‘राजनीतिबाट विरक्तिएका’ पौडेलको आत्महत्यापछि सुनसान बनेको बस्ती

हिमाल प्रेस विवेक विवश रेग्मी  2022-05-12 00:51:43

इटहरी- बस्ती चकमन्न छ। साँझ पर्नेबित्तिकै सुनसान हुन्छ गाउँ। अन्य समयमा रातको १०/११ बजेसम्म चहलपहल हुने यो ठाउँमा अचेल दिउँसै चहलपहल घट्न थालेको छ। स्थानीय तहका निर्वाचनका लागि मतदान हुने दिन आइसक्दा पनि गाउँलेमा कुनै उत्साह देखिँदैन।

सुनसरीको रामधुनी नगरपालिका-८ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार गणेश पौडेलले शनिबार बिहान आत्महत्या गरेपछि यो ठाउँ अहिले सुनसान छ। स्थानीय पत्रकार आरबी कटवालकाअनुसार अन्य समयमा राति झण्डै ११ बजेसम्म चहलपहल हुने ठाउँमा अचेल साँझ ७ नबज्दै मानिस बाहिर निस्किन डराउँछन्। ‘साँझ पर्नेबित्तिकै एक घरबाट अर्को घरमा जान डराउनुपर्ने अवस्था छ’, उनले भने,  ‘बस्ती सुनसान छ।’ 

‘भर्खरै पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिँदा कोही पनि खुलेर साथमा हिँडेनन् तर हामी भित्रभित्रै उहाँलाई नै सघाउने सोचमा थियौं।’ 

शनिबार बिहान घरनजिकै आँपको रुखमा स्थानीय ६५ वर्षीय पौडेल झुण्डिएको अवस्थामा फेला परेका थिए। त्यसपछि सुसाइट नोट पनि भेटिएको थियो। सुसाइट नोटमा उल्लेख छ, ‘यो कार्य म आफैंले गरेको हुँ। कसैलाई दोष नदिनू। मलाई समवेदना दिने र झण्डा ओढाउने कार्य नगर्नू। मलाई चिरफार नगर्नू, पोस्टमार्टम नगरिदिनू। सबैले हेर्न पाऊन्। बुवाआमालाई माया गर्नू सबैले। भतिजा भतिजीलाई हेर्नू। म आफ्नै कारणबाट आजदेखि बिदा हुँदैछु।’

नेपाली कांग्रेसआबद्व पौडेल ०७४ सालमा स्थानीय तह निर्वाचनमा रामधुनी ८ बाट वडाध्यक्षका आकांक्षी थिए। तर उनले पार्टीबाट टिकट पाएनन्। यसपालि पनि वडाध्यक्षको आकांक्षा राखेका पौडेलले फेरि पनि टिकट नपाएपछि उनमा नैराश्य पैदा भएको स्थानीयको बुझाइ छ। 

पौडेलको अकल्पनीय निधनपछि अहिले रामधुनी र इनरुवाका धेरैजसो चोक, गल्ली र चिया पसलमा उनकै चर्चा हुने गरेको छ।  स्थानीय एक महिला भन्छिन्, ‘भर्खरै पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिँदा कोही पनि खुलेर साथमा हिँडेनन् तर हामी भित्रभित्रै उहाँलाई नै सघाउने सोचमा थियौं।’ 

पौडेलका जेठा छोरा आइतबार घर आएपछि उनको शव सोमबार दिउँसो रामधुनीमा दाहसंस्कार गरिएको हो। पत्नी, दुई छोरा र एक छोरी काजकिरियामा बसेका छन्। गत बुधबार घरबाटै हराएका पौडेल करिब ४८ घण्टापछि भेटिएका थिए। टिकट नपाएपछि नैराश्य, वैमनस्यता र पीडाबोधमा देखिने गरेका पौडेलले स्वतन्त्र उम्मेदवारी दिएपछि चुनाव चिह्न कैँची पाएका थिए। उनको घरअगाडि अहिले पनि कैँची चुनाव चिह्नका पम्लेट र प्रचार यत्रतत्र देखिन्छन्।

