बेइजिङमा फेरि पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ, दैनिक चालीस/पचासको हाराहारीमा। कुनै बेला विश्वका विभिन्न देशमा एकै दिन लाखौँ जनता संक्रमित भएको अवस्थामा यो संख्या नगन्य हो। त्यसमाथि, विश्व झण्डै दुई वर्षअघि इपिसेन्टर मानिएको उहानमा चीनले कोरोना भाइरस संक्रमणलाई शून्यमा झारेर विजय हासिल गरेको पनि हो। तर अहिले चीनमा फेरि एकाएक कोभिड-१९ संक्रमण देखिन थालेको छ।
पछिल्लो समयमा तिब्बत स्वायत्त प्रदेशलगायत केही प्रान्तबाहेक अरू सबै प्रान्त र सहरमा संक्रमण देखिएको छ। साङ्हाईमा लकडाउन जारी छ। यसै अवस्थालाई लिएर विश्वको ध्यान चीनमा खिचिएको छ। साङ्हाईपछि बेइजिङ सहरका केही क्षेत्रहरू सिल्ड छन्। यसले विश्वभरका मानिस त्रसित, सशंकित अनि अन्योलमा छन्।
हुन त विश्वबाट कोभिड-१९ पूर्ण रूपमा हराइसकेको छैन। यसको म्युटेसन पनि भइरहेको छ। संक्रमण फैलिने दरमा केही तलमाथि भएको मात्रै हो। विज्ञहरूको भनाइ पनि यही छ। खोप, स्वास्थ्य सुरक्षा र सतर्कताले हामी प्राणघातक कोरोना भाइरसबाट कम प्रभावित भएका छौँ। यसबाहेक कतिपय देशमा कोभिड-१९ सँगै बाँच्ने नीति पनि अवलम्बन गरिएको छ। यसलाई एउटा कडा रूघाको रूप लिइएको देखिन्छ तापनि यो कोभिड-१९ सँगै रोग लुकेको कुरा भने बिर्सनु हुँदैन। विश्व स्वास्थ्य संगठनका अनुसार यो कोभिड-१९ को पूरा अर्थ कोरोना भाइरस रोग-२०१९ हो।
कोरोना भाइरस शताब्दीकै भयंकर डरलाग्दो महाव्याधि हो। कतिपय देश र जनताले समेत यसलाई हल्का रूपमा लिइरहेको पाइन्छ। जब कि यस रोगका कारण प्रत्यक्षरअप्रत्यक्ष गरी करिब १ करोड ५० लाख मानिसले ज्यान गुमाइसकेका छन्। यसबाहेक कतिपय ठाउँ र देशमा ‘हर्ड इम्युनिटी’ बाट महामारीलाई सामान्यीकरण गरिरहेको भन्ने गरिएको छ।
चीन यो कोरोना भाइरसको उद्यदेखि नै ‘सर्वप्रथम जनता’ को नारासँगै जनस्वास्थ्य तथा सुरक्षामा केन्द्रित रहेको छ। आफ्ना जनतालाई सकेसम्म रोग लाग्नै नदिने सोच र सोहीअनुरूप अग्रसर छ।
‘हामीले उहानमा महामारीविरूद्धको लडाइँ जितेका थियौँ। हामी साङ्हाईमा पनि भाइरसविरूद्धको लडाइँ जित्नेछौँ।’
यही ‘डाइनामिक जिरो पोलिसी’ लाई पछ्याउँदै चीन साङ्हाई जस्तो विश्व आर्थिक केन्द्रलाई समेत लकडाउन गरी हरेक दिन न्युक्लिक एसिड परीक्षण गर्दै सर्वप्रथम रोगको जरो उखेलेर निमिट्यान्न गर्न लागिपरेको छ। साङ्हाई सहर लकडाउन भएको एक महिना पुगेको छ। अहिले संक्रमण दर निकै ओरालो लागिसकेको छ। साथसाथै १८०० अत्यावश्यक औद्योगिक संस्थामध्ये कूल ७० प्रतिशत संस्था पुनःसञ्चालन भइसकेका छन्। केही आवास क्षेत्र खुला भइसकेका छन्।
यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार कोभिड-१९ रोकथाम कार्यसम्बन्धी चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिको बैठकको अध्यक्षता गर्दै चीनको हालको कोभिड-१९ नियन्त्रण रणनीति वैज्ञानिक र प्रभावकारी साबित भएको बताए। उनले यस लडाइँविरूद्ध मुलुक महत्त्वपूर्ण र कठिन चरणमा पुगेको पनि बताए। राष्ट्रपति सीले भने, ‘हामीले उहानमा महामारीविरूद्धको लडाइँ जितेका थियौँ। हामी साङ्हाईमा पनि भाइरसविरूद्धको लडाइँ जित्नेछौँ।’
चीन अहिले उहानपछि झण्डै दुई वर्षपछि कठिन लडाइँ लडिरहेको छ। साङ्हाईलगत्तै बेइजिङमा ओमिक्रोनको आतंक छ। बेइजिङमा देखिएको अवस्था विश्वमा यो महामारी फैलिएपछि पहिलो पटक हो। १३ वटा मेट्रो लाइनका ६० वटा स्टेसन बन्द छन्। बेइजिङभित्रको आर्थिक केन्द्र छाओयाङ जिल्लाका धेरै कम्युनिटी सिल गरिएका छन्। बेइजिङभरि मनोरञ्जन स्थल, रेस्टुराँ, सङ्ग्रहालय तथा पर्यटकीय स्थल बन्द छन्।
साङ्हाईलाई ध्यानमा राखेर बेइजिङले मे दिवसको बिदाअगाडि यस्तो सतर्कता अपनाएको हो। मे दिवसको पाँच दिने बिदा आर्थिक गतिविधि चलायमान गर्ने माध्यम हुँदाहुँदै पनि सरकारले सबै कुरा ठप्प रोकेर मानवीय आवातजावत कम गर्ने कदम चालेको थियो। यसबाहेक बेइजिङभरि न्युक्लिक एसिड परीक्षण चालेको थियो। किनभने अप्रिल २२ देखि बेइजिङमा नयाँ संक्रमित रोगी देखा परिरहेका थिए। पछिल्लो चरणमा अप्रिल २२ देखि अहिलेसम्म मात्र पाँच सय नाघेको छ। दुई करोड तीस लाख जनसंख्या भएको सहरमा १५ दिनमा ५४० संक्रमण थपिनु नेपालसँग तुलना गर्दा पनि त्यो सानो अङ्क हो।
आममानिसलाई चीनमा फेरि नयाँ कोरोना भाइरस फैलियो भन्ने पनि लागेको छ। साङ्हाईमा लकडाउन भएदेखि नै मानिसहरू त्रसित थिए। विश्वभरि बिस्तारै सुस्ताएको अवस्थामा चीनमा फेरि बल्झिएको समाचारले मानिस त्रसित र सशंकित भएका हुन्।
मार्चदेखि समग्र चीनमा यस कोभिड-१९ को भेरियन्ट ओमिक्रोनले आतङ्क मच्चाएको हो। चीनमा कुनै नयाँ भाइरस देखिएको होइन। अहिले चीनमा ओमिक्रोनको आतङ्क हो। साङ्हाई लकडाउनको समाचारसँगै विश्वले चीनमाथि शंकाले हेरेको देखिन्थ्यो। सामाजिक सञ्जाल र समाचारमा समेत अपुष्ट रूपमा चीनमा फेरि कोरोना कहरको चर्चा चुलिएको थियो।
वर्तमान अवस्थामा राजधानी बेइजिङका विभिन्न क्षेत्र र कम्युनिटीलाई पनि सिल गरिएको छ। बाहिरी दुनियाँबाट हेर्दा चीन यसको कहरमा बल्झिएको देखिन्छ। यस क्रममा हरेक क्षेत्रमा पहिलो स्थान लिने होडमा रहेको र नक्कली सूर्यचन्द्रमा बनाउने क्षमता भएको चीन कसरी असफल भन्ने प्रश्न पनि तेर्सिने गरेको छ।
