बेइजिङ- नेपालको प्रतिनिधिसभाले अमेरिकी सहयोग एमसीसी सम्झौता अनुमोदन गरेको भोलिपल्ट उत्तरी छिमेकी चीनले सकारात्मक प्रतिक्रिया दिएको छ। नेपाली संसद्मा पेश भएको एमसीसीमाथि अनावश्यक टिप्पणी गरेको आरोप खेपेको चीनले सोमबार नयाँ धारणा सार्वजनिक गरेको हो ।
एमसीसी सम्झौता अनुमोदन गर्ने क्रममा 'व्याख्यात्मक घोषणा पत्र' सार्वजनिक गरेको आफ्नो जानकारीमा आएको पनि चिनियाँ अधिकारीले बताए । चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा केही पत्रकारले नेपालले एमसीसी अनुमोदन गरेको विषयमा प्रश्न राखेका थिए।
सोही प्रश्नको जवाफ दिने क्रममा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले चीनले नेपालको संसद्को सम्बन्धित निर्णय व्याख्यात्मक घोषणा पत्रबारे अन्तर्राष्ट्रिय विकास र सहकार्यले पारस्परिक समानता तथा सोहीको सिद्धान्तको पालना गर्नुपर्ने, सम्बन्धित मुलुकको सर्वभौमिकता र जनताको इच्छालाई सम्मान गर्नुपर्ने कुरालाई जोड दिएको पनि बताए ।
अन्य मुलुकको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्न नहुने, कुनै पनि राजनीतिक पूर्व शर्त नथप्ने, आफ्नो हितका लागि अरु मुलुकको सर्वभौमिकता र हितलाई हानी नपुर्याउनुपर्ने कुरामा चीनले धेरै पटक जोड दिएको पनि उनकाे भनाइ थियो । सोही क्रममा वाङले नेपाली नागरिकले चीनलाई विकास साझेदारको रुपमा लिएको धारणा राखेका थिए ।