‘पानीको शक्ति अदृश्य हुन्छ, त्यसको संगीत अलौकिक हुन्छ तर पानीको संगीत बुझेमा जस्तोसुकै ठूलो नदीले पनि तपाईंलाई बगाउन सक्दैन।’
यो भनाइ हो, इटहरी–२० का सुरेश बस्नेतको। उनी सात वर्षयता र्याफ्टिङ व्यवसायमा सक्रिय छन्। ‘एउटा उखान छ, हेपेको खोलाले बगाउँछ,’ उनी भन्छन्, ‘तर पानीको संगीतलाई बुझ्न सके त्यसले बगाउँदैन, बरु त्यसमा आनन्द लिन सकिन्छ।’
उनको टिमले पूर्वको अरुण, तमर, सप्तकोसीलगायत नदीबाट र्याफ्टिङको सुरुवात गरेको हो। ग्रिन होराइजन नामक संस्था दर्ता गरी पर्यटन बोर्डको अनुमतिमा उनले व्यवसाय सञ्चालनमा ल्याएका छन्।
‘र्याफ्टिङ साहसिक खेल हो,’ उनी भन्छन्, ‘त्यसैले यसमा जोखिम लिनेहरू बढ्दै गएका छन्।’ साहसिक खेलमा जोखिम भएन भने मजा नहुने उनी बताउँछन्। ‘हामीले पूर्ण सुरक्षा अपनाएर र्याफ्टिङ गराउँछौँ,’ उनी सुनाउँछन्, ‘तमर नदीमा र्याफ्टिङ गर्नु अत्यन्तै साहसिक काम हो।’
पर्यटन बोर्डले र्याफ्टिङ गराउनेहरूलाई नेपालका सबै खोला, नदीमा अनुमति दिन्छ। अरुण, तमर, सुनकोसी, भेरी, कर्णाली, भोटेकोसी, कावेली, सप्तकोसीजस्ता नदीमा र्याफ्टिङका लागि अनुमति दिइने उनी बताउँछन्। भन्छन्, ‘नेपालमा विश्वस्तरीय नदी छन्। तिनलाई सदुपयोग गर्न सके मनग्गे विदेशी पर्यटक भित्र्याउन सकिन्छ।’
‘ग्रेडिङ’ अनुसार विश्वको दोस्रो र तेस्रो नदी नेपालमै भएको उनी बताउँछन्। ‘अमेरिकाको कोलोराडो नदी पहिलो स्थानमा आउँछ,’ उनी भन्छन्, ‘नेपालको भोटेकोसी दोस्रो र तमर तेस्रो स्थानमा पर्छ।’
अग्ला पहाड धेरै भएकाले नेपाल दोस्रो, तेस्रोमा पर्नुलाई उनी सकारात्मक मान्छन्। ‘अरू देशमा समुद्र छ, बिजुली पानीबाट निस्किन्छ,’ उनी थप्छन्, ‘नेपालमा बिजुली उत्पादनका लागि नदीको पानी प्रयोग गर्न सकिन्छ। यहाँ पानी ओरालो बग्छ, अन्य देशमा समुद्रमात्रै छन्।’
नेपालमा पर्यटनको अथाह सम्भावना भए पनि सरकारले प्रवर्द्धन गर्न नसकेको उनी बताउँछन्। ‘केही निजी कम्पनीले मात्रै देशको पर्यटन धानेका छन्,’ उनी सुनाउँछन्, ‘सरकारबाट जति लगानी हुनुपर्थ्यो , त्यो हुन सकेको छैन।’
प्रदेश १ मा पर्यटन प्रवर्द्धन गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने उनी बताउँछन्। ‘सर्वोच्च शिखर सगरमाथा प्रदेश १ मा छ,’ उनी भन्छन्, ‘नदी यसै प्रदेशमा छन्। यहाँ एकै ठाउँमा ३२ प्रकारका गुराँस फुल्छन्।’
पर्यटनका हिसाबले अन्य प्रदेशभन्दा धनी प्रदेश रहेको उनको बुझाइ छ। ‘हिमाल, पहाड, सगरमाथा, धेरै सम्भावना बोकेको ठाउँ हो यो,’ उनी भन्छन्।
उनका अनुसार पूर्वमा दुई कम्पनीका छ वटा र्याफ्टिङ छन्। आफूसँग चार वटा र्याफ्टिङ रहेको उनी बताउँछन्। ‘हामीसँग चार वटा र्याफ्टिङ छन्,’ उनी भन्छन्, ‘धरानसँग दुईवटा छन्। एउटा र्याफ्टिङमा आठ जनाले यात्रा गर्न सक्छन्।’
