काठमाडौँ- २८ फागुनमा वीरगञ्जका मेयर विजय सरावगी एमाले छिरे। उनले गत स्थानीय तहको चुनावमा तत्कालीन संघीय समाजवादी(हाल जनता समाजवादी)बाट मेयर जितेका थिए।
जसपाले यसपटक टिकट नदिने बुझेपछि सरावगी दल एमाले प्रवेश गरे। सुरुमा सरावगी कांग्रेस प्रवेश गर्न चाहन्थे। तर कांग्रेसबाट टिकट नपाइने बुझेपछि उनी एमाले प्रवेश गरे। वीरगञ्जमा कमजोर एमालेलाई पनि सरावगीजस्तै व्यक्तिको खाँचो थियो। त्यसैले एमाले अध्यक्ष केपी ओली नै वीरगञ्ज पुगे र सरावगीलाई एमाले प्रवेश गराए। ओलीले सरावगीलाई फूलमालामात्र पहिराएनन् मेयरको टिकट पनि थमाए। अहिले उनै सरावगी एमालेबाट मेयरका उम्मेदवार छन्।
यसपटक उनको प्रतिस्पर्धा जनता समाजवादी पार्टीका अजयकुमार द्विवेदीसँग हुँदैछ। द्विवेदी र सरावगीको प्रतिष्पर्धा यो दोस्रोपल्ट हो। अझ रोचक कुरा त अजयकुमार समाजवादीका नवप्रवेशी हुन्। उनी गएका चुनावमा सरावगीसँग कांग्रेसबाट भिडेका थिए। दुवैले दल परिवर्तन गरे पनि यसपटक प्रतिस्पर्धी परिवर्तन गर्न सकेका छैनन्।
यसपटक एमालेलाई लोकतान्त्रिक समाजवादीको साथ छ यसले सरावगीकाे जित निश्चित गर्न धेर-थोर प्रभाव पार्छ भने उता जसपासहित सत्तागठबन्धन दलको साथ पाएका द्विवेदी पनि कमजोर देखिँदैनन् । वीरगञ्जको राजनीतिमा पार्टी परिवर्तन गर्नेका एक उदाहरण हुन्, सरावगी र द्विवेदी। चुनावताका दिनानुदिन पार्टी प्रवेश गर्नेको लर्को चल्छ, यहाँ।
केन्द्रीय नेताबाटै बिग्रिएको राजनीति
कुनैबेला मधेशकेन्द्रित दलका अधिकांश नेता मूलधारकै दलबाट प्रतिनिधित्व गर्थे। सद्भावना पार्टीबाहेक अरूको खास वर्चश्व थिएन। मधेश आन्दोलनपछि उपेन्द्र यादवले नयाँ पार्टी खडा गरे, मधेशी जनअधिकार फोरम।
तत्पश्चात मूलधारका राजनीतिक नेता मधेशकेन्द्रित दल खोल्न थाले। महन्थ ठाकुर, विजय गच्छदारजस्ता पुराना नेताले पनि मूलधार छाडे। तर समयान्तरमा उनीहरू नेता पुरानै पार्टीमा फर्किए। गच्छदार विभिन्न पार्टी हुँदै कांग्रेसमै पुगेका छन्। उपेन्द्रहरूले पनि जनताको मनोभाव बुझेर पहाडतर्फ चासो राख्न थाले।
कुनै बेला पार्टीको नाममा तराई र मधेश झुन्ड्याउने दलले पनि अहिले सबै क्षेत्रको प्रतिनिधित्व हुने नाम राखेका छन्। मधेशी जनअधिकार फोरम नामको उपेन्द्रको पार्टी पनि जनता समाजवादी पार्टी बनेको छ भने फोरम लोकतान्त्रिक नामको गच्छदारको पार्टी त कांग्रेसमै समाहित भएको छ। यी केन्द्रीयस्तरका नेताका उदाहरण हुन्। यही हावाले स्थानीयस्तरका नेतालाई पनि छोएको छ।
गएको स्थानीय तहको चुनावपछि पार्टी अदलबदल बढेको राजनीतिक विश्लेषक विनोद गुप्ताको भनाइ छ। ‘स्थानीयस्तरमा स्रोत साधन र शक्ति बढेपछि दल अदलबदल बढ्यो।’ उनी भन्छन्,‘दैनिक रूपमा पार्टी परिवर्तन गर्नेको लर्को चल्छ।’
