बर राई प्रमुख र उषा झा (ठाकुर) उपप्रमुखमा विजयी भइन्।
धनकुटामा एमालेको प्यानलै विजयी भएको छ। प्रमुखमा निरेन तामाङ र उपप्रमुखमा सावित्रा राई विजयी भइन्।
संखुवासभामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका सुमन शाक्य विजयी भए।
उपप्रमुखमा कांग्रेसकी बबिता खत्रीसहित सबै सदस्य गठबन्धनका तर्फबाट उम्मेदवारी दिएर विजयी भएका छन्।
तेह्रथुममा जिसस प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी (एस) पार्टीका गुमानसिंह इस्बो निर्वाचित भएका छन्।
उपप्रमुखमा नेपाली कांग्रेसका श्री कार्की निर्वाचित भइन्। ०७४ मा एमाले एक्लैले जिससको नेतृत्व गरेको थियो। यसपटक गठबन्धनका कारण एमालेले तेह्रथुम गुमाएको छ।
भोजपुरमा गठबन्धनको प्यानलै विजयी भएको छ। गठबन्धनका तर्फबाट कांग्रेसका कमल थुलुङ राई प्रमुख र मओवादी केन्द्रकी अनिशा खड्का विजयी भएका छन्।
जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) का सनबहादुर राईको प्यानलै निर्वाचित भएका छन्।
उपप्रमुखमा वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाटै उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सुरेशकुमार तामाङ विजयी भए।
ओखलढुंगामा कांग्रेसको प्यानलै निर्विरोध निर्वाचित भएको छ। कांग्रेसको बहुमत भएपछि अन्य दलहरूले मनोनयन दर्ता नगराएको निर्वाचन कार्यालयले जनाएको छ।
प्रमुखमा कांग्रेसका डिल्लीराम खनाल निर्वाचित भए। उपप्रमुखमा तारादेवी कार्की निर्वाचित भइन्। अन्य सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन्।
सोलुखुम्बुमा पनि कांग्रेसको प्यानलै निर्विरोध निर्वाचित भएको छ। एकल उम्मेदवारी परेपछि सोलुखुम्बुको प्रमुखमा कांग्रेसका नेता कृष्णप्रसाद निरौला निर्विरोध निर्वाचित भए।
उपप्रमुखमा टीकामाया मगर विजयी भइन्। अन्य सदस्य पनि निर्विरोध निर्वाचित भएका छन्।
ताप्लेजुङमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी (एस) का छिरिङ लामा प्रमुखमा विजयी भएका छन्।
उपप्रमुखमा कांग्रेसका कृष्णप्रसाद लिङखिम लिम्बू निर्विरोध निर्वाचत भए। अन्य सबै सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।
पाँचथरमा भने प्रमुखमा कांग्रेसका रामराज आङदेम्बे र उपप्रमुख नेकपा माओवादी केन्द्रका यामकुमार आङ्वो विजयी भएका छन्। पाँचथरमा गठबन्धनको प्यानलै निर्विरोध निर्वाचित भएको छ।
एकल उम्मेदवारी दर्ता गराएपछि पाँचथरमा सबै सदस्यहरूसहित गठबन्धनले नेतृत्व लिएको हो।
झापा, इलाम र उदयपुरमा निर्वाचन हुन बाँकी छ। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा ३० जना मतदाता रहेकोमा एमालेका १७ जना छन्।
इलाममा असार ४ गते निर्वाचन मिति तोकिएको छ। इलाममा एमाले र एकीकृत समाजवादीले गठबन्धन गरेको छ। प्रमुखमा एमालेका जयप्रकाश राई उम्मेदवार छन्। उपप्रमुखमा नेकपा (एस) की चित्रकला बराइली उम्मेदवार छिन्।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला हो, इलाम। यहाँ सत्ता गठबन्धन तोडिएको छ। जिसस नेतृत्वको उम्मेदवारी मनोनयन दर्ता गराउँदा सत्ता गठबन्धन फुटेर नेपाली कांग्रेस एक्लै भएको छ भने नेकपा (एस) ले नेकपा (एमाले) सँग तालमेल गरेको छ।
इलाममा कांग्रेसका तर्फबाट प्रमुखमा विमल वैद्यले उम्मेदवारी दिएका छन्। उपप्रमुखमा कमला अधिकारी बरालले उम्मेदवारी दर्ता गराएकी छन्। जिल्लाका १० स्थानीय तहका प्रमुख/उपप्रमुख गरी २० जना जिससको उम्मेदवारका मतदाता छन्।
२० जनामध्ये एमाले-नेकपा (एस) गठबन्धनसँग १२ मतदाता छन् भने कांग्रेससँग ७ जना छन्। जसपाका १ जना मतदता छन्।
उदयपुरमा असार ९ गतेका लागि निर्वाचन मिति तय गरिएको निर्वाचन कार्यालयले जनाएको छ। असार ७ गते मनोनयन दर्ता हुने भएकाले अहिले नै को उम्मेदवार रहने भन्नेबारे यकिन भएको छैन।
उदयपुरका ८ पालिकामा १६ मतदाता छन्। जसमध्ये नेपाली कांग्रेससँग ७, नेकपा एमालेसँग ५, नेकपा माओवादी केन्द्रसँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ जना मतदाता छन्।