काठमाडौँ- काठमाडौँको चोक, गल्ली, सडक, नदी किनार जहाँ त्यहीँ फोहोर थुप्रिएको थुप्रै भइसक्यो। थुप्रिएको फोहोरले सहरको सौन्दर्य मात्र बिग्रिएको छैन दुर्गन्ध नि त्यतिकै फैलिएको छ।
सिसडोल/बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न स्थानीयले अवरोध गरेसँगै काठमाडौँको फोहोर चोक, सडक छेउलगायत ठाउँमा थुप्रिन थालेको हो।
सिसडोल/बन्चरेडाँडा क्षेत्रका स्थानीयले ४ बुँदे माग राखेर फोहोर ढुवानी नै रोकिदिएका छन्। सडक भरी थुप्रिएको फोहोर व्यवस्थापन गर्न नवनिर्वाचित मेयर बालेन्द्र साहको दौडधुप पनि त्यति कै बढेको छ, तर यो समस्या तुरुन्तै समाधान हुने अवस्थाको छैन।
वर्षातको मौसम सुरु भै सकेको छ, सडकमा थुप्रिँदै गएको फोहोरले महामारी फैलिन सक्ने जोखिम त्यतिकै बढेको छ। घर-घरबाट फोहोर उठाउने जिम्मा पाएको निजि कम्पनीले फोहोर संकलन गर्न छोडेपछि चोक, गल्ली, सडक, नदी किनारमा फोहोर फाल्न थालिएको छ।
कुहिने, नकुहिने सबै किसिमको फोहोरको चाङ सडकमा छ। फोहोरको दुर्गन्धले अहिले पैदयात्रु तथा वा सवारी साधनमा आउजाउ गर्ने जो कसैले पनि नाक थुनेर हिड्नुपर्ने अवस्था छ।
विज्ञको अनुमानलाई मान्ने हो भने उपत्यकामा दैनिक सरदर १२०० मेट्रिक टन फोहोर उत्पादन हुन्छ। वैशाखको सुरुवात देखिनै उपत्यकाको फोहोरको व्यवस्थापन सहज ढंगले हुन सकेको छैन।