अहिले प्रवेशी उम्मेदवारकै भरमा दलले आफू जित्ने दाबी गर्दै आएका छन्। हजारौं कार्यकर्ता आफूसँग एमाले प्रवेश गरेकाले जित सुनिश्चित भएको एमालेका मेयरका उम्मेदवार सरावगी बताउँछन्। यता, जसपाको दाबी पनि कम छैन। विगतको मतकै आधारले पनि जित हुने जसपाका केन्द्रीय सदस्य प्रदीप यादवको जिकिर छ। उनी सरावगीसँग केही महत्वाकांक्षी कार्यकर्तामात्र गएकाले पार्टीलाई खास असर नगरेको उनको भनाइ छ। यता कांग्रेसको दाबी पनि उस्तै छ। गठबन्धनका कारण पनि मेयरमा सुनिश्चित रहेको कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल बताउँछन्।
पार्टी गठजोड र फुटले मत आकलनमा गाह्रो
गएको स्थानीय तहको चुनावमा प्रमुख पदमा सबै दल एक्लाएक्लै भिडेका थिए। त्यसबेला वीरगञ्जमा तत्कालीन समाजवादी पार्टी पहिलो बन्दा नेपाली कांग्रेस दोस्रो भएको थियो। मेयर पदमा तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) तेस्रो हुँदा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक चौथो र एमाले पाँचाैँ स्थानमा थियो।
अहिले यो सबै समीकरण परिवर्तन भएको छ। पहिलो भएको समाजवादी पार्टी राजपासँग एकीकरण भएर पुनः फुटेको छ।
दोस्रो रहेको कांग्रेसमा चौथो स्थानमा रहेको लोकतान्त्रिक समाजवादी समाहित भएको छ। पाँचौं स्थानमा रहेको एमाले पनि सग्लो छैन । माओवादीसँग एकीकरण भएको एमाले पुनः विभाजित बनेको छ भने एकीकृत समाजवादी पार्टी पनि एमालेबाटै नयाँ पार्टी बनेको छ। अस्थिर राजनीतिका कारण वीरगञ्जमा आसन्न चुनावमा जित आकलन गर्न गाह्रो देखिएको छ।
यस्तो छ इतिहास
मधेश प्रदेशको एक्लो महानगर हो, वीरगञ्ज। अनि नेपालकै 'मूल ढोका' पनि हो। नेपाल-भारत प्रवेशको ठूलो नाका यही महानगरमा पर्छ। सवारी-साधन खाद्यान्नदेखि औद्याेगिक कच्चापदार्थलगायत सामग्री नेपाल भित्रिने यो नाकामा भारतीय भू-राजनीतिको प्रभाव रहन्छ । यसक्षेत्रमा पञ्चायतकालीन समय ०४३ सालमा विमल श्रीवस्तवले मेयरमा जितेका थिए।
तत्पश्चात् ०४८ सालमा कांग्रेसका माधवलाल श्रेष्ठले बाजी मारे। मधेश विश्लेषक विनोद गुप्ताकाअनुसार ०५४ सालमा राप्रपाका श्रीवत्सवले मेयरमा बाजी मारे। यसरी हेर्दा पनि मेयर पदमा एउटै पदले जितेको इतिहास वीरगञ्जमा भेटिँदैन। ०६० सालमा राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा गोपाल गिरी मेयरमा मनोनित थिए। गएको स्थानीय तहको चुनावमा जनता समाजवादीका सरावगीले विजयी भए। यता उपमेयरमा भने कांग्रेसकी शान्ती कार्कीले जित निकालिन्।
यस्तो छ विगतको चुनावको अंक गणित
गत स्थानीय तहको चुनावमा तत्कालीन संघीय समाजवादीका सरावगीले १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अजयकुमार द्विवेदीले १७ हजार एक सय ९७ मत ल्याएका थिए। उनीहरूबीच २ हजार १ सय ९६ मतको अन्तर छ। यस्तै तेस्रो हुने राष्ट्रिय जनता समाजवादी(राजपा)का राजेशमान सिंहले १२ हजार एक सय ६५ मत ल्याएका थिए भने चौथो हुने फोरम लोकतान्त्रिक चौथो हुँदा एमाले पाँचौं भएको थियो। एमालेले ८ हजार ६ सय ८८ मत ल्याएर चौथो भएको थियो। गत स्थानीय तहको चुनावी अंक गणित तुलना गर्दा हालको सत्तागठबन्धनको मत ५३ हजार ६०२ हुन्छ भने एमालेको ८ हजार ६८८ मत हुन्छ। तर एमालेसँग हालको लोसपाको तालमेलको कारणले मत केही माथि आउँछ। यस्तै, उप्रप्रमुख पदमा कांग्रसकी शान्ती कार्कीले १९६०७ मत ल्याएर बाजी मारेकी थिइन्।
