काठमाडौँ- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइएको छ। मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा 'मे दिवस' मनाउने गरिन्छ। सन् १८८६ मे ४ मा अमेरिकाको सिकागोमा भएको हेमार्केट कान्डको सम्झनामा यो दिवस मनाउन थालिएको हो। ८ घण्टे कार्यावधि (८ घण्टा काम, ८ घन्टा मनोरन्जन र ८ घन्टा आराम) माग गर्दै आन्दोलन गरिरहेका श्रमिकमाथि दमन गरिएको थियो।
सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो। सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो। प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो। मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो। त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो। विश्वका मजदुरले सो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्।
नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आएको छ। नेपालमा पनि श्रमिकहरूले अझै पनि श्रमको सम्मान र मूल्य पाएका छैनन्। सीमितबाहेक अधिकांशले श्रमको मूल्य नपाउँदा श्रमिकहरूको जीवनस्तर पनि उकासिन सकेको छैन। हामीले आज श्रमिक दिवसकै दिन काठमाडौँका विभिन्न ठाउँमा श्रम गरिरहेकाहरूको तस्बिर कैद गरेका छौँ।