र्याफ्टिङ गर्दा आनन्दको अनुभूति हुने उनी बताउँछन्। ‘पूर्वमा पहिलोपटक धरानका मदन ढकालले र्याफ्टिङ सुरु गरेका हुन्,’ उनी भन्छन्। इटहरीबाट र्याफ्टिङ जान सहज भएकाले अहिले पर्यटकको संख्या बढेको उनको भनाइ छ।
‘पानी घुँडादेखि माथि आएपछि मानिस डराउँछन्,’ उनी अनुभव सुनाउँछन्, ‘पानीको भाषा र संगीत बुझेपछि अभ्यस्त भइन्छ। मान्छे पानीको भाषा नबुझेर डराउँछन्। तर पानीका भाषा अत्यन्त मिठो र सुन्दर छ।’
‘पर्यटक किन घुम्छन्?’ उनी प्रश्न गर्छन्, ‘विभिन्न ठाउँको संस्कृति, रीतिरिवाज, रहनसहन, जीवनशैली बुझ्न। प्राकृतिक सौन्दर्यको आनन्द लिन।’ तर हाम्रो सरकार यस विषयमा स्पष्ट नभएको उनको बुझाइ छ।
सरकारले साहसिक खेलसम्बन्धी कोर्स सञ्चालनका लागि लगानी गर्नुपर्ने उनको तर्क छ। ‘तर सरकार यसमा उदासीन छ,’ उनी भन्छन्। सरकारले लगानी नगरे पनि केही पर्यटन व्यवसायीको सक्रियतामा नेपालमा पहिलोपटक साहसिक खेलको अध्ययन गराउने तयारी भइरहेको उनी बताउँछन्।
‘सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरेर कोर्सको तयारी गरिएको छ,’ उनी भन्छन्। ‘क्यान्योनिङ, र्याफ्टिङलगायत कोर्स सञ्चालनका लागि सम्बन्धन प्राप्त भएको छ,’ उनी भन्छन्, ‘यो कोर्स सञ्चालन गराउन मैले चार वर्ष धाउनुपर्यो।’
साहसिक खेलसम्बन्धी सीप हासिल गर्नका लागि सञ्चालन गरिने यस कोर्सले दक्ष जनशक्ति उत्पादन गर्ने उनी बताउँछन्। ‘छ महिनाको कोर्समा लेभल ए पूरा गरेपछि लेभल बी पुगिन्छ,’ उनी भन्छन्, ‘एक सिफ्टमा २० जनाले मात्रै सिक्न पाउँछन्।’ भदौ पहिलो सातादेखि कोर्स सञ्चालन गरिने उनी बताउँछन्।
‘राज्यले ध्यान पुर्याउने हो भने नेपालमा पर्यटन क्षेत्रमा ठूलो सम्भावना छ,’ उनी भन्छन्, ‘पर्यटन प्रवर्द्धनका लागि यस्ता साहसिक खेलको आवश्यकता छ।’
को हुन् सुरेश ?
२०२६ वैशाख १८ गते ओखलढुंगामा जन्मिएका सुरेश बस्नेत २०३६ सालमा परिवारसँग सुनसरी आए। पहाडमा हुँदा खोला नदेखेका उनले मधेशमा आएपछि साथीभाइसँग पौडिन सुरु गरे।
सानोमा उनी भलिबल खेलाडी थिए। ‘भलिबल खेलाडी भएकाले स्टामिना थियो, त्यसैले पानीसँग अभ्यस्त हुन समय लागेन।’
ससाना नहरमा पौडन सुरु गरेका उनी अहिले नेपालमा ठूला नदीमा सजिलै पौडन सक्छन्। २०४२ सालमा इटहरी आएपछि पनि पौडन छुटेन। अध्ययन सकेर शिक्षक भए।
इटहरीकै एक माध्यमिक विद्यालयमा सामाजिक र अर्थशास्त्र पढाउन थाले। उनको पानीप्रतिको मोह कहिल्यै घटेन। पानीप्रतिको हुटहुटीलेले जागिरमा मन लागेन। करिब २० वर्ष अध्यापनमा बिताएपछि राजीनामा दिएर र्याफ्टिङ व्यवसाय सुरु गरे। अहिले त्यसै काममा रमाइरहेका छन्।