काठमाडाैँ- विराटनगर प्रदेश १ को राजधानीमात्र होइन, राजनीतिक ‘लिगेसी’ बोकेका नेताको पकडक्षेत्र पनि हो। विशेषतः अघिल्लो पुस्ताका राजनीतिज्ञको विरासत क्षेत्र हो, विराटनगर। बीपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला, शैलजा आचार्यको राजनीति थालनी गर्ने ठाउँ हो विराटनगर। कांग्रेसमात्र होइन, कम्युनिस्ट नेतासँग पनि विराटनगरको सम्बन्ध जोडिएको छ। मदन भण्डारी, मनमोहन अधिकारीलगायतका नेताको उदयक्षेत्र हो विराटनगर।
अघिल्लो पुस्तामात्र होइन, अहिलेको पुस्ताको पनि राजनीतिक थलो हो विराटनगर। कांग्रेस नेता शशांक कोइराला, शेखर कोइराला, सुजाता कोइरालाको सम्बन्ध पनि अघिल्ला नेताको भन्दा कम छैन विराटनगरसँग। आफ्ना महत्त्वपूर्ण निर्णयको खुलासा गर्नुपरे पनि कोइराला परिवार अहिले पनि विराटनगर पुगिहाल्छन्।
कांग्रेसमा एउटा कथन छ, ‘बीपी कोइराला महत्त्वपूर्ण निर्णय लिनु परे विराटनगर पुग्ने गर्थे।’ राजनीति सिकेको ठाउँ भएकाले पनि बीपीले त्यसको गरेनन् भन्न सकिन्न। त्यस बेलाको सानो सहर विराटनगर। नगर, उपमहानगर हुँदै महानगर बनेको छ। प्रदेश १ को राजधानी बनेको छ। राजधानीका हिसाबलेमात्र होइन, प्रदेश १ को एक्लो महानगर बनेको छ, विराटनगर। विराटनगरले हालसम्म चार प्रधानमन्त्री दिइसकेको छ। बीपी, मातृका, गिरिजा र मनमोहन। साथै धेरै राजनीतिक नेतृत्व जन्माएको छ। समग्रमा विराटनगर राजनीतिको उर्वरभूमि हो।
अहिले पनि यो विरासत बोकेको क्षेत्र कम छैन। कांग्रेस नेता शेखर र शशांक अहिलेको लिगेसीले राजनीतिमा छन् भने डा. डीला संग्रौला र सुजाता कोइराला पनि यही क्षेत्रको प्रतिनिधित्व गर्छन्। एमाले नेता लालबाबु यादव पनि विराटनगरकै लिगेसीमा अडिएका छन्। आसन्न स्थानीय तहको चुनावका लागि पनि विराटनगरमा सरगर्मी बढेको छ। विशेषतः कांग्रेस र एमालेको चुनावी सरगर्मी बढेको हो। यसपटक कांग्रेस गठबन्धनमार्फत अघि बढ्दै गर्दा प्रमुख पदमामात्र उम्मेदवार दिँदैछ। गठबन्धनबाट उपप्रमुख पद जनता समाजवादीको भागमा परेको छ। प्रमुख पदमा पनि आकांक्षी धेरै छन्।
कांग्रेसभित्रको सकस
केन्द्रीय नेतृ डा. डीला संग्रौला, नागेश कोइराला, भीम पराजुली, र अमृत अर्याल प्रमुख पदको आकांक्षी छन्। उनीहरू पद हत्याउन केन्द्रीयस्तरमा लविङमा छन्। डीला संग्रौला वर्तमान केन्द्रीय सदस्य र समानुपातिक सांसद हुन् भने नागेज कोइराला नगर उपसभामुख छन्, भीम पराजुली विराटनगरका वर्तमान प्रमुख र अमृत अर्याल पूर्वसांसद हुन्। यसपटक ‘हेवि वेट’ आकांक्षी बन्दा कांग्रेसमा सकस परेको छ। कांग्रेसको केन्द्रीय कार्यसमितिमा पनि विराटनगरको कारण विवाद देखिएको छ।
