इटहरी- प्रदेश १ का १४ जिल्लामध्ये तीन जिल्लामा एमाले र दुई जिल्लामा कांग्रेसको बहुमत देखिएको छ। जिल्ला समन्वय समिति चयनका लागि ९ जिल्लामा भने कुनै पनि दलको बहुमत पुगेन।
निर्वाचन आयोगका अनुसार सुनसरी, मोरङ, झापा, धनकुटा र सोलुखुम्बुमा दलहरूले बहुमत पु¥याएका छन्। सुनसरी र सोलुखुम्बुमा कांग्रेसको बहुमत छ। मोरङ, झापा र धनकुटामा भने नेकपा एमालेको बहुमत पुगेको छ।
सुनसरीका १२ वटा स्थानीय तहमा २४ मतदाता छन्। प्रमुख–उपप्रमुखमध्ये कांग्रेसका १३ जना प्रतिनिधि छन्। यद्यपि कांग्रेसले कसलाई जिसस संयोजक बनाउने भन्नेबारे टुंगो लागेको छैन। जिल्लाका एक नेताका अनुसार हालसम्म जिल्लामा केही वडाध्यक्षसहित सदस्य आकांक्षी छन् ।
कांग्रेसकी प्रदेश सांसद तथा इनरुवा वडा नं. १ बाट वडासदस्यमा निर्वाचित कमला खतिवडा, इनरुवा २ बाट वडासदस्य रहेका राजन मेहता, दुहबी ५ बाट सदस्य रहेका शम्भु विश्वास लगायत छन्। विश्वास यसअघि जिसस सदस्य थिए भने मेहता इनरुवा नगरपालिकाको मेयर भइसकेका छन्।
निर्वाचनको मतगणना सकिएको १५ दिनभित्र कार्यपालिकाको निर्वाचन गरिसक्नुपर्ने र त्यसपछि जिल्ला समन्वय समितिको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ। जिससको संयोजक चुन्नका लागि पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षले मत हाल्न पाउने व्यवस्था छ।
मोरङमा एमालेको बहुमत पुगेको छ। यहाँ ३४ मतदाता रहेकोमा २१ जना एमालेका छन्।
झापामा ३० जना मतदाता रहेकोमा एमालेका १७ जना छन्। ४. धनकुटामा भने १४ मतदाता रहेको एमालेका १० जना मतदाता रहेका छन्।
सोलुखुम्बुमा भने १६ जना मतदाता मध्ये १० जना मतदाता कांग्रेसका रहेका छन्।
ओखलढुंगामा १६ मतदाता रहेकोमा कांग्रेससँग ८ मत, एमालेसँग ५ मत, जसपासँग १ मत, माओवादी केन्द्र र स्वतन्त्रसँग १–१ मत छ।
१६ जना मतदाता रहेको पाँचथरमा कांग्रेससँग ७, माओवादी केन्द्रसँग ६ र एमालेसँग ३ जना छन्।
ताप्लेजुङमा १८ जना मतदाता छन्। कांग्रेस र एमालेका ६–६, माओवादी केन्द्रका ५ र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका एक जना मतदाता छन्। यहाँ कांग्रेस र एमाले दुवैलाई माओवादी केन्द्रको साथ आवश्यक पर्ने देखिएको छ।
तेह्रथुममा १२ मतदातामध्ये कांग्रेसका ६, एमालेका ५ र माओवादी केन्द्रका १ जना मतदाता छन् ।
१६ जना मतदाता रहेको उदयपुरमा कांग्रेसका ७, एमालेका ५ र माओवादीका ३ जना नेकपा एकीकृत समाजवादीका १ जना निर्वाचित भइसकेका छन् ।
जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्य पदका लागि स्थानीय तह निर्वाचनमा निर्वाचित वडा सदस्य र कार्यपालिका सदस्य मात्रै उम्मेदवार बन्न पाउँछन्।
खोटाङका १० स्थानीय तहका २० मतदातामध्ये १० स्थानीय तहमा कांग्रेसका मतदाता छन्। यस्तै, नेकपा एमाले र माओवादी केन्द्रसँग ४–४ जना मतदाता छन् भने नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग १–१ मतदाता छन्।
इलामका १० स्थानीय तहका २० मतदातामध्ये एमालेसँग १० मतदाता छन् भने कांग्रेससँग ७, नेकपा एकीकृत समाजवादीसँग २ र जनता समाजवादी पार्टीसँग १ जना मतदाता छन्।
भोजपुरका ९ स्थानीय तहका १८ मतदातामध्ये कांग्रेससँग ७, एमालेसँग ६, माओवादी केन्द्रसँग ४ र १ जना स्वतन्त्र छन्।
संखुवासभाका १० स्थानीय तहका २० मतदातामध्ये कांग्रेससँग ९, एमालेसँग ८, नेकपा एकीकृत समाजवादीसँग २ र माओवादी केन्द्रसँग १ जना मतदाता छन्। बहुमत नपुगेका स्थानीय तहमा भने तालमेल गरेर जिसस गठन गरिनेछ।