इटहरी- धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिँदा कांग्रेसलाई तनाव भएको छ। साँझ ७ बजेसम्मको मतपरिणामअनुसार धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङले अग्रता लिएका छन्।
उनले चुनाव चिह्न लौरो हो। गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका उम्मेदवार किशोर राई सहजै चुनाव जित्नेमा ढुक्क थिए। तर, स्वतन्त्र उम्मेदवार साम्पाङले निरन्तर अग्रता लिएपछि अहिले कांग्रेसलाई तनाव भएको हो।
धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार हालसम्म ३२,७२३ मत गणना भएको छ। जसमध्ये स्वतन्त्र उम्मेदवार साम्पाङको अग्रता छ। साम्पाङले हालसम्म ९,१४० मत पाएका छन्। यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ८,५२० मत पाएका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारीले ६,९३३ मत प्राप्त गरेकी छन्।
यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले ९,६८३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका पदम लिम्बूले ९,३५१ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेलाई पछि पार्दै अग्रता लिएका साम्पाङले धाँधली समेत हुनसक्ने भएकाले निगरानी गर्न आग्रह गरेका छन्। उनले भने, ‘जनताले दिएको मत हाम्रोतर्फ हुँदै जादा यहाँनेर दलका साथीहरुले धाँधली गर्न सक्ने स्थिति आएको छ, धरानका मतदाताहरूले यहाँ आउन जरुरी छ।’
त्यसो त अहिले कतिपयले स्वतन्त्र उम्मेदवारले जित्नुपर्ने बताउँदै आएका छन्। स्वतन्त्र उम्मेदवारले जितेको अवस्थामा नेपाली कांग्रेस र नेकपा एमाले दुवै खुशी हुने धेरैजसोको कथन छ। एमालेलाई कांग्रेसले नजितेकोमा र कांग्रेसलाई एमालेले नजितेकोमा खुसी हुने धेरैजसोको आँकलन छ।
धरान मुख्यतः एमालेको मानिएको नगर पनि हो। संघ, प्रदेश र स्थानीय तहमा पनि निर्वाचनमा बहुमत ल्याउँदै आएको एमाले धरानमा यसपटक पनि नेतृत्व लिने दौडमा थियो।
एमाले पार्टी अध्यक्ष केपीशर्मा ओली स्वयम् धरान आएर यसपटक एमालेलाई जिताए धरानको विकास गर्ने जिम्मा आफ्नो भएको बताएका थिए। तर, अहिले स्वतन्त्र उम्मेदवारको पक्षमा मत आएपछि कांग्रेसले अग्रता लिइरहेको अवस्थामा भने बढी तनावमा कांग्रेस देखिएको छ। धरानमा कुल ६२ हजार ८९७ मत खसेको छ।
यो पनि
धरानका 'साना' एजेन्डा बोकेका हर्क, जसले 'ठूला' दलका उम्मेदवारलाई पछि पार्दैछन्