विश्वका धेरै भूभागमा यस भाइरसको कहर केही मन्द देखिएको अवस्थामा यो सवाल स्वाभाविक पनि होला। १ अर्ब ४४ करोड जनसंख्या भएको चीनमा दिनमा मात्र ३५६ संक्रमित न्यून होइन ररु हो, यहाँ एक जना देखेसम्म पनि त्यसको जरा पत्ता लगाउने र त्यसको असर र प्रभावको खोजी गरिन्छ। यही कार्यलाई बाहिरबाट हेर्दा भीमकाय लागेको हो। बेइजिङबाट हेर्दा काठमाण्डु खाल्डो, नेपाल अनि अमेरिका र अरू प्रभावित क्षेत्रलाई देख्दा अचम्म लाग्छ।
एक पटक संक्रमित रोगी देखिएको ठाउँ, उसले टेकेको ठाउँ र छोएका सबै चीजबिज संक्रमित हुन्छन्। यसर्थ संक्रमित र संक्रमितको सम्पर्कमा रहेका मानिसमा समेत कोरोना भाइरसको बास देखिन्छ। केही समय निष्क्रिय रहला या केही समयपछि मेटिने होला। तर कुनै बेला पनि त्यसले विशाल रूप लिने सम्भावना भने नकार्न सकिँदैन।
मेरो व्यक्तिगत घटना राख्न चाहन्छु, पढ्नुस् है। तपाईं चीनको तयारी, सतर्कता, प्रविधि सबैबाट चकित खानुहुन्छ। कुनै पनि देश तथा त्यहाँको सरकार र जनता आफैँले सतर्कता अपनाएको छैन या कुनै तयारी र नीति अख्तियार गरेको छैन भन्ने अर्थ नलागोस् तर चीनको चुस्ततालाई विश्वले पहिलेदेखि पछ्याइ दिएको भए यो महामारी विलय भइसक्थ्यो कि!
अप्रिल २८ को कुरा हो, मलाई अफिसबाट २७ तारिख राति नै घर नजिकैको वान्डा प्लाजामा जानुभएको छ कि त्यहाँ अप्रिल २१ तारिखमा संक्रमित गएको पाइएको छ भनेर सूचित गरिएको थियो। म भने २३ तारिख सोही प्लाजामा रहेको ‘क्यारिफोर’ मा किनमेलका लागि गएको थिएँ। त्यसकारण सीधा उत्तर दिएँ, अप्रिल २१ मा गएको छैन। तर अफिस गएपछि थाहा पाएँ कि अप्रिल २१ देखि त्यहाँ गएका सबैलाई तीन दिन अब्जरभेसनमा बस्न भनिएको रहेछ।
मलाई दुईपटक न्युक्लिक एसिड परीक्षण पनि गर्न भनिएको थियो। सोही बेला मे दिवसलाई दृष्टिगत गरी बेइजिङभरि नै एक दिन बिराएर आफ्नो कम्युनिटीमा परीक्षणको व्यवस्था गरिएको थियो।
परेन फसाद! म २३ मा गएको थिएँ। त्यसपछि मलाई घरैमा बसेर काम गर्न र ३ दिनसम्म बाहिर नजान भनियो साथै आवश्यक सामग्री चाहेमा जानकारी गराउन भनियो। म सरासर घर फर्केँ। लौ! म त २३ तारिख गएको हो नि! मैले यसो पनि भनेँ, ओहो! २१ तारिखमै बजार गएको भए।
यसबाहेक मलाई दुईपटक न्युक्लिक एसिड परीक्षण पनि गर्न भनिएको थियो। सोही बेला मे दिवसलाई दृष्टिगत गरी बेइजिङभरि नै एक दिन बिराएर आफ्नो कम्युनिटीमा परीक्षणको व्यवस्था गरिएको थियो। अप्रिल २६ मा गरिएको परीक्षणको नतिजा नेगेटिभ पनि आइसकेको थियो। साथै सोही दिन बिहानै दोस्रो खेपको स्वाब गराएर अफिस गएको थिएँ। ममा कुनै लक्षण छैन भन्नेमा ढुक्क पनि थिएँ। तापनि सम्भावना नकार्न सकिँदैन।
