काठमाडौँ- निर्वाचन नजिकिएसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा मधेश प्रदेश दौडाहामा छन्। मधेशका कार्यक्रममा सहभागी हुँदा उनले अन्य पार्टीका कार्यकर्ता मात्र होइन जनप्रतिनिधिलाई पनि एमालेमा भित्र्याउँदै आएका छन्। पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरूको उत्साह देखेपछि ओली मिठा भाषण गर्न पछि पर्दैनन्। २०७४ सालको विगतमा मधेशबाट ‘पहाडे राष्ट्रवाद’ का पक्षपाती भन्ने आरोप खेपेका ओलीले यसपटक मधेशका मतदाताको मत जित्न के के गर्दैछन् त?
१. टिकटको आश्वासनमा कार्यकर्ता भित्र्याउनु
स्थानीय निर्वाचन घोषणा हुनेबित्तिकै मधेश पुगेका ओलीले वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई एमालेमा प्रवेश गराए। सरावगी जनता समाजवादी पार्टीका नेता हुन्। उनी पुनः मेयरमा दोहोरिन चाहन्थे। जसपाले टिकट नदिने पक्का भएपछि उनी एमाले प्रवेश गरेको उनी निकट कार्यकर्ता बताउँछन्। उनलाई मेयरकै टिकट आश्वासन दिएर एमाले भित्र्याइएको एमाले वृतमा चर्चा छ। मेयर सरावगीलगायत १० स्थानीय तहका १० जना प्रमुख एमालेमा प्रवेश गरेका छन्। ‘हामी मधेशमा कमजोर थियौँ। जित्नका लागि आश्वासन दिएर वा लिएर पनि कार्यकर्ता भित्र्याउनु स्वाभाविकै हो’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘हामी उपस्थितिका लागि मात्र राजनीति गर्दैनौँ। देशको नेतृत्वका लागि राजनीति गर्छौँ। त्यसका लागि शुद्ध राजनीतिले चल्दैन।’
२.मधेशविरोधी ‘ट्याग’ हटाउन खोज्नु
संविधान बन्ने समयमा ओलीको मधेशप्रतिको अभिव्यक्ति विवादमा परेको थियो। मधेश केन्द्रित दलका नेताहरू ‘एक मधेश, एक प्रदेश’ का पक्षमा थिए। त्यति बेला ओलीले दिएको एउटा अभिव्यक्तिले मधेशी दल ओलीसँग बिच्किएका थिए। ओलीले भनेका थिए, ‘तपाईंहरूलाई सम्म ठाउँ चाहिने भए, बिहार पनि लानुहोस्, मेरो आँगन पनि सम्म छ। त्यो पनि लानुहोस्।’ त्यसपछि ओली मेधशी मतदाताका बीचमा त्यति प्रिय भएनन्। अहिले सोही ‘ट्याग’ हटाउन एमालेलाई अवसर मिलेको छ। एमाले नेता प्रभु शाह ओलीले मधेशका पक्षमा नराम्रो गरेको भ्रम अहिले हटिसकेको बताउँछन्। त्यसैले मधेशमा पार्टीका पक्षमा जनमत बढेको उनको दाबी छ। यस्तै मधेश केन्द्रित दलले धोकाको राजनीति गरेकाले पनि एमालेका पक्षमा जनमत बढेको उनले बताए। ‘माओवादी र मधेश केन्द्रित दलले स्वार्थको राजनीति गरे। पहाडेहरूले मधेश बिगारे भन्ने भ्रम थियो। अहिले हटिसकेको छ’, शाहले भने, ‘मधेशको विकास केपी ओलीकै नेतृत्वमा भएको छ।’ शनिबार (हिजो) सर्लाहीकाे मलंगवामा आयोजित आमसभामा ओलीले, 'मधेश र मधेशी जनताको ठेकेदार हुँ भन्नेहरूबाटै मधेशी जनता शोषित भएको,' भन्दै मधेशी जनताप्रति एमालेको लोकप्रियता बढाउने प्रयत्न गरेका थिए।