अहिले आकांक्षी दुई पक्षबाट लविङमा छन्। आकांक्षीमध्ये नागेजको पक्षमा शेखर कोइराला छन् भने वर्तमान प्रमुख भीमको पक्षमा कांग्रेस नेता कृष्ण सिटौला उभिएका छन्। आकांक्षीले गुटगत लविङ गर्दा उम्मेदवार छनौटमा सकस देखिएको छ। ‘मैले यस कार्यकालमा राम्रो काम गरेकाले पुनः दोहोर्याउन चाहेको हुँ।’वर्तमान प्रमुख एवम् मेयरका आकांक्षी पराजुलीले भने,‘केही अधुरा काम रहेकाले पूरा गर्न उम्मेदवारी दिन खोजको हुँ।’
एमालेमा पनि उस्तै
प्रमुख पदलाई लिएर प्रतिपक्षी दल एमालेमा पनि लफडाबाजी छ। आकांक्षी बढी भएकाले केन्द्रीय कमिटीलाई छान्न सकस परेको छ। ‘हामीले उम्मेदवार नभए पनि घरदैलो कार्यक्रम सक्न लागेका छौँ। जसको नाम आए पनि खास गाह्रो हुन्न।’एमाले सांसद लालबाबु यादवले हिमाल प्रेससँग भने,‘आकांक्षी तीनजनाको नाम पठाएको छ। तीमध्ये उपयुक्त कस्तो हुन्छ। पार्टीले निर्णय गर्नेछ।’लालबाबुले तीन जना भने पनि विराटनगरबाट मेयरका आकांक्षी सात जना छन्।
जसमध्ये पाँचजनाको नाम महानगर कमिटीले सिफारिस गरेको छ। महानगर कमिटी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, खेलकुद महासंघका अध्यक्ष कृष्ण बस्नेत ‘परशुराम’, प्रदेश कमिटी सदस्य महेश भट्टराईको नाम मेयरका लागि सिफारिस गरिएको हो। मेयरका लागि लालबाबुले पनि आकांक्षा देखाएका थिए तर अहिले उनी ‘व्याक’ भने। आफ्नो बचाउमा यादवले ‘जनताले चाहेमा मैदान उत्रिन तयार रहेको’ बताए।
यस्तो छ विगत
विराटनगरमा कांग्रेसको लिगेसी बढी देखिए पनि स्थानीय तहमा सहभागिता कम्युनिस्टको पनि उस्तै छ। हालसम्म दुई/दुई पटक कांग्रेस र कम्युनिस्टले नगर प्रमुख हत्याएका छन्। ०४३ सालमा वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठ विराटनगर नगर पञ्चायतको मेयर बनेका थिए। त्यसपछि ०४९ सालमा कांग्रसकै अशोक कोइराला विजयी भए। ०५४ मा एमालेका रमेशचन्द्र पौडेल विजयी भए भने त्यसपछि ०७४ मा कांग्रेसका भीम पराजुली विजयी भए। हालसम्मको स्थिति निहाल्दा एकपछि अर्को दलले विराटनगरको नेतृत्व समालेको देखिन्छ। विगतमात्र नभई परिस्थितिले पनि कम्युनिस्टले सत्ता सम्हाल्ने बेला आएको विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा बताउँछन्।