एमालेलाई नवप्रवेशी र लोसपाको आश, जसपालाई गठबन्धनको टेको
एमालेबाट वीरगञ्जमा उठ्ने उपयुक्त पात्र नभएका कारण नवप्रवेशी सारवगीले टिकट पाए। उनीसँग धेरै कार्यकर्ता एमाले प्रवेश गरेका छन्। पछिल्लो पटक ओली आफैं मधेशको राजनीतिमा गतिशिल बन्दा पनि मधेशकोस्थिति सुध्रिएको छ। विश्लेषक गुप्ता पनि एमालेमा अहिले धेरै सुधार आएको बताउँछन्।
अर्कातिर सारवगी आफैं पनि खानदानी परिवारका उम्मेदवार हुन्। उनी जित्नका लागि जुनै रणनीति अपनाउन सक्छन्। सारवगीमाथि विपक्षी दलको आरोप पनि त्यस्तै छ। सारवगीले विजयी हासिल गर्न पनि त्यति गाह्रो नभएको विश्लेषक गुप्ताको भनाइ छ। त्यसो त सारवगी आफैं पनि पुरानो कार्यकालमा वीरगञ्जमा उल्लेखनीय काम गरेको बताउँछन्। ‘मैले धेरै काम गरेको छु। अधुरा काम पूरा गर्न पुनः उठ्न खोजेको हुँ।’ सारवगी भन्छन्,‘ मधेशवादी दल र कांग्रेसले यहाँ आवश्यकता बुझ्दैनन्। त्यसैले म आफैं पुनः नेतृत्व गर्छु।’
यता सत्तागठबन्धनको दाबी पनि कम छैन। विगतको गतिलो मत आफैंसँग भएकाले जित्न सहज भएको जसपाका नेता प्रदीप यादव बताउँछन्। ‘एमालेमा यहाँका जनता जाँदै जाँदैनन्। प्रतिगमन र मधेशप्रति एमालेको रणनीति जनताले बुझेका छन्।’ यादवकाअनुसार गठबन्धन नभए पनि जसपाको मत उल्लेखीय रहेकामा गठबन्धन हुँदा त जित सुनिश्चित छ। यता, कांग्रेसलाई भने गठबन्धनप्रति खास भर छैन।
कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालकाअनुसार गठबन्धनमा कांग्रेसलाई अन्य दलले मत हाल्ने सम्भावना कम छ। ‘स्थानीय तहमा पार्टीभन्दा पनि मान्छे हाबी हुन्छ।’ रिजाल भन्छन्,‘पार्टी दरिलो नै भए पनि व्यक्ति कमजोर वा लोकप्रिय हुँदा हार्ने सम्भावना हुन्छ।’
राप्रपा युवा उम्मेदवारको हाबी
कुनैबेला वीरगञ्जको राजनीतिमा राप्रपाको दबदबा थियो। अहिले राप्रपाको दबदबा कम भए पनि राप्रपाले नयाँ रणनीति अपनाएको छ, वीरगञ्जमा। राप्रपाका पुराना नेता गोपाल गिरीका छोरा गिरिस थापालाई मेयरमा उठाएको छ। गोपाल तिनै व्यक्ति हुन्, जो राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मेयर भएका थिए। उनको मेयर मनोनीत भएको छ महिना नभई माओवादीले हत्या गरेको थियो। बाबुको विरासतको फाइदा उठाउने दाउमा यतिबेला गिरिस छन्। गिरिश मूलधारका मिडियाका युवा पत्रकार पनि हुन्।
बढेको मतले कसलाई देला साथ?
गएको स्थानीय तहको चुनावमा वीरगञ्जका ३२ वडामा एक लाख पाँच सय एक मतदाता थिए। जसमध्ये ८४ हजार चार सय ६४ मत खसेको थियो। अहिले वीरगञ्जमा मत बढेको छ। वीरगञ्ज महानगरपालिकामा कूल एक लाख २४ हजार ६४७ मतदाता छन्। हाल २४ हजार १४७ मत बढी छ।