३. माओवादी सिध्याउने चाह
ओली अहिले देशभर रहेका माओवादी केन्द्रको संगठन एमालेमा समाहित गराएर माओवादी विलय गराउने नीतिमा छन्। यो नीति मधेश प्रदेशमा पनि लागू भएको छ। मधेशलाई आधार बनाएर राजनीति गर्ने नेता प्रभु शाहलगायतलाई उनले नेकपाकालमै आफ्नो पक्षमा ल्याइसकेका छन्। हाल निष्प्रभावी साइबर सेनाको कमाण्डर बनाएरै भए पनि ओलीले शाहलाई एमालेमा 'स्पेस' दिएका हुन्।
शाह मधेशको ‘मियो’ का रूपमा गनिन्छन्। ‘विगतमा प्रचण्डजीसँग रहेको ठूलो हिस्सा ओलीजीसँग छ’, शाह भन्छन्, ‘प्रचण्डले पहिचानका नाम जनता बिथोले। प्रचण्ड माओवादी आन्दोलनको नेगेटिभ पात्र हुन्।’ अब मधेशमा वामपन्थी दलमा एमाले मात्रै रहने उनको भनाइ छ।
४. माधव नेपालको जिल्लामा बढी चासो दिनु
ओली सकालीन नेताभन्दा बढी क्रियाशील देखिन्छन्। अरू आन्तरिक छलफलमा रहँदैदेखि ओली जिल्ला दौहाडामा निस्किसकेकाले पनि यो पुष्टि हुन्छ। उनी एकै दिन चारवटा कार्यक्रममा सहभागी हुन्छन्। नवप्रवेशीलाई स्वागत गर्छन्। मधेशमा ओली पुग्दा एमालेका मधेशकेन्द्रित नेतासँगै हुन्छन्। भ्रातृसंगठनका नेतासँग निकट हुन्छन्। चुनाव घोषणा भएपछि ओलीले मधेश प्रदेशसहितका २७ जिल्ला पुगेको रिजालले जानकारी दिए। ओली मधेशमा जनलहर बढाउने दाउमा रहेको एमाले नेताहरू बताउँछन्। मधेश प्रदेशका आठ जिल्लामध्ये ओलीको चासो रौतहटमा बढी छ। रौतहट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृह जिल्ला हो। ‘२०७४ को चुनावमा एमालेले रौतहटमा मेयर-उपमेयरमध्ये एउटा उपमेयर मात्र जितेको थियो। आउने चुनावमा धेरै वडा र पालिकामा हाम्रो जित हुनेछ’, रिजालले भने।
सहज छैन पाँचौँबाट अगाडि आउन
स्थानीय तह २०७४ को चुनावमा मधेशमा एमाले पाँचौँ स्थानमा थियो। मधेशका १३६ तहमध्ये १८ तहमा एमालेले प्रमुख जितेको थियो। अहिले १० स्थानीय तहका प्रमुख एमालेमा प्रवेश गरेका छन्। माओवादीबाट दुई मेयर, पाँच उपमेयर र ३१ वडाध्यक्ष एमालेमा प्रवेश गरेको एमालेको दाबी छ। एमालेको तथ्यांकअनुसार नेकपा एमाले विभाजित भन्दा दुई स्थानीय तहका प्रमुख नेकपा एसतर्फ लागेका छन्। यसले पार्टीलाई कुनै असर नगर्ने नेता शाह बताउँछन्। गत चुनावमा मधेशमा कांग्रेसले ४०, संघीय समाजवादी फोरमले २६, राष्ट्रिय जनता पार्टी २५, माओवादी केन्द्र २१ र एमालेले १८ प्रमुख/अध्यक्षमा जितेका थिए। यसै पनि पाँचौँ दलबाट पहिलो दल बन्न एमालेलाई सकस छ।