काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘ओली एकदम नरम मान्छे हुनुहुन्छ। उहाँ सानोसानो कुरा ख्याल गर्नुहुन्छ।’ बाहिर हेर्दा भने ओली त्यस्ता देखिँदैनन्।
उनी आक्रामक, हठी र कडा मिजासका लाग्छन्। विपक्षीविरुद्ध खरो रूपमा उत्रने शैली र सार्वजनिक भाषण सुन्ने हो भने ओली एकदमै आक्रामक लाग्छन्। आफ्नो अभिव्यक्तिलाई उखानटुक्काको सहायतामा थप प्रभावकारी बनाउन सिपालु छन् उनी।
ओलीका नजिकका नेताहरू भन्छन्, ‘उहाँ भीड हेरेर कस्तो मान्छेका सामु कसरी प्रस्तुत हुने राम्ररी जान्नुहुन्छ।’ ओलीका भाषणका कारण विपक्षी झन् बढी आक्रामक हुन्छन् भने समर्थक ताली पिटेर थप उत्साहित बनाउँछन्। त्यसो त मिलाई मिलाई बोल्ने ओलीको शैली युवावस्थादेखिकै हो।
‘ओलीको स्वभाव सानैदेखि चतुर थियो। उहाँ मिलाई मिलाई बोल्नुहुन्थ्यो। जस्तै कमजोर अवस्थामा पनि देश बनाउनुपर्छ भनेर अडान राख्नुहुन्थ्यो’, पुराना वामनेता एवं कुनै बेला ओलीका सहकर्मी रहेका राधाकृष्ण मैनाली सम्झन्छन्।
एमाले नेता घनश्याम भुसाल भने ओलीमा विलक्षण प्रतिभा भए पनि कुण्ठाका कारण बेलाबेलामा कडा अभिव्यक्ति दिने बताउँछन्। उनी भन्छन्, ‘ओली कमरेडमा विलक्षण प्रतिभा छ। उहाँले चाहनुभयो भने जे पनि गर्न सक्नुहुन्छ। उहाँ सहज रुपमा निर्णय पनि लिन सक्नुहुन्छ।’
ओलीका कडा अभिव्यक्ति थाहा पाउन स्थानीय तहको निर्वाचनअघि ओली एकदमै आक्रामक थिए।
उनी जिल्ला दौडाहामा रहेका बेला विपक्षी गठबन्धनलाई भन्न बाँकी केही छाडेनन्। चुनावमा एमाले पहिलो पार्टीका रूपमा स्थापित हुने उनको दाबी थियो। चुनावअघि नेताले यस्तो विश्वास गर्नु स्वाभाविकै पनि हो।
तर उनले आफ्नो अभिव्यक्तिलाई रोचक ढंगमा प्रस्तुत गर्थे। उनी कटाक्ष गर्थे, ‘स्थानीय तहको निर्वाचनको दिन वैशाख ३० लुतो फ्याँक्ने दिन हो।’
ओलीले माधव नेपाललाई त चुनाव प्रचारमा खेदो खने। एउटा भाषणमा ‘माधव नेपालको कुरा गरेपछि आफूले कुल्ला गर्ने गरेको’ अभिव्यक्ति दिए। माओवादी केन्द्रलाई पनि ओलीले भन्नुसम्म भने। उनी भन्थे, ‘माओवादी केन्द्र पार्टी नभई केन्द्र मात्र हो।’
ओलीले कांग्रेसप्रति पनि आक्रामक थिए। देउवालाई लक्षित गरेर विभिन्न मञ्चबाट शब्दवाण प्रहार गरिरहे। ओलीले गठबन्धनका नेताका सानासाना कमजोरी केलाउँथे।
भरतपुरको चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डकी छोरी रेनु दाहालको नाम भुलेर रेनु यादव भनेका थिए। त्यसको केही दिनमा भरतपुर पुगेर ओलीले देउवालाई व्यंग्य गरेका थिए। ओली पाँच दलीय गठबन्धनलाई कमजोर देखाउन चाहन्थे।
