बेइजिङ- दुई महिना लामो कोरोना भाइरस विरूद्धको लडाइँपछि साङहाई सहर लयमा फर्किने भएको छ। ओमिक्रोनको कहरमा फसेको साङहाईलाई चीन सरकारले शून्य कोभिड नीति लागू गर्दै संक्रमण रोक्नुका साथै बिस्तारै आर्थिक सहरलाई पूर्ववत् स्थितिमा ल्याउन सफल भएको छ।
बुधबारबाट यातायात, सार्वजनिक स्थल, व्यावसायिक मल, पसल तथा कार्यालय र संघसंस्था पुनः सुरू हुने भएका छन्। साङहाई नगरपालिकाका प्रवक्ता यिन सिनले साङहाईमा आइतबार आयोजित पत्रकार सम्मेलनमा महामारीको स्थितिमा निरन्तर सुधार हुँदै आएकाले महामारी रोकथाम तथा नियन्त्रण कार्यलाई जारी राख्दै साङहाई सहरलाई खुला गरिने बताएका थिए।
महामारी रोकथाम तथा नियन्त्रण कार्य महत्त्वपूर्ण चरणमा पुगिसकेको तथा महामारीको स्थितिमा निरन्तर सुधार भइरहेको पनि उनले बताए। अबदेखि साङहाईमा ७२ घण्टाभित्रको न्युक्लिक एसिड परीक्षणको नेगेटिभ नतिजा देखाएर सार्वजनिक स्थलमा प्रवेश गर्न पाइनेछ भने सार्वजनिक यातायात चढ्न पनि सोही नियम लागू हुनेछ।
महामारी रोकथामका उपलब्धिलाई सुदृढ पार्दै उत्पादनमा तीव्रता दिन तथा कामकाजलाई पुनः सुरु गर्न यो नियम लगाइएको छ। यसरी कामकाजमा जाने साङहाईवासीले तीन दिनमा एक पटक न्युक्लिक एसिड परीक्षण गर्नुपर्नेछ।
यसबाहेक सहरका रेस्टुराँमा खानपिनको सेवा उपलब्ध छैन तर अर्डर गरेर वा किनेर घरमा ल्याएर खाने सुविधा छ। हाईस्कुलको दोस्रो र तेस्रो वर्षका विद्यार्थीको कक्षा जुन ६ बाट तथा जुनियर हाई स्कुलका विद्यार्थीको कक्षा जुन १३ बाट पुनःसुरू हुने भएको छ।
प्राइमरी र सेकेन्डरीका विद्यार्थीले भने बाँकी सेमेस्टर पनि अनलाइन कक्षाबाटै अध्ययन गर्ने साङहाई शिक्षा आयोगका उपनिर्देशक याङ चनफङले बताए। विद्यार्थीले झण्डै तीन महिना अनलाइन कक्षामार्फत अध्ययन गरेका थिए।
भाइरसको कहरबाट मुक्त हुँदै नियन्त्रण तथा रोकथाम कार्यलाई निरन्तर सञ्चालन गर्दै साङहाई सहर बिस्तारै लयमा फर्किँदैछ। मार्चको आरम्भसँगै २ करोड ४० लाख बढी जनसंख्या भएको व्यापारिक, आर्थिक सहर साङहाईलाई कोभिड-१९ को ओमिक्रोन भेरियन्टले तहसनहस गरेको थियो।
अघिल्ला लहरमा सजिलै नियन्त्रणमा लिन सफल साङहाई यसपटक दुई महिना लामो पूर्ण सहर लकडाउनपछि मात्र बौरिन सफल भएको छ।
सहरका संक्रमण शून्य देखिएका तथा भाइरसमुक्त मानिएका केही बस्ती तथा सडकमा गत हप्तादेखि नै स्थानीयबासीको चहलपहल सुरू भइसकेको थियो। साङहाईको यो सफलतासँगै चीनले फेरि पनि आफ्नो शून्य कोभिड नीति प्रभावकारी भएको प्रमाणित गरेको छ।
जनजीवन र अर्थतन्त्रको न्यूनतम लागतमा अति संक्रामक भाइरसलाई सफलतापूर्वक नियन्त्रण गर्न सकिने सबैभन्दा प्रभावकारी तरिका प्रमाणित भएको छ। यो कोभिड-१९ भाइरसले फेरि पनि रूप परिवर्तन गर्दै समाजमा धावा बोल्न सक्ने सम्भावना जीवितै छ। यसर्थ, यो शून्य कोभिड नीति नेपाललगायत अरू मुलुकलाई पनि अमूल्य अनुभव हुने देखिन्छ।
साङहाई सँगसँगै झण्डै ४० दिनदेखि ठप्प रहेको बेइजिङ पनि ओमिक्रोनको छायाबाट बिस्तारै बाहिर निस्कँदै आएको छ। मे ३० बाट बेइजिङको सहरी क्षेत्रहरू तथा पर्यटकीय स्थल खुला भएका छन्।
संक्रमण देखिएको वस्ती क्षेत्र मात्र अहिले बन्द रहेका छन्। साथै बेइजिङमा गत शुक्रबारदेखि थपिएका संक्रमण रोगीहरू साङहाईमा जस्तै आइसोलेसन या बन्द गरिएका क्षेत्रमा मात्र देखिएका छन्।
मे २९ मा साङहाईमा ६ सङ्क्रमित र ६१ जना लक्षणविहीन एसिम्टोम्याटिक देखिएका थिए। यसैगरी बेइजिङमा उक्त दिन २३ जना थपिएका छन्। बेइजिङले पनि महामारीलाई प्रभावकारी ढंगले नियन्त्रणमा लिएको छ। चाँडै शून्य कोभिड स्थितिमा फर्किनेछ।