सोही साँझ मोबाइलमा एउटा मेसेज आयो, ुतपाईँ केही दिनअघि जानुभएको वान्डा प्लाजामा संक्रमित पुगेको भेट्टाइएको छ। तपाईँ तीन दिनसम्म घरमै बसी आफूलाई हेर्नुहोला। कुनै लक्षण देखिएको छ भने तुरून्तै सम्पर्क गर्नुहोस्।ु यसरी चीनको उन्नत प्रविधि अनि सतर्कता तथा तयारी र जनतालाई सुरक्षित राख्ने नीतिको पनि अनुभव गरेँ।
चीनको डाइनामिक जिरो नीतिलाई स्पष्ट बनाउने अर्को यस्तै प्रसङ्ग सुन्दा तपाईँ अझै चकित हुनुहुनेछ। के थियो त घटनारु केही महिनाअघिको कुरा हो, अफिसमा एक सहकर्मीलाई नदेखेको एक साताजति भएको थियो। अर्का सहकर्मीलाई सोधपुछ गर्दा उनी अब्जरभेसनमा रहेको बताइयो। घटना के थियो भने उनको परिवारका एक सदस्यले काम गर्ने संस्थाका एक कर्मचारीको सम्पर्क संक्रमित रोगीसँग भएको पाइएको थियो। शंकाको घेरामा रहेका ती व्यक्तिबाट महामारी कोरोना भाइरस रोगको विशेषताअनुसार तीव्र रूपमा फैलिन सक्ने सम्भावनाका कारण उनीसमेत अब्जरभेसनमा थिए।
हालसम्म विशाल चीनमा ८ लाख १८ हजार संक्रमित भएका छन्। १५ हजारको मृत्यु भएको छ।
खासमा भन्नुपर्दा नेपाली दाजुभाइदिदीबहिनीले साह्रै हलुका रूपमा लिएको पाइन्छ। लक्षण देखिँदादेखिँदै पनि परीक्षण नगर्ने र साधारण रूपमा लिने गरेको देखिन्छ। एकजनाबाट घरपरिवार सबैमा नराम्रो असर पर्न सक्छ। बेइजिङमा हालसालै एकजनाबाट तीन र तीनबाट चालीस जनामा सरेको भेट्टाइएको छ। कन्ट्याक्ट ट्रेसिङ गर्दै जरासम्म खोज्दैजाँदा सार्वजनिक शौचालयमा गएका एक संक्रमितबाट अरू दुई र यसरी समग्रमा चालीसजनासम्म सरेको पाइएको थियो। यसरी चीनले उन्नत प्रविधिको विकास, विस्तारसँगै सावधानी र सतर्कता अपनाउँदै जनताको स्वास्थ्य र प्राणलाई पहिलो प्राथमिकतामा राखेको छ।
यसै महामारी भाइरसलाई निमिट्यान्न पार्न कसिलो रणनीतिलाई अपनाउँदै आएको हो। अन्यथा यहाँ भाइरसको रजगज छैन भन्दा फरक पर्दैन। हालसम्म विशाल चीनमा ८ लाख १८ हजार संक्रमित भएका छन्। १५ हजारको मृत्यु भएको छ।
फेरि पनि दोहोर्याउन चाहन्छु, कोरोना भाइरस महामारी अन्त्य भएको छैन। विज्ञको भनाइअनुसार कोरोना भाइरस पूर्ण रूपमा निमिट्यान्न भएको छैन। सचेत रहनुस्, लापरबाहीले ठूलो क्षति हुन सक्छ। मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने तथा हात धुने लगायतका स्वास्थ्य सुरक्षाका कार्य अझै पनि गर्नुपर्छ। साथै उक्त भाइरसले धेरै मानिसको अंगप्रत्यंगमा आफ्नो छाप छोडिसकेको छ र यसको असर के कस्तो हुने छ, त्यो त समयको गर्भमा छ। रोग लाग्न नदिनु नै पहिलो सर्त हो।