इटहरी- प्रदेश १ का स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिकामा विजय हासिल गर्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ। प्रदेश निर्वाचन आयोग विराटनगरका अनुसार प्रदेश १ का १३७ स्थानीय तहमध्ये कांग्रेसले ६९ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ।
एमाले ४७ सिटमा खुम्चिएको छ। माओवादी केन्द्र १२, नेकपा एकीकृत समाजवादी पार्टी २, जनता समाजवादी पार्टी २ र स्वतन्त्रसहित अन्य ५ पालिकामा विजयी भएका छन्।
पाँचदलीय गठबन्धनको नेतृत्व गरेको कांग्रेसले यसपटक झापाको कचनकवलमा एमालेसँग तालमेल गरी राप्रपालाई पराजित गरेको छ।
नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले कांगेस पहिलो दल बन्नुमा गठबन्धनकै सहकार्य रहेको दाबी गरे। ‘गठबन्धनको बलबाट यस्तो नतिजा आएको हो’, थापाले हिमाल प्रेससँग भने, ‘हामी गठबन्धनलाई जिताउने रणनीति बनाएर निर्वाचनमा होमिएका थियौँ। झापा, मोरङ र सुनसरीमा भने नतिजा आसलाग्दो आएन।’
पाँचदलीय गठबन्धन थियो, हामीले एक्लै चुनाव जित्दा पनि पपुलर मत ल्याएका छौँ। सिट संख्या अपेक्षित नदेखिए पनि पपुलर मतका हिसाबमा हामी अगाडि छौँ।
सुनसरीको धरान उपमहानगरपालिकामा गठबन्धनमा आन्तरिक विवाद हुँदासमेत कांग्रेस पराजित बन्न पुगेको सभापति थापा बताउँछन्।
‘धरानमा गठबन्धन कमजोर भयो। अन्य पालिकामा हामी जसरी परिचालित भएका थियौँ, धरानमा त्यस्तो हुन सकेन’, थापाले भने, ‘धरानमा पटकपटक गठबन्धन टुट्ने जोडिने भएका कारण पनि हामीलाई समस्या भएको हो। गठबन्धनमा विवाद हुँदा जित्नै लागेको एउटा उपमहानगर गुम्यो।’
सुनसरीको रामधुनी नगरपालिकामा कांग्रेसले जित्ने आस भए पनि त्यहाँ असफल हुँदा सोचेजस्तो नतिजा नआएको सभापति थापाले बताए।
नेता डा. शेखर कोइरालाकै निर्वाचन क्षेत्रमा कांग्रेस पराजित बन्दा थप क्षति भएको छ। कोइरालाको निर्वाचन क्षेत्र मोरङको सुन्दरहरैँचामा कांग्रेस पराजित बनेको छ। यस्तै, मोरङका अन्य चासोका रूपमा हेरिएको उर्लाबारी, बेलबारी, कानेपोखरी, लेटाङ, केराबारीजस्ता पालिकामा कांग्रेसले हार व्यहोर्नुपरेको छ।
झापामा पनि विभिन्न पालिकामा सोचेअनुरुप नतिजा नआएको सभापति थापाले बताए। उनले भने, ‘प्रदेश १ मा तराईका तीन जिल्लाबाहेक अन्य पहाडी जिल्लामा सकारात्मक नतिजा प्राप्त गर्यौँ, गठबन्धनबाट निर्वाचनमा होमिएका दलहरूको सहभागितामा कांग्रेस पहिलो दल बनेको हो।’
एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले पाँचदलीय गठबन्धन प्रदेशव्यापी रूपमा लागेका कारण अपेक्षित नतिजा नआएको स्वीकार गरे। उनले भने, ‘उता पाँचदलीय गठबन्धन थियो, हामीले एक्लै चुनाव जित्दा पनि पपुलर मत ल्याएका छौँ। सिट संख्या अपेक्षित नदेखिए पनि पपुलर मतका हिसाबमा हामी अगाडि छौँ।’
उनले विराटनगरमा यसअघि पनि निर्वाचन नजित्दा यसपटक उपमेयरसहित धेरै वडा जितेको दाबी गरे।
‘संसद् विघटनका कारण प्रतिगमन भएको एमाले पाँचदलीय गठबन्धनका कारण घेराबन्दीमा परेकाले पनि यो अनपेक्षित नतिजा आयो।’
‘विराटनगर जितेको अवस्था थिएन, उपमेयरसहित अधिकांश वडा जितिरहेका छौँ’, न्यौपानेले भने, ‘इटहरीमा पनि उपमेयरसहित धेरै वटा वडा जित्यौँ, धरानलाई नयाँ विश्लेषणका हिसाबमा हेर्नुपर्ने हुन्छ, हामी समीक्षा गरिरहेका छौँ।’
उपमेयरसहित धेरै वटा वडा जित्दा मेयर कसरी गुम्यो भन्ने प्रश्नमा उनले भने, ‘जनमतको हिसाबमा एमाले बलियो भन्ने पुष्टि भयो, उपमेयरसहित धेरै वडा जित्दा मेयर कसरी गुम्यो भनेर हामीले समीक्षा गरिरहेका छौँ।’
उनले यसपटक अपेक्षित नतिजा नआए पनि कमजोर भने नभएको बताए। न्यौपानेले भने, ‘एमाले कमजोर होइन, कहाँ सच्चिनुपर्ने हो, त्यस विषयमा हामी हेरिरहेका छौँ।’
राजनीतिक विश्लेषक राजेन्द्र शर्मा एमाले केन्द्रीय नेतृत्वको दम्भका कारण पार्टी पराजित हुन पुगेको बताउँछन्। उनी भन्छन्, ‘आन्तरिक कलहका कारण पनि पार्टीप्रति वितृष्णाले परिणाम राम्रो आउन सकेन।’
एमाले प्रदेश १ मा मात्रै नभई सातै प्रदेशमा कमजोर हुनुमा पाँचदलीय गठबन्धनको घेराबन्दीमा परेको उनको तर्क छ। ‘एमाले देशकै ठूलो पार्टी हो, यसमा दुईमत छैन’, उनले भने, ‘संसद् विघटनका कारण प्रतिगमन भएको एमाले पाँचदलीय गठबन्धनका कारण घेराबन्दीमा परेकाले पनि यो अनपेक्षित नतिजा आयो।’
उनले एक्लाएक्लै दल निर्वाचनमा होमिएको भए राम्रै परिणाम आउन सक्ने बताए। शर्माले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवालाई धेरैजसोले गाली गरेको सुनिन्छ, तर उनले चुपचाप सातै प्रदेशमा कांग्रेसलाई पहिलो दल बनाए। एमाले अध्यक्ष ओलीको छुच्चो बोलीले उहाँका धेरै दुश्मन भए, त्यसैको परिणाम निर्वाचनमा भोग्नुपर्यो।’
पाँचदलीय घेराबन्दीमा पर्दा एमालेले ओलीको गृहनगर नै गुमाएको उनी बताउँछन्। उनी भन्छन्, ‘पाँच दलको अभियान एमाले हराउ अभियान थियो, एमालेका लागि अहिले आएको सिट पनि ठूलै उपलब्धि हो।’