काठमाडौँ- ऐतिहासिक तथा पुरातात्विक महत्त्वको सम्पदा काष्ठमण्डप आज (सोमबार)देखि सर्वसाधारणका लागि खुला भएको छ। हनुमानढोका दरबार क्षेत्रमा काठमाडौँ सहरकै प्रतीकका रूपमा रहेको काष्ठमण्डप राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेसँगै पुनः सर्वसाधारणका लागि खुला भएको हो।
२०७२ को भूकम्पले पूर्ण क्षति भएको काष्ठमण्डपलाई पुनः निर्माण गरी पहिलेकै अवस्थामा ल्याएपछि आज राष्ट्रपतिबाट लोकार्पण गरिएको हो। राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको आदेशविपरीत काष्ठमण्डपको लोकार्पण गरिन्। काष्ठमण्डपमामा रहेका पुरातात्विक महत्वका चार गणेश र गोरखनाथको मूर्ति परिवर्तन गरी नयाँ मूर्ति स्थापना गरेर धार्मिक आस्था घट्ने र विश्व सम्पदाको अस्तित्व संकटमा पर्ने भन्दै अधिवक्ता सञ्जय अधिकारीले गत पुस २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
अधिकारीको रिटमाथि माघ ३ गते न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले 'ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक महत्व रहेका विस्थापित गर्नेलगायत काम नगरी प्रस्तुत निवेदन अन्तिम किनारा नलागेसम्म यथास्थितिमै राख्नू' भनी आदेश दिएको थियो।
यो मुद्दामाथि अदालतबाट अन्तिम सुनुवाइ नभएको अवस्थामा राष्ट्रपति भण्डारीलाई लगेर काष्ठमण्डप निर्माण समितिले लोकार्पण गराएको हो। आज सोमबारको लोकार्पण गर्ने भनेर समितिले आइतबार पत्रकार सम्मेलन गरेको थियो। पत्रकार सम्मेलन गरेर आज सोमबार लोकार्पण कार्यक्रम जानकारी गराएको थाहा पाएपछि अधिवक्ता अधिकारीले अदालतको अवहेलनाको मुद्दा पनि आइतबार नै दर्ता गराइसकेका छन्।