‘बुधबार हराएर ४८ घण्टापछि भेटिँदा शुक्रबार पनि उहाँ भोट माग्नमै व्यस्त हुनुहुन्थ्यो, शनिबार बिहानै मृत अवस्थामा फेला पर्दा हामी पनि झसंग भयौं,’ ती महिलाले भनिन्, ‘उहाँको पक्षमा कसैले पनि खुलेर भोट माग्ने अवस्था थिएन। धेरै मान्छे उहाँकै पक्षमा थिए।’ 

उनकाअनुसार गाउँका मानिस त्रासमा छन्। ‘त्यो आँपको रुख हेर्दा पनि विरक्त लाग्छ, उहाँ विकासप्रेमी हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘तपाईंलाई कहाँ, कसले, कसरी अपहरण गर्‍यो भनेर हामीले सोध्दा यो समस्या मेरो हो भन्नुहुन्थ्यो।’ पौडेलकै शब्द स्मरण गर्दै उनले थपिन्, ‘यो मेरो समस्या हो, तिमीलाई भन्न मिल्दैन भन्नुहुन्थ्यो, आफूभन्दा ठूला मानिसलाई प्रश्न सोध्ने होइन भन्ने किसिमका जवाफ पनि आउँथ्यो।’ 

‘घटनाको प्रकृति हेर्दा आत्महत्या नै हो,’ एसपी थापा भन्छन्, ‘उनी अपहरणमा परेको खबरपछि हामीले सोधपुछ गर्दा पनि आफैं राजनीतिबाट दिग्दार भएर घरबाट हिँडेको बताएका छन्।’ 

पौडेलमा पछिल्लो केही दिनयता वितृष्णा बढेर मानसिक समस्या भएका कारण आत्महत्याको रूप लिएको स्थानीयको बुझाइ छ। सोही वडाका स्थानीय एक पुरुषकाअनुसार पौडेल इमानदार, शीष्ट, शालीन र भद्र थिए। जनताको समस्यामा तुरुन्तै ‘रेस्पोन्स’ गर्ने उनी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए।

‘यो ठाउँमा कोही कांग्रेस नहुँदा एकै घरमात्रै रुखको झन्डा गाडेर बसेका मान्छे हुन्, तर पछि युवा हाबी भएपछि उनलाई कसैको साथ भएन। सोही कारण यो घटना निम्तियो,’ स्थानीय एक पुरुष भन्छन्, ‘हामीजस्ता मध्यमवर्गीय मानिसले स्थानीय नेतृत्व गर्छु भन्दा पाउने अवस्था छैन, हरेक ठाउँमा पुँजीपति हाबी हुन्छन्।’

मृतककी पत्नी विमला पौडेलले स्थानीयलाई भनेअनुसार वैशाखभर चुनावमा व्यस्त भएका कारण उनी घर राति आउँथे। सुत्दा पनि अर्कै ओछ्यानमा सुत्थे। शुक्रबार साँझ भने छिट्टै घर आएका पौडेल वैशाख सुरु भएदेखि त्यसै दिन मात्रै पत्नीसँग सुतेका थिए। सँगै सुते पनि राति कति बेला उनले आत्महत्या गरे भन्नेबारे अझैसम्म खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाकाअनुसार मृतकको पोस्टमार्टम रिपोर्ट नआएका कारण घटनाबारे केही खुल्न सकेको छैन। ‘घटनाको प्रकृति हेर्दा आत्महत्या नै हो,’ एसपी थापाले हिमाल प्रेससँग भने, ‘उहाँ अपहरणमा परेको खबरपछि हामीले सोधपुछ गर्दा पनि आफैं राजनीतिबाट दिग्दार भएर घरबाट हिँडेको बताएका छन्।’ 

पौडेल राजनीतिबाट दिग्दार भएर घरबाट हिँडेको र ती कुरा प्रहरीसँग अडियो, भिडियो सुरक्षित रहेको एसपी थापाले बताए। ‘उहाँले बयान दिएको अडियो, भिडियो हामीसँग सुरक्षित छ,’ उनले भने, ‘उहाँमा चञ्चलता थियो, एकै ठाउँ, एकैछिन रहन सक्ने अवस्था थिएन। परिवारले पनि काउन्सिल गर्नुपर्ने अवस्था थियो।’ घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको उनले बताए।

प्रकाशित: 2022-05-12 00:51:43