काठमाडाैँ- गएकाे शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा जम्बो टोलीसहित तीनदिने भारत भ्रमणमा गएका थिए। राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख विदेश भ्रमणमा जानु नौलो होइन। तर प्रधानमन्त्रीबाट गरिने भ्रमणमा राष्ट्रका निम्ति केकस्ता सम्झौता र छलफल भए ती चासोका विषय हुन्।
भारत-नेपाल मित्र राष्ट्र हुन्। दुई देशबीच खुला सीमा छ। ‘रोटीबेटी’ को सम्बन्ध छ। रहनसहन र सांस्कृतिक पक्ष मिल्दोजुल्दो छ। यति हुँदाहुँदै पनि खुला सीमाकै कारण नेपालीले अनेकन् समस्या भोग्नुपरेको यथार्थ पनि छ।
सीमा विवाद, नेपाली नागरिकमाथि ज्यादती, नेपाली भूभागमा भारतको रजगजलगायत समस्या हामीले धेरै अघिदेखि भोग्दै आएका छौँ। नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा भारतले अतिक्रमण गरेको छ। नेपालको सुदूरपश्चिमाञ्चलमा पर्ने यी क्षेत्र भारतले काल्पनिक सीमा निर्माण गरेर उपभोग गरिरहेको छ। ती क्षेत्रमा अहिले नेपालीलाई जानसमेत प्रतिबन्ध छ।
२०७७ असारमा नेपालले आफ्नो नक्सामा यी भूभाग राखेर संसद्बाट नक्सा पारित गर्यो। त्यसपछि नेपाल-भारतबीच यसबारे व्यापक छलफल हुनु आवश्यक थियो। कूटनीतिक प्रतिनिधि राखेर वार्ता गर्न जरुरी थियो। भारत भ्रमणका क्रममा देउवाले सो कुरा स्पष्ट रूपमा अगाडि सारून् भन्ने नेपाली जनताको चाहना थियो। दुई देशका प्रतिनिधि बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले यसबारे कुरा भएको जनाएका थिए। तर त्यो औपचारिकताका लागि मात्र भएको धेरैको बुझाइ छ।
नेपालले पनि कूटनीतिक पहल गर्दै प्रतिनिधि पठाउन सकेको छैन। प्रधानमन्त्रीस्तरीय बैठकमा यसबारे व्यापक छलफल हुनु आवश्यक थियो। तर देउवाले जोखिम मोल्न चाहेनन्। उनले यसबारे प्रश्न राखे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चासो नदिएको जानकारी सञ्चारमाध्यममा आएका छन्।
त्यति मात्र होइन, नयाँदिल्ीस्थित नेपाली दूतावासमा नेपालको बुच्चो नक्सा टाँसिएको थियो। प्रधानमन्त्री, परराष्ट्रमन्त्री उपस्थित भएको कार्यक्रममा समेत यसबारे गम्भीर रूपले कुरा नउठ्नु आश्चर्यको विषय हो। देउवा सरकारले भारत भ्रमणमा अनौठो काम गरेको छ। कुनै पनि नेपाली नेतृत्वले अहिलेसम्म नगरेको काम उनले गरेका छन्। देउवा भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (बीजेपी) को कार्यालयमा पुगेका थिए। आफू प्रधानमन्त्रीको हैसियतले नभई नेपाली कांग्रेसको सभापति भएको नाताले त्यहाँ पुगेको उनले बताइरहेका छन्। तर कुनै देशको कार्यकारी प्रमुख विदेशी भूमिमा सत्तारूढ दलको पार्टी कार्यालय पुग्नु कूटनीतिक दृष्टिले राम्रो मानिँदैन। देउवा क्षणिक स्वार्थका लागि बीजेपी अफिस पुगेको विज्ञहरूको भनाइ छ।
‘नजिकको तीर्थ हेलाँ’ उखानलाई देउवाले सही चरितार्थ गरेका छन्। नेपालका मठमन्दिर, धार्मिक स्थलमा उनी गएको समाचार खासै सुनिँदैन। तर भारत भ्रमणमा देउवाको झुकाव धार्मिक क्रियाकलापमा बढी देखियो। उनी भारत बनारसको बाबा विश्वनाथको मन्दिर पुगेका थिए। त्यहाँ उनले विधिविधानअनुसार पूजापाठ गरे।
धार्मिक क्रियाकलापबाट राजनीतिक लाभ लिन चलाखी गरेको र बीजेपीसँग निकट हुन प्रपञ्च रचेको आरोप उनीमाथि लागिरहेको छ। नेपाली जनताले अपेक्षा गरेअनुरूप उपलब्धि देउवाको भारत भ्रमणबाट प्राप्त हुन सकेन। हाम्रो नेतृत्वले भौगोलिक रूपमा सानो र भूपरिवेष्टित भए पनि स्वाधीनता बेच्न सक्दैनौँ भनेर देखाउनु थियो। राष्ट्रलाई बिलखबन्दमा पारेर सम्झौता गर्दा राष्ट्रको गरिमामा आँच आउँछ भन्ने हेक्का राख्नु आवश्यक छ।