इटहरीमा एमाले नेतामाथि कुटपिट, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

हिमाल प्रेस विवेक विवश रेग्मी  2022-05-22 15:13:59

इटहरी : इटहरीमा नेकपा एमालेका नेता हिमाल सुवेदीमाथि कुटपिट भएको आरोप लागेको छ।

नेकपा एकीकृत समाजवादीबाट इटहरी उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएका केशवकुमार विष्टका छोरा कैलाश विष्टको समूहले कुटपिट गरेको पीडित सुवेदीले पत्रकार सम्मेलन गर्दै जानकारी दिए।

‘बिहान ७ बजे म माथि आक्रमण भयो,’ उनले भने, ‘बाटोमा हिड्दै गर्दा आक्रमण भयो, आक्रमण हुनुभन्दा १५ मिनेट अघि फेसबुकमा ज्यान मार्ने धम्कीसहित म्यासेज छ।’

उनले आफूमाथि आक्रमण हुँदा गालामा चोट लागेको र ज्यान मार्ने धम्की आएपछि असुरक्षित महसुस भएको बताए।

सुवेदी नेकपा एमाले प्रदेश १ का सदस्य तथा निर्वाचन परिचालन कमिटिका सह–संयोजक हुन्।

सुवेदीमाथि आक्रमण भएपछि अहिले इटहरीको पूर्व–पश्चिम राजमार्गमा एमालेका कार्यकर्ताहरूले नाराबाजीसहित प्रर्दशन गरिरहेका छन्।

प्रदर्शनका कारण अहिले पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन आवतजावत अवरुद्व भएको छ। अहिले ठूलो संख्यामा  नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

 

प्रकाशित: 2022-05-22 15:13:59