‘अघिल्लो चुनावमा एमालेकै मतदाताले कांग्रेसलाई मत खसाले। अहिले सबै कम्युनिस्टप्रति सहज भएका छन्,’ थापा भन्छन्,‘ विराटनगर प्रदेश १ को राजधानी भए पनि आवश्यकताअनुसार विकास भएन। यो कांग्रेसकै कारण हो। अब विकास रोक्नु हुँदैन।’ यता कांग्रेस नेताको पनि उस्तै दाबी छ। अघिल्लो चुनावमा कांग्रेसले सानदार जीत निकालेको र आसन्न निर्वाचनमा पनि जीत दोहोरिने कांग्रेस नेताहरूकाे जिकिर छ। ‘अहिले त हामी गठबन्धनसहित अघि बढेका छौँ। एमाले फुटेको छ।’ कांग्रेसका महानगर उपसभापति नागेज कोइराला भन्छन्,‘हार्ने सम्भावना नै छैन। ०७४ सालभन्दा झन् राम्रो मतान्तरले जित्छौँ।’
अघिल्लो मतपरिणाम
गएको स्थानीय तहको निर्वाचनमा मेयरमा कांग्रेसका भीमप्रसाद पराजुली विजयी बने। उपमेयरमा पनि कांग्रेसकै इन्दिरा कार्कीले जीत निकालेकी हुन्। पराजुलीले २३ हजार ३१ मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत पाएका थिए। उपप्रमुखमा कांग्रेसकी कार्कीले २० हजार १४६ मत प्राप्त गरिन्। यस्तै अधिकांश वडामा कांग्रेस विजयी भएको छ। वडा नम्बर १ मा कांग्रेसका उद्धव अर्याल(१५३१), २ मा एमालेका कुमार पोखरेल (९९५) विजयी वडा नम्बर ३ मा कांग्रेसका विनोद बस्नेत(२४१३)ले बाजी मारेका थिए।
यस्तै, वडा नम्बर ४ मा कांग्रेसका देवेन्द्रराज पोखरेल(१२७८)ले जित्दा, वडा नम्बर ५ मा एमालेका मीनकुमार आचार्य(१२९४), वडा नम्बर ६ मा माओवादी केन्द्रका विजय कामत(२११५) विजयी बने। वडा नम्बर ७ मा कांग्रेसका मधुबाबु तिवारी(१०७९)ले जित्दा ८ नम्बर वडामा कांग्रेसकै निश्चल अर्याल(१०४५ मत) र वडा नम्बर ९ मा कांग्रेसकै विश्वनाथ भगत(७२३मत)ले बाजी मारे। गएको निर्वाचनमा वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवार माधवराज वाग्ले(८८५)ले बाजी मार्दा ११ मा एमालेका तिथेन्द्र न्यौपाने(१३२१) विजयी बने।
विराटनगरको वडा नम्बर १२ मा संघीय समाजवादी फोरमका हिरालाल कामत(१२१४), र १३ नम्बरवडामा संघीय समाजवादीकै झरीलाल महतो(८८८),१४ नम्बर वडामा पनि संघीय समाजवादीकै वलदेव यादव(१०७) ले जितेका थिए। यस्तै वडा नम्बर १५ मा पनि संघीय समाजवादीका असलम अलाम(१२८५), १६ मा कांग्रेसका मनोज सुब्बा(१०९७), वडा नम्बर १७ मा संघीय समाजवादीका समिमकमर मिया(१११८) र १८ मा संघीय समाजवादीका सन्जय शाह(६१५) र १९ मा बद्रीनारायण सरदार(६४२) मत ल्याएर स्वतन्त्रबाट निर्वाचित बनेका थिए। गएको निर्वाचनमा विराटनगरका १९ वडामध्ये आठ वडामा कांग्रेस, छ वडामा संघीय समाजवादी फोरम, माओवादी एक, एमाले र स्वतन्त्रले २/२ वडामा जितेका थिए।
यसपटक यो भन्दा उल्लेखीय मतले जित्ने एमालेको अनुमान छ। गठबन्धनभित्रको असन्तुष्टि, विगतको कांग्रेसको सरकारका कारण आजित जनताले सूर्य चिन्हमा मत हाल्ने एमाले नगर अध्यक्ष गणेश थापाको दावी छ। यता कांग्रेसको भने गठबन्धनकै कारण झनै दह्रो भएर चुनाव जित्ने जिकिर छ।