निर्वाचन नतिजा ओलीले चाहेजस्तो आएन। ओलीले चुनावअघि ७० प्रतिशत स्थानीय तह जित्न अभिव्यक्ति दिन्थे। २०७४ सालको स्थानीय तहको निर्वाचनमा पहिलो दल बनेको एमाले अहिले चुनावमा दोस्रोमा खुम्चिन पुगेको छ।
ओलीले माओवादी केन्द्रको औचित्य सकिएको बताए पनि माओवादी तेस्रो भयो। हार व्यहोरेपछि ओलीले ‘सरकारले धाँधली गरेको, राज्य संयन्त्रको दुरुपयोग गरेको’ आरोप लगाए।
संसदको नीति तथा कार्यक्रमको छलफलमा ओलीले गठबन्धनको खोइरो खने। उनले कांग्रेसको इतिहासबारे गलत अथ्र्याए। प्रचण्डलाई त भरतपुरमा जनता धम्क्याएको आरोप लगाए। यतिसम्म कि माओवादीले द्वन्द्वकालमा चितवनमा ‘बोराका बोरा मान्छे कब्जा गरेको’ अभिव्यक्ति दिए ओलीले।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ओलीको अभिव्यक्तिको उत्तर फर्काउन बाध्य भए। संसद्को नीति तथा कार्यक्रम छलफलमा प्रचण्डले ओलीमा परिवर्तन आएको आस गरेको बताए।
उनले ओलीको शैलीमा परिवर्तन भएर ‘वाम गठबन्धनको पक्षमा छु’ भन्ने आसमा संसद्भित्र बसेको बताए।
‘ओलीजीले सबै चुनाव हारिसक्नुभयो। सत्ता पनि गयो। प्रदेश सरकार गए’, प्रचण्डले भनेका थिए, ‘बार एसोसिएसनदेखि राष्ट्रिय सभामा पनि हारेपछि वाम गठबन्धनका बारेमा बोल्नुहुन्छ कि भन्ने आस गरेको थिएँ।’
ओली पुरानै शैलीमा प्रस्तुत भएकोमा प्रचण्डले आश्चर्य प्रकट गरेका थिए। पछिल्लो समय प्रचण्ड गठबन्धन विपरीत अभिव्यक्ति दिइरहेका छन्। वाम गठबन्धनको चर्चा चलिरहेका बेला प्रचण्डको गठबन्धनविपरीत अभिव्यक्तिले ओलीसँग साँठगाँठ हुन अनुमान गरिँदैछ।
ओलीनिकट नेता सूर्य थापा प्रचण्डसँग साँठगाँठ हुने कुरा सोच्नै नसकिने बताउँछन्। पछिल्लो समय प्रचण्डले आफूलाई प्रधानमन्त्रीको अफर आइरहेको बताउँछन्।
पार्टीभित्र नरम ओली
निर्वाचनपछि ओली केही हच्किएका छन्। लामो समयदेखि एमालेले गर्दै आएको संसद् अवरोध एकाएक हट्यो। ओली आफैँ संसद्मा बोल्न रोस्टम पुगे। पार्टीको निर्वाचन समीक्षा गर्न बसेको संसदीय दलको बैठकमा पनि गुटगत कारणले पार्टी परेको बताए।
एमालेको जनसंगठन संयन्त्र बैठकमा ओलीले पार्टीकै नेताका कारण चुनाव हारेको गुनासो पोखे। ‘अध्यक्षज्यू शालीन रूपमा प्रस्तुत हुनुभयो। चिन्तित देखिनुहुन्थ्यो’, बैठकमा सहभागी एक नेताले भने, ‘उहाँले चुनावमा अन्तर्घात भएको बताउनुभयो।’
ओलीका अनुसार नेताहरूबीच मेल नभएको र टिम स्पिरिट नभएका कारण पार्टीले चुनाव हारेको हो।
‘अध्यक्षज्यूलाई कम्तीमा पनि पार्टीले ४० प्रतिशत जित्छ भनेर रिपोर्टिटिङ भएको थियो तर त्यो संख्या पुगेन’, एक नेताले भने।
ओली समयसापेक्ष चल्ने चल्ने नेता रहेको भुसाल बताउँछन्। व्यक्तिगत कुण्ठा त्यागेमा ओली कम्युनिस्ट राजनीतिमा एक सशक्त नेता हुन सक्ने उनको